शनिवार |

जसले पाए मदन पुरस्कार

राजकुमार दिक्पाल

कुरा प¥यो, तीन वर्षअघिको । राति अबेर भइसकेकाले सुत्ने तरखरमा थिएँ । यता (पोर्चुगलमा) रातको २ बज्दै थियो । नेपालबाट फोन आयो, चिरपरिचित व्यक्ति अर्थात् नेपालका पूर्वप्रशासक भगिराज इङ्नामबाट ।
सामान्य अभिवादन र सञ्चोविसञ्चोको औपचारिकतापछि उहाँले भन्नुभयो, “भाइ, मैले लिम्बूहरूसम्बन्धी पुराना कागजहरू भेला पारेको छु । एउटा पुस्तकको रूप दिन लागेको । तिनीहरूलाई कुन रूपमा र कसरी लेख्ने होला ? लेखनको एक/दुईवटा ढाँचा बताइदिन प¥यो ।”

उहाँको प्रस्तावले सुरुमा मलाई अलि असजिलो बनाइदियो । संयोग पनि कस्तो भने म आफैँ पनि केही वर्षयता लिम्बूहरूकै विषयमा पुराना अभिलेखहरू सङ्कलन गरिरहेको थिएँ, एउटा पुस्तकाकारका रूपमा प्रकाशित गर्ने उद्देश्यका साथ । सुरुमा त द्विविधामा परेँ, के जवाफ दिने होला ?
केही सोचेपछि भनेँ, “यसो गरौँ, मैले पनि केही पुराना अभिलेखहरू सङ्कलन गरेर राखेको छु, हामी दुवैसँग भएका अभिलेखहरूलाई एकै ठाउँमा राखौँ । तिनीहरूको अर्थ केलाउँला र आवश्यक विवेचनासहित संयुक्त किताबका रूपमा छापौँला ।”
“ओहो, भाइ ! लौ न यसो गर्न पाए त झनै राम्रो नि,” उहाँ उत्साहित हुँदै भन्नुभयो ।

भौतिक रूपले हामी एकापसबाट निकै टाढा छौँ । उहाँ नेपालमै हुनुहुन्छ, म चाहिँ युरोपमा तर सञ्चार प्रविधिको सहयोगले लेखनमा समेत सहकार्यका लागि असहज अवस्था रहेन । त्यसैले हामीले कम्मर कसेर संयुक्त रूपमा ऐतिहासिक अभिलेखहरूको सङ्ग्रह निकाल्ने वाचा गरेका थियौँ, तीन वर्षअघि ।
पुरातत्त्व विभागले निकालेको ‘पुरातìव पत्र सङ्ग्रह’, संशोधन मण्डलको ‘पृथ्वीनारायण शाहको उपदेश’, हरिराम जोशीको ‘नेपालको प्राचीन अभिलेख’, धनवज्र वज्राचार्यको ‘लिच्छविकालको अभिलेख’ आदिमा आँखा दौडाउने अवसर पाइसकेका कारण प्राचीन अभिलेखहरूको महìवका सम्बन्धमा केही सुझबुझ बन(ाइसकेको थिएँ । एउटा लेखमा इतिहास शिरोमणि बाबुराम आचार्यबारे पढ्दा उहाँले आफूलाई भेट्न आउनेहरूसँग फलफूल बोकेर होइन, शिलापत्रको उतार बोकेर आइदिन आग्रह गरेको पढेको थिएँ । यस प्रसङ्गमा आचार्यको उक्त अभिरुचि स्मरणीय महìवको छ ।

मैले पनि लिम्बूहरूसम्बन्धी अभिलेखहरू सक्दो जुटाएर एउटा ऐतिहासिक पत्र सङ्ग्रह प्रकाशनमा ल्याउने सपना देखिसकेको थिएँ तर अग्रज भगिराज इङ्नामले पनि यस्तै परियोजना बनाएर काम गर्दै गर्नुभएको उहाँबाटै सुनिसकेपछि पनि लिम्बूहरूबारे ऐतिहासिक पत्र सङ्ग्रह निकाल्ने यात्रामा एक्लै हिँड्न पनि सक्थेँ । उहाँलाई भन्न सक्थेँ, “हामीसँग जेजति सामग्री छन्, आआफ्नै ढङ्गले छापौँ । यात्रामा एक्लाएक्लै हिडौँ” तर मैले आफूभन्दा अग्रजलाई यसो भन्ने आँट गर्न सकिनँ । त्यसैले सहकार्यको प्रस्ताव राखेँ । उहाँले खुसीसाथ भन्नुभएको थियो, “हुन्छ भाइ, त्यसै गरौँ ।”

हुन त म इतिहासको त्यस्तो विज्ञ व्यक्ति होइन । उच्च शिक्षामा मैले इतिहास विषय लिएर अध्ययन गरेको पनि होइन । इतिहास अध्ययनमा अभिरुचि भएकोले एउटा सञ्चारकर्मीको नाताले संशोधन मण्डलका अभियन्ताहरू डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्तसँग नजिक हुन पुगेँ । इमानसिंह चेम्जोङ, शिवकुमार श्रेष्ठ तथा डा. चैतन्य सुब्बाहरूको पुस्तक पढेर इतिहासप्रति थप जागरुक भएको थिएँ । नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलाले थप उत्प्रेरित गरेर संशोधन मण्डलसँग सङ्गत गर्न पनि पठाउनुभयो । उहाँले भन्नुभएको थियो, “उहाँहरूसँग सङ्गत गर्दा इतिहाससम्बन्धी ज्ञान मात्र प्राप्त हुँदैन, इतिहासको खोजी र लेखन पद्धति पनि सिक्न सकिन्छ ।”

यही प्रेरणाले त्यतिखेर आफू कार्यरत अखबारमा फिचर लेखनका विभिन्न विषयको उठान गर्दै खासगरी दिनेशराज पन्तको धुम्बाराहीस्थित घरमा धेरै पटक धाएको छु । लेख्नका लागि उठान गरेको विषयवस्तु सकिएपछि उहाँको निजी पुस्तकालयहरू अवलोकन गर्थें । पुस्तकालयमा प्रशस्त हस्तलिखित सामग्रीहरू देखेपछि आफूमा पनि अभिलेख मोह जाग्न थाल्यो । त्यसैले लिम्बूहरूसम्बन्धी अभिलेखहरू फाट्टफुट्ट सङ्कलन गर्न थालेको थिएँ ।
दस वर्षअघि एक पारिवारिक जमघटमा इङ्नामसँग मेरो भेट भएको थियो । त्यतिखेर उहाँ नेपाल सरकारको उपसचिव हुनुहुन्थ्यो । यता आफ्नै घरमा बुवाको सङ्कलनमा रहेको पुख्र्यौली विरासतका रूपमा मभन्दा छ पुस्ता अघिदेखिका प्रशस्तै कागजपत्र फेला परेपछि मेरा पाइलाहरू उत्साहले उचालिएका थिए । यी कागजपत्रका आधारमा मैले फाट्टफुट्ट केही लेखहरू प्रकाशनमा ल्याएको थिएँ । त्यो पारिवारिक जमघटका क्रममा भएको भेटमा इङ्नामले त्यतिखेरै मसँग भएका कागजपत्रहरू हेर्न रुचि देखाउनुभएको थियो ।

हाम्रो भेट भएको दुई वर्षपछि उहाँ सहसचिवमा बढुवा हुनुभयो । त्यतिखेरै शेरबहादुर इङ्नामसँगको सहलेखनमा उहाँको पुस्तक ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्यायो । यो पुस्तकको एकप्रति समीक्षार्थ उहाँले मलाई दिनुभएको थियो तर मैले यो पुस्तकको समीक्षा गर्ने आँट गर्न सकिनँ । पुस्तक परिचयसम्म लेख्न सजिलै हुन्छ तर समीक्षा नै गर्न चाहिँ सम्बन्धित विषयमा प्रशस्तै ज्ञान हुनुपर्छ । उहाँको पुस्तक समीक्षाका लागि ज्ञान बटुल्दा बटुल्दै आफ्नै रहर वा बाध्यताभित्रको परिबन्दमा परेर म युरोपतिर बरालिन आइपुगेँ । यतै बसेर केही लेख्ने जमर्को गर्ने काम चाहिँ जारी नै राखेको छु । सायद मेरो इतिहाससम्बन्धी यस्तै प्रयास र रुचिको साक्षी भएकोले इङ्नामले त्यसबेला तयारी अवस्थामा रहेको ऐतिहासिक पत्रहरूको सङ्ग्रहबारे मसँग परामर्श लिन खोज्नुभएको होला भन्ठानेँ । यसै क्रममा हामीले सहकार्य गर्ने वाचा पनि बाँध्न पुग्यौँ ।

हाम्रो वाचाअनुसार उहाँले मलाई फाट्टफुट्ट आफूले सङ्कलन गरेको अभिलेखको फोटोहरू पठाउन थाल्नुभयो । ती अभिलेखबारे उहाँले राख्नुभएको जिज्ञासा मैले सकी नसकी दिँदै थिएँ तर उहाँले एउटा यस्तो अभिलेख पठाउनुभयो, त्यसपछि मैले उहाँसँग सहकार्य नगर्ने निर्णय गरेँ ।
त्यो थियो, विजयपुरबाट तत्कालीन राजा कामदत्त सेनले जारी गरेको स्याहामोहरको सक्कल अभिलेखको फोटो । पुरातìव विभागको ‘पुरातìव पत्र सङ्ग्रह’, इमानसिंह चेम्जोङको ‘किराँतकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ र शिवकुमार श्रेष्ठको ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’मा उक्त स्याहामोहरको बेहोरा छापिएको छ तर वि.सं. १८१४ को स्याहामोहरको सक्कल नै सर्लक्क उहाँले सङ्कलन गर्न भ्याउनुभएको देखेपछि मैले पूर्ववाचाअनुसार उहाँसँग सहकार्य गर्दै सहलेखक बन्ने निर्णय त्यागिदिएँ र उहाँलाई विनम्रतापूर्वक भनेँ, “अब तपाईं सिङ्गो पुस्तकको एक्लो लेखक हुनुहोला । मसँग भएजति जम्मै अभिलेख तपाईंलाई दिनेछु । बरु अरू के के सहयोग चाहिन्छ भन्दै गर्नुहोला । सकेको गर्दै गरुँला ।”
मेरो यस प्रस्तावले उहाँ खुसी नहुने कुरै भएन । त्यसपछि मैले उहाँलाई आफूसँग भएका सम्पूर्ण अभिलेख समर्पण गरेँ, बिनास्वार्थ, बिनासर्त ।

दुई वर्षअघि म नेपाल आएको थिएँ, पारिवारिक भेटघाट, पुस्तक प्रकाशनलगायतका व्यक्तिगत कार्यसूची लिएर । त्यसबेला इङ्नाम आफ्नो प्रकाशोन्मुख कृतिकै तयारीमा अहोरात्र जुटिरहनुभएको थियो । उहाँको मेहनत र समर्पण देखेर म थप चकित भएँ । अभिलेखको सङ्कलन त कति हो कति ! धन्न मैले बालहठ गरेर उहाँसँग सहलेखक बन्ने दुस्साहस गरिनछु । यदि त्यसो गरिएको हुँदो हो त, सूर्यको उज्यालोसँग मैनबत्ती बालेर सहयात्रा गरेजस्तो हुनेरहेछ । संयोगवश समयमै लोभ त्यागेर आनन्दभोग गर्ने बुद्धि ममा पलाएछ ।
पृष्ठ सजावट सकिएर एउटा पाण्डुलिपिका रूपमा जब पुस्तक तयार भयो, त्यसपछि मलाई केही हेरेर सुझाव दिन उहाँले आग्रह गर्नुभयो । मैले जानेको र सकेसम्मको सुझाव दिने प्रयास गरेँ । खासगरी विषयसूची व्यवस्थापनमा मैले केही सुझाव दिएको थिएँ । उहाँले सोहीअनुसार गर्नुभएछ ।

एउटा असामान्य धैर्यता र साधनाले सम्भव भएको थियो, उहाँको त्यो कार्य । त्यसबेला उहाँले आफ्नो पुस्तकलाई तीनवटा भागमा प्रकाशित गर्ने योजना बन(ाउनुभएको थियो तर प्राज्ञ वैरागी काइँला र डा. चैतन्य सुब्बाले विभिन्न भागमा विभाजित नगरी एउटा सग्लो पुस्तक छाप्न सल्लाह दिनुभएको थियो । आखिर उहाँले एउटा सग्लो पुस्तक छाप्नुभयो ।
आफ्नो छोटो समयको नेपाल बसाइपछि म पुनः युरोप फर्किहालेँ तर पुस्तककै विषयलाई लिएर हामीबीचको सरसल्लाहमा भौतिक दूरीले कुनै अवरोध गरेन । हामी निरन्तर संवादमा थियौँ । समय क्रममा उहाँको मोटो र खँदिलो पुस्तक छापियो, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ । पुस्तक मैले पाण्डुलिपि अवस्थामै हेरिसकेको थिएँ । त्यसबेलै पुस्तकको महìव पनि बुझेको थिएँ ।

पुस्तक छापिएर सार्वजनिकसमेत भइसकेपछि मेरो मनमा एउटा अक्कल आयो । त्यो थियो, लेखकलाई मदन पुरस्कारका लागि पुस्तक बुझाउन सुझाव दिने । मैले एक दिन फोन गरेर भनेँ, “इङ्नामज्यू तपाईंको पुस्तकलाई मदन पुरस्कारका लागि भिडाउनुपर्छ ।”मैले यस्तो प्रस्ताव राखेको, उहाँ त छक्क पर्नुभयो । भन्नुभयो, “मैले त यसबारेमा सोचेकै छैन, कसरी पुरस्कारका लागि भिड्ने मलाई थाहा पत्तो केही पनि छैन ।”
मैले यसबारे आफूले थाहा पाएसम्मको प्रक्रियाबारे सरसर्ती बताएँ । र, उहाँलाई पुरस्कारको प्रतिस्पर्धाका लागि कर गर्दै भनेँ, “पुरस्कार हात परे परिगयो, नपरे पनि केही छैन । भिड्न त भिड्नैपर्छ ।” त्यसको एक सातापछि उहाँले भन्नुभयो, “भाइ, तपाईंकै सुझावअनुसार मैले मदन पुरस्कारका लागि पुस्तक बुझाएँ है ।” मैले खुसी हुँदै उहाँलाई शुभकामना दिएँ ।

पुस्तकले २०७७ सालको मदन पुरस्कार जित्यो । चर्चा र गरिमाको हिसाबले यो पुरस्कार नेपालको नोबेल पुरस्कार हो । अनि यो पुरस्कारको हकदार बन्नुभयो, भगिराज इङ्नाम ।
यदि आफूसँग भएका अभिलेखहरू प्रदान गरेको र आफूले पनि केही लेखेको आधारमा सहकार्यका लागि मैले दाबी र जिद्दी गरेको भए यो पुस्तकको सहलेखक बनाउन इङ्नाम सायद हिच्किचाउनुहुन्नथ्यो । यदि म पनि यस पुस्तकको सहलेखक भएको भए मदन पुरस्कारको सहविजेता हुने थिएँ तर आफूभन्दा मेहनती साधकलाई आफूसँग भएको थोरबहुत अभिलेख दिएर यति ठूलो र महìवपूर्ण पुस्तकमा इङ्नामसँग च्याँखे थाप्न मन लागेन । आज म पुरस्कार विजेताजत्तिकै खुसी छु, एउटा स्तरीय पुस्तक पुरस्कृत भएकोमा ।