पौराणिक आख्यानमा दार्शनिक जलप
निर्मलकुमार आचार्य
‘सत्यवती’ नवीनतम कृतिका रूपमा जनसामु आएको छ । वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा विरचित ‘सत्यवती’ महाभारतको कथामा आधारित दार्शनिक उपन्यास हो । यसअघि उहाँका सुकर्म, पृथा तथा दृष्टिभ्रम उपन्यास प्रकाशित भइसकेका छन् ।
लामो समयदेखि विशेषतः अध्यात्मविषयक लेखनमा दत्तचित्त रहँदै आउनुभएका लेखक रिजालको पूर्वीय मूल्य, मान्यता र दार्शनिक चिन्तनमा गहिरो पकड छ । उहाँका अधिकांश रचनामा पूर्वीय दार्शनिक चिन्तन र गरिमाको प्रतिविम्बन पाउन सकिन्छ ।
महाभारतको कथामा आधारित रहेकाले ‘सत्यवती’मा पूर्वीय दार्शनिक चिन्तनको महासागर देखिनु अनौठो होइन । यसो त ‘सत्यवती’ को कथावस्तु महाभारतको पाठकका निम्ति नितान्त नौलो पक्ष होइन तर यहाँ सरसरती कथा बयान मात्र नभई दार्शनिक धरातलको जलपसमेत लगाइएकाले भिन्न आस्वादनको अनुभूति जगाउने खालको छ । ‘सत्यवती’ पौराणिक इतिहास ‘महाभारत’की एक विशेष नारीपात्र हुन् । यिनको जन्मकै सम्बन्धमा पनि रोचक कथा रहेको छ । पौराणिक आख्यानअनुसार पूर्वजन्ममा अप्सरा अद्रिकाकी छोरी हुन्– मत्स्यगन्धा । ब्रह्माको श्रापले गर्दा सत्यवतीले माछा बन्नुपरेको थियो । माझीहरूले माछाको पेट चिर्दा उनको जन्म भएको हो । जीउबाट माछाको गन्ध आउने भएकाले ‘मत्स्यगन्धा’ नाम राखियो । काली, गन्धकाली, गन्धवती, योजनगन्धा आदि नामले पनि चिनिने मत्स्यगन्धा नै सत्यवती हुन् । सत्यवतीसँग नेपालको नजिकको नाता छ । भनिन्छ, उनको जन्म यहीँ तनहुँमा भएको हो । छाब्दीवाराहीका रूपमा उनको यहाँ श्रद्धाभावका साथ पूजाआजा हुँदै आएको छ ।
पराशर ऋषि उनको रूप लावण्यप्रति मुग्ध भएका थिए र संसर्गबाट वेदव्यास ‘कृष्ण द्वैपायन’को जन्म हुनपुग्यो । पराशर ऋषिकै आशीर्वादका कारण सत्यवतीको कौमार्य कायम रहेको पौराणिक आख्यान पाइन्छ भने पछि उनको विवाह हस्तिनापुरका चन्द्रवंशी राजा शान्तनुसित भयो । शान्तनुबाट चित्राङ्गद र विचित्रवीर्य जन्मिए । शान्तनुकी प्रथमपत्नी गङ्गाबाट देवव्रत जन्मिएका थिए, पछि यिनै देवव्रत भीष्म पितामहका नामले प्रसिद्ध भएका हुन् । आफ्नै छोरा राज्यको उत्तराधिकारी हुन पाउनुपर्ने सत्यवतीको चाहना पूरा गर्नकै लागि देवव्रतले उत्तराधिकारमा दाबी नगर्ने र विवाह नगर्ने भीष्मप्रतिज्ञा गरेका थिए ।
गन्धर्वसित भएको युद्धमा चित्राङ्गद मारिए, राजा शान्तनुपछि गद्दीनसिन बनेका विचित्रवीर्यको पनि धेरै काल रहेन । उनका लागि भीष्मले काशीराजकी तीनवटी कन्या अम्बा, अम्बिका र अम्बालिका जितेर ल्याएका थिए । अम्बाले पहिल्यै अरूलाई रोजिसकेकीले पूर्णतः अस्वीकार गरेकी थिइन् भने अम्बिका र अम्बालिका राजबधू बनेका हुन् । निःसन्तान विचित्रवीर्यको पनि अल्पायुमै मृत्यु भएपछि राज्यको उत्तराधिकारीको खोजमा उद्विग्न राज्यसंरक्षक सत्यवती र नियोगद्वारा (विधुवा बुहारीमार्फत) सन्तान जन्माउने कार्यका लागि तयार हुनुपूर्व व्यास तथा बुहारी अम्बिका र अम्बालिकाको संवाद खण्ड यस उपन्यासको मूल केन्द्रबिन्दु रहेको छ ।
संवादका क्रममा अनेक आख्यान, दार्शनिक पृष्ठभूमि, प्रथा, परम्परा, विविध दृष्टान्त र व्यावहारिकताका तरेलीले चिन्तनका आयाम बढाउने काम गरेका छन् । नियोगमार्फत अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासी मनोरमाबाट विदुरको जन्म भए पनि सत्यवतीको मनले शान्तिको आधार पाउँदैन ।
धृतराष्ट्र दृष्टिविहीन भएकाले रोगी भए पनि राजा बनाइएका पाण्डुको समेत अल्पायुमै मृत्यु हुन्छ अनि उत्तराधिकारीको व्यवस्था नभएसम्मका लागि धृतराष्ट्र राज्यका मुख्य कर्ताधर्ता बन्छन् । शकुनिको चाल र दुर्योधनको कुदृष्टिले बढाउँदै लगेको द्वन्द्व देखेर थप पिरोलिन पुग्छिन् उनी । सत्यवतीले जतिसुकै नचाहे पनि टार्नै नसकिने कौरव तथा पाण्डवबीच महाभारत युद्धका विभीषिकाको कल्पना मात्रले पनि उनी अधीर हुन पुग्छिन् । सत्यवती अन्ततः रुँदै शान्तिका लागि निर्जन वनतर्फ प्रस्थान गर्छिन् र उनकै पदानुसरण बुहारी अम्बिका र अम्बालिकाले पनि गर्छन् । ‘सत्यवती’ उपन्यासको टुङ्ग्याउनी यही कथानकमा हुन्छ ।
आख्यान पौराणिक भए पनि उपन्यासले आजको विसङ्गत तथा विकृत पाटोलाई उत्तिकै नङ्ग्याएको छ । लोभ, मोह, स्वार्थ, छल, दाउपेच, कपट, भ्रष्टाचार र कुशासनका अनगिन्ती प्रसङ्गले आजको सन्दर्भलाई पनि सजिलै जोडेको छ र ‘महाभारत युद्ध’को निरन्तरता दर्शाएको छ । एक दृष्टान्त हेरिहालौँ– ‘अशान्ति, झगडा, कलह, मारकाट, लुट, खसोट सबै चल्छ राजनीतिमा । जिउँदै समातेर आगोमा हालेर मारे पनि हुन्छ, रुखमा बाँधेर हातगोडा काटे पनि हुन्छ, गोली ठोके पनि हुन्छ । टाउको गिंडेर मारे पनि हुन्छ, खुकुरीले रेटेर गर्धन छियाछिया पारेर मारे पनि हुन्छ । चक्कुले रोपेर, भालाले घोचेर, घचेटेर, अचेटेर मारे पनि हुन्छ, कुटीकुटी, चुटीचुटी जसरी मारे पनि हुन्छ । जस्तोसुकै अपराध गरे पनि जनताको नाम लिनुपर्छ, जनताको नाम दिनुपर्छ सबै शुद्ध हुन्छ । न कानुनका दफाले छुन्छ, न संविधानका धाराले छुनसक्छ...।’
वेद, पुराण, उपनिषद् आदिको आधार लिई तयार पारिएको यस कृतिमा श्रीमद्भागवत, न्यायसूत्र, ऋग्वेद, यजुर्वेद, गरुडपुराण, याज्ञवल्क्यस्मृति, ब्रह्मसूत्र, तैत्तिरीयोपनिषद्, कठोपनिषद्, विष्णुपुराण, बृहदारण्यकोपनिषद्, नीतिश्लोक, श्रीमद्भगवद्गीता आदिका अंश सोदाहरण प्रस्तुत गरिएको छ । मातृसत्ता (गणमातृका युग), पितृसत्ता, वर्णव्यवस्था, कर्म, अकर्म, विकर्म, ज्ञान, योगलगायतका विषयवस्तुलाई पनि मिहिन ढङ्गबाट केलाइएको छ भने दार्शनिक गूढातिगूढ रहस्यलाई समेत सरल र सहज हिसाबले वर्णन गरिएको छ । उदारणतः यस अंशलाई लिन सकिन्छ– ‘आकाश एउटै हो, जुन विशाल छ तर त्यही आकाश घरको छतभित्र आउँदा छतको आकारको हुन्छ, घडाको पानीमा हुँदा उसकै आकारअनुसार देखापर्छ । घर भत्केपछि त्यही आकाश महा आकाशमा मिल्छ, ठूलो देखिन्छ ।’
आकारका रूपमा एउटा सानो कृतिभित्र धेरै कुरा अटाउने प्रयास यहाँ भएको देखिन्छ, यसलाई ‘गागरमा सागर’को संज्ञा दिन सकिन्छ । मूलतः महाभारतका कथा अझ भन्ने हो भने पूर्वीय दर्शनमा रमाउन चाहने अध्येता तथा जिज्ञासु पाठकका लागि ‘सत्यवती’ राम्रो खुराक बनेको छ । साङ्ग्रिला पुस्तक प्रा.लि., काठमाडौँको प्रकाशकत्वमा छापिएको ‘सत्यवती’मा कुल २९२ पृष्ठ रहेका छन्, कलेवर आकर्षक छ । भाषा, शैली सरल र प्रस्तुतीकरण सहज छ । अन्त्यमा, उपन्यासकार कमल रिजालका आउँदा कृति अझै उत्कृष्ट हुँदै जाऊन् भन्ने हार्दिक अपेक्षा रहेको छ ।