शनिवार |

बालापनको नोस्टाल्जिया

विनोद दीक्षित

नेपाल टेलिभिजनले आफ्नो प्रारम्भिककालमा तेह्र शृङ्खलाको ‘राप’ प्रस्तुत गर्ने गरेको थियो । त्यसमा रहेको उच्छृङ्खल, बदमास ‘सिरी’ अरू कोही छैन, मै हुँ ! हो बदमासी गर्थें अर्को पक्षलाई सास्ती दिँदै । मैले आफ्नो क्रियाकलापबारे कथाहरूमा लेखेकै छु, तिनमा नाउँ अर्कै भए पनि पात्र मै हुँ ।
कस्तो छोड्नै नसक्ने बानी, हाफ टाइममा क्लासबाट भाग्नै पर्ने, अनि दुवै हातमा दुईदुई पटकको दरले बेतको छडीले प्रत्येक दिन कक्षा शिक्षकले हानेको सहनै पर्ने !

तपाईं बदमासी गरेको नै भन्नु होला, अरूले भनेसरह तर अब म भन्छु, मैले अन्याय नसहेको हो, मैले मर्यादा विपरीत जानेलाई सजाय दिएको हो, मैले डकैती गर्न नदिएको हो, मैले समाजमा साधुजस्तो देखिने तर यथार्थमा पापीलाई नङ्ग्याउन खोजेको हो तर सदैव आक्रमणकै सहारा लिनु हुँदैनथ्यो । मेरो एघार–बाह्र वर्षे उमेरले बिराएकै हो ।
विद्रोही भावना माइला काका दिवङ्गत महेशमणि दीक्षितले मेरो मनमा उमार्नु भएको थियो । कलेजमा पढ्दा पढ्दै भारतीय स्वाधीनता आन्दोलनको प्रभावमा परेर उहाँ कम्युनिस्ट बन्नुभएको थियो ।

मैले काकाले भनेअनुसारकै विभिन्न रूपको शोषण समाजमा देख्न थालेँ । हजुरबुबा लक्ष्मणमणि दीक्षितले दाजुभाइ दुवै कम्युनिस्ट भएको कारण मौजाबाट आउने खाद्यान्न रोकिदिनु भएको थियो, चरम आर्थिक सङ्कट भयो ।
मेरो बदमासी, आवारा प्रवृत्ति र पढाइप्रतिको पूरै उदासीनताको कारणले सुरुमा म मावली हजुरबुवाको गाउँ पठाइएँ, पछि आमा र भाइबहिनीहरू पनि आए ।
मेरो बुबा मदनमणि दीक्षितलाई पार्टीले नयाँ युवालाई कम्युनिस्ट बनाउने जिम्मा दिएको थियो । मानिसहरूलाई कम्युनिस्ट बनाउनका लागि मकवानपुरदेखि सप्तरीसम्म लगातार जानु हुन्थ्यो ।

मावली हजुरबुवाका प्रशस्त जग्गा जमिन थियो बारा जिल्लाको पिपरा गाउँ वरिपरि । उहाँले मेरी आमालाई पनि जमिन धेरै नै दिनु भएको थियो । नेपालभित्र बाटोघाटो नभएकाले रेल्वे सञ्जालको पहुँचभित्र पर्न सिमरौगढभन्दा डेढ कोस टाढा भारतको घोडा सहनमा पनि घर बनाउनु भएको थियो । हजुरबुबाले सामाजिक कार्य पनि प्रचूर मात्रामा गर्नु हुन्थ्यो । प्राथमिक, माध्यमिक स्कुलको निर्माणका साथै सडक पैनीहरू पनि आफ्नै खर्चबाट जनतालाई लाभ हुने गरी बनाउनु भएको थियो ।
पाँच कक्षासम्म पढाइ हुन्थ्यो तर म ६ कक्षामा भर्ना भएपछि यो कक्षा पनि सञ्चालन भयो । म एक्लो भएकोले ५ कक्षाबाट अरू दुई जना थपिए । ७ कक्षामा पढ्न हजुरबुबाकै नातामा पर्ने एक छात्र आए भने अर्को छात्र ६ कक्षासम्म टाढैको स्कुलमा पढेर अब नपढ्ने विचार थियो । गाउँमै स्कुल आएकोले फेरि पढ्न थाल्यो ।

दुई तीनवटा शिक्षकलाई वरपरका गाउँका तुलनात्मक रूपमा सम्पन्न भएकाहरूले आफ्नो भान्छामा खुवाउने तथा वर्षको एक पटक धान पाकेको सिजनमा एकमुष्ट तलब दिएर घर पठाउने गरे भने हजुरबुबाले एक शिक्षक जो भारतीय भए पनि नजिकै विहारकै थिए र सब कुरामा पारङ्गत थिए । उसलाई घरैमा राख्नु भयो भने बाँकी चारलाई छात्रावासमा । छात्रावासमा बस्ने शिक्षक, हजाम, पण्डित सबै बिहारको छपरा जिल्लाबाट आएका थिए । बेलुकी खाना खाएपछि ती सबै आफ्नो जिल्लाका लोकगीत कोरस रूपमा गाउँथे ।
प्रधानाध्यापक नागेन्द्रप्रसाद सिंह मैट्रिकुलेट मात्र थिए भने अर्का शिक्षक जालिम सिंहले जम्मा ८ कक्षा मात्र पढेका थिए । आजको जमाना भए योग्यता र क्षमता देख्दा कसैले पनि तिनका स्नातकभन्दा कम शिक्षा भएको अनुमान गर्न सक्दैनथ्यो होला । प्रधानाध्यापकमा अङ्ग्रेजीको प्रचूर ज्ञान थियो र आठ कक्षा मात्र पढेका जालिम सिंहमा हिसाब मात्र होइन, ट्रिगोनोमेट्री, अल्जेब्रा र अङ्ग्रेजीको पनि उत्तिकै ज्ञान थियो ।

एकदिन छात्राबासमा बस्ने कुनै शिक्षकले प्रधानाध्यापक नागेन्द्रप्रसाद सिंहलाई सोधेको सुनेँ – “हेडमास्टर साहेब, मेट्रिकुलेट करनेके बाद जीवन पूरा सेटल्ड हो जाता है कि नहीँ ?” प्रधानाध्यापक नागेन्द्र सिंहले जवाफ दिएनन् मात्र मुस्कुराए ।
हामी छात्रावासमा बस्ने सबैलाई एक–एक टुक्रा जमिन दिइयो र उक्त जमिनमा खनजोत गरी पानी लगाई फूल लगाएर सिँगार्ने जिम्मा दिइयो । हामी सबैले ग¥यौँ । स्कुलको रौनक बढ्यो । यद्यपि स्कुलको फुसको घरमा पनि सेतो कमरो लगाइएको थियो, खपडा जम्मै सफा गरिएको थियो ।

मैले एउटा गुलेली बनाएँ र त्यसलाई चलाउन माटाका गोलीहरू बनाएँ । प्रत्येक दिन गुलेली चलाउँथेँ चराहरू देख्ने बित्तिकै । एकदिन एउटा सारौँ चरालाई गुलेलीको गोली लाग्यो । छट्पटाउँदै खस्यो, त्यसको छट्पटाहट मैले हेर्न सकिनँ । म निस्केँ र घण्टौँसम्म त्यहाँ गइनँ । पछि त्यो छटपटाएको चरा देखिनँ । सके मरेपछि चिल गिद्धको शिकार भयो कि ?
मलाई निकै पश्चाताप भयो । त्यस घटनापछि आजसम्म मैले लामखुट्टे, त्यो पनि ज्यादै दुःख पाउँदा मारेँ हुँला नत्र केही मारेको छैन । मैले खसी छिनालेको हेरेको छैन र एकदुई पटक दक्षिणकालीमा साथीभाइहरूका परिवारसित जाँदा बलि दिन बोकालाई लग्दा बोकाको अनुहार हेर्न सकेको छैन । फर्किंदा आफू नजिकै गाडीमा भइरहेका बोका हेर्न सक्दिनँ ।

जालिम सिंह वीरगञ्ज स्कुलका केही सामान किन्न वीरगञ्ज जाने भएका थिए । एकरात छात्राबासमा प्रधानाध्यापकसित सात दिनपछि हुने अर्धवार्षिक परीक्षामा यो पटक हामी ५–६–७ कक्षाका प्रश्नपत्र छापौँ न, स्कुलको आकर्षण बढ्छ, यो वर्ष निकै नयाँ विद्यार्थी भर्ना पनि भए भन्ने सुझाव दिँदै अनुमति मागेपछि उहाँले हुन्छ भन्नुभयो ।
हिँड्नु अघिल्लो रात जालिम सिंहले भने– “स्कुलको दराजभित्र मैले सबै प्रश्नपत्र राखेको छु, कहीँ छाप्न सकिएन भने त्यसैले परीक्षा नरोकियोस् भनेर त्यसो गरेको हुँ । कार्बनले एक एक वटा अतिरिक्त प्रश्नपत्र मात्र म आफूसँगै लग्छु ।”
अङ्ग्रेजी मेरो ठिकै थियो । बुबाले अङ्ग्रेजीको पत्रिका पनि वीरगञ्जमा हुँदा बेलाबखत ल्याउने गरेकोले चलचित्रबारे लेखेको देखेँ भने अनिवार्य पढ्थेँ, अनि कुनै चित्र छापेर लेखेको सामग्री पढ्ने कोसिस गर्दै पढ्थेँ । त्यसैले प्रधानाध्यापकले कहिलेकाहीँ भन्थे पनि– “तिमी त कुनै कुनै बेला मैले नसुनेको अङ्ग्रेजी शब्द पनि प्रयोग गर्छौं ।”

हिसाबमा म कमजोर थिएँ तर जालिम सिंह शिक्षकले अल्जेब्राका कसरी हो मेरो चाख बढाइदिनु भएको थियो । एक साँझ स्कुलमा कोही नभएको बेलामा प्रधानाध्यापकको अफिसको कोठामा ताल्चा लगाए पनि ढोकामाथि ठूलो भ्वाङ्ग भएको कारणले छिर्न सक्ने जस्तो लाग्यो । भित्रको दराजमा सबै बहुमूल्य सामान राखिन्थ्यो । अनि त्यस दराजको साँचो राख्ने ठाउँ पनि थाहा थियो । मलाई हिसाबको प्रश्नपत्र चोर्न मन लाग्यो । दुई दिनको प्रयासपछि चोरेँ । अनि सारेर प्रश्नपत्रलाई जहाँको तहीँ राखेँ । दुई दिन ढिलो भयो वीरगञ्जबाट जालिम सिंह माड्साब फर्किनँ । यद्यपि पहिलो दिन नेपालीको जाँच थियो, कार्बनवाला प्रश्नपत्रबाट जाँच दियौँ (कस्तो आश्चर्य नेपाली कहिले नबोल्ने र नजान्ने रामसेवक भन्ने शिक्षक नेपाली पढाउनु हुन्थ्यो, नेपाली पढाउने कोही नभएको हुँदा) । जाँच दिइसके पनि छापेको प्रश्नपत्र पनि बाँडियो र जाँच नभएको प्रश्नपत्र छापेको पढेर दङ्ग हुँदै जाँच दियौँ । हिसाबको जाँच अन्तिम अन्तिममा थियो ।

जाँच सिद्धिएपछि एक दिन सबैको अगाडि जालिम सिंहले भने– “विनोदमणिले यो पटक हिसाबमा ७६ अङ्क ल्याएर सबैलाई चकित पारे ।”
स्कुलमा सरस्वतीपूजा मनाइँदा गन्यमान्य व्यक्तिहरू निमन्त्रित हुने गर्थे । एक पटक कार्यक्रमको उद्घोषण गर्न मलाई लगाइयो । प्रधानाध्यापकको प्रयासले मलाई अङ्ग्रेजीमा दुई मिनेट स्वागत भाषण गर्न लगाइयो । मैले हिन्दी गीत पनि बेला बेला गाउनु प¥यो ।
फ्लेक्स जुत्ता वीरगञ्जबाट किनेर ल्याइ ट्यागलाई सदैव झुन्डिन दिने, माड्साब जालिम सिंहलाई मैले दुई तीन पटक भनेँ–“अब त ट्याग झिकिदिनुस् ।” उहाँले भन्नुभयो–“जुत्ताबाट ट्याग झिकेँ भने पुरानो भैहाल्छ ।” मैले पुरानो भइसकेको भन्दा “खोइ चुँडिएको, खै प्वाल परेको ?” भनी मलाई नै प्रश्न गर्नुहुन्थ्यो । काठमाडौँमा जाडोको बिदा हुँदा म त्यहाँको स्कुलमा जान्थेँ र स्कुल हेर्दा नोस्टाल्जिक हुन्थेँ ।

“पधारो यहाँ आइ के वीणा के बजवैया” भनेर प्रार्थनाको रूपमा जालिम सिंहले छात्रहरूलाई सरस्वती बन्दना सिकाउनु भएको थियो र कक्षा सुरु हुनुभन्दा अघि हामी त्यहीँ प्रार्थना गथ्र्यौं ।
केही वर्षपछि त्यो स्कुलमा जाँदा त डा. केशवप्रसाद उपाध्याय आपूm शिक्षक हुँदा माधव घिमिरेको ‘गाउँछ गीत नेपाली’लाई प्रार्थना गीतको रूपमा स्थापित गराउनु भएको रहेछ ।
म त्यहाँ पढ्दा नागेन्द्रप्रसाद सिंहले कोशी प्रोजेक्टको वथनहामा सरकारी जागिर पाएकोले तिनको ठाउँमा जयनाथ सिंह भन्ने प्रधानाध्यापक भएर आउनुभएको थियो ।
एक दिन हामीलाई अङ्ग्रेजीमा अनुवाद गर्न भन्नुभयो “सडकमा एक गाई ।”

केहीले ‘वन काउ वाज’, भने कहिले केही । मैले ‘देयर वाज् अ काउ अन द रोड’ भनेँ । उहाँले गलत भन्नुभयो । मैले के गलत भनेर सोध्दा उहाँले भन्नुभयो, “देयर ह्याड अ काउ अन द रोड ।”
म चुप लागेँ, उकुसमुकुस लाग्यो तर केही भनिनँ । मामा माधवप्रसाद गौतम वनारसबाट आउनु भएको थियो । मैले त्यही प्रश्न उहाँलाई गरेँ । मैले भनेअनुसार उहाँले भन्नुभयो । म मुसुक्क हाँसे ।
०००
मामाघरमा बसेपछि बानीमा हल्का रूपमा सुधार आएको थियो । पछि परिवारका हामी सबै काठमाडौँ आएपछि मेरो कक्षामा पढ्ने तथा हामी बसेको डेरासँगै बस्नेसित नराम्रोसित मारपिट भयो । मेरो नेपाली बोलीमा भोजपुरी र हिन्दी मिसिने गरेकोले बारम्बार कहिले मलाई मदिसे, कहिले विहारी भन्थ्यो । धेरै सहेँ, पछि सहन नसकेपछि जाइलागेँ ।
एक वर्षपछि डेरा स¥यौँ । एकाएक डेरा नजिक भएको घरको एक केटीप्रति आकर्षित हुँदै गएँ । उनलाई म पढैया भनेर देखाउन उनी देखा पर्ने बित्तिकै किताब पढेको जस्तो देखाउन थालेँ । प्रत्येक दिन प्रत्येक पल आकर्षित हुँदै गएँ । पछि त म जताततै उनैलाई मात्र देख्न थालेँ । मिल्ने जति सबैले मलाई “विनोद तिमी त अर्कै भयौ” भन्न थाले । म भद्र हुँदै गएँ, आज पनि भद्र नै छु जस्तो लाग्छ ।