पानीको प्यास (कविता)
इन्द्रकुमार श्रेष्ठ
तीतो खाँदाखाँदा
स्वाद बिग्रेपछि–
नुनिलोको स्वाद लिइयो
त्यसले जिब्रै चर्कायो ।
पीरो खाँदाखाँदा
आँसु आएपछि–
अमिलो मन पराइयो
त्यसले पनि जिब्रै फुटायो ।
टर्रो खाँदाखाँदा
मुखै बाँधिएपछि–
गुलियो रोजियो
त्यसले पनि
जिब्रै लाटिएर बेस्वादको भयो ।
चर्केको, फुटेको र लाटिएको जिब्रो
प्रत्येक पटक रन्थनियो
प्यास मेटाउन हरेक पटक
जस्तो पानी पाइयो त्यस्तै खाइयो
तैपनि
खोज्नमा थोरै मन लाइएन
तर रङहीन, गन्धहीन र स्वादहीन
मूलको स्वच्छ र शुद्ध पानीचाहिँ
यतातिर कतै पनि पाइएन ।