शनिवार |

सद्वृत्ति जागरणको पर्व

विजयप्रसाद मिश्र

हिन्दु संस्कृति शक्तिपूजक संस्कृति हो । हामी शक्तिलाई माताको रूपमा पुज्ने गर्छौं । हिन्दु चिन्तनले भन्छ, माता सृष्टिको अणु–परमाणुकी जननी हुन् । प्रत्येक जीवकी आदि अनुभूति पनि आमा नै हुन् । आमाकै देहको विस्तार नै हामी सबैको काया हो । हामी सबैको अस्तित्व आमाकै कारण छ । आमा नहुने हो भने हामी पनि हुने थिएनौँ । आमा स्वाभाविक नै दिव्य छिन्, देवी हुन, पूज्य छिन् । व्यष्टि, समष्टि, सृष्टि र परमेष्टिकै रूपमा आमा वरेण्य छिन् । उनी पूजनीय छिन्, नीराजन र आराधनाको योग्य छिन् ।
सबै लोक, वनस्पति जगत्, कीट–पतङ्ग र समस्त प्राणी आमाकै विस्तार हुन् । आमा धातृ हुन्, आमा दातृ हुन्– सृष्टि, स्थिति र पुनःरचनाका निम्ति संहारकारिणी पनि आमा नै हुन् । जीवनमा आउने सुख–दुःखरूपी घुम्तीहरूमा हामी सधैँ आमाकै आशिष, आमाकै छायाँ पाउँछौँ, अनि जब मन–प्राण व्याकुल हुन्छ, हामी आमालाई नै खोज्छौँ । क्षणक्षणमा र कणकणमा हामी आमालाई खोज्छौँ । अनि पाउँछौँ उनको उपस्थिति गुफा–कन्दरा, जल–थल, शैल–शिखरमा, सबै जीवहरूमा । तिनै माता शक्ति दिव्य ऊर्जा बनी हामीमा पनि प्रवाहमान छिन् । सर्वत्र तिनै मातालाई यसरी दर्शन गरेपछि त मन मार्कण्डेय ऋषिसँगै गाउन थाल्छ–

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

यो संसार शक्तिको अधीनमा छ । त्यो शक्ति आर्जन गर्ने विभिन्न उपाय हाम्रा शास्त्रहरूले बताएका छन् । ती उपायमध्येको एक हो नवरात्र । वर्षाकालको समापनसँगै सुन्दर शरद ऋतुको शुभागमन यसै पनि उल्लासमय हुन्छ । त्यही उल्लासमय वातावरणमा मानवीय चेतनालाई साधना र आराधनाद्वारा दिव्यतातिर प्रवृत्त गराउने समयका रूपमा लिइन्छ नवरात्रलाई । ‘नवरात्र’ शब्दले नौ अहोरात्र (विशेष गरी रात्रि) को बोध गराउँछ ।
आश्विन शुक्ल पक्षको प्रतिपदादेखि महानवमीसम्म नौ अहोरात्र हामी आफ्नो आध्यात्मिक र मानसिक शक्ति सञ्चय गर्नका लागि अनेक प्रकारका व्रत, संयम, नियम, यज्ञ, भजन, पूजन, योग–साधना आदि गर्दछौँ । वास्तवमा विधान यही हो । नवरात्रिका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गरिन्छ । शक्ति, समृद्धि तथा ज्ञानकी अधिष्ठातृका रूपमा हिन्दु मनले अति प्राचीनकालदेखि नै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्छ । यही आराधनाको निरन्तरता यस पर्वको विशेषता हो ।
देवी अथर्वशीर्ष उपनिषद्अनुसार सम्पूर्ण देवताहरूले भगवतीलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्छन् । यसको उत्तरमा महादेवी भन्नुहुन्छ– “म ब्रह्म हुँ । मबाटै प्रकृति–पुरुष जगत्, शून्य र अशून्य उत्पन्न भएको छ । म आनन्द–अनानन्द दुवै हुँ ! विज्ञान–अविज्ञान, ब्रह्म–अब्रह्म, पृथ्वी, जल, तेज, वायु, आकाश र चराचर जगत हुँ । वेद, ज्ञान–विज्ञान, विद्या–अविद्या, अज–अनज पनि म नै हुँ । सबै दिशामा रुद्र र वायुको रूपमा म नै विचरण गर्दछु ! तीनै लोकलाई आफ्ना पाउले ढाकिदिने त्रिविक्रम विष्णु, सृष्टिकर्ता ब्रह्मा र प्रजापतिलाई समेत धारण म नै गर्दछु ! म शिव हुँ, शिवको क्रियात्मक तìव म नै हुँ !” यसरी महामायाले आफूलाई परिभाषित गरेकी हुनाले यो जगत्को सञ्चालक नै जगदात्मिका शक्ति हुन् भन्ने आधार बन्दछ र भक्तिभावपूर्वक उनै भगवतीको आराधनामा अर्पित गर्दछौँ शरद्का यी विशिष्ट नौ अहोरात्र ।

सङ्गठित दैवी शक्ति नै दुर्गा
पुराण ग्रन्थ आर्ष वाङ्मय हुन् । अठार पुराणमध्ये एउटा महìवपूर्ण पुराण हो मार्कण्डेय पुराण । यसमा वर्णित देवी महात्म्यलाई नै नवरात्रिमा र अन्य समयमा पनि ‘दुर्गा सप्तशती’ भनी हामी पारायण एवं अध्ययन गर्दछौँ । ती सात सय श्लोकपर्यन्त वर्णित प्रसङ्गलाई कसैले सोझै कथाका रूपमा त कसैले त्यसबाट प्राप्त हुने आध्यात्मिक एवं व्यावहारिक ज्ञानका रूपमा लिने गर्छन् । त्यहाँ देव र असुरको सङ्घर्ष दर्शाइएको छ । यद्यपि देवासुर सङ्ग्राम निरन्तरको युद्ध हो । हामीमै छन् दैवी र आसुरी सम्पदा । तिनै दैवी र आसुरी सम्पदाको गणना श्रीमद्भगवद्गीताको १६औँ अध्यायमा ‘अभयं सत्वसंशुद्धि...’ आदि भनी सुन्दर तवरले वर्णन गरिएको छ । यी दुई सम्पदाले नै हामीलाई पशु अथवा पशुपति बनाउँदछन् । सजगतापूर्वक रोज्ने दायित्व भने हाम्रै काँधमा हुन्छ ।
सम्पूर्ण दैवी सम्पदालाई ‘देव’ र सम्पूर्ण आसुरी सम्पदालाई ‘असुर’ भनी बुझेर हेर्ने हो भने सप्तशतीमा वर्णित कथानुसार मानवमा आसुरी शक्तिको वर्चस्व हुँदा व्यक्ति नर–राक्षस बन्न पुग्छ । सचेत मनुष्यले त्यसबेला असहाय बनेर त्यस वर्चस्वलाई शिरोधार्य गर्नुको सट्टा दैवी सम्पदाको जागरणमा ध्यान दिनुपर्छ । दैवीगुण जति सबै मिलेर एकढिक्का बन्नुपर्छ । दैवी शक्तिको यही सङ्गठित स्वरूप दुर्जेय अर्थात् जित्न नसकिने ‘दुर्गा महाशक्ति’को रूपमा उदय हुन्छ । त्यसैबाट मात्र आसुरी शक्ति अथवा दानवी वृत्तिमाथि विजय प्राप्त गर्न सकिन्छ । यसैबाट व्यक्ति एवं समाजमा मानवताको जन्म हुन्छ ।

शक्ति नै महामाया
शक्ति अर्थात् प्रभुत्व । पञ्चतन्त्र भन्छ–
यौवनं धन संपत्तिः प्रभुत्वमविवेकिता ।
एकैकमप्यनर्थाय किमु यत्र चतुष्टयम् ।।

अर्थात् यौवन, धन–सम्पत्ति र प्रभुत्व (सत्ता) यी सबै शक्ति हुन् । सदुपयोग गर्न नजाने व्यक्ति, समाज र राष्ट्रका लागि यी अनर्थकारी पनि बन्दछन् । यी चारै हुनु र त्यसमाथि विवेक पनि नहुनु भनेको त अनर्थ होइन, महाअनर्थ नै हुन्छ । विवेकहीनता मोहका कारण उत्पन्न हुन्छ । भागवद्गीताले पनि यही भन्छ । मोह अर्थात् भ्रमजाल । यद्यपि, यो भ्रमरूपी शक्ति पनि भगवतीकै इच्छा हो भन्ने गरिन्छ । यसैलाई ईश्वरको माया भनिएको पाइन्छ । यसर्थ शक्तिको आराधना भनेको शक्तिको महत्तालाई चिन्नु पनि हो । आफूलाई शक्ति प्राप्तिका निम्ति सत्पात्र बनाउनु पनि हो । श्रद्धा एवं विवेकरूपी शक्तिको जागरण भएसँगै महामायाले आवृत्त गराउनु भएको मोहको पर्दा पनि खस्दछ । मोहको क्षय नै मोक्ष हो– बुद्ध पुरुषहरू भन्ने गर्छन् ।
जसले दुर्गाको शक्तिलाई आत्मसात् गरेर पनि मोहमा पर्दैन, अहंकार गर्दैन त्यो नै शक्तिप्राप्त गर्न योग्य अधिकारी हो । यसर्थ दैवी शक्तिलाई आर्जन गर्न आफूमा सद्गुण (दैवी सम्पदा) बढाउनु भनेर हामीलाई हाम्रा पूर्वज, हाम्रा शास्त्र तथा श्रद्धाका केन्द्रले सधैँ प्रेरित गरिरहेका हुन्छन् ।

कन्या पूजन ः मातृसत्ताको आराधना
नवरात्रमा ईश्वरीय तेजलाई नारी स्वरूपमा पूजा गरिन्छ । साउनबाट पुस मसान्तसम्म सूर्य दक्षिणायन रहने यस अयन विशेषलाई नारीत्व–प्रधान मानिएको छ । यस अयनमा पृथ्वीले पनि स्त्री–प्रधान भूमिका निर्वाह गर्दछिन् । यी छ महिनामा हरितालिका तीज, जीवित देवी कुमारीको रथयात्रा, जीवितपुत्रिका व्रत (जितिया), नवरात्रि, विजयादशमी, कोजाग्रत पूर्णिमा, दीपावली, छठ आदि जेजति पनि चाड–पर्वहरू मनाइन्छन्, ती अधिकांश स्त्री–तìवको ऊर्जासँग सम्बन्धित हुन्छन् । यस सन्दर्भलाई पनि मनन गर्दै र “स्त्रियः समस्ताः सकला जगत्सु’’– ‘हे जगदम्बे ! जगत्मा जति स्त्रीहरू छन्, ती सबै तिम्रै मूर्ति हुन्’ भन्ने सप्तशतीकै वचनलाई ध्यानमा राखेर कन्या पूजन अनिवार्य रूपमा गरिन्छ । कन्यापूजनको भावलाई श्रद्धापूर्वक समाजले हृदयङ्गम गर्ने हो भने नारीमाथि हुने उत्पीडन, व्याभिचार, बलात्कार आदि जघन्य अपराध स्वतः न्यून हुँदै जानेछ तर त्यसका लागि पनि पूर्वशर्त हो– आसुरी वृत्तिको परिहार र आफूमा देवत्वको जागरण ।

सुशील शक्तिको उपासना
गर्वोक्ति होइन, तर गौरवभावका साथ भन्न सकिन्छ– हिन्दु संस्कृति एउटा श्रेष्ठ संस्कृति हो तर यसको श्रेष्ठताको रक्षाका निम्ति पनि शक्ति आवश्यक पर्छ । यसैले यो संस्कृति वीरताको पूजक एवं शक्तिको उपासक रहँदै आएको छ । चाहे व्यक्तिमा होस् या समाजमा, शक्तिबिना श्रेष्ठता स्थापित पनि हुँदैन ।
दैवीगुणलाई स्थापना गर्न पनि धैर्य, श्रद्धा आदि शक्ति नै चाहिन्छ । शक्तिबिना दुर्गुण–दुर्वृत्तिमाथि विजय पनि सम्भव हुँदैन । यसैले हामी हिन्दुहरूले पुज्ने सबै देवस्वरूपले प्रतीकात्मक रूपमा कुनै न कुनै शस्त्र धारण गरेको पाउँछौँ । शक्तिको उपयोग आवश्यक परेका बेला आसुरी शक्ति र दुष्टताको विनाश गर्दै धर्मको रक्षा र स्थापनाका लागि गरिएको उल्लेख पौराणिक ग्रन्थहरूमा सर्वत्र मिल्दछ । यो एउटा विम्ब पनि हो ।
हामीले आफूमा शुभ संस्कारयुक्त शक्ति सञ्चय गर्दै अशुभ वृत्तिमाथि विजय प्राप्त गर्न साधनारत हुनुपर्छ भन्ने सन्देश यसमा रहेको पाइन्छ । यसैले सुशील शक्तिको उपासना सतत् गरिरहने आवश्यकता हुन्छ । यही सन्देश प्रवाहित गर्नका लागि पनि स्थान–स्थानमा शक्तिको प्रतीकका रूपमा यो बेला शस्त्र पूजन गरिन्छ । अपराजिता पूजा पनि गरिन्छ ।

विजयादशमीको सन्देश
प्रत्येक पर्वले केही न केही सन्देश दिएकै हुन्छ । हामी सामान्यतः हर्षोल्लाससहित उत्साहपूर्वक चाड–पर्व मनाउँछौँ तर त्यसमा निहित सन्देशप्रति उदासीन रहन्छौँ । खान–पान, भोग–विलास र रमझम मात्र होइन दशैँ । शक्ति यदि अनीति, अधर्मले संयुक्त छ, अमर्यादित छ र लोककल्याण हेतु उपयुक्त छैन भने व्यर्थ तथा पराजित हुन्छ भन्ने सुन्दर सन्देश निहित छ यस पर्वका पछाडि ।
शक्तिलाई मर्यादित रूपले प्रयोग गर्दै सत्य र धर्मको पथमा अग्रसर व्यक्ति÷समाज अवश्य पनि विजयी हुन्छ । अधर्म र अनीतिमा आधारित शक्तिको प्रयोग कहिल्यै पनि सफल हुन सक्दैन । यही शुभ सन्देश दिने उत्सव हो विजयादशमी । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको, तमोगुणमाथि दैवीगुणको, दुष्टतामाथि सुष्टताको, भोगमाथि योगको, असुरत्वमाथि देवत्वको विजयको उत्सव हो– विजयादशमी ।
सा चण्डिकाखिलजगत्परिपालनाय
नाशाय चाशुभभयस्य मतिं करोतु ।। (सप्तशती ४।४)
ती भगवती चण्डिकाले सम्पूर्ण जगत्को पालन गर्दै हामी सबैलाई अशुभ भय नाश गर्ने मति प्रदान गरून् । सम्पूर्णमा यस प्रेरक एवं पावन पर्वको हार्दिक शुभेच्छा ।