पिङकाे आवाज सुनिन्न आजकाल
दीपक श्रेष्ठ
सहरका नेवार बस्तीहरूमा झ्यालिन्चाको आवाज गुञ्जिसक्यो । गाउँबस्तीका बगरतिर सेताम्य काँस फुलिसक्यो । बजारमा रातो माटो, नयाँ नाना, मरमसला र खसीबोकाको व्यापार चम्किसक्यो । घरघरमा पहेँला जमरा हल्किँदै छन् तर अहँ गाउँटोलमा पिङ हाल्ने कुनै सुरसार छैन ।
सिन्धुली दुम्जाका धनबहादुर भुजेललाई ती दिनहरू अझै सम्झना छन्, जब वर्षा सकिन्छ, अनि पिङ बाट्नका लागि बाबियो काट्न गाउँका तरुनातरुनी जङ्गल छिर्थे । भारीका भारी बाबियो ल्याइन्थ्यो र घाममा सुकाइन्थ्यो । बाबियो सुकेपछि गाउँघरका जेठाबाठा, तरुनातरुनी जम्मा हुन्थे र पिङ बाट्थे । नाच्थे, गाउँथे र रमाइलो गर्थे । कोही पोया छुट्याउने, कोही पोया घुमाउने, कोही पोया बाट्ने । वरपीपल, समीका तेर्सा परेका हाँगामा पिङ हालिन्थे । ठूला रुख नभएका ठाउँमा बाँसका लिङ्गा गाडिन्थे । बाँसको लिङ्गा गाड्न, गरालो मिलाउन अनुभवी मानिस चाहिन्थ्यो । त्यो काममा प्रायः सुरिन्थे धनबहादुर ।
रोटेपिङ । कतिपय स्थानमा रोगटेपिङ पनि भनिन्छ । यो पिङ थाप्न त अझ त्यति सजिलो छैन । गाउँभरिका बलिया युवाको सहभागिताबिना सम्भव हुन्न । रोटेपिङ बनाउने सीप भएका सिकर्मी धनबहादुर नै थिए । धनबहादुरलाई गाउँमा पिङ नथापे दशैँ आएजस्तै लाग्दैन थियो । परदेश गएकाहरू गाउँ फर्कंदा होस् वा दशैँमा चेलीबेटी आफन्तहरू आउँदा रमाइलो दिने त्यही पिङ त थियो । ७६ वर्षे धनबहादुर भन्नुहुन्छ, “हामी बूढा भयौँ बाबै, जेजति उहिल्यै गरियो । अबका केटाहरूलाई पिङको महìव खै के बुझेर ?”
दशैँमा पिङको प्रसङ्ग निस्किएपछि धनबहादुरले उही बैंशको फुर्ती निकाल्न थाल्नुभयो । धनबहादुर सम्झनुहुन्छ, “उहिलेका के कुरा गर्छांै बाबै, भीरपानीको पाखाबाट रोटेपिङको मूल खाँबो घर्लप्प काँधमा बोकेर ल्याउने ज्यान यही हो ।”
गाउँमा जाँते, लिङ्गे, रोटे पिङ थापेपछि दशैँ आएजस्तै लाग्थ्यो धनबहादुरलाई । दोहोरी गाउन मात्र होइन, पिङमा दोहोरी मच्चाउन समेत गाउँमै नामी थिए, धनबहादुर । पर्लक्क पिङ फर्काउला जसरी मच्चाउँथे । पिङ खेल्दाखेल्दै रुखबाट पीपलको पात च्वाट्ट टिप्थे । धनबहादुर सम्झनुहुन्छ, “अब त ती कथा भए बाबै, अहिले भन्यो भने पनि कसैले पत्याउँदैनन् ।”
सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा लेख्नुभएको छ, “दशैँ र तिहारलाई खूब रमाइलोसँग मनाउँदथे । गाउँपिच्छे कतै लठ्ठे, जाँते र कतै रोटेपिङ हालिन्थे, दशैँमा पिङमा खुट्टा हाल्नुपर्छ र तिहारमा एकबाजी भए पनि पासा गुडाउनुपर्छ भन्ने गाउँलेको अटल धारणा थियो । तिहारमा देउसिरे, भैलो खेल्ने र गतारोमाथि तोरन तार्ने पुरानो चलन छुटेको थिएन । सबैका घर लिपीपोती चिटिक्क पारिन्थे । धनी गरिब सबले मन फुकाएर दशैँ, तिहार मान्दथे, क्रिस्तानहरूले वडादिन मानेझैँ ।”
सोह्रश्राद्ध सुरु भएपछि गाउँमा पानी पँधेरा, मूल सफा गर्ने, घाट, वनपाखा र मूल बाटाघाटा सफा, मर्मत गर्ने काम स्वयंसेवी रूपमा गाउँमा थालिन्थे । अहिले यो कामका लागि गाउँलेहरू सरकारी बजेट पर्खन थालेका छन् । साविक कुशेश्वर दुम्जा गाउँ विकास समितिका पूर्व अध्यक्ष उद्धव कोइरालाको बुझाइमा अब सामाजिक काम समुदायबाटै गराउन निकै कठिन भइसकेको छ । उहाँ भन्नुहुन्छ, “राजनीतिले समाज जोड्नुपर्ने हो, तर उल्टो भएको छ । पहिलाजस्तो सामाजिक काम गर्न अब सकिन्न ।”
दुई दशकअघिसम्म पनि गाउँटोलका चौर, चौतारीका ठूला रुखमा पिङ हालिने गरेको सम्झना गर्नुहुन्छ, सिन्धुली नागेडाँडाका प्रमोद दाहाल । छोटो अवधिमा पिङ संस्कृति सकिएकोमा आश्चर्य व्यक्त गर्दै दाहाल भन्नुहुन्छ, “हाम्रा संस्कृति, परम्परा, रीतिरिवाज, ज्ञान, सीप र समाजलाई गाली गर्न मात्र सिक्यौँ, सिकायौँ । यसका राम्रा पक्षका विषयमा नयाँ पुस्तालाई बताउनै सकेनौँ कि चाहेनौँ ?”
बदलिँदो छ, समय र संस्कृति । परम्परा र रीतिरिवाज । जीवनशैली र आनीबानी । फेरिँदै छन्, मनोरञ्जनका शैली र स्वाद । त्यसकै चेपुवामा परेको छ, नेपाली परम्परागत ज्ञान, सीप, मनोरञ्जनका शैली, संस्कृति र सन्तुष्टि । संस्कृतिविद् गोविन्द टण्डन भन्नुहुन्छ, “प्रविधिले मानिसको आनीबानी, व्यवहार र जीवनशैलीमा ल्याएको परिवर्तनले सजिलो र सुविधा खोज्यो । हाम्रा संस्कृति र परम्परालाई गलत ढङ्गले बुझ्न र व्याख्या गर्न थाल्यौँ । यो त्यसकै परिणती हो ।”
पिङ, संस्कृति हो । रैथाने ज्ञान र सीप पनि हो । परम्परा र पहिचान हो । आस्था र मनोरञ्जन हो । सामूहिकताको प्रतिविम्ब हो । गाउँले नमिली पिङ थापिन्न । यद्यपि, यो संस्कृतिलाई पछिल्ला समयमा युवा क्लब, नेपाली सेना र सशस्त्र प्रहरीले सहरका केहीकेही स्थानमा निरन्तरता दिएको पनि देखिन्छ । बजारमा पाइने लठ्ठाको प्रयोग गरी सहरका खुला स्थानमा सुरक्षा निकायले पिङ थाप्ने गरेको पाइन्छ । त्यति हुँदाहुँदै पनि यसले गाउँको सामूहिकताको जुन महìव छ, त्यसलाई उजागर गर्नचाहिँ सकेको छैन । जुन काम गाउँलेहरू स्वतस्फूर्त रूपमा गर्दै आएका थिए ।
प्रा.डा.कुमारप्रसाद कोइरालाको बुझाइमा दशैँको सामाजिक महìव धेरै छ । वर्षाले बिगारेका बाटाघाटा, पानी पँधेरा मर्मत गर्ने कार्यले गाउँलाई एउटा सामूहिकतामा बाँध्ने गरेको थियो । दशैँका बेला घरआँगन सफा गर्ने, रातो या कमेरो माटोले घर लिपपोत गर्ने, जङ्गलका झारपात ल्याई पकाएर बनाइएको रङ झ्यालढोकामा लगाउने, चिउरा कुट्ने, पिङ हाल्ने, केरा पकाउने, नयाँ लुगा सिलाउने, नवरात्रभरि गाउँघरमा बाजा बजाउने, मालसिरी गाउने, लोकनृत्य गर्ने, लोकनाटक खेल्नेजस्ता कार्यले समाजलाई सामूहिकतामा जोड्ने महìवपूर्ण कार्य गरेको प्रा.डा.कोइराला बताउनुहुन्छ ।
चचहुई.....
सरररर
पिङ, गाउँघरका मायालुहरूको भेटघाट गर्ने थलो पनि थियो । समूह समूह बनाएर गाउँगाउँ घुम्दै पिङ खेल्ने खासगरी केटाकेटीको समूह नै हुन्थे । मन मिल्नेसित त दोहोरी पनि खेल्थे । पिङ दोहोरी खेल्दा खास थकानको महसुस पनि हुँदैन । नत्र त पिङ मच्चाउन त्यति सजिलो कहाँ छ र ?
पिङमा एकफेर मच्चिने उही बैँशालु रहर पाल्नुभएका धनबहादुर भन्नुहुन्छ, “केटाहरूले पिङ थापे, मै बूढो पनि एक सर्को त मच्चाउँथे बाबै । चचहुई....सरररर...”