स्वदेशका प्रमुख गन्तव्य
गोविन्द मरासिनी
व्यस्त दैनिकी र धुलोधुवाँबाट मुक्त भएर घुमफिर गरेर आनन्द लिन कसलाई मन नपर्ला र ! अझ दशैँ, तिहारको फुर्सदमा घुम्नुको मज्जा नै बेग्लै हुन्छ । वर्षभरिमा लामो बिदा भनेको यही बेला त हुन्छ । घुमफिरका लागि मौसम पनि अनुकूल हुन्छ । कोभिड–१९ ले घरमै थुनिएर बसेकाहरू त घुम्न कतिखेर पाइएला भनेर मौकाको खोजीमा छन् । घुम्नका लागि विदेश जानैपर्छ भन्ने पनि छैन । स्वदेशकै ठाउँ घुमेर पनि आनन्द लिन सकिन्छ । यसका लागि ट्राभल एजेन्सीहरूले विभिन्न प्याकेज पनि ल्याइरहेका छन् । योसँगै दशैँमा टीका लगाएर स–परिवार घुम्न जाने चलन बढ्दो छ । फुर्सदको समयमा घुम्नका लागि स्वदेशका केही गन्तव्यहरूबारे चर्चा गरौँ ।
पोखरा
घुमफिर भन्नेबित्तिकै सबैको रोजाइमा पर्ने ठाउँ हो, पोखरा । पोखरा पुग्नका लागि सहज छ । पर्यटकीय नगर भनेर यसको चर्चा पनि चुलिएको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो ठाउँ परेको छ । पोखराको टुरका लागि विभिन्न प्याकेज उपलब्ध छन् । तालहरूको सहरसमेत भनेर चिनिने पोखरा पुगेपछि फेवा ताल, रूपा ताल र वेगनास तालसहित ह्वाइट गुम्बा, विभिन्न गुफा, सराङकोट, विभिन्न मठमन्दिर घुम्नु त छँदै छ, साहसिक खेल प्याराग्लाइडिङ, बञ्जी, जिपलाइनको समेत अनुभव लिन सकिने भएकाले पछिल्लो समय पोखराको चर्चा थप चुलिएको छ । पोखरा घुम्नका लागि विभिन्न प्याकेज उपलब्ध छन् । जसमा दुईदेखि तीन दिनसम्मको यात्राका लागि न्यूनतम १० हजारदेखि ३० हजार रुपियाँसम्म लाग्छ ।
पोखरा गएपछि साहसिक खेल पारखीका लागि अर्को गन्तव्य बन्न सक्छ, पर्वतको कुश्मा । यहाँ एकै स्थानमा बञ्जी, स्विङ, जिपलाइन र पिङको मज्जा लिन सकिन्छ । यस्तै पोखराबाट एक वा दुई दिनको यात्रा बढाएर स्याङ्जा जाने हो भने दक्षिण एसियाकै नमुना होमस्टे दरौँ सिरुबारी, कालीगण्डकी जलविद्युत् आयोजना, पर्यटकीय स्थल बाहुनथान, हुनिकोट, स्वरेक मैदानलगायतका स्थान पुग्न सकिन्छ ।
इलाम
फुर्सदको समयमा घुम्नैपर्ने पर्यटकीय गन्तव्य इलाम पनि हो । इलामको मुख्य गन्तव्य कन्यामको हराभरा चिया बगान हो । यस्तै घोडचढी र जातीय पोसाकले पनि यहाँ आकर्षित गर्छ । नजिकै रहेको मिर्मिरे डाँडाबाट सूर्योदय हेर्न सकिन्छ । गुगल पोइन्ट पनि हाल चर्चामा आएको अर्को गन्तव्य हो ।
कन्याम वा फिक्कलमा बास बसेर बिहान सानी पाथिभरा देवीको दर्शन गर्न, मिर्मिरे डाँडाबाट सूर्योदय हेर्न, गुगल पोइन्टमा हाइकिङ गर्न, हरियो कार्पेट झैँ देखिने चियाबारीमा धित मरुञ्जेल फन्को मार्न सकिन्छ । चिया पर्यटनका लागि पनि यो ठाउँ उचित गन्तव्य हो । इलामबाट डेढ घण्टामा पुग्न सकिने माईपोखरी यहाँको अर्को आकर्षक गन्तव्य हो । नौ कुनामा फैलिएको मनमोहक माईपोखरीले थप आकर्षित गर्छ ।
काठमाडौँबाट इलाम पुगेपछि दुई रात दुई दिन कन्याम र अन्तु घुमिसकेपछि दार्जिलिङको यात्रामा पनि निस्कन सकिन्छ । दार्जिलिङ जानका लागि भने थप एक÷दुई दिन थप्नुपर्ने हुन्छ । सिङ्गो इलाम फन्को मार्न चार रात, पाँच दिनको प्याकेज बनाउँदा राम्रो हुन्छ । जसका लागि आफ्नो बसाइ र खुवाइअनुसार फरक पर्ने भए पनि खल्तीमा प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपियाँसम्म बोकेर गए राम्रो हुन्छ ।
मुक्तिनाथ:माथिल्लो मुस्ताङ
मुस्ताङ घुम्नका लागि एकदमै राम्रो मौसम वैशाख, असोज र कात्तिक महिना हो । यो समयमा धेरै ट्राभल एजेन्सीले माथिल्लो मुस्ताङसम्मका प्याकेज बनाउने गरेका छन् । मुक्तिनाथका लागि चार रात, पाँच दिन र मुक्तिनाथसहित माथिल्लो मुस्ताङसम्मका लागि सात रात, आठ दिनको प्याकेज रहेका छन् । जसमा मुक्तिनाथ मन्दिर दर्शनसहित बेनी, विभिन्न झरना, दुम्बा ताल, मार्फा, लोमान्थाङदेखि जोमसोम घुम्न पाइन्छ । माथिल्लो मुस्ताङसम्म पुग्नका लागि करिब ३० हजार रुपियाँ खर्च लाग्छ भने मुक्तिनाथबाटै फर्कने हो भने १५ हजारदेखि २५ हजार रुपियाँसम्म लाग्छ ।
रारा
यो समयमा घुमफिरका लागि अर्को गन्तव्य हो– रारा ताल । सडकका साथै हवाई यात्राबाट पनि रारा पुग्न सकिन्छ । काठमाडौँबाट हवाई यात्रा गर्ने हो भने दुई रात, तीन दिनमै रारा पुगेर काठमाडौँ आउन सकिन्छ । काठमाडौँबाट बिहानको उडानमा नेपालगञ्ज पुग्ने ।
नेपालगञ्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ । ताल्चाबाट भने दुई घण्टा पैदल यात्रा गरेपछि रारा पुग्न सकिन्छ । यसरी हवाई यात्राबाट जान २८ हजार पाँच सय रुपियाँको प्याकेज उपलब्ध छ । यस्तै सडक मार्गबाट रारा घुम्दा छ रात, सात दिनसम्मको प्याकेजमा २० हजारदेखि २५ हजार रुपियाँसम्म खर्च लाग्छ ।
चितवन
चितवन पनि पर्यटकलाई उत्साहित बनाउने महìवपूर्ण गन्तव्य हो । चितवन दुई रात, तीन दिनको टुर प्याकेजमा घुम्न सकिन्छ । यसरी चितवन पुग्दा सौराहको जङ्गलमा सफारी, सिजी मन्दिर, कायाकिङ र थारू संस्कृतिमा रमाउन सकिन्छ । चितवनबाट लुम्बिनीसम्म पुगेर आउन चाहनेले अर्को एक वा दुई रात थप गर्नुपर्छ । चितवन मात्र घुमेर फर्कने हो भने प्रतिव्यक्ति करिब छ हजारदेखि १२ हजार रुपियाँसम्म र लुम्बिनीसम्म पुग्ने हो २० हजार रुपियाँसम्म खर्च लाग्छ ।
तिलिचो
घुम्नका लागि मनाङमा रहेको तिलिचो ताल अर्को प्रमुख गन्तव्य हो । यस स्थानमा पुग्न छ रात, सात दिनको प्याकेज छ । यस प्याकेजमा मनाङको चामेबाट ट्रेकिङ गराइन्छ । ट्रेकिङ पारखीहरूका लागि यो ठाउँ अझ राम्रो मानिन्छ । काठमाडौँबाट जाँदा २५ हजार रुपियाँ जति खर्च लाग्छ । यहाँ जाँदा मनाङमा रहेको स्याउ बगान, बेँसीसहर र चामे पनि घुम्न सकिन्छ । पहिरोको समस्याले अहिले भने तिलिचो ताल जाने प्याकेज ट्राभल एजेन्सीहरूले बन्द गरेका छन् ।
हलेसी
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दु एवं बौद्ध तीर्थस्थल हो । धार्मिक आस्थाका व्यक्तिहरू यो स्थलमा पुग्ने गरेका छन् । दर्शनका लागि एक रात, दुई दिनको प्याकेजको बसमा जाने हो भने तीन हजार पाँच सय रुपियाँ र जिपमा जाने हो भने पाँच हजार रुपियाँ खर्च लाग्छ । घुमफिरलाई अलि दिन बढाउने वा जनकपुर पनि जाने हो भने थप एक रात बस्नुपर्छ । आठ हजार रुपियाँसम्म खर्च छुट्याउनुपर्छ ।
पदयात्रा
पछिल्लो समय विभिन्न हिमालका बेस क्याम्पसम्म ‘ट्रेक’ गर्ने परम्परा पनि बढ्दो छ । यसमा युवापुस्ताको ‘क्रेज’ नै छ भन्दा पनि हुन्छ । दशैँ–तिहारको फुर्सदलाई लक्षित गर्दै पदयात्राका लागि पनि प्याकेजहरू बनाइएको छ । पदयात्राका लागि मार्दी ट्रेक, एभरेस्ट बेस क्याम्प ट्रेक र अन्नपूर्ण बेस क्याम्प ट्रेक लोकप्रिय छन् । मार्दी ट्रेकका लागि पाँच रात, छ दिनको प्याकेजका लागि करिब १७ हजार, ११ रात, १२ दिनको एभरेस्ट बेस क्याम्प ट्रेकका लागि ५५ हजार रुपियाँ लाग्ने ट्राभल एजेन्सीहरूले जनाएका छन् । यो खर्चमा फोटो र भिडियो पनि उपलब्ध गराइन्छ ।