शनिवार |

नवरात्रि पूजा

सन्दीप सापकोटा

श्रीमद् देवीभागवतमा बताइएका चार नवरात्रमध्ये शरद् ऋतुमा पर्ने भएकोले महान् चाड दशैँलाई शारदीय नवरात्र र नेवारी परम्परामा मोहिनी नखः अर्थात् मख्ख पार्ने चाड आदि नामले सम्बोधित गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त दुर्गा भवानीको पूजा, आराधना गरिन्छ र दशमीको दिनमा शास्त्रीय विधानअनुसार दुर्गा विसर्जन गरी टीका– जमरा मान्यजनको हातबाट ग्रहण गरिन्छ । यो पर्व आश्विन शुक्ल कोजाग्रत पूर्णिमासम्म मनाउने चलन छ ।
श्रीमद् देवीभागवतमा बताइएअनुसार त्रेतायुगको अन्त्यमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले विश्वकल्याणका निम्ति मनुष्यावतार लिएको र आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजया दशमीको साइतमा लङ्काका राजा रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग उल्लेख छ ।
नौरथामा नवदुर्गाका नौ रूप शैलपुत्री (सम्भावना शक्ति), ब्रह्माचारिणी (चुम्बकीय शक्ति), चन्द्रघण्टा (ध्वनि शक्ति), कूष्माण्डा (रासायनिक शक्ति), स्कन्दमाता (आकर्षण शक्ति), कात्यायनी (ब्रह्माण्डीय केन्द्र शक्ति), कालरात्रि (प्रसारण शक्ति), महागौरी (प्रकाश शक्ति) र सिद्धिदात्री (विद्युतीय शक्ति) को उपासना गरिन्छ ।
मोहिनी नखः मनाउने नेवार समुदायले भने अष्टमातृका अर्थात् ब्रह्मायणी (सृष्टि), माहेश्वरी (संहार), कौमारी (नेतृत्व), नारायणी (स्थिति), बाराही (संरक्षण), इन्द्रायणी (शासन), चामुण्डा (तेज) र महालक्ष्मी (ऐश्वर्य)को पूजा उपासना गर्छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सनातनीयहरूले आफ्नो कुल आचारअनुसार घट (घडा) को स्थापना गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको शास्त्रोक्त विधिले आह्वान गरी पूजन गर्छन् । तामाको घडा वा माटाको घैँटामा गाईको गोबर टाँसेर जौ गाडी घटस्थापना गर्ने प्रचलन छ ।
घडामा गोबर टाँस्नुको वैज्ञानिक महŒव पनि रहेको पाइन्छ । गोबरमा अनेक प्रकारका हानिकारक किटाणु नाश गर्ने क्षमता हुन्छ । गोबरले जैविक औषधिको काम गर्ने भएकाले पञ्चगव्यमा समेत यसलाई समावेश गरिएको छ ।
घटस्थापना गर्दा प्रायः माटोको घैँटो प्रयोग गरिन्छ किनभने माटो पृथ्वीको अङ्ग हो । क्षमाशीलता र धारण गर्ने गुण पृथ्वीमा छ । पृथ्वी विष्णुकी शक्ति हुन् र माटोमा पाप हटाउने क्षमतासमेत रहेको तथ्य हामीले शास्त्रमा पाउन सक्छौँ । कहीँकहीँ तामाको घडा पनि प्रयोग गरिएको पाइन्छ । तामा पनि पृथ्वीको गर्भबाट निकालिएको हो, पृथ्वीकै अंश हो ।
घटस्थापना गर्दा जौ टाँस्ने परम्परा छ । जौको जमरा उमार्नुको तात्पर्य जौको गुण हो । जौमा दूध समानका पोषक तŒवहरू र औषधीय गुणहरूको प्रचूरता पाइन्छ । जौ सबैभन्दा पहिले सृष्टि भएको अन्न मानिन्छ र सर्वथा शुद्ध मानिन्छ । यज्ञिक कार्यहरूमा पनि देवगणहरूलाई हवि अर्पण गर्न बनाइने चरु गाईको शुद्ध घिउ जौ मुछेर बनाइन्छ । पितृ कार्यहरूमा पनि पितृगणहरूलाई जौको पिण्डदान गरिन्छ ।
घटस्थापना गर्दा शुद्ध जलले पूर्ण घटमा भगवतीको आह्वान गरिन्छ । अरू तरल पदार्थको सट्टा जलको प्रयोग गर्नुको कारण जल पञ्चतŒवमध्ये एक तŒव हो । जल पृथ्वीमा जीवन सम्भाव्यताको प्रमुख सूत्राधार हो । प्राणीलाई जलले नै बचाउन सक्छ । यसरी जीवनको पूर्णताका लागि आवश्यक तŒवहरूको पूजन र प्रकृतिमा अन्तर्निहित शक्तिलाई ऊर्जामा परिणत गरी आफूमा विस्तारित गर्नु नै दशैँ मनाउनुको मुख्य उद्देश्य हो ।
नवरात्रको सातौँ दिन सप्तमीमा विशेष आराधना गरिन्छ, जमराघरमा नवपत्रिका प्रवेश गराइन्छ । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि दशैँमा गोरखाको गोरखकाली मन्दिरबाट ल्याइएको पूmलपाती काठमाडौँको हनुमानढोका दशैँघरमा भित्र्याइन्छ । फूलपाती मगर जातिको पूजारीले मात्र भित्र्याउने चलन छ ।
केरा, दारिम, धान, हलेदो, माने, कर्चूर, बेल, अशोक र जयन्तीका बोट तथा पात नवपत्रिकाका रूपमा भित्र्याइन्छ । नवपत्रिका भित्र्याउनु जमराघरमा प्रकृतिको स्थापना गर्नु पनि हो । नवपत्रिका भित्र्याएपछि भगवतीलाई मूल नक्षत्रयुक्त तिथिमा सरस्वतीको आह्वान गरिन्छ तर काठमाडौँ उपत्यकाका मोहिनी नखःका रूपमा दशैँ मनाउने नेवार समुदायहरूले फूलपाती भित्र्याउँदैनन् ।
महाअष्टमीको दिनमा दुर्गाभवानीको विशेष पूजा हुन्छ । शक्तिपीठहरूमा भक्तजनको घुइँचो नै लाग्छ । यसै दिन जमरा राख्नेहरू कतिपयले कालरात्रि गरी अष्टमातृका, चौँसठी योगिनी, अष्टभैरव, भीमसेन, क्षेत्रपाल, सर्वतोभद्र देवता, लिङ्गतोभद्र देवता, श्रीयन्त्र आदिको पूजा गरी भगवतीका शस्त्रअस्त्र सम्झी हातहतियारहरूको पूजासहित बलि अर्पण गरेर पूजा गर्छन् । कतिले जीव बलि नदिइकन घिरौँला, नरिवल, मूला, उखु, कुभिण्डो, आदि शाकाहारी वस्तुको बलि अर्पण गर्छन् । हाम्रो धर्मशास्त्रले राजश, तामस या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी षड्विकारहरूको आहुति भगवती दुर्गा भवानीको समक्ष गर्नु नै वास्तविक बलि हो ।
मोहिनी नखः चाड मनाउने नेवार समुदायले अष्टमीको दिनदेखि तान्त्रिक विधिबाट मोहिनी थाप्ने काम गर्छन् । दशैँलाई मोहिनी नखःका रूपमा मनाउने नेवार समुदायले मोहिनीलाई नै यस चाडको प्रमुख आकर्षण मान्छन् । मोहिनी ग्रहण गर्नु भनेको कसैको नराम्रो कुदृष्टिबाट बच्न भगवतीको शरणागत हुनु हो । नवमीको दिन विशेष गरी भगवती त्रिशूलिनीको पूजा गरी कन्यापूजा, वाहन पूजा गरी दैलामा मार हान्ने भनी भगवतीलाई बलि अर्पण गर्ने परम्परा पनि अद्यपि कायम नै छ । यस दिनमा भीमसेन, भैरव, कुमार, कुमारीको पूजा गरी आफ्नो सवारीसाधन, मेसिन आदिको समेत पूजा गरिन्छ । फूलको सट्टा जमरा चढाइन्छ ।
विजया दशमीको दिनमा जया र विजयाका साथमा भगवती अपराजिताको विशेष पूजा हुन्छ । त्यसपश्चात् देवी विर्सजन गरी घरको थकालीले घरको पूजाकोठामा कुलदेवता, इष्ट देवता, गृहमाता, अन्नपूर्णाको पूजा गरी क्रमशः ज्येष्ठताका आधारमा शक्तिमाताको महाप्रसाद स्वरूप जमरा र टीका आशीषका साथ लगाइ दिन्छन् ।
टीका लगाउनुमा पनि कारण लुकेको छ । टीका लगाइने निधारमा कुण्डलिनीको आज्ञा चक्र स्थित भएको हुन्छ । रातो टीका शक्तिको प्रतीक भएका कारण यसले आज्ञा चक्रमा कुण्डलिनी शक्तिलाई तल्ला चक्रहरूबाट खिच्न मद्दत गरी सहस्रार चक्रसम्म पठाउन मद्दत गर्छ । यसबाट पूर्णतः कुण्डली जागरण हुन्छ र पुनश्चः जन्मृत्युको भव बन्धनमा पर्नु पर्दैन भन्ने मान्यता सनातनीयमा रहेको छ ।
आदिवासी जनजातिहरूले दही र अक्षता हालेर मुछेको टीका लगाउने गर्छन् । सेतो टीका भनेको शान्ति र सात्विक गुणत्मक ऊर्जाको प्रतीक हो । टीका हिन्दुहरूको पहिचान हो । भारतमा बेलायती साम्राज्यको दबाबमा क्रिस्चियनले टीकामाथि कडा प्रतिबन्ध लगाएको हुनाले टीका लगाउन छाडे पनि भारतीयहरूले दशैँलाई दशहराका रूपमा हर्षोल्लासपूर्वक मनाउँछन् ।
यसरी नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीको दिन मान्यजन एवं गुरुजनहरूको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्षदिनसम्म दुःख, दुर्भिक्ष, दुर्भाग्य निवारण भई प्रेम, सद्भाव र आयु, आरोग्य वृद्धि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

सप्तशती चण्डीको तीन चरित्र
मार्कण्डेय पुराणको सावर्णी मन्वन्तरअन्तर्गतको दुर्गा सप्तशती चण्डीमा भगवतीका तीन चरित्रको वर्णन गरिएको पाइन्छ । प्रथम चरित्रमा महाकाली र अनादिकालमा विष्णुको नाभिबाट प्रकट भएको सहस्रदलको कमलमा उत्पत्ति भएका ब्रह्माजीलाई विष्णुको कर्णमलबाट (कानेगुजी) प्रकट भएका दुई शक्तिशाली महादानव मधु र कैटभले दुःख दिएको बारे वर्णन छ । ब्रह्माजीले भगवती योगमायाको मानसिक उपासना गरी दानवहरूले दुःख दिएको कुरा भगवतीलाई अनुरोध गरे । भगवतीले आफ्नो योगबलले विष्णुलाई जागा गराई दानवहरूको संहार गरी सृष्टि क्रम बसाउन पे्ररित गर्नुभयो ।
मध्यम चरित्रमा भगवती महालक्ष्मी (दुर्गा)को उत्पत्ति र महाराक्षस महिषासुरको आतङ्क र दुर्गाद्वारा महिषवधको बारेमा वर्णन छ । महिषासुरले दुःख दिएकाले साह्रै आजित भएका देवगणहरू महादेवको शरणमा गए र महादेवको प्रेरणामा सबै देवगणको मुखबाट तेजराशी उत्पन्न भयो र तेजराशीबाट विशाल ज्योति पुञ्जको निर्माण भयो । त्यही तेजपुञ्जबाट भगवती महालक्ष्मीको उत्पत्ति भयो र देवगणहरूले आफ्ना–आफ्ना शास्त्रास्त्रद्वारा भगवतीलाई सुशोभित गरे । महिषासुरसँग भगवतीको ठूलो रणसङ्ग्राम भयो र नवौँ दिनसम्मको युद्धमा बराबरी भएको र दशौँ दिनमा भगवतीले महिषासुर वध गरेको प्रसङ्ग उल्लेख छ । यहीँबाट नै दशैँको औपचारिक थालनी भएको भन्ने मत विद्वान्हरूले दिएका छन् ।
उत्तर चरित्रमा महासरस्वतीको चरित्र, शुम्भ–निशुम्भ र रक्तबीजको वधको बारेमा वर्णन छ । पहिला महासरस्वतीले शुम्भ र निशुम्भको वध गर्नुभयो । रक्तबीज भगवतीसँग युद्ध गर्न तत्पर भयो तर एक थोपा रगत भुइँमा झरे पनि ऊ समान बलशाली दैत्य प्रकट हुन थाले । यो देखेर भगवतीले काली रूप धारण गर्नुभयो र एक थोपा रगत भुइँमा झर्न नदिई रक्तबीजको रगत नै समाप्त गरी रक्तबीज संहार गर्नुभयो ।