शनिवार |

दशैंकाे सम्झना : आमाको पछ्यौरी समातेर मामाघर जान्थेँ

दीपा

सोह्रश्राद्ध सुरु भएपछि नै दशैँ आउन लाग्यो भनेर रोमाञ्चित हुन्थेँ । घर (विराटनगर) जान पाइन्छ । बुवाको आशीर्वाद लिन पाइन्छ भनेर मन आनन्दित हुन्थ्यो । अहिले पनि दशैँ आउन लाग्दा यस्तै अनुभूति हुन्छ । दशैँमा नयाँ लुगा लगाउने परम्परा बाल्यकालमा मात्र होइन, अहिले पनि यथावत् राखेको छु । नयाँ लुगा लगाएर बुवाको हातबाट टीका थाप्छु । आशिष् लिन्छु । यही आशिष्ले वर्ष दिनभरि काम गर्छ जस्तो लाग्छ । मामाघर जाने, टीका थाप्ने, दक्षिणा कति दिन्छन् भनेर हेर्ने, लिङ्गे पिङ खेल्ने आदि सम्झेर अहिले पनि दशैँको उमङ्गले मन रमाउँछ ।
पहिले मासु खान्थेँ । पछि शाकाहारी भएँ । शाकाहारी भएपछि कसैकसैले तँलाई पनि दशैँ आउँछ र भन्न थाले । दशैँ के खाएर मनाउँछौ पनि भने । खानेपिउने त छँदै छ तर दशैँ मलाई आशीर्वादको चाड हो भन्ने लाग्छ । कञ्चटसम्म आउने गरी टीका लगाउँदा, आमाको पछ्यौरी समातेर खचाखच गाडीमा मामाघर जाँदाको खुसी कति हो कति तर अहिले आफ्नै गाडीमा जाँदा पनि त्यो खुसी आउँदैन । ‘तँलाईं मामाघर नलाने’ मात्र भन्दा पनि कति नरमाइलो लाग्थ्यो । अहिले पनि बुवाले, दिदीबहिनीले दशैँमा नयाँ लुगा तथा उपहार दिनुहुन्छ । त्यो पाउँदा मन फुरुङ्ग हुन्छ । आपूmले जतिसुकै कमाए पनि बुवाको माया, दिदीबहिनीको माया यसमा झल्कन्छ ।
दशैँको अर्को रमाइलो पक्ष भनेको साथीसँगी भेटघाट हुनु पनि हो । बिहे गरेर गएका साथीहरू पनि टीका लगाउन आउँथे । उनीहरूसँगको भेटले छुट्टै आनन्द हुन्थ्यो । आजकल फेसबुक, भिडियो कल आदिले चाहिएको बेला भेट त हुन्छ तर प्रत्यक्ष भेट्दाको जस्तो रमाइलो हुँदैन ।
नवमीको दिन विराटनगरको काली मन्दिरको पूजामा सहभागी हुँदा, पारिजात फुलेर वातावरण नै सुगन्धित हुँदा थप रमाइलो हुन्थ्यो । बिहान ५ बजे नै उठेर पारिजात टिप्ने, साथीसँगी मिलेर घुम्न जाँदा दशैँमा रमाइलो थपिन्थ्यो तर दशैँको त्यो रमाइलो अहिलेका बालबालिकाले कहाँ पाउनु जस्तो लाग्छ । खसी किन्न जाने भन्यो । खसी बजार पुगेपछि ‘बुवा ऊ त्यो खसी किन्ने’ भन्यो । खसी काट्न लाग्दा ‘कान म खान्छु’ भनेर झगडा गयो । यस्ता कुराले छुट्टै आनन्द दिन्थ्यो ।
दशैँमा ममीले बहिनी र मलाई उस्तै लुगा किनिदिनु हुन्थ्यो । मामाघर जाँदा लिङ्गे पिङ खेल्दै खेल्दै जान्थ्यौँ । एक पटक लिङ्गे पिङ खेल्दा लडेर हिलोमा पछारिएँ । नयाँ लुगा हिलैहिलो भयो । मामाघर पुगेपछि ममीले धोएर त सुकाइदिनुभयो तर टीका लगाउने बेलामा सुकेन । बहिनीको नयाँ लुगा लगाएर टीका थाप्न बसेँ । मेरो लुगा लगाएको भनेर बहिनी मुर्छा परेर रुन थाली । यस्ता धेरै घटना दशैँ आउँदा सम्झिरहन्छु ।
मामाघरमा टीका लगाउँदा दक्षिणा कति पाइएला भनेर खुब चासो हुन्थ्यो । मामाले बुवाहरूलाई दक्षिणा खाममा दिनुहुन्थ्यो । हामीलाई हातमा । पाँच रुपियाँको नोट देख्यो कि ‘मामा म टीका लगाउँदिनँ नि’ भन्थेँ । मामाचाहिँ होइन, तिमीलाई धेरै दक्षिणा छ भान्जी भन्नुहुन्थ्यो तर दिनचाहिँ पाँच रुपियाँ नै दिनुहुन्थ्यो । अनि दक्षिण थोरै भयो भनेर टीका पुछेर भाग्थेँ । अहिले पनि मामाहरू ‘भान्जी दक्षिणा त पाँच रुपियाँ मात्र दिने हो’ भनेर जिस्क्याउनु हुन्छ ।

नरमाइलो दशैँ
आमा बित्नुभएको वर्ष २०४७ सालको दशैँ नरमाइलो दशैँका रूपमा बित्यो । गत वर्षको दशैँमा पनि बुवालाई कोभिडले सतायो । कोभिडले उहाँलाई अलि गाह्रो नै बनायो । बुवालाई कोभिड लागेपछि विराटनगर घर जान पनि पाइएन । टीका पनि लगाएनौँ । दशैँजस्तो चाडमा बुवाको हातबाट टीका लगाउन नपाएपछि अखिर मान्छेको जिन्दगी के नै रहेछ त भन्ने पनि लाग्यो ! बाल्यकालको दशैँ मानिसले जीवनभर भुल्दो रहेनछ । अहिलेका बालबालिका मोबाइलमा, नेटमा मात्र रमाउँछन् । हामीले आफ्नो कला संस्कृतिलाई भुल्न हुँदैन । मान्यजनको आशीर्वादले जीवनमा निकै ऊर्जा दिन्छ । जीवनमा टीकाको महŒव ठूलो छ ।

प्रस्तुति : पुष्पराज जोशी