चलचित्रमा तिहारका गीत
राजन घिमिरे
तिहारै आयो लौ झिलिमिली
सुन हजुर भैलिनी आइन् आँगन
जब तिहार नजिकिन्छ, तब चलचित्र स्वर्गको यो गीत गाउँसहर र बजारमा घन्किन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्कन थालेको पनि २५ वर्षभन्दा बढी भइसक्यो । आज पनि यो गीतको चर्चा र उचाइमा कमी आएको छैन । लगभग तीन पुस्ताले यो गीत गाइसकेका छन् भने सुन्नेहरू पनि त्यति नै पुगिसके । २०५० सालमा बनेको यो चलचित्रको तिहारसम्बन्धी यो गीत आज पनि जनजिब्रोमा झुण्डिरहेको छ । चलचित्र स्वर्ग अघि र पछि पनि तिहारको भैलोसम्बन्धी गीत÷सङ्गीत नबनेका होइनन् तर शम्भुजित बाँस्कोटाको सङ्गीत, लोचन भट्टराई र नुतन प्रधानको आवाज रहेको यो गीतको चर्चालाई तिहारसम्बन्धी अन्य गीतले छायामा पार्न सकेको देखिँदैन ।
नेपाली चलचित्रमा समावेश भएका तिहारसम्बन्धी गीतहरूमध्ये कालजयी गीत बन्न सफल यो गीतमा अभिनय गर्ने अभिनेत्री गौरी मल्लको मानसपटलबाट आजसम्म पनि यो गीतको छायाङ्कनको सम्झना ताजा बनेर रहेको छ । उहाँ विगततिर यसरी फर्किनुहुन्छ, “मैले जीवनमा धेरै राम्रा गीतमा काम गर्ने अवसर पाएँ । ती गीतमध्ये यो गीत मलाई चिनाइरहने र दर्शकमाझ सम्झाइरहनेमा पर्छ । हामीले यो गीत चाँगुनारायण क्षेत्रमा खिचेका थियौँ । तीन रात निकै मिहिनेत गरेर खिचेको यो गीत मेरो कलाकारिताको उच्चतम उपलब्धिभित्र पर्दछ ।”
शम्भु प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र स्वर्गको यो गीतको अडियो चक्का नै तात्कालीन समयमा लाखौँ प्रति बिकेको थियो । यो गीतको भिडियोमा वसन्त श्रेष्ठको नृत्य निर्देशनले झनै ज्यान भरेको थियो । चलचित्र स्वर्गको तिहारसम्बन्धी यो गीतलाई माथ गर्न गीत नदेखिए पनि यसकै हाराहारीमा चर्चा पाएको अर्को गीत हो– चलचित्र चिनोको गीत ।
दियो बाली साँझको
फूल चढाई पूजाको
माता लक्ष्मी बसिदेऊ आज
घर संसार सानो हाम्रो
यो गीतमा रञ्जित गजमेरको सङ्गीत रहेको छ भने निर्देशक तुलसी घिमिरे हुनुहुन्छ । यो गीतमा स्वर्गीय सुभद्रा अधिकारी र अर्का स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय रहेको छ । साथमा खलपात्रका रूपमा सुनील थापाको अभिनय रहेको छ । उल्लेख्य कुरा के छ भने योभन्दा पहिले भारतीय चलचित्र बजारमा व्यस्त थापाले यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला हाल्नुभएको थियो । चलचित्र चिनोमा थापाको पहिलो दृश्य तिहारसम्बन्धी यही गीतमा समावेश गरिएको छ । तिहारको आगमनसँगै घन्किने गीतहरूमध्येमा पर्छ, चलचित्र चिनोको यो गीत पनि । यसैगरी चलचित्र ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ ।
अधरमा आज उनकै छ गीत
भैलिनी आइन् आँगन
२०४६ सालमा रिलिज भएको चलचित्र अन्यायको यो गीतमा रञ्जित गजमेरको सङ्गीत रहेको छ भने गीतमा मनिला सोताङ्गले आवाज दिनुभएको छ । यो चलचित्रलाई पनि तुलसी घिमिरेले निर्देशन गर्नुभएको छ भने विश्व बस्नेत र मीरा माधुरी यो चलचित्रका नायक–नायिका हुनुहुन्छ । “चलचित्रमा हामीले गीत मात्र होइन, टीका लगाएको र तिहारको थप परिवेशलाई पनि समेटेका छौँ । यस्तै कारणले गर्दा पनि त्यतिबेला यो चलचित्र हेर्न पारिवारिक दर्शकको भीड लागेको थियो,” चलचित्र अन्यायका नायक तथा निर्माता विश्व बस्नेतले जानकारी दिनुभयो ।
पुराना चलचित्रहरूमा भैलिनीसम्बन्धी गीतहरू समावेश गरिए पनि अर्को पुरानो चलचित्र ‘विजय पराजय’मा भने भाइटीकालाई गीतमा प्रस्तुत गरिएको छ । बहिनी बनेकी रूपा रानाले दाजु बनेका दुई अभिनेता भुवन केसी र कृष्ण मल्ललाई भाइटीका लगाएको दृश्यलाई गीतमा निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । गीतमा नै बहिनीले आशीष दिएकी छन् ।
निधारमा लर्काएर सप्तरङ्गी टीका
हिँडिरहु सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
राजेन्द्र शलभ निर्देशक रहनुभएको चलचित्र ‘विजय पराजय’को यो गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीत दिनेश अधिकारीले लेख्नुभएको हो । २०४७ सालमा प्रदर्शनमा आएको यो चलचित्रमा दाजु र बहिनीबीचको अगाध माया प्रस्तुत गरिएको छ । यो गीत पनि तिहारमा घन्किने गीतमध्येमा नै पर्छ ।
चलचित्रहरूमा तिहारको गीतलाई आकर्षणका रूपमा धेरै चलचित्रले राख्ने गरे पनि ‘भाइटीका’ नामको चलचित्र पनि बनेको । १७ वर्ष अगाडि प्रदर्शनमा आएको यो चलचित्रलाई लक्ष्मीनाथ शर्माले निर्देशन गर्नुभएको हो । अर्को चलचित्र ‘बन्दी’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । सञ्चिता लुइँटेल अभिनित यो चलचित्रको तिहारसम्बन्धी ‘भैलो खेलौँ है भैलिनी हो’ बोलको गीतलाई दयाराम पाण्डेले लेख्नुभएको हो । यस गीतका गायिका अन्जु पन्त हुनुहुन्छ भने सङ्गीत महेश खड्काले दिनुभएको छ ।
एक समय नेपाली सिनेमामा चाडबाड र रीतिरिवाजले अत्यधिक प्राथमिकता पाउने गर्दथ्यो । सिनेमामा यस्ता पक्षहरू समावेश गर्दा सर्जकहरूले समाजप्रति कर्तव्य निर्वाह गरेको प्रतीत हुन्थ्यो । हलमा पारिवारिक दर्शकको पनि घुइँचो लाग्थ्यो । सिनेमाले समाज र संस्कृतिका बारेमा बोल्दा वा यस्ता विषय उठान गर्दा भावी पुस्ताले पनि सिनेमामार्फत आफ्नो चाडबाड र रीतिरिवाजका बारेमा जानकारी पाउँथे तर आजकल बन्ने सिनेमाहरूले यस्ता कुरा बिर्सन थालेका छन् । पछिल्लो पुस्ताले भने नेपाली कला–संस्कृतिलाई सिनेमामा समेट्न सकेका छैनन् । आजका पुस्ताले १५–२० वर्ष अगाडि बनेका नेपाली सिनेमाहरू हेरेर चाडबाडका कुरा थाहा पाउनुपर्ने अवस्था छ ।