रचनागर्भ
हेमराज पाण्डे
जाडो छल्दै र पारिलो घाम ताप्दै धान, पराल स्याहार्न अन्य गाउँलेसरह अर्घाखाँची ठूलापोखराबाट खर्कबँेसी चौहामा ओर्लिएको थियो– पाँच सदस्यीय मेरो परिवार पनि । यहीँ नै मेरो जन्म भयो । बालदर्दको अभाव, तप्तलाई समयले मिनाहा नगर्दा दुःखदर्दले पटकैपिच्छे झम्टिँदै गयो । भवितव्यको प्रहार पनि हत्तपत्त रोकिएन । पाइलैपिच्छे जोडसँग हिर्काइरह्यो । सबै भाग्य लुछिएर अक्क न बक्क परेको आफ्नै परिस्थिति नजिकैबाट चिन्दै गएँ । आमामा गरिब दीनदुःखीप्रति हेक्का गर्ने अनौठो स्वभाव सदावहार बनेर हुर्किएको थियो । घरकी गृहलक्ष्मीको त्यही समदर्शी भावले ससाना घटना बत्तीमा रात लुकेसरह ओझेल पर्दै गए । देवत्वको बासले ओतप्रोत आमाकै आशीर्वादको फल आज रचनागर्भमार्फत यहाँ उजागर गर्न मैले पाएको सम्पूर्ण सफलताको यशश्वी हो ।
बाह्रखरी अक्षर पारिवारिक पाठशालामा आमाद्वारा नै सिकँे । तोते बोल्दै र ताते खेल्दै कालोपाटी खरीढुङ्गा बोकेर पाठशालामा पहिलो प्रवेश भयो । यसपछि काठमाडौँसम्मको अध्ययन यात्रा चल्यो । आर्थिक गर्जो टार्न सञ्चय कोषको जागिरसँगै उच्च शिक्षाले निरन्तरता पायो । यस क्रममा मेरो रचनागर्भ पनि सग्लो रूपमा डोलिँदै गयो । कपाली तमसुक, राजीनामा, दृष्टि भोगबन्धकजस्ता घरेलु लेखापढीको प्रभाव बुवाबाट ममा पनि स¥यो ।
गाउँघरमा शिक्षाको अनिकाल थियो । गाउँले परिवारको परदेशी चिठी वाचन गर्ने र घरको समाचार लेखिदिने गाउँघरको सकल जिम्मेवारी आफ्नै काँधमा थियो । देशमै गुल्मी भार्सेपछि सबैभन्दा बढी विदेशी लाहुरे जन्माउने मेरो गाउँ ठूलापोखरामा हुलाकी दाइ नआएको दिन नै हुँदैनथ्यो । मिलन–विछोड र घर–व्यावहारिक समस्यामा वर्षभरि नै दोहोरो संवाहक चिठी वाचन गर्दा दुवैतर्फका गोप्य खुल्दुली अवगत हुन्थ्यो नै । जन्मभूमिको मायाले सताइएका परदेशीबाट घरको न्यास्रो मेट्ने अवसर अक्सर वसन्त ऋतुलाई आधार बनाएर लेखिएका मर्मस्पर्शी पत्राचारको प्रस्तुत अंश भने अझै कण्ठस्थ छ ।
‘न्याउली बास्छ डाँडाकाँडा काल्चे बास्छ खोला
भेट्न देख्न यति भयो पत्र दिनु होला ।’
प्राथमिकदेखि कलेज स्तरसम्मका शुक्रबार सम्पन्न काव्य गोष्ठीमा अनिवार्य सहभागिता रहन्थ्यो । हेक्का भएसम्म रचनागर्भको सुरु अभिलेख यही नै कविता नै थियो–
स्कुल भवन निर्माण खर्च ६० हजार भयो
वर्षौंसम्म तला छाप्न अझै बाँकी रह्यो ।
अभावग्रस्त राजधानीको पिरलो पनि मेरो रचनागर्भ सलाउन मलजल बन्यो । बिजुली चम्किएसरह सिर्जना मभित्र अटल रूपमा अङ्कुराउन सकेन । अप्रेसन, दुर्घटनाजन्य भवितव्यको मारले खन्ज्याहा बनेको शरीर असन्तुलित आहारविहारबाट सताइँदै गयो । राष्ट्रियस्तरका कविता प्रतियोगितामा पेचिला कवितामार्फत अनिवार्य उपस्थिति जनाउँदै गएँ ।
जीवनका उतारचढाव खुलस्त पार्नु रचनागर्भ अङ्कुरणको अर्को पाटो थियो । एकाएक वैवाहिक जीवन दुर्घटनामा प¥यो । त्यो विकराल क्षणलाई सानै उमेरमा बडो जतनले सम्हालेँ । खँदिला लेख लेख्दै जान र अमर रचना पढ्न उत्तिकै प्रखर बन्यो त्यो समय । मिर्मिरेमा प्रकाशित ‘कात्रोबाट मुक्ति’ शीर्षकको संस्मरण कथा नै त्यसको उदाहरण हो । मद्रासी योगीले जन्मकुण्डली हेरेर सात वर्षमै यस्तो भविष्यवाणी गरेको थियो । नियतिको बसमा खुम्चिएर भावी रूपरेखा कोर्दै अगाडि बढ्ने अठोट गरेँ । रचनागर्भमा गम्भीरतापूर्वक तल्लीन बन्नुपर्ने साङ्केतिक घण्टी समयले बजाइसकेको थियो । चारित्रिक सौन्दर्यलाई विरूप बनाउने खोटबाट झस्किँदै र छल्लिँदै गएँ हरपल ।
पठनपाठन, लेखन सबै क्षेत्रको पृष्ठभूमि उर्वर बन्दै थियो । हल्काफुल्का प्रलोभन, सम्झौताको वासनाबाट म हच्किएको थिएँ । २०४२ सालदेखि नै मेरा रचनागर्भको चिनारी झल्काउने राष्ट्रियस्तरका साहित्यिक पत्रपत्रिकामार्फत सबै सिर्जनालाई पस्किने अवसर पाएको छु । एक्लो लेखकीय प्रयासबाट रचनागर्भले पूर्णता पाउन सक्तैन । यसैले हमेसा सकारात्मक पाठक प्रतिक्रियाप्रति आशातीत छु । परिस्थितिको नियतिले पुनः विवाह बन्धनमा बाँधिएर सरल सहज जिन्दगीको पवित्र डुङ्गामा सयर गर्न थालँे । हमेसा रचनागर्भमा तल्लीन रहन सघाउने पारिवारिक पृष्ठभूमि प्रिय लेखनीमा सहायक सिद्ध बन्यो ।
रोगी, सिकुटे, खन्ज्याहा, पिलन्धरे बन्नु मैले भोगेका भवितव्यका उपज थिए । गाडी दुर्घटना, एपेन्डिक्साइट विस्फोट, विद्युत् करेन्टको आक्रमण, कुकुरको टोकाइको पीडा त छँदै थियो । राप्ती नदीको भेलमा बग्नुका साथै आरु, कालीकाठ, मेवाको रुखबाट लड्नुको फल हातखुट्टा टुटेर जीवनभर अपाङ्ग खोरण्डो जीवन व्यतीत गर्दै छु । चिनी, धातुस्थानको रोगले कालको बल्छीतर्फ धकेल्दै छ । बेकसुरमा धेरैपटक अनायास ठक्करको बाढीले निर्दोषमा मलाई बगाइसकेको छ । सातवटा अप्रेसनको मार थेगिसकेको मेरो शरीरका लागि ससाना घटना अब केही लाग्दैनन् । यही शारीरिक तप्तको भुक्तभोगाइ नै आज मेरो लेखनको खँदिलो पृष्ठभूमि बनेको छ ।
मेरो ससानो भाग्य त एकलकाँटे स्वभावले पनि गुमेको होला । तथापि लैवरीको लहरमा झुसिल्किरे बनेर लत्रिनुभन्दा स्वच्छन्द स्थायित्वमा स्वाभिमानीपूर्वक रमाउने जीवन उपहारको स्वभाव नै मलाई प्रिय लाग्छ । आज ५० वर्ष पुरानो बाल्यकालमा एक पटक फनक्क फर्कंदा मैले आफ्नो छुकछुके स्वभावद्वारा भएका छुल्याइँप्रति क्षमा चाहन्छु । चराका फूल चोर्ने, अरूको बालीमा गाई हुलेर अराजक बन्ने मात्र होइन, स्कुले जीवनमा उखु, भोगटे चोरेर गाउँलेलाई सताउनेजस्ता मद्वारा गरिएका छुल्याइँले मलाई धेरै नै दुःखित बनाएको छ । त्यो छुल्याइँप्रति म प्रायश्चित गर्दै निम्न कविता बोलद्वारा आत्मग्लानि गर्दछु ।
धेरै पाप गरेँ मैले पापीमा नास्तिकै भएँ ।
धर्म वञ्चितको द्वार सयौँ बार त्यतै गएँ ।।
रचनागर्भ निरन्तर झाँगिएकै कारण ‘अस्तित्व बोध’ कविता सङ्ग्रह, ‘रापती किनारको रात’ र ‘साइत जुरेको डाँफे’ नियात्रा सङ्ग्रहमार्फत आफ्नो रचनागर्भ फराकिलो र उर्वर बनाएर आज पाठकसामु झुल्किने सौभाग्य पाएको छु ।