शनिवार |

मुक्तिको स्वरले भरिएका कविता

महेश प्रसाई

तीसको दशकका चर्चित कवि प्रा.डा. विष्णु राईको ‘सूूर्य गिरफ्तार’ नब्बेवटा कविताहरूको सङ्कलन हो । कविता, गीत, कथा र समाजशास्त्रीय अनुसन्धानपश्चात् दशौँ मौलिक कृतिका रूपमा देखापरेको छ, यो ‘सूूर्य गिरफ्तार’ शीर्षकीय कविता सङ्ग्रह ।
प्रतीक र मिथकहरूको कुशल संयोजन छ, यसका अधिकांश काव्य परिप्रेक्ष्यअन्तर्गत । प्रतीकको ‘असीम व्यञ्जना’मा पर्न नसकेका कतिपय सांस्कृतिक सवालहरू लोककथामा आधारित मिथकहरूले, निर्वाह गरेका छन् । जहाँ जीवनको सर्वाङ्गीण एकताको पुनप्र्रतिष्ठा प्राप्त गर्न प्रतीकहरू प्रयोग भएका हुुन् । सँगसँगै लोककथा वा पौराणिक कथाबीजहरूले पुरातन सांस्कृतिक जीवनको महत्तामाथि भौतिक र आध्यात्मिक जगत्लाई जोड्न मिथकीय प्रष्टीकरणको उद्यमता पनि कबुुल भएका छन् ।

मुुन्धुुम संस्कृतिअन्तर्गतका लोककथाका पौराणिक मिथकहरू– येलुुङ, मुखिताङ, रिसिया, कचुुर, केन्छारिप्पा, नोकछोङ, सायारेप्पा, रेम्माला, निनाम्मा, वलिहाङ, हुुमासा, लिमचिम, केम्पा, केम्मा, आदिको प्रयोगद्वारा जीवन र कविताको सनातनीय सांस्कृतिक ओजलाई झनै शक्तिशाली तुुल्याएको अनुुभव हुुन्छ । कविता जुुनसुकै रचनात्मक अनुुभूतिजन्य प्रयोजनहरूले सदा सर्वदा भाव–प्रधान हुुन्छ । यसमा ‘जाति र राष्ट्रको अनुुभूति शक्ति’को वैयक्तिक विशिष्टता हुुन्छ । तसर्थ कविताको सांस्कृतिकता कविता नै हुुन्छ र मूल्यबोधहरूमा, कविताको मानवता पनि कविता नै हुन्छ । राईको यस कृतिले यी यावत् ध्येययीता निर्वाध पुुष्टि गरेका छन् ।

समकालीन नेपाली कवितामा एक पहिचानेतर कवित्वका रूपमा स्थापित विष्णुु राई शीर्ष पङ्क्तिमा चिनिनुुहुुन्छ, आफ्ना समकालीन पोयाहरूलाई उछिनेर । राई र कविता एक अर्काका पूूरक स्वर हुुनुुपर्ने कारण उहाँको ‘एन्थ्रोपोलोजिकल डिस्कोर्स’ प्रमुुख हो भन्नुुपर्दा कुनै अतिशयोक्ति हुने छैन किनभने उहाँ मानव इतिहासको नश्लीय उत्पत्तिदेखि काव्यकारी चेतनाको अदृश्य रसायनसम्म एक मध्यस्थ संवाद स्थापित हुुुँदै आइरहनुुभएको छ, किराँत सभ्यता अन्तर्गत ।

किराँत सभ्यताको पुुरातन इतिहास काव्यिक संस्कारबाट प्रारम्भ भएको मानिन्छ मुुन्धुुमभित्र । प्रयुुक्त यी कवितामा मुुन्धुुमका अतिरिक्त त्रिपिटक पनि छ । उपनिषदीय भाष्यता पनि छ । तथापि उहाँ कुनै निश्चित दर्शनको घेरामा मात्र बाँधिनुु भएको छैन ।
सनातनीय हिन्दुु सभ्यतामा वेदको जे महत्ता छ, मुुन्धुुमको त्यही वैशिष्ट्य रहेको छ, किराँत सभ्यतामा । राई यी वैदिकता र मुुन्धुुमता, दुुवैको फ्युुजन हुुनुुुहुुुन्छ ‘सूूर्य गिरफ्तार’ जस्ता कविताहरूमा ।

ब्रह्माण्डको उत्पत्तिकालदेखि जैविक तत्त्वको सृष्टि, मनुुष्य समाजको विकासक्रम, पारस्परिक सम्बन्ध, प्रकृतिको आराधना, ती समाज र व्यवहारमा पाप–धर्म, विवेक–वैमनष्यता, ईष्र्या–जलन विषयक दृष्टिकोणयुुक्त धारणाहरू व्याख्यायित मन्धुुमले किराँत सभ्यताको हजारौँ वर्ष प्राचीन इतिहासलाई छर्लङ्ग पारेको देखिन्छ । मिथकीय शैली, आख्यानात्मकता, पुराण, गाथा, र बृहत्तर शास्त्रका रूपमा परिभाषित ‘मुन्धुम’ पद्यात्मक र काव्यात्मक शैलीमा सञ्चार–सम्प्रेषण हुँदै आएको छ । ऋग्वेददेखि प्रारम्भ भएको किराँत जाति र तिनको मुन्धुम सभ्यता (संस्कृति) विश्वका अन्य प्राचीन जाति र सभ्यता सँगसँगै विकसित मानिन्छ । आर्य सभ्यताभन्दा अघिदेखि नै समृद्ध रूपमा देखा परेको किराँत सभ्यता जसका नाइके शम्बर थिए । उनैले सतलज उपत्यकादेखि पूर्वाेत्तर राज्यसम्म फैलाएको बुझिन्छ । यजुर्वेद (संस्कृत) देखि ग्रीक इतिहासमा पनि उल्लेख भएको किराँत सभ्यताको विशिष्ट उपलब्धि ‘मुन्धुम’ हो । यस्तो विशिष्ट ‘मुुन्धुम’को प्रभावमा रहनुुभएका कवि विष्णु राईले ‘सूूर्य गिरफ्तार’ मा अनेकौँ सांस्कृतिक मिथक र प्रतीकहरूका माध्यमबाट आफ्नो जातीय सभ्यताको श्रेष्ठता उद्घोष गर्नुभएको छ ।

कविता तर, सभ्यता, संस्कृति वा धर्म र वैचारिकी तहको केन्द्रीय विषयमा मात्र सीमित भएर रहँदैन, राजनीति, दर्शन, जीवन पद्धति, र सूूक्ष्म मनोविज्ञानलगायत अन्य कतिपय अलौकिक विषयीचेतमाथि पनि आरोहण गर्दै अघि बढ्छ । अहिले उहाँका यी कविताहरू विषय वैविध्यतर्फ फैलिँदै जाने क्रममा शब्दब्रह्माण्ड वा शब्दजगत्देखि जीवन चेतनाका, समग्र रहस्यहरूसित ‘संवादरत’ हुन आइपुुगेका छन् । ‘प्रयोजित मान्छे’, ‘देउता होइन होला’, ‘कवि र प्रेमिका’, ‘मान्छेको सिकार’ ‘तपाईं, सरकारी कवि कि’, ‘जितेदस्तीको पुरानो धनुु’, ‘आदिवासी रामप्रसाद कान्छा’, ‘वेश्या रात’,
‘कविताको खोजीमा छु’, ‘यो बाटो कता जान्छ’,

‘तिम्रो विषयमा लेख्दिन’ जस्ता उत्कृष्ट कविताहरूले सङ्ग्रहको सार्थकतालाई महिमामण्डित तुल्याएका छन् । अधिकांश कविताका स्वरहरू मानव मूल्यको विघटनमाथि केन्द्रित छन् ।
कुण्ठा, निराशा, पलायन र अस्तित्व स्खलनहरूले मनुुष्यको श्रेष्ठतामाथि धावा बोलिरहेका छन् । सामाजिक, आर्थिक र राजनीतिक विचलनहरूले देश र जनतालाई रसातलतर्फ उन्मुख तुल्याएको घटनाले कविमन द्रवित हुन पुुगेको छ । कविता यी, विद्रुपीय शैलीमा ‘सार्वभौम मूल्यवत्ता’ कायम राख्न निरन्तर अगाडि बढिरहेको अनुुभूति जो कोही पाठक अध्येताले सहजतापूर्वक गर्न सक्छ । यो सङ्ग्रहमा केही यस्ता गम्भीर कविताहरू छन्, जसले विभेद र उत्पीडनमा रहेको मुनष्य विचलन र वर्गमाथि मुक्तिको स्वर खुलस्त तुल्याएको छ । सँगसँगै जात, धर्म, नश्ल, रङ, वर्ण र सम्प्रदायमा विभाजित संस्कृतिलाई सम्बोधन गरेर लेखिएका कविताका यी पङ्क्ति पङ्क्तिभित्र ‘जीवन र जगत्’ को सार्वभौम परिचय खोज्दै तीती प्रत्ययहरूमा सग्लो मूल्य स्थापना गर्न ‘समष्टिगत चेतना’को मूल प्रवाह उन्मुखीकरण गर्ने क्रम जारी छ । कविताको गुरुत्वाकर्षणमा शब्दात् सबै ती, त्यसैले, मौन बसेका छैनन् कहीँ पनि । कालचिन्तनका यी प्रमेयबोधहरू, काव्यभाषाका द्रवणशील यी सरगम सरसताहरू कहीँ कत्ति मौन रहेनन् । विम्बहरू यी कालिकताका, मौन छैनन् । प्रतीकहरू जुन मुुुहूर्तका छन्, ती मौन छैनन् । भनिन्छ, शब्दहरूलाई के भएको छ कुन्नि, शब्दहरू मौन छैनन् । कलात्मक व्यङ्ग्यका प्रहारमा विद्रुपीय छन्द गाउन तल्लीन छन्, तीती शब्दात् व्यञ्जन सबै ।

कविले भनेजस्तै ‘एपको आधी मगजमा कुदेको मान्छे’ जस्तै भएको छ, समाज पनि, राजनीति पनि । कविता त्यसैले चहकिला सन्देशहरू भएर देखापरेका छन् यहाँ । ती चहकिला व्यञ्जनहरूको निर्विवाद ‘प्रतीकीय सूर्य’ त्यसैले संवेदनाको गिरफ्तारमा आउनु परेको हो । सूूर्यले चमत्कार गर्छ । जीवन प्रवाह गर्छ र नष्ट पनि गर्छ, कहिलेकाहीँ जीवनलाई । तथापि सूूर्य नभई हुँदैन, जीवनलाई पनि, जगत्लाई पनि । प्रकृतिजस्तै, करुणामयी, सुन्दर, सिर्जनशील र रचनात्मक ‘सूर्य संस्कार’ एपकै आधा ऊर्जामा प्रकाशन हुने हुँदा जीवतत्वको सोच, चिन्तन र निर्वाहमा परिष्कार ल्याउन आवश्यक छ । उहाँका कविता त्यसैले आस्थावादी छन्, सिर्जनावादी छन् । ‘सूूर्य गिरफ्तार’का यी कविताहरू प्रायः द्रवित छन्, संवेद्य छन्, त्यसैले निसहाय भएर बसेका छैनन् ।