स्रष्टा र द्रष्टा देवकोटा (कविता)
बद्रीप्रसाद दाहाल
राजाले पिउने सुरा र मदिरा, मान्थ्यौँ प्रजाका खुन ।
दृश्यै दृश्य सुनेर हे प्रिय कवे ! आवाज देख्थ्यौँ छुन ।।
ढोँगी सन्त महन्त निन्दित गरे, तिम्रा सफा काव्यले ।
ढुङ्गा फूल समान चित्रित गरे, निर्धक्क भै काव्यले ।।
ठूला हुन् ‘पसिना–विवेक’ मनुवा संसारको सृष्टिमा ।
हाम्रो लक्ष्य त चन्द्रमा छुनु बनोस्, नौला खुला दृष्टिमा ।।
थैली स्वर्ण त हातका मयल हुन्, गर्दैन क्यै दामले ।
भन्थ्यौँ साग र सिस्नु खानु सुख हो, आनन्द सत्–कामले ।।
के हो अमृत ? देवतागण पिई, स्वर्लोकमा बाँच्दछन् ।
सच्चा आर्जन वा कमाइ पिउँदा, हृत्केन्द्र झन् हाँस्दछन् ।।
साँच्चै आखिरका त कृष्ण भगवान्, रैछन् अहो जानिन !
चोखो भक्ति र ज्ञानका उदधिमा, खेल्नै अहो मानिन !!
आफ्ना जो अनुभूति प्रष्ट दिलले, पोख्यौँ हिमांशुः छुने–
भन्दै, वाङ्मय प्राण हो मुलुकको, संस्कार आफ्नै चुमे ।।
मान्छे होे सुख खोज्दछौ यदि भने, आफू नखाई अरू–
लाई, दान–प्रदान गर्न कसिए, आनन्द होला बरु ।।