मनभित्रको पहिरो (कविता)
विजय सागर
अचम्म !
अटल अचल जङ्गलले भरिएका
सुन्दर भीर, पहरा र पहाडहरूमा पहिरो गएझैँ
कमलो मनभित्र पनि पहिरो जाँदो रहेछ !
मन !
कुटुम्ब !
इष्ट ! मित्र !
दाजु – भाइ ! दिदी – बहिनी !
छोरा – छोरी ! भतिजा–भतिजी !
सबै सबैसँग
नाताको मायालु लहरा भएर
गुजुल्टिएर बेरिएको हुँदो रहेछ !
कहिलेकाहीँ थाहै नपाई ! मायाको गाँठो अलमलिँदा
अनायास मनभित्र पनि
पहिरो जाँदो रहेछ !
जङ्गलले भरिएका सुन्दर भीर, पहरा र पहाडहरूमा
पहिरोपछि !
विसम्भार ! ढुङ्गा, माटो, पोथ्र्रापोथ्री र अजङ्गका रूखहरूका
थुप्राथुप्रीहरूमा
पीडाले भित्रभित्रै रसाएका
पानीका स्रोतहरूले
कहीँ कतै छिचोल्नै नमिल्ने गरी
भासिलो ! भासिलो !! गिलो ! गिलो !! भएर
प्रकृतिको सुन्दर मुहार पनि
अत्यन्तै भयावह कुरूपतामा परिणत हुँदो रहेछ !
मनभित्रको पहिरोपछि !
आँसु पनि आँखाको बाटो नभएर
भग्न मनभित्र भित्रै सलसल बग्दो रहेछ
पहिरोले छताछुल्ल भएका
कमलो मनका टुक्राटाक्रीहरू
जहाँ करूणा, स्नेह र ममताका आर्तनादहरूले
मनले थाम्नै नसक्ने गरी
बगेका आँसुका भेलले
रापिलो ! रापिलो ! भासिलो ! भासिलो !!
सीमसार बन्दो रहेछ !
अटल अचल जङ्गलले भरिएका
सुन्दर भीर, पहरा र पहाडहरूमा गएका पहिरो
सबैले देख्दा रहेछन् !
मन भित्रको पहिरो !
मन भित्रको आँसु !
कसैले पनि चालै पाउँदा रहेनछन् !
कसैले पनि चालै पाउँदा रहेनछन् !