रसिलो तिहार
पुष्पराज जोशी
दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छन् । कतै झिलिमिली बत्ती, कतै भाइमसला त कतै माटाका पाला, दियो तथा मैनबत्तीले पसलहरू भरिभराउ छन् । तिहारका लागि किनमेल गर्नेको घुइँचो पनि बढ्दैछ ।
शरदको शीतल हावासँगै करेसाबारी, बारी र खेतका डिलमा पनि सयपत्री पहेँलपुर भएर ढकमक्क फुलेका छन् । मखमली मुस्कुराएका छन् । गोदावरीको बासना सबैतिर छरिएको छ । लाग्छ, यतिखेर यी पूmलहरू पनि तिहारलाई पर्खी बसेका छन् ।
हुन त चाडपर्वले हरेकका मनमा एक किसिमको उत्साह ल्याउँछ । उमङ्ग छाउँछ । अनुहारमा कान्ति भरिदिन्छ । खाने, पिउने, रमाइलो गर्ने चाडपर्वको विशेषता नै हो तर यी विषयसँगै तिहारले दिदीबहिनी र दाजुभाइबीच मात्र होइन, मानिसलाई पशुपक्षीसित पनि आत्मीय सम्बन्ध गाँस्न सिकाउँछ । पर्यावरणको संरक्षण गर्ने चेतना जगाउँछ । उही बेला नै कविशिरोमणि लेखनाथ पौडेलले तिहारको वर्णन गर्दै कविता लेख्नुभएको थियो–
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार ।
हुन पनि हो, तिहार जतिको रसिलो चाड हामी अर्को पाउन सक्दैनौँ । तिहारको प्रसङ्ग उठ्नेबित्तिकै भक्तपुर निवासी संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः पनि यस चाडको रसिलोपना कति हो कति भनेर दङ्ग पर्नु हुन्छ । भर्खरै मनाइएको दशैँ सम्झँदै उहाँ भन्नुहुन्छ, ‘‘दशैँमा हामीले प्रशस्त मात्रामा रसिक काम ग¥यौँ । आनन्द लियौँ । आकाशलाई हे¥यौँ । चङ्गा उडायौँ । अब तिहार मनाएर आनन्द लिन्छौँ ।’’
पूजा सबैको
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइन्छ । यी पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यम अर्थात् यमराज र पञ्चक भनेको पाँच दिन हो । यमराजलाई हिन्दु धर्मशास्त्रले मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने देवता भनेको छ । नरकको भयबाट मुक्ति पाउने कामनाका साथ यो बेला कागदेखि भाइसम्म पूजा गरिन्छ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । पूजा गर्दा तेल, दूबो सयपत्री/मखमली फूल एउटा दुनामा र पकाएका खानेकुरा अर्को दुनामा राखेर कागलाई ‘काग–काग’ भनेर बोलाएर दिने चलन छ । यसरी कागको पूजा गर्नुको अर्थ के हो त ? संस्कृतिविद् ग्वंगः भन्नुहुन्छ, ‘‘कागले शुभ–अशुभ, असल–खराब सन्देश पु¥याउँछ भन्ने मान्यता रही आएको छ । कागको यही सन्देशात्मक बोलीका लागि हामी उसलाई पूजा गर्छौं । यो कुरा कागको अध्ययन गरेका मानिसहरूले पनि बताउने गरेका छन् । कागको अर्को गुण भनेको आफ्ना सदस्यहरू कोही मरे भने सबै मिलेर शोकसभा गर्छन् । आहारा पाए भने सबै मिलेर खान्छन् ।’’
कागको गुण बखान गर्ने सन्दर्भमा संस्कृतिविद् ग्वंगःले एउटा रोचक कुरो पनि सुनाउनुभयो । उहाँका अनुसार कागले बनाएको गुँड जब नदीमा बहन्छ तब त्यहाँ सबै डाँठ (छेस्का) हरू पानीसँगै बहँदैनन् । कुनै कुनै डाँठ त पानीको बहावभन्दा उल्टो दिशातर्पm बहन्छन् । अर्थात् नदी तलतिर डाँठ माथितिर । माथितिर बहेको डाँठमा शक्ति हुन्छ भनिन्छ । त्यसलाई घरमा ल्याएर ताला छुँदा ताला आफैँ खुल्छ भन्ने विश्वास पनि छ । यस्ता विभिन्न चमत्कार प्रकृतिभित्र छ ।
कागलाई बैगुनी पक्षीको रूपमा पनि हेरिन्छ । यस्तो बानी भएको पक्षीलाई पनि पूजा गर्नुपर्छ भन्नु मित्र मात्र होइन, शत्रुसँग पनि मिलेर बस्नु पर्छ भनेर बुभ्mनु पर्ने समाजशास्त्रीहरूको मत छ । त्यसमाथि कागलाई यमदूत अर्थात् यमराजको दूत मानेर पूजा गर्ने धार्मिक परम्परा त छँदैछ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । धर्मशास्त्रले कुकुरलाई पनि यमदूतको रूपमा वर्णन गरेको छ । भैरवको वाहन पनि हो कुकुर । घरपालुवा मात्र होइन, वर्षदिनभरि गल्लीमा भौँतारिएर हिँड्ने भुस्याहा कुकुरलाई पनि यसदिन घाँटीमा माला लगाइदिइन्छ । मिठामिठा खानेकुरा ख्वाइन्छ । आफूलाई बस्न दिने, आफूलाई ख्वाउने मालिकको कुकुरले दिलोज्यान दिएर रक्षा गर्छ । यही प्रेमका बदलामा पनि कुकुरलाई स्वामीभक्त भनेर पूजा गरिन्छ । यसले घरको रक्षा पनि गर्छ । यस वर्ष भने काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । ककुर तिहारकै दिन सूर्योदय हुन अघि नदी, कुवा वा तलाउमा गएर नुहाइन्छ । यमराजलाई तर्पण गरिन्छ । तेलको बत्ती बालेर जलमा बगाइन्छ । यसदिनलाई ‘नरक चतुदर्शी’ भनिन्छ । गाँउघरतिर ‘नर्के फाल्ने’ दिन पनि भन्छन् ।
कात्तिक कृष्ण औँसी तिहारको तेस्रो दिन हो । यसदिन बेलुका धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिन्छ । लक्ष्मीको साथमा इन्द्र र कुबेरको पनि पूजा गर्ने चलन छ । लक्ष्मीको पूजा गर्नुअघि घरको सरसफाइ गरिन्छ । सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता रही आएको छ । सफा गरेपछि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म रातोमाटो र गाईको गोबरले लिपिन्छ । त्यसमाथि चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । अनि केराको सुत्ला वा माटोका पाला बालेर दीपावली गरिन्छ । माटोको पालाभन्दा पनि मैनबत्ती र बिजुलीका झिलिमिली बत्ती बाल्ने चलन अचेल बढ्दो छ । दीपावली गरिसकेपछि गरगहना, पैसा, धानचामल, सेलरोटी, फलफूल आदि राखेर लक्ष्मीको पूजा गरिन्छ । घरको ढुकुटी, चोटाकोठा सबै ठाउँमा पनि पूजा गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । यस दिन महिलाहरूले समूह बनाई भैलो खेल्छन् । देउसी भने गोरु तिहारको दिन खेलिन्छ । अचेल देउसी र भैलो खेल्ने चलन सर्वसाधारणबाट हटेर सङ्घसंस्थामा पुगेको छ । आर्थिक सङ्कलन गर्ने मेलो बनेको छ । त्यसैले पहिले जस्तो देउसी–भैलोको रौनक अहिले पाउन सकिँदैन ।
तिहारको चौथो दिन गोरु तिहार भनिन्छ । गाई तिहार र गोरु तिहार एकैदिन परेमा गाईसँगै गोरुको पनि पूजा गरिन्छ । गाईलाई हिन्दुहरूले माताको दर्जा दिएर गौमाता भन्छन् । गाईको दूध, दही, घिउ, गहुँत र गोबर मिलाएर बनाइएको पवित्र वस्तुलाई पञ्चगव्य भनिन्छ । पञ्चगव्य पूजादि धार्मिक कार्यका निम्ति बनाइन्छ । गोरस विभिन्न रोगमा अचुक औषधिका रूपमा पनि प्रयोग हुने गरेको छ । गाईको यिनै महìव भएकोले गाईलाई मिठा मिठा खानेकुरा दिएर पूजा गरिन्छ । माला लगाइदिइन्छ ।
गोरु प्नि कृषि युगदेखि नै मानिसका लागि सहयोगी बन्दै आएको छ । गोरुले वर्षभरि कृषिकर्म गर्न हलो जोतेर साथ दिन्छ । अन्न उत्पादनमा गोरुले गरेको यो सहयोग बिर्सन नसकिने कार्य हो । त्यसैले तिहारमा गोरुलाई पूजा गरिन्छ । यस दिनलाई हली तिहार पनि भनिन्छ । गाई–गोरुको साथमा हलीलाई पनि मिठा मिठा परिकार खान दिने चलन छ ।
यही दिन गाईको गोठमा गोवद्र्धन पूजा गरिन्छ । गाईको गोबरलाई गोवद्र्धन पर्वतको प्रतीकका रूपमा स्थापना गरी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएपछि गोकुलवासीले गोवद्र्धन पर्वतको पूजा गरेका थिए रे । त्यसैको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो भन्ने मान्यता छ ।
वास्तवमा ‘गो’ भनेको गाई र ‘वद्र्धन’ भनेको वृद्धि हो । अर्थात् गोवद्र्धन भनेको गाईको वृद्धि भन्ने बुझिन्छ । त्यसैले गोवद्र्धन पूजा गर्नु भनेको पर्वतको मात्र पूजा गर्नु भनेर बुझ्यौँ भने अपूरो हुने संस्कृतिविद् ग्वंगःको धारणा छ । उहाँ गाईलाई वृद्धि गर्न घाँसपात चाहिन्छ । घाँसपात पहाडमा हुन्छ । त्यसैले पहाडलाई बचाउनु पर्छ, हरियाली/जडीबुटी जोगाउनु पर्छ भनेर हाम्रो धर्मसंस्कृतिले नै सिकाएको सगौरव बताउनुहुन्छ । यही कुरो नबुभ्mनाले/नगर्नाले पहिरो जाने, बाढी आउने, बेमौसमी वर्षा हुने, पर्यावरणको नास हुनेजस्ता प्राकृतिक विनास हामीले पनि भोगेकै कुरो हो ।
नेपाल संवत्को नयाँवर्ष पनि तिहारको चौथो दिनमा नै पर्छ । यो संवत् चन्द्रमासअनुसार गणना गरिन्छ । यस दिन नेवारहरूले म्हःपूजा (अत्मपूजा) गर्छन् । यस पूजामा आफ्नो शरीरलाई आफैँ पूजा गरिन्छ । आफ्नो जीवनको दीर्घायुको कामना गरिन्छ । दीर्घजीवी फल, फूल र अन्य सामग्रीको प्रयोग गरी म्हःपूजा गरिन्छ ।
पाँचौँ दिन अर्थात् अन्तिम दिन भाइतिहार पर्छ । भाइतिहार दाजुभाइ दिदीबहिनीको ठूलो चाड हो, महोत्सव हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर मिठामिठा खानेकुरा, फलफूल, सुकेका फल (भाइमसला) का साथमा मखमलीका माला लगाइदिएर पूजा गर्छन् । दाजुभाइले पनि सकेको दक्षिणा र उपहार दिदीबहिनीलाई दिन्छन् । पूजा गर्दा दियो, कलश, गणेशको स्थापना गरी यमराजको आह्वान गरिन्छ । दिदीबहिनीद्वारा दाजुभाइको दीर्घजीवनको कामना गरिन्छ । दीर्घजीवनका प्रतीक मखमली माला, दुबो, ओखर, कटुस, विमिरो आदिको प्रयोग गरिन्छ । नेवारहरूले त माछा, मासु, मासको बारा, अण्डा र पालामा रक्सी सगुनका रूपमा दिन्छन् । यसलाई पञ्चतìवका प्रतीकका रूपमा लिइन्छ ।
यसरी यस चाडले मानिस, पशुपक्षी, प्रकृति सबैको सहअस्तित्व स्वीकार गर्न लगाएको छ । प्रकृति र पर्यावरणको संरक्षण गर्न सिकाएको छ । गुणको कदर गर्न जान्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।
बत्ती र फूलको चाड
तिहार भन्नासाथ झिलिमिली बत्तीको सम्झना भइहाल्छ । औँसीको रातमा दीपावली गरे ऐश्वर्य र धनधान्यकी देवी लक्ष्मी खुसी हुन्छिन् भन्ने मान्यता छ । यो मान्यता आफ्नो ठाउँमा होला तर ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतर्पm जानुपर्छ भनेर उपनिषद्ले भनेको छ । दीपावली गर्नुको एउटा कारण अँध्यारोलाई हटाएर उज्यालोतर्पm जानुपर्छ भन्ने सङ्केत पनि हो । अज्ञानबाट ज्ञानतर्पm जानु पनि हो । फेरि अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतीक पनि मानिन्छ । अर्थात् सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि हो ।
मैनबत्ती र विद्युतीय रङ्गीन बत्तीको चलन आउनुअघि पनि दुना वा पालामा बत्ती बालेर घर–आँगन उज्यालो पारिन्थ्यो । गाउँसहर सबैतिर यस्तो दृश्य देख्दा यो बेला कसको मन नरमाउला र ! फेरि दीपावलीका नाममा बालिएका बत्तीले वर्षाकालमा खेतबारीमा सिर्जना भएका कीराहरू नियन्त्रण गर्छ । पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ पनि भनिन्छ ।
तिहार फूलको पनि चाड हो । यो बेला सयपत्री, मखमली र गोदावरी ढकमक्क फुल्छन् । यी फूलले वातावरणको सौन्दर्य त बढाउँछन् नै । हाम्रो संस्कृति पनि झल्काउँछन् । त्यसैले तिहारमा यी फूलको प्रयोग गरिन्छ । करेसाबारी, बारीका कान्ला र खेतका डिलमा सजिलै हुर्किने सयपत्री फूल नेपालमा अन्य फूलभन्दा धेरै लोकप्रिय छ । तिहारमा मात्र होइन, अरू बेला पनि यो फूलको प्रयोग अत्यधिक हुन्छ । औषधीय गुणले भरिपूर्ण यो फूलको रङले मनुष्यको अहंकारलाई कम गर्ने कथन पनि रही आएको छ । सयपत्रीको एउटै थुँगामा सयौँ पत्र हुन्छ । हरेक पत्र एउटा थुँगासरह हुन्छ भनेर च्यातेर पनि भगवान्को पूजा गरिन्छ । त्यसैले तिहारमा ज–जसको पूजा गरिन्छ, उनीहरूलाई सयपत्रीका माला पहि¥याइदिइन्छ । घरको झ्यालढोकामा पनि टाँगिन्छ ।
मखमली फूल भने कहिल्यै नओइलाउने फूलको रूपमा परिचित छ । दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध पनि यस्तै दिगो होस् भनेर मखमलीको माला भाइटीका गर्दा प्रयोग गरिन्छ । गोदावरी फूलले भने हामीलाई संवेदनशील हुन सिकाउँछ ।
तिहारको बजार
हाम्रा चाडपर्वले बजारलाई पनि चलायमान गराउँछन् । कोरोनाको कारणले थला परेको अर्थतन्त्र दशैँबाट जुर्मुराउन थालेको छ । आन्तरिक मात्र होइन, वैदेशिक व्यापार पनि यतिखेर बढेको छ । एक तथ्याङ्कअनुसार कुला खुद्रा व्यापारमध्ये ३० प्रतिशत दशैँ–तिहारको बेला मात्र हुन्छ ।
यसपालिको तिहारमा पूmलको मात्र १० देखि ११ करोड रुपियाँको कारोबार हुने अनुमान फ्लोरिकल्चर्स एसोसियन (फ्यान) ले गरेको छ । फ्यानका महासचिव विश्वमणि पोखरेलका अनुसार तिहारका लागि सयपत्री माला (प्रतिमिटर) साढे पन्ध्र लाख, मखमली तीन लाख र गोदावरी १५ हजार खपत हुने अनुमान छ । मखमली र गोदावरीको माग भने देशभित्रैको उत्पादनले धान्छ । सयपत्री माला भने करिब दुई लाख ३२ हजारदेखि दुई लाख ५० हजारसम्म भारतबाट आयात गर्नुपर्ने अनुमान छ । तिहारको बेला मखमली माला अस्ट्रेलिया, जापान, तथा दुबईमा समेत निर्यात हुने गरेको छ । त्यहाँ बसेका नेपालीका लागि यो माला प्रयोग हुन्छ ।
गत वर्षभन्दा यस वर्ष फूलको माला सस्तो हुने अनुमान फ्यानले गरेको छ । सयपत्री ५५ देखि ६० रुपियाँ, गोदावरी ३५० रुपियाँभन्दा माथि र मखमली ३५ देखि ४० रुपियाँ प्रतिमाला थोकमूल्य ताकिएको छ ।
यसैगरी मैनबत्ती र विद्युतीय बत्तीको चलन बढे पनि माटाका पाला तथा दियोको माग पनि बजारमा उच्च रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, भक्तपुरका अध्यक्ष प्रेम खर्बुजाले जानकारी दिनुभयो । भक्तपुर र तराई क्षेत्रमा यो व्यवसायमा संलग्न मानिसलाई यतिखेर पाला र दियो बनाउन चटारो छ । पाला र दियो कति बिक्री हुन्छ भन्ने यकिन तथ्याङ्क त छैन तर यस पटक गत वर्षभन्दा बढ्ने अनुमान अध्यक्ष खर्बुजाले गर्नुभयो ।
भाइमसला, फलफूल, रङ, विद्युतीय बत्तीको कारोबार पनि तिहारमा अत्यधिक हुन्छ । कोरोनाअघि विद्युतीय बत्तीको कारोबार ३० करोड रुपियाँको भएको व्यापारीहरू बताउँछन् । विशेषगरी फूल, फलफूल र अन्न तिहारमा बिक्री हुन्छन् । यी वस्तु गाउँघरका उत्पादन हुन् । गाउँघरका वस्तुले बजार पाएपछि निम्न आर्थिक स्तर भएका व्यक्तिको गोजी पनि नगदले भरिन्छ । अनि त तिहारको उमङ्गसँगै उनीहरूको अनुहारमा पनि कान्ति छाउँछ ।
उपसंहार
रसिलो तिहारको बखान जति गरे पनि सकिँदैन । हाम्रा चाडपर्वले परिवारका सदस्य, नातागोता, पशुपक्षी, प्रकृति सबैको आआफ्नै महìव अथ्र्याएको छ । आफ्नो स्वार्थमा मात्र नभुली अग्रज पुस्ताको हेरविचार गर्ने दायित्व पनि चाडपर्वले सिकाएको छ । त्यसलाई बुझ्न र मनन मात्र गर्न सक्नुपर्छ । औकातभन्दा बाहिरको सौगात देखाउने बानी गर्नुहुँदैन । देखासिखी गर्नु भनेको अनर्थ हो । यो अर्थ होइन भन्दै संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः भन्नुहुन्छ,
‘‘तिहारकै सन्दर्भमा पनि न त दाजुभाइको न त दिदीबहिनीको नै तडकभडक गर्ने अपेक्षा हुन्छ । दिदीबहिनीले केही दिएपछि दाजुभाइले पनि केही त दिनै प¥यो । दाजुभाइले केही दिन नसकेमा उनीहरूमा आत्मग्लानी हुन्छ । यो अत्मग्लानी तिहार मनाउँदा कतैबाट पनि हुनु भएन ।’’
उहाँ भन्नुहुन्छ, ‘‘तिहारमा ओखर खेल्ने चलन अहिले नास भइसक्यो । चङ्गा उडाउने, पिङ खेल्ने चलन लोप हुँदैछ । परिवर्तनका नाममा परम्परा नास हँुदै छन् । परिवर्तन भनेको चिन्तनमा प्रभाव पर्नु हो न कि परम्परालाई नास गर्नु । त्यसैले आत्मीय धारणाहरू प्रवाह गरेर चाडवर्प मनाउनुपर्छ । मायाले मायालाई जोगाउने हो । मायालाई तुहाउन चाडपर्व मनाउने होइन ।’’ ग्वंगःका यी विचारलाई अनुसरण गर्दै अगाडि बढ्दा पो माथि उल्लेख गरिएको कविशिरोमणि लेखनाथ पौडेलको कविताका पङ्क्तिले सार्थकता पाउला, होइन र !