कमजोर कथामा बेजोड एक्सन
सुकृत नेपाल
बलिउड निर्देशक रेहित शेट्टीले बनाउनुभएका प्रायः चलचित्रहरू एक्सनमय हुन्छन् । ‘सूर्यवंशी’ पनि एक्सनले भरिएको मसलादार चलचित्र हो । चलचित्रले अहिले सय करोडभन्दा माथि कमाइसकेको छ । रोहित शेट्टी प्रायः पुलिसको कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र बनाउने गर्नुहुन्छ । उहाँले अजय देवगनलाई लिएर पुलिसकै विषयमा ‘सिङ्घम’को दुई भाग बनाउनुभयो भने रणवीर सिंहलाई लिएर ‘सिम्बा’ बनाउनुभयो । उहाँलाई बलिउडमा आधुनिक युगको ‘मनमोहन देसाई’ पनि भन्ने गरिन्छ ।
‘सूर्यवंशी’ कोभिडभन्दा अघि नै प्रदर्शनमा आउनुपर्ने चलचित्र हो तर कोरोना महामारीका कारण प्रदर्शनीमा ढिलाइ भयो । चलचित्रको कथालाई सत्य घटनामा जोड्नका लागि निर्देशकले सन् १९९३ मा मुम्बईमा भएको आतङ्कवादी बम विस्फोटलाई घुमाउरो तरिकाले जोड्नुभएको छ ।
सन् १९९३ मा मुम्बईमा शृङ्खलाबद्ध बम विस्फोट भएको थियो । जुन भयानक थियो । त्यो समय आतङ्ककारीले एक हजार किलो आरडीएक्स (विस्फोटक पदार्थ) मुम्बई भिœयाएका थिए । मुम्बई हमलामा चार सय किलो आरडीएक्स प्रयोग भयो । बाँकी छ सय किलो आरडीएक्स कहाँ र कता लुकाइएको छ, कसैलाई थाहा छैन । त्यो आरडीएक्स कहाँ लुकाइयो र आतङ्ककारीले मुम्बईमा फेरि हमला गर्न के कस्तो योजना बनाउँदै छन् । मुम्बईमा अर्को भयानक हमला कहिले हुन्छ ? यसमा त्यही आरडीएक्स प्रयोग गरिँदै छ, जो २८ वर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो । यही कुराको वरिपरि घुमेको छ– चलचित्र ‘सूर्यवंशी’को कथा ।
वीर सूर्यवंशी (अक्षय कुमार) जो एउटा पुलिस अफिसर हुन्छन् । उनलाई विशेष सूत्रबाट थाहा हुन्छ कि त्यो छ सय किलो आरडीएक्स मुम्बईमा नै छ र त्यही आरडीएक्समार्फत आतङ्ककारीहरू मुम्बईमा फेरि हमला गर्ने योजना बनाइरहेका छन् । मुम्बईलाई बचाउन परिवारलाई भन्दा आफ्नो कामलाई नै प्राथमिकतामा राखेर उनी यो केस सुल्झाउन लागिपर्छन् । उनी एक्लैैले यो आतङ्कसँग लड्न नसकेर उनलाई साथ दिन सिङ्घम (अजय देवगन) र सिम्बा (रणवीर सिंह) पनि आउँछन् । यी तीन पुलिस अफिसरले कसरी मुम्बईलाई बचाउँछन् भन्ने कुरा नै चलचित्रको क्लाइमेक्स हो ।
मुम्बई सहर, जो पटक–पटक आतङ्ककारीको निशाना बनिरहन्छ । यो सहरले एकपछि अर्को शृङ्खलाबद्ध बम विस्फोटको घाउ सहनु परेको छ । मुम्बईमा अब सबैभन्दा भयानक बम विस्फोट हुँदै छ । यो गुप्त योजनालाई विफल तुल्याउँदै सिङ्गो भारतलाई आगोको मुस्लोमा परिणत हुन नदिन सूर्यवंशी कटिबद्ध छ । यसका लागि उनी आफ्नो परिवारसमेत नभनी लागिपरेका छन् । उनले विगतमा भएको मुम्बई बम विस्फोटमा आफ्ना आमा–बुवालाई पनि गुमाएका हुन्छन् ।
मुम्बई सहरमा स्लिपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफिज (ज्याकी श्राफ) र उनका साथीहरूले बदलाको भावसहित ४० जनाको समूहलाई भारतका विभिन्न सहरमा पठाएका हुन्छन् । उनीहरूले त्यसबेलासम्म कसैको हानि पु¥याउने छैनन्, जबसम्म सही समय आउँदैन । यस्तो समय आउन वर्षौंवर्ष पनि लाग्नसक्छ । आतङ्ककारीहरू चाहन्छन्, हिन्दुस्तानका सहरमाथि आगोको लप्काहरू उठेको हेर्न र सम्पूर्ण सहर खरानी पार्न । उनीहरूको यस्तो चाहना हुनुका कारण हिन्दुस्तानमा उनीहरूमाथि भएका ज्यादती नै हो । कतिले त्यहाँ आम(ाबुवा गुमाए, कतिले बालबच्चा । अर्थात् हिन्दुस्तानले उनीहरूको जीवनमा कहिल्यै नमेटिने चोट दिएको छ, जसको बदला लिन उनीहरूले आतङ्कको बाटो अपनाएका छन् ।
मुम्बईमा भएको बम विस्फोटको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डो¥याएको छ । काल्पनिक भए पनि, चलचित्रले दर्शकको ध्यान भड्काउँदैन । अक्षय कुमारको हेलिकप्टरमा झुण्डिएको दृश्यदेखि लिएर उनले बाइक कुदाएको दृश्यले दर्शकको ध्यान अवश्य नै फिल्ममा तान्छ । चलचित्रको कथा केही नयाँ होइन । दर्शकले चलाचित्र हेर्नुको मुख्य कारण अक्षय कुमारको एक्सन नै हो । आतङ्ककारी र प्रहरीबीचको घम्साघम्सीबीच चलचित्रको मूल कथा बग्छ । पूर्ववत् रूपमै मुस्लिम अनुहारमा आतङ्ककारीको मुखुण्डो पहि¥याइएको छ तर असली मुस्लिम आतङ्ककारी छैनन् भन्ने कुरा पनि पुष्टि गर्न खोजिएको छ ।
चलचित्रमा बम विस्फोट हुने भयले तितरवितर हुँदै गरेको एक व्यस्त गल्लीमा जब गणेशको प्रतिमालाई जोगाउन मुस्लिमहरूले हातेमालो गर्छन्, यस्ता दृश्यहरूले धार्मिक सहिष्णुताको कुरालाई अरू प्रगाढ बनाउन खोजिएको हो कि जस्तो लाग्छ । मस्जिदको पृष्ठभूमिमा गणेशको प्रतिमालाई देखाएर सबै धर्म, जातजातिप्रति सम्मान पनि दर्शाइएको छ ।
चलचित्रमा भरपुर मात्रामा गाडी उडाउने, पड्काउने काम गरिएको छ । निर्देशक आपैmँले गर्नुभएको एक्सन–कोरियोग्राफी भव्य छ । सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरको तालमेलले सिनेमा हलको रौनक बढाइदिन्छ ।
सिम्बा (रणवीर सिंह) र सिङ्घम (अजय देवगन)लाई प्रवेश गराएर क्लाइमेक्समा जसरी धमाका देखाउन खोजिएको छ, त्यसविपरीत मूल कथा फितलो बनेको छ ।
अक्षय कुमार लामो समयपछि एक्सन फिल्ममा फर्किनुभएको छ । उहाँको एक्सनको खुवीलाई देखेर नै निर्देशकले सूर्यवंशीको भूमिका डिजाइन गर्नुभएको जस्तो देखिन्छ । जसमा अक्षय कुमारले आफूले देखाउन सक्ने भरपुर एक्सन फिल्ममा देखाउनुभएको छ । यस्तै चलचित्रकी नायिका कट्रिना कैफको भूमिकामा खासै दम छैन । एक त उहाँलाई दिइएको भूमिका नै कम छ र चलचित्रको नायकको वरिपरि घुम्नका लागि मात्र अभिनय गराइएको हो कि जस्तो पनि भान हुन्छ । चलचित्रमा ज्याकी श्राफको भूमिका पनि एकदमै कम छ । निकितन धिर, गुलसन ग्रोवर, जावेद जाफरी, अभिमन्यु सिंह, कुमुद मिश्रा, राजेन्द्र गुप्ता लगायतको सानो सानो भूमिका भए पनि उहाँहरूले चलचित्रमा सम्झनलायक छाप छाड्नुभएको छ । चलचित्रको सिनेम्याटोग्राफी खासै नयाँपन छैन तर सङ्गीत रमाइलो छ । रविना टण्डन र अक्षय कुमारले नृृत्य गरेको ‘टिप टिप वर्षा पानी’ बोेलको रिमेकमा कट्रिनाले आकर्षक नृत्य गर्नुभएको छ । चलचित्रमा अक्षय कुमारको नाम बिर्सने बानीले दर्शकलाई हसाउँछ । यही चलचित्रबाट निर्देशक रोहित शेट्टी र अजय देवगनले ‘सिङ्घम ३’ पनि चाँडै दर्शकमाझ आउने सङ्केत दिनुभएको छ ।
‘सूर्यवंशी’ले दर्शकलाई हलसम्म तान्ने काम त गरेको छ तर चलचित्रको कथामा भने खासै नयाँ कुरा देखिँदैन तर यो पक्का हो कि नेपाली सिनेकर्मीहरूलाई नेपाली चलचित्र चलाउन यसले हौसला भने जगाइदिएको छ ।
कोरोना महामारीपछि तहसनहस सिनेमा हल अब के होला ? भन्ने नेपाली सिनेकर्मीहरूको ठूलो चिन्ता र चासोको विषय बनेको थियो तर चलचित्र ‘सूर्यवंशी’ले सबैको यो चिन्ता मेटिदिएको छ । जवाफ दिएको छ, राम्रो चलचित्र बन्यो भने दर्शक अवश्य हलमा आउँछन् । सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ क्यूएफएक्समा लागेको तीन दिनपछि हट्यो । कति हलमा सो रद्द नै भए । त्यसैले पनि धेरैको नजर ‘सूर्यवंशी’मै थियो । महामारीले स्थगन भएका नेपाली चलचित्रहरू ‘सूर्यवंशी’पछि प्रदर्शनको तयारीमा छन् । निर्माता अर्जुन कुमारले ‘चपली हाइट ३’ पुस २ मा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् भने अन्य चलचित्रको पनि प्रदर्शन मिति तोक्ने काम हुँदै छ ।