शनिवार |

युद्ध किन ? (कविता)

मुकुन्द पोखरेल

शान्ति भन्दै सबै मानिस
बुद्ध खोज्छन्
आखिर युुद्ध हुन्छ किन ?

विचारै हो
विचारको गर्भ मस्तिष्कमा हुन्छ
मनले त्यसको जन्म दिन्छ

अध्ययन, अनुसन्धानका आरनबाटै
निसृत ती–सुन्दर विचार, उत्कृष्ट दर्शन
विज्ञानका नूतन सिद्धान्तहरू
विलक्षण प्रतिभामा आउँछन्

तर,
युद्धका कारण, रूप–विधान
वैविध्य हुन्छन्–
विश्वयुद्धका जस्तै

वैचारिक युद्धमा त
विशिष्ट चिन्तन–मनन
ओजपूर्ण किताब नै मारहान्ने–
शस्त्रास्त्र हुन्छन्
लाखौँ, करोडौँका एउटै चिहान खन्ने
रासायनिक, जैविक क्षेप्यास्त्र पनि
समयको बगलीबाट वर्षिन सक्छन्–
समरमा

सबै शान्ति भन्दै बुद्ध खोज्छन्,
आखिर युद्ध किन ?