जीवनको शाश्वत सत्य
प्रदिप्नराज पन्त
चिकित्सकका लागि एउटा रोगी मानिसलाई मृत घोषित गर्नु अपेक्षाकृत सरल कार्य हुन सक्छ । अहिले चिकित्सा विज्ञानमा मृत्युसम्बन्धी सर्वमान्य सिद्धान्तसमेत कायम भएको छ जसअनुसार रक्तसञ्चार, श्वासप्रश्वासको समाप्ति र मष्तिस्कको तना (ब्रेन स्टेम) सहित मस्तिष्कको सम्पूर्ण कार्यको अपरिवर्तनीय समाप्तिलाई मृत भन्ने गरिएको छ । जसको कारणले चिकित्सकहरूका लागि मृत्यु र जीवनबीचको अन्तर पहिल्याउन अन्तरङ्ग (इनपेसेन्ट) रोगीहरूको अवस्थामा सहज हुन गएको छ तर सबैखाले मृत्युको बारेमा अनुमान लगाउन सकिन्न । युद्ध लड्दै गरेको सैनिक, युद्धमा रिपोर्टिङ गर्दै गरेका फोटो पत्रकारहरू, दुर्घटना र चोटबाट ग्रस्त व्यक्ति र मानसिक रोगी आदिको बारेमा को कतिखेर मर्छ भन्न सकिन्न । मृत्युलाई टारेर टार्न सकिन्न, अवश्यम्भावी छ तर सहज सुखमय तरिकाले मृत्युवरण गर्न सकिन्छ र यसका लागि व्यक्ति स्वयंले योजना बनाउन सक्छ भन्ने जानकारी मानिसलाई हुन जरुरी छ ।
रहस्यमय
एक लाख त्रिपन्न हजार मानिस दैनिक मर्ने गर्छन् । केही सामुद्रिक प्रजातिबाहेक धरतीमा जन्म लिनेले मर्नै पर्छ । जेलिफिस मात्रै त्यस्तो प्रजाति हो, जो अमर छ । यसैले जेलिफिसकै जीन जीवहरूमा प्रयुक्त गरेर मानिसलाई अमर बनाउने प्रयास गरिएको भए पनि त्यस्तो प्रयास सफल हुन सकेको छैन । यसैले मृत्यु रहस्यमयी बनेको छ र मृत्युको कल्पनाले मात्रै पनि मानिसलाई भय, अनिश्चितता र निराशा बढाउने गर्छ । संसारका झण्डै पचास प्रतिशत मानिस सोच्ने गर्छन् कि उनीहरूको परिजन मरेका छैनन् बरु उनीहरू आफ्ना पूर्वजहरूसँग अन्य लोकमा रमाएर बसेको छन् । हामीमध्ये धेरै शरीर र आत्मा बीचको सम्बन्धलाई लिएर भ्रमित पनि छाँै । मानिसको विश्वासअनुसार मृत्युको प्रभाव हुन्छ भनेर अनुसन्धानले औँल्याएको छ । मृत्युको बारेमा जे विश्वास गरिन्छ, त्यही विश्वासले मानिसलाई गहिरो प्रभाव पर्छ र मानिसको मृत्यु हुन्छ भन्ने गरिएको छ । यसैले होला संसारमा भएका विभिन्न सम्प्रदाय र आस्थाका मानिसहरूको मृत्युसम्बन्धी मत पनि फरक फरक छ ।
क्रिस्चियनहरू मृत्युलाई आत्मा शरीरबाट छुट्टिने सामान्य प्रक्रिया हो भन्ने गर्छन् र उनीहरू आरामदायक गरिमायुक्त मरण चाहान्छन् । जुडैज्ममा यहुदीहरू मृत्युलाई एक प्राकृतिक प्रक्रिया मान्छन् र त्यसलाई रोक्ने प्रयास गर्न हुन्न भन्ने उनीहरूको मत छ । इस्लाममा मृत्युलाई समग्र ईश्वरीय योजनाको भागमा स्वीकार गरिएको छ र मृत्युलाई अस्तित्वको एक अवस्थाबाट अर्को अवस्थाको सङ्क्रमणको प्रतीक मानिएको छ । मृत्युको समय उपचार खोज्नु पर्छ र कुनै पनि बहानामा मानिसलाई मार्न हँुदैन भन्ने इस्लामको मान्यता हो । बौद्धमार्गीहरू मर्नुलाई अत्यन्त पावन र पवित्र ठान्दछन् । मर्ने बेलामा मनले अत्यन्त शान्ति पाउने कुरामा उनीहरूको विश्वास छ । कर्मलाई एउटा जीवनबाट अर्को जीवनमा स्थानान्तरण गर्ने पवित्र बिन्दु नै मृत्यु हो भन्ने उनीहरूको बुझाइ छ ।
हिन्दुहरू पनि पुनर्जन्ममा विश्वास गर्छन् । आत्मा अनेकौँ जुनी चक्रबाट गुज्रिन्छ भन्ने उनीहरूको मान्यता छ । पुनर्जन्मलाई पीडारहित र आशक्तिबाट मुक्त बनाउन जन्मदेखि नै प्रयासरत हुनु पर्छ र यसका लागि ज्ञान अथवा मोक्ष प्राप्त गर्न प्रयासरत हुनु पर्छ भन्ने मान्यता हिन्दुहरूको छ । हिन्दुहरूको मृत्युसम्बन्धी धारणा के छ भने कर्म एक व्यक्तिको अनुभवको पुनर्जन्मको रूपलाई प्रभावित गर्छ र वर्तमानमा भएको दुःख या सुख पूर्वजन्ममा भएका कार्य र विचारको परिणाम हो । कष्ट सहेर पनि एउटा चरित्रवान हिन्दुले आफ्नो पछिल्लो जन्मको नकारात्मक व्यवहारबाट लागेको ऋणलाई चुक्ता गर्न प्राण रहेसम्म प्रयास गर्छ र यही प्रयास सफल भयो भने उसले मोक्ष प्राप्त गर्छ तर मानिस एक भावनात्मक प्राणी हो र आफ्नो दैनिक क्रियाकलापमा भावनाको एक विस्तृत शृङ्खलाको अनुभव गर्ने गर्छ । फलस्वरूप क्षणमै खुसी, क्षणमै दुःखी हुने गर्छ । उपलब्ध समयलाई कसरी व्यवस्थित र गलत समयलाई कसरी प्रभावी ढङ्गले सामाना गर्ने भन्ने बारेमा अनभिज्ञ भएको कारणले मृत्युलाई सधैँ रहस्यमयी ठान्छ र सधैँ मानिस डराएका हुन्छ तर मृत्यु मानव जीवनको अपरिहार्य हिस्सा हो । यसको आगमनलाई संवेदनशील भएर सोच्नु पर्छ र मृत्युलाई भय र तिरष्कार गर्न‘ हुँदैन ।
मृत्यु बोध
मानव जीवनको सबैभन्दा ठूलो रहस्योद्घाटन मृत्युको नजिक पुगेको मानिसबाट हुने गर्छ । यसैले मृत्युको समयलाई आफँैले आफैँलाई अनुशासित गर्ने र भावनाको प्रतिविम्बित गर्ने महŒवपूर्ण समय भनिएको छ र त्यो पल या निमेष मात्रको भए पनि त्यो समय सबैभन्दा आनन्ददायक र अत्यन्त खुसीको हुन्छ । किनकि यही एउटा समय हो जतिखेर मानिसले अन्य सबै कुरा बिर्सिएर सत्य के हो जान्न खोजेको हुन्छ र सत्य थाहा पाउँछ । जसले उसलाई अत्यन्त खुसी प्रदान गर्छ ।
मानिसको सबैभन्दा ठूलो कमजोरी के हो भने जीवित रहुञ्जेल मानिसले मानिसलाई व्यक्तिको रूपमा चिन्ने प्रयासै गर्दैन । मानिसले सम्बन्धको आधारमा मानिसलाई चिन्न खोज्छ । पिता, माता, साथी, दाजु, भाइ, छिमेकी आदि । हामी यस्तो स्मृतिमा जिउँछाँै, जो कहिल्यै सत्य हुनै सक्दैन र हामी हतास हुन्छौँ । कुनै याद राख्न लायक बस्तु पनि हुँदैन । विगतका भुलका लागि हामी दुःख र ग्लानीमा पनि जिउँछौँ । जीवन के हो, खुसी के हो बुझ्दैनौँ । सधैँ हाम्रो ढोकामा ढकढकाइ रहेको एक सामाञ्जस्यपूर्ण दिव्य धड्कन र शाश्वत लयको नृत्य जो हामीलाई लगातार जान्न र बुझ्नका लागि भनिरहेको छ र जीवनको न कोही अन्त्य छ न कोही सुरुवात न कोही सखा न कोहीसम्बन्धी, न कुनै ठूला न कुनै साना भनेर सन्देश दिइरहेको छ । सबभन्दा शाश्वत सत्य मृत्युलाई बुझ्नु हो ।
मृत्यु एउटा सार्वभौमिक नाडीजस्तै हो । नाडीको त्यस्तो चाल जो हामी सबैमा विद्यमान छ । जीवनको चक्र यस्तो छ कि जिउनको अवसर सधैँ र निरन्तर छ । जो हामीले पहिला चुनेका थिएनौँ । मृत्युको सुन्दर पक्ष भनेको यही हो । मृत्यु मानव मस्तिष्कको जटिल प्रक्रिया हँुदाहुँदै यो मानव अनुभव र अनुभूतिसँग पनि सम्बन्धित छ । जब मानिसले मृत्यु बोध गर्छ तब मस्तिष्कले परमानन्दको एकोहोरो धुन उत्पन्न गर्छ । मानिस खुसी हँुदा समय टक्क अडिन्छ, जहाँ छ त्यहीँ स्थिर रहन्छ । मृत्युको शाश्वत सत्य पनि के हो भने मृत्युपश्चात् मानिसलाई समयको महŒव हुँदैन । जब मानिसलाई समयको महŒव हुँद हुँदैन, लोभ, लालच, ईष्र्या, घृणा सबै अन्त्य हुन्छ र खुसी नै खुसी प्राप्त हुन्छ । मानव जीवनको उद्देश्य नै मृत्युको बोध हुनु हो । जसबाट अनन्त खुसी प्राप्त हुन्छ । यसैले सुखी जीवन जिउनका लागि मृत्यु बोध हुन अनिवार्य छ । मृत्यु बोध भइसकेपछि नाता, सम्बन्धलगायत संसारका सबै मानिसहरूलाई व्यक्तिको रूपमा सहज पहिचान गर्न सकिन्छ ।
मृत्युको बोध कसरी गर्न सकिन्छ भनेर सिग्मण्ड फ्रायडले वर्णन गरेका छन् । फ्रायडको आफ्नो पुस्तक ‘वियोण्ड द प्लेजर प्रिन्सिपल’मा ‘सबै जीवनको लक्ष्य मृत्यु हो’ भनेर लेखिएको छ । उक्त पुस्तकमा जीवन प्रवृत्ति र मृत्यु प्रवृत्तिको बारेमा वर्णन गरिएको छ ।
फ्रायडका अनुसार रिस र आक्रामकता मानिसको मृत्यु प्रवृत्तिले गर्दा उत्पन्न हुन्छ अर्थात् अचेतन अवस्थामा मात्र रिस र आक्रामकता शान्त हुन्छ र चेतन अवस्थामा यो प्रकट हुन्छ । यसैले मृत्युको बोध मानिसलाई चेतन अवस्थामा हँुदैन भन्ने विश्वास फ्रायडको छ । बोध हुन्थ्यो भने उसले रिस आक्रमण गर्दैनथ्यो । उनका अनुसार मानिसलाई मृत्युको बोध अचेतन अवस्थामा मात्र हुन्छ तर चेतन हुनासाथ जीवन प्रवृत्ति नै भारी हुन्छ । अनि रिस आक्रामकता प्रकट गर्छ र मृत्युको इच्छालाई दबाएर राख्छ ।
यहाँनेर बुझ्नुपर्ने के छ भने रिस र आक्रामकता जबसम्म मानिसमा हुन्छ तबसम्म उसलाई मृत्यु बोध भएको ठानिँदैन । रिस, आवेग र आक्रामकतालाई जब मानिसले जीवन प्रवृत्तिमा ढालेर त्यसलाई मत्थर बनाउँछ तब उसलाई मृत्यु बोध भएको भन्न सकिन्छ । उमेरको आधारमा मात्रै मृत्यु बोध हुन्छ भन्ने ठान्नु पनि गलत हुन्छ । मृत्यु बोध हँुदैमा जीवन प्रवृत्ति छोड्ने भन्ने होइन । व्यवहार, व्यवसाय जीवनपर्यन्त गर्नै पर्छ । मृत्यु बोधको अर्थ रिस आक्रामकतालगायत नकारात्मक भावनालाई तिलाञ्जली दिने र मृत्युलाई स्वीकार गर्ने भन्ने हो ।
सुखमृत्यु
पौराणिक ग्रन्थहरूमा इच्छामृत्यु र मृत्युको योजना बनाइएको प्रशस्त उदाहरणहरू छन् । रामायणअनुसार भगवान् श्रीरामले शवरीलाई दर्शन दिएर उनको कुटीबाट बाहिरिएपछि शवरीले योगामी (साधनाबाट प्राप्त अलौकिक शक्ति)को प्रयोग गरी आफूलाई भष्म गरेकी थिइन् । महाभारत युद्धमा वाणशय्यामा रहेका भीष्मले कुरुक्षेत्रको युद्धपश्चात् सूर्य उत्तरायण भएपछि प्राण त्याग गरेका थिए । अहिले चिकित्सा विज्ञानमा पनि समयअनुसार नै आफूले चाहेको समयमा प्राण जाने व्यवस्था गर्न सकिन्छ । यसलाई इच्छामृत्यु या सुखमय मृत्यु भन्ने गरिएको छ ।
गम्भीर बिरामी र असाध्यै कष्टबाट मुक्ति पाउन सुखमय मृत्युलाई वैधता दिनुपर्ने बहस संसारभरि नै छ । इच्छामृत्यु युनानी शब्द युथेनेसियाबाट आएको हो । जसको पर्यायवाची नेपाली शब्द हुन्छ ‘सुखमृत्यु’ । युथेनेसियालाई अहिले केही देशले ‘मर्सी किलिङ’ अर्थात् ‘दयामृत्यु’समेत भन्न थालेका छन् । वृद्धहरूले मात्र होइन, धेरै मानिसले दयामृत्युको याचना सरकारसँग गर्ने गरेका छन् । यसका दुई प्रकार छन् । निष्क्रिय र सक्रिय । निष्क्रिय इच्छामृत्युमा असाध्यै कष्ट झेलेको व्यक्तिको उपचार रोक्न, जस्तो कि जीवन रक्षक प्रणाली भेन्टिलेटरलगायत चिकित्सकीय सेवा आदि बन्द गर्ने र अर्को सक्रिय मृत्यु जसमा मानिसको इच्छामा संज्ञाहरण (एनास्थेसिया) विधिद्वारा जीवनलीला समाप्त गर्न‘ तर बाँच्न चाहनेलाई अन्तिम अवस्थामा समेत सरोकारवालाहरूले बचाउने प्रयास गर्नुपर्छ र सहमति भए पनि मानिसले मर्छ‘ भन्दैमा मार्न पाइँदैन भन्ने बहस पनि छ । अन्तर्राष्ट्रिय स्तरमा बहस हुनुका साथै सुखमृत्युको कार्यान्वयन भएको र यसलाई मृत्यु योजनाको अभिन्न अङ्गसमेत बनाउन थालिएको छ तर नेपालमा अहिलेसम्म सुखमृत्युलाई कानुनी मान्यता दिइएको छैन ।
गम्भीर रोगबाट ग्रस्त, ज्यादै कष्टमा भएका व्यक्तिहरूका लागि मृत्युको प्रावधान दिने व्यवस्था धेरै देशमा प्रचलन भए पनि स्वैच्छिक इच्छा मृत्यु (सुखमृत्यु) चाहिँ केही सीमित देशमा मात्र प्रचलनमा छ । स्विटजरल्यान्ड, बेल्जियम, क्यानडा, लक्जेमवर्ग, कोलम्बिया, स्पेनलगायत अस्ट्रेलियाको केही राज्यहरूमा दयामृत्यु कानुनी रूपमा नै प्रचलनमा छ । हालै न्युजिल्यान्डमा समेत दयामृत्युलाई कानुनी मान्यता दिइएको छ । दयामृत्युको अवस्था देश संस्कृतिअनुसार परिभाषित गरिएको छ । अर्थात् विशेष अवस्थाहरूको वर्णन गरिएको छ । यसका लागि खास चिकित्सकहरूलाई छुट्टै लाइसेन्सको व्यवस्थासमेत गरिएको छ । जुन पायो त्यही चिकित्सकले दयामृत्यु दिन पाउँदैन । दयामृत्युमा विशेष गरेर लामो जीवन भोगेका व्यक्तिहरूले याचना गर्न पाउँछन् र अहिले दयामृत्यका लागि त्यस्तो प्रावधान नभएका देशका मानिसहरूले समेत ती देशहरूमा गई मृत्युवरण गर्ने गरेका छन् ।
मृत्यु योजना भनेको आफू जिउँदै हुँदाको उपलब्ध समयलाई कसरी व्यवस्थित गर्ने र मृत्युपछिको समय या आफ्नो अनुपस्थितिमा समयलाई कसरी प्रभावी ढङ्गले सामाना गर्ने भन्ने हो । जसले गर्दा समग्र रूपले सर्वोत्तम जीवनको अनुभव गर्न सकियोस् भन्ने हो । ‘मृत्योर्मा अमृत गमय’ अर्थात् मलाई नश्वरताको संसारमा नराख्नुस् बरु अमरताको संसार (आत्म साक्षात्कार) मा लैजानुस् । मृत्यु योजना भनेकै आत्म साक्षात्कार हो । आत्म साक्षात्कारको पहिलो चरण भनेकै व्यक्ति स्वयंलाई ‘म पनि मेरा पूर्वजहरू जस्तै मर्छु’ भन्ने आत्मानुभूति हुनु हो । त्यसपछि आफूसँग आश्रित र प्रिय स्वजनहरूलाई आफ्नो मृत्युपश्चात् कुनै पनि निर्णय लिन असहज नहोस् भनेर आवश्यक व्यावहारिक सूचनाहरू उपलब्ध गराउने व्यवस्था गर्नु नै मृत्युको योजना गर्ने सबैभन्दा महŒवपूर्ण र अनिवार्य आवश्यकता हो । यसको मनोवैज्ञानिक पक्ष के छ भने यसरी सबै सूचना उपलब्ध भए पछि अन्तिम समयमा शान्तिपूर्ण रूपमा मर्ने अवसर आफन्तहरूले दिने छन् र तपाईंले खुसी खुसी र शान्तिपूर्ण तरिकाले मर्ने अवसर प्राप्त गर्न सक्नु हुन्छ ।
भौतिक रूपको समाप्ति भनेको अभौतिक रूपको सुरुवात पनि हो । मर्नेलाई सबैले याद गर्छन् तर आफ्नो स्वजन अथवा समाजले मलाई यो रूपमा स्मरण गरोस् भन्ने अपेक्षा चाहिँ राख्न हँुदैन । योगदानको आधारमा मानिसले मानिसलाई सम्झन्छन् तर अनावश्यक आफूले आफ्नो जीवनकालमा पूरा गर्न नसकेका इच्छा परिपूर्ति गर्ने चाहाना अरूलाई थोपरेर उनीहरूलाई बोझको भारी बोकाउन हुँदैन । मृत्यु योजना यस्तो होस्, अन्तिम समयमा सबै प्रियजनहरूले कृतज्ञता व्यक्त गरेर आनन्दको अनुभव गर्न सकून् ।
मृत्यु योजना भनेको तपाईंलाई अन्तिम समयमा कुनै दुःख नआवस् भन्ने मात्र नभई तपाईंका स्वजन र समाजलाई पनि कुनै पीडा नहोस् भन्ने नै हो । अन्त जब आउँछ त्यसलाई ठीकसँग प्रबन्ध गर्न सकियोस् । मृत्यु योजनाले आफ्नो जीवनको अन्तिम क्षणमा आफ्नो प्रियजन, आफू अशक्त भएको बेलामा देखभाल गर्ने सहयोगीहरू, चिकित्सा विशेषज्ञ र सम्भव भएसम्म सार्वजनिक जीवनका व्यक्तिहरूसँग समेत खुलेर इमानदारीका साथ चर्चा गर्न सक्षम बनाउँछ । मृत्यु जीवनको एक हिस्सा हो । हामी सबै एउटा उल्लासमय मृत्युका लागि लायक छौँ । हामी सबैको मृत्यु सम्मान र इमानदारीपूर्वक आदर्श तरिकाले हुनुपर्छ ।