शनिवार |

‘हाँसौँ, बाँचौँ र हँसाऔँ’को समीकरण

रमेश गोर्खाली

स्थायी गम्भीरताको बर्को ओढेर दिनचर्या चलाउने कतिपयलाई देख्ता मलाई ताजुप लाग्ने गर्दछ । हो, जीवनयापन त्यति सजिलो हँुदैन, आफू घरमूली र अभिभावक बनेपछि असङ्ख्य व्यक्तिले व्यावहारिक दुनियादारीमा बुझ्ने यथार्थ यही हो । समाजमा केही व्यक्ति यस्ता छन्, जो आफ्नो दैनिकीमा दुःख र सङ्घर्षको उल्लेख नगरी प्रसन्नचित्त रहने गर्छन् । यस्तै व्यक्तित्व प्रायः अरूका लागि अभिप्रेरक बन्छन् । लोकतन्त्र, पद्धतिबीच सर्वाधिक सराहनीय परिपाटी हो । आवधिक दलीय निर्वाचन प्रणालीले नागरिकको जीवनलाई यौटा सुकिलो गति दिने प्रयास गर्छ । व्यक्रिसत्ता जो नागरिक हो राजनीतिक व्यवस्थामा आफू कसरी सक्रिय हुनुपर्छ, त्यो उसको चिन्तनमा निर्भर गर्छ ।

सामाजिकीकरण (सोसलाइजेसन)को व्यवहार र प्रसारणले भावी पुस्ता तयार भइरहेको हुन्छ । अर्थात् तिनलाई थुप्रै कुराको ज्ञान भइरहेको हुन्छ । विकासोन्मुख राज्यका बासिन्दाको जीवन प्रायः गरी दुःखजिलो र कष्टपूर्ण हुने गर्छ । संस्थापनका प्रवक्ताले सूचना सञ्जालमा फलाकेजस्तै व्यावहारिक जीवन त्यति सहज हुँदैन । समस्यालाई न्यूनीकृत गर्दै प्रत्येक व्यक्ति आफँै स्वावलम्बी र कर्मठ बन्नु जरुरी देखिन्छ । दलगत धु्रवीकरणको क्षुद्रताले मित्रता एवं सहचर्यमा जुन व्यवधान खडा गरेका छन्, तिनको समाधान झन् झन् चुनौतीपूर्ण हँुदै गएको स्थिति छ ।

बुद्धिवेत्ताले वैशेषिक, न्याय, मिमांसा, साङ्ख्य, योग र वेदान्त भनी छवटा दर्शन पहिल्याएको पाइन्छ । पूर्वीय र वैश्विकचक्र यिनै दर्शनले परिचालित छन् । एक्काइसौँ शताब्दीको मानवीय जीवनको मार्गचित्र (रोडम्याप)मा यस्ता दर्शनको आआफ्नो किसिमको भूमिका भए पनि निष्कर्ष परिस्थितिसापेक्ष हुन्छ । समाधानपरक असङ्ख्य कुरा, सन्दर्भ र बुँदामा मान्छे झन् निरपेक्षभैmँ बन्दै गएको भेटिन्छ । विज्ञानसूचक प्रविधिको असीम विकासले मान्छे–मान्छेबीच कृत्रिम दूरी बढे पनि पारस्परिक सहसम्बन्ध तथा मैत्रीको गाँठो आत्मीय तुल्याउनु पर्छ । सकसहरूले अत्यधिक दुःख दिँदा आन्तरिक रूपमा सबल बनौँ । ‘हाँसौँ, बाँचौँ र हँसाऔँ’को दर्शन आवश्यक रूपमा कतिपय प्रसङ्गमा सम्पुष्ट नभएको पाइन्छ ।

साहित्यिक नवरसमा हास्य, शृङ्गार करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत र शान्त प्रभृतिको चर्चा भेटिन्छ । काँडाबीच फुलेको कुसुमभैmँ धेरथोर निरपेक्ष जीवन बाँच्न खोज्दा कसैलाई पनि त्यो परिस्थिति फेला पर्दैन । जीवन सङ्घर्षको दौड हो भन्ने ठम्याइ सटिक क्षणमा हाँस्ने गरौँ तर अन्तरयथार्थहरू समन्वित र केन्द्रीभूत नभई मान्छेको हाँसो अपूर्ण रहन सक्दछ । जीवनयापनलाई सहज र सरलीकृत तुल्याउनु एक प्रकारले कठिन दायित्व हो । जुन चिन्तनले दिगो श्रमसंस्कृतिलाई संवहन गर्दछ, त्यही सन्दर्भलाई समृद्ध मान्नुपर्छ । फितलो र दरिद्र मानसिकताले बौद्धिक समृद्धिको उच्चतालाई थेग्न नसक्ने देखिन्छ । सापेक्षतया युगान्तर र क्रान्तिधर्मिताले मानसिक दरिद्रका अनुयायीलाई एकदिन पछार्ने निश्चित छ ।

सांस्कृतिक जीवनलाई आयाम प्रदान गर्न उन्नत नागरिक खुसियाली आवश्यक छन् । पुस्तागत युगान्तरण र परिवर्तनलाई यसरी नै क्रमिक रूपमा विकसित तुल्याउनुपर्छ । आठौँदैखि नवौँ वा त्यसभन्दा परको समयसीमामा समेत प्रत्येक नागरिक हाँसेको हुनुपर्छ तथा हाँस्न पाउनुपर्छ । यस्तो दूरगामी भविष्यदर्शनको चिन्तन र तिनको समीकरण अत्यावश्यक छ । आफ्नो र परिवारको उदरपूर्ति गरेर दायित्व पूरा भयो भन्ने थुप्रैसित हामी सजग बन्नु जरुरी छ । केहीलाई महापुरुष वा देवतुल्य त्यसै भनिँदैन वा त्यस्तो काल्पनिकीको प्रादुर्भाव हँुदैन । मानवोचित थुप्रै लोकोपयोगी कार्य र सुकार्य गर्ने सीमित कर्मवीरलाई मात्र यस्तो श्रेय एवं पगरी गुताइन्छ । ‘श्रेय पाऔँ, शौर्य छरौँ र श्रेष्ठता दर्शाऔँ’ भनी लम्बेतान परिकल्पना गर्दैमा त्यो समुद्देश्यबिन्दु (गन्तव्य) भेटिँदैन । मानवतावादी गहिरो समर्पणले मात्र उक्त दर्शनलाई सुपुष्ट पार्ने गर्दछ ।

भैरव (अर्याल), केशव (पिँडाली), वासुदेव (लुइँटेल), बालमुकुन्ददेव (पाण्डेय) र विश्व (शाक्य) प्रभृति आधुनिक नेपाली हास्यव्यङ्ग्य निबन्धका केही अगुवा तथा मान्य हुन् । यस्तै श्याम र राम छन्, भनौँ श्याम गोतामे, रामकुमार पाण्डे, नरनाथ लुइँटेल, चट्याङमास्टर र नरेन्द्रराज पौडेल छन् । रङ्गकर्मीका रूपमा सर्वश्री मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, वसुन्धरा भुसाल तथा सन्तोष पन्त, दीपकराज गिरी, जितु नेपाल र दीपाश्री निरौैला आदिको हास्यव्यङ्ग्य ओतप्रोत भूमिका विश्लेषणीय एवं प्रशंसनीय रहेको अधिसङ्ख्यकको ठहर छ ।

यीजस्ता प्रत्येक व्यक्तित्व र स्रष्टाको आआफ्नो किसिमको मानक एवं उच्चता फेला पर्दछ । विशेषतया हास्यदेव वासुदेव लुइँटेल (संवत् १९७४ भदौ २३–२०६३ भदौ २५ गते)ले आफ्नो जीवनकालमा भेटघाट हुँदा ‘हाँसौँ, बाँचौँ र हँसाऔँ समीकरण’जस्ता सूक्तिको अटूट रूपमा पुनरावृत्ति गरिरहनुहुन्थ्यो । महापुरुषका रूपमा प्रतिविम्बित यस्ता एक/दुई जना सर्जकका विनोदशास्त्रीय आत्मग्रहण, समीकरण र चिन्तन प्रेरणास्पद रहेको देखिन्छ ।