शनिवार |

भानुप्रकाश

राजेन्द्र पुडासैनी

भानुप्रकाशको उमेर यस्तै तेह्र/चौध वर्षको छ । यो उमेरलाई किशोर अवस्था वा चञ्चले उमेर जे भने पनि हुन्छ । पाँच जना गाउँका यस्तै उमेरका केटाहरू मिल्छन् र गुलेली बोकेर चराको शिकारमा निस्कन्छन् । कहिले भँगेरा, कहिले ढुकुर त कहिले परेवालाई यिनीहरू निशाना साध्छन् ।
भानुप्रकाशका बाबुआमाले स्कुल भर्ना नगरिदिएका पनि होइनन् तर के गर्नु नानीदेखिको बानी । स्कुल जान्छु भनेर हिँड्यो अनि उतैबाट शिकारमा निस्कियो । यी पाँचै अल्लारे केटाहरूको एउटै जागिर थियो शिकार । वैज्ञानिकहरूले नयाँनयाँ खोज गरेजस्तै यी पनि चराचुरुङ्गीका नयाँनयाँ गुँड खोज्दै हिँड्थे । कहिले गुँडबाट फुल चोरेर पनि हिँड्थे ।

एक दिन यिनीहरूले एउटा ढुकुरको शिकार गरे । पाखो बारीमा सबै मिलेर पोलेर खाए । आजकलका नेताहरूले पद नपाएर झैझगडा गरे जस्तो यिनीहरू पनि कहिलेकाहीँ मासुका लागि झगडा गर्थे । तुरुन्तै मेलमिलाप र समझदारी पनि गर्थे ।
भानुप्रकाश गाउँका गन्यमान्य व्यक्तिका छोरा थिए । यिनका बाबु केशवप्रसाद समक्ष स्कुलका हेडमास्टरले सिकायत पनि गरेका थिए । छोराको सिकायत सुनेर केशवप्रसादको कान पनि टट्याएको थियो तर के गर्नु ? यो उरन्ठेउलो उमेर हो । बच्चाहरू जिद्दीवाल हुन्छन् । बुझाएर बुझाउन नसकिने, सम्झाएर सम्झाउन नसकिने । आफ्नो भविष्यको उचित निर्णय लिन नसक्ने । महात्मा गान्धीले भनेका छन् ‘खराब मानिसलाई सुधार्ने मुख्य औषधि हो, प्रेम र स्नेह ।’ प्रेम र स्नेह नपाएर कति बच्चाहरू बरालिएका छन् ।

बच्चाहरूलाई अनावश्यक गाली गर्दा तिनीहरू कहिलेकाहीँ गलत कदम पनि उठाउँछन् । कोही घरै छाडेर भागेका पनि छन् । सहरमा देखापर्ने कतिपय सडक बालबालिकाको अवस्था हेर्दा के देखिन्छ भने कसैका बाबुआमा गुमाएर टुहुरा बनेका, कोही सौतेनी बाबुआमाको दुव्र्यवहारबाट आजित भएका, केही चरम गरिबीबाट गुज्रेका । अझ कतिपय बालबालिका त खैनी र चुरोटको कुलतमा परेका पनि छन् । सुधारगृहमा हुनुपर्ने यस्ता बच्चाहरू सडकछाप बनेर भौँतारिरहेका हुन्छन् ।
बालबालिकालाई आमाबाबुले धेरैभन्दा धेरै समय दिन सक्नुपर्छ । खेतीपाती, बस्तुभाउ, मेलापात गर्नुपर्ने व्यक्तिले कहाँबाट धेरै समय पाउनु र ? बिरालाले बच्चा च्यापेजस्तो यस्ता बाबुआमाले छोराछोरी च्यापेर मात्र कसरी राख्न पाउनु ?

भानुप्रकाशकै गाउँले थिए आनन्दप्रसाद । उनका छोराहरू सहरमा डेरा लिएर पढ्दै थिए । भानुप्रकाशको आचरण थाहा पाएपछि आनन्दप्रसादले उसलाई पनि सहरमा राखेर पढाउने सल्लाह दिए । भानुका बाबुलाई पनि छोराको कुसङ्गत छुट्याउने यो अचुक औषधि नै लाग्यो । सहर सुध्रनेका लागि मौका पनि हो, सहर बिग्रनेका लागि अवसर पनि हो । बोर्डिङको नियम कडा हुन्छ । उठ्ने, सुत्ने, पढ्ने, होमवर्क गर्ने यी सबै नियम छन् । नियम मान्नु भनेको अनुशासित हुनु हो । खराब सङ्गत छुटेपछि ऊ पनि सुध्रेला कि ?
सहरमा भीडभाड छ, घुइँचो छ, हुलमूल छ । सहर बत्तीको झिलिमिलीले सजिएको छ भने फोहरका डङ्गुरले भरिएको पनि छ । सहरमा राम्रा स्कुल, कलेज छन् । पढाउने शिक्षक र पढ्ने राम्रा विद्यार्थी पनि छन् । अनुसन्धान र आविष्कार केन्द्र पनि सहरमै छन् । शरीर बेच्ने र किन्नेहरूको घुइँचो पनि छ । हेरोइन, अफिम, चरेसको कारोबारी पनि छन् । घुसखोरी, भ्रष्टाचारी र कालोबजारी पनि त छन् सहरमा । मानव बेचबिखनको साङ्लो पनि छ कतैकतै । कालो धनलाई सेतो धन बनाउने जादुगर पनि त छन् सहरमा ।

गाउँमा अशिक्षा, बेरोजगारी र गरिबी छ । कतै पछौटेपन छ त कतै रुढिवादी छ तर गाउँमा प्राकृतिक सुन्दरता र मौलिकता पनि त छ । सहरको जस्तो कृत्रिमता र कोलाहल चाहिँ पक्कै छैन तर के गर्नु, आखिर भानुप्रकाशलाई गाउँमा राखिराखेर पनि त भएर नि ।
सहरको मुनलाइट बोर्डिङ स्कुलमा भाुनप्रकाशलाई भर्ना गरिएको छ । भानुप्रकाशको भविष्य त उनकै हातमा छ । बोर्डिङको कडा नियम र अनुशासनले भानुलाई बाँधेको छ । अब गुलेली खेलाउने उनका साथीहरू यहाँ छैनन् । नयाँ ठाँउ, नयाँ परिवेश । अब ढुकुर, भँगेरा र परेवाको पक्कै शिकार खेल्न पाइने छैन यहाँ । बाटो बिराएकाहरूलाई जब सही दिशानिर्देश गर्ने गाइड फेला पर्छ, तब उनीहरू सही बाटो समात्न पुग्छन् । सही बाटो पकड्नेहरू सजिलै गन्तव्यमा पुग्छन् । संसारमा यस्ता कैयौँ उदाहरण छन् । जो हिजोको गलत बाटो छाडेर आज गन्तव्यमा पुग्न सकेका छन् । के रत्नाकर डाँकु महर्षि वाल्मीकि बनेका हैनन् र ! भट्टीपसल जाने लत लागेका रुसो दार्शनिक बनेनन् र ! वेश्यालय धाइराख्ने लियो टाल्सटाय महान् लेखक बनेनन् र ! भानुप्रकाशको जीवन सधैँ आँैसीको रात बन्छ भन्ने छैन, ऊ पूर्णिमाको जून पनि त बन्न सक्छ ।
झन्डै बीस वर्ष बितेको छ । भानुप्रकाशले उच्च शिक्षा आर्जन गरिसके । यसबीचमा यिनले बुद्ध दर्शनको अध्ययन गरे, महात्मा गान्धीको अहिंसावादी सिद्धान्तको अध्ययन गरे र अहिंसा परमोधर्मको मूलमन्त्र आत्मसात् गरिसके । आज यिनले अहिंसात्मक समाज निर्माणका लागि थुप्रै गोष्ठी र सेमिनार चलाएका छन् । अहिंसाका सम्बन्धमा थुपै्र प्रवचन दिइसकेका छन् ।

अहिंसा भनेको मानिस नमार्नु, पशुपन्छीको हत्या नगर्नु, मारकाट नगर्नु मात्र होइन बरु हत्या, बलात्कार, कटुवचन, गालीगलौज र अर्काको चित्त दुःखाउनेजस्ता कार्यको निषेध गर्नु वास्तविक अहिंसा हो । मन्दिर जानु, पूजापाठ गर्नु, दानपुन्य गर्नु, प्रार्थना गर्नु भ्रम हो भने अहिंसा परमोधर्म हो । जो मानिसले कुनै प्राणीको वध गर्दैन, जसले कसैको चित्त दुःखाउँदैन, जसले कसैलाई नमिठो बोल्दैन, जो न त झगडा गर्छ न कसैलाई गाली गर्छ उसले मन्दिर नजाँदैमा वा दानपुन्य नगर्दैमा के फरक पर्छ र ?
भानुप्रकाश आज कोठामा एक्लै छन् । उनका मनमा अनेक कुरा खेल्न थाले । झट्ट आफ्नो बाल्यकाल सम्झे । उनलाई लाग्यो एक छाक मासु हुने भँगेरा, आधा पाउ मात्र मासु हुनसक्ने ढुकुर र एक पाउ पनि मासु नहुने परेवाको शिकार गर्नु कत्रो मुर्खता थियो ? हिजो परेवा र ढुकुरका गुँडबाट फुल चोरेर हिँड्दा कति चराचुरुङ्गीको ‘वंश विनाश’ भयो होला ? धन्य म ! धन्य मेरा साथीहरू !! अतीतलाई सम्झेर उनी प्रायश्चित गर्न लागे ।

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ! २५ वर्षपछि भानुप्रकाश पनि आफ्नो गाउँ फर्कदैछन् आज । २५ वर्ष भनेको ‘सिल्भर जुवली’ को समय हो । यसबीचमा थुप्रै राजनीतिक र सामाजिक परिवर्तन भए । आफ्नो जन्मथलो अनि आफ्ना बूढा आमाबाबु । हिजो यिनले अध्ययन गरेकै स्कुलमा आज ‘अहिंसा र समाज’ विषयक प्रवचन कार्यक्रम छ । मानिसहरू आश्चर्यचकित छन्, कसरी एउटा शिकारी अहिंसावादी बन्यो ? के आज प्रवचन दिने गुरु त्यही बदमास भानुप्रकाश नै हो त ? काठको खराउ, सेतो धोती र कुर्ता, रुद्राक्षको माला र चन्द्रमाकारको चन्दन लगाएका भानुप्रकाश प्रवचन दिन स्कुलमा पुगे । आज पच्चीस वर्ष पछि त्यो गाउँमा निकै परिवर्तन भएका छन् । हिजोका उनका साथीहरू सबै अधवैँसे भइसके । कोही शिक्षक भएका छन्, कोही व्यापारी छन्, कोही खेती गर्छन् त कोही राजनीति गर्छन् ।

गाउँमा बिजुली पुगेको छ । सहरका जस्तै फराकिलो सडक छ । उनका वृद्ध बाबुआमा मञ्चमा आसिन छन् । कतिपय वृद्धवृद्धाको निधन भइसक्यो । पराले र झिँगटे घरका ठाउँमा ढलान गरिएका घर छन् । हरियाली हराएको छ । खेतीपाती र पशुपालन झन्डै एकादेशको कथाजस्तो भएको छ । भानुप्रकाशलाई सबैले फूलका गुच्छा दिँदै स्वागत गरे । आफ्ना बाबुआमा र अन्य वृद्धवृद्धासँग आशीर्वचन लिँदै उनी मञ्चसम्म पुगे । आज अहिंसाको सन्देश फिँजाउँदै छन् भानुप्रकाश । के हो अहिंसा ? अहिंसा कसरी ? अहिंसात्मक समाज कसरी सिर्जना गर्ने यिनै विषयमा यो प्रवचन केन्द्रित छ । 