मुक्तक
अरुणबहादुर खत्री “नदी”
मायाको मोलतोल र भाउ खोज्दैछन् मान्छेहरू
अहंकार र सम्मानको दाउ खोज्दैछन् मान्छेहरू
बिना कारण हामीबाट किन हो टाढा हुँदै गइरहेछन्
घमण्डले आफैँ ठूलो नाउ खोज्दैछन् मान्छेहरू ।
मनभित्रका पीडाहरू तिमीलाई पोख्न सकूँ
मनको आँखा उघारेर तिम्रै पीडा देख्न सकूँ
खिसी र डाहा गर्नेहरू धेरै होलान् यहाँ
जसले जेजे दिए पनि मेरो हातले छेक्न सकूँ ।
सानातिना कुराले नै छुन्छ मेरो मन
एकैछिन छुट्दा पनि रुन्छ मेरो मन
यो मन भन्ने चिज बडो अचम्मको रै’छ
कहिल्यै त्यसै प्रफुल्ल हुन्छ मेरो मन ।
जति दुःख गर्दा पनि बुझेन मन अचेल
जताततै दुखाइ र वेदना बढ्दैछन् अचेल
राजनीति आन्दोलन दुर्घटना र हस्तक्षेप
प्रिया म तिमीसँग कसरी जेलू भन अचेल ।