शनिवार |

जो महान कार्य तुच्छ भो (कविता)

भाग्यशाली अधिकारी

बिहान सूर्य झुल्किएर विश्व उठ्छ जाग्दछन्
अधोरको कराल काल अन्धकार भाग्दछन्
डुबेर विश्व जो गयो विचेतले निदाउँछन्
बलेर अग्नि आउँछन् र रापले तताउँछन् ।

लुकेर वायु बस्दछन् जगाउँछन् चराचर
लगेर गन्ध फाल्दछन् नदीहरू बराबर
छरेर रङ्ग सूर्यले हिमाल यो सिँगार्दछन्
सचेत जीव आउँछन् घमण्डले बिगार्दछन् ।

शशी उदाउँछन् धरा झपक्क शीत छर्दछन्
पहाडबाट ओर्लंदै नदी धरा पखाल्दछन्
उठेर रात त्यो छँदै उडे गए चराहरू
मिठास शब्द गुञ्जिए जगाउँछन् नराहरू ।
विचित्र फूल फुल्दछन् पहाड खण्ड खण्डमा
रमाउँछन् उहीँ खुलेर वृत्त झुण्ड झुण्डमा
गरेर सृष्टि छोड्नु भो उनै अनादि देवको
हुँदैन अर्चना कुनै तिनै विशाल ब्रह्मको ।

महान कार्य जो भयो भएन बन्दनीयको
सखाप भष्म भो गरेर काम निन्दनीयको
मरेर काम गर्दछौँ सुवास छोड्नमा नरा
सुवास चल्छ त्यो कहाँ यसै महान यो धरा ।
पुगेन बुद्धि जो त्यहाँ महान कार्य तुच्छ भो
गरेर कार्य छोड्छ जुन् गुणी महान उच्च भो
गढेर सोच राख ख्याल सम्झ मान मित्र यो
भयो महान उच्च कार्य तै विकास नत्र भो ।