कमाराको चर्तिकला
नरेन्द्रराज पौडेल
चिल्लो कालो वर्ण । ससाना गुच्छा परेर घुम्रिएको बुरुसकट कपाल । कालो अनुहारमा आकाशगङ्गामाझ चम्किएका ताराझैँ टलक्क टल्किएका सेता दाँत । छरितो जिउडाल र औसत उचाइका ओमार कमारा हामी अरू सहभागीभन्दा पाको उमेरका रहेछन् ।
दक्षिणी सोलमा पर्ने अन्तर्राष्ट्रिय प्रशासनिक प्रशिक्षण केन्द्रमा भएको हाम्रो १५ दिने तालिमको उद्घाटन सत्रमा नै उनले आफ्नो नाम थरको पछाडि ‘मालीब्वाई’ जोडेर परिचय गराएका थिए । उनले आफूलाई ‘ब्वाई’ भनेको सुन्दै हामी सहभागी, गाइड, गुरु, अतिथि, आयोजक सबै छक्क परेथ्यौँ । उन्मुक्त हाँसो छाएर एकछिन तालिम हल नै गुञ्जिएको थियो । देख्दै अलि झिल्के, अलि चञ्चल र छट्टु स्वभावका लाग्ने कमारा अफ्रिकी राष्ट्र मालीबाट विकास प्रशासनकै तालिममा हामीसँगै सहभागी बन्न आएका थिए । नेपालबाट हामी दुई जना (रौतहटको प्रजिअमा कार्यरत यस पङ्क्तिकार र निजामती किताबखानाका उपसचिव एकनारायण अर्याल) सहभागी बन्न पुगेका थियौँ । उद्घाटन सत्रदेखि नै सबै तालिमेले उनलाई ‘मालीब्वाई’ भनेर बोलाउने गर्थे ।
सुविधासम्पन्न आवासीय तालिम भएकाले खाने, बस्ने, सुत्ने, खेल्ने, नाचगान गर्नेसमेत सबै व्यवस्था छात्राबासमै थियो । बिहान चियानास्तापछि ५०÷६० किलोमिटर टाढाको प्रशासनिक प्रतिष्ठानमा बसबाट गएपछि विविध विषयका कक्षा सञ्चालन हुन्थे । पढाइलेखाइमा त्यति ध्यान नदिने मालीब्वाई बिहान बेलुकाको बसयात्राभरि हँसाएर सबै सहयात्रीलाई पानीपानी बनाउँथे । अलि लहडी र आवारा स्वभावको लाग्ने मालीब्वाई महिला सहभागीसँग बढी नै जिस्किने र अपच हुने खालका कुरा गर्थे । उनको कुरा सुनेर महिला सहभागी लाजले राता कान बनाउँथे । बेला–कुबेला उटपट्याङ र अलि अमर्यादित कुरा गरेर रुनु न हाँस्नुको अवस्था पारिदिने लवस्तरो स्वभावका मालीब्वाईसँग धेरैजसो महिला दुई÷चार दिनपछि अलि टाढै रहन थाले । उनका अनेकथरी जोक र हाँसोमा भने ताली लगाएर साथ दिन्थ्यौँ हामी सबै जना । कक्षापछिको चियापान, बसयात्रा र रेस्टुराँमा खाँदाबस्दासमेत मालीब्वाईले एकलौटी विदूषक बनेर लट्ठै बनाएर गफठट्टामा हामी सबलाई भुलाइरहन्थे ।
उत्तर अफ्रिकी राष्ट्र मालीका राजाको प्रत्यक्ष प्रशासनअन्तर्गत विकास आयोजना हेर्ने सहसचिव रहेछन्– कमारा । पदीय गम्भीरता र शिष्टाचारको पटक्कै ख्याल नराख्ने कमारा अलि फुर्सद मिल्नेबित्तिकै महिला सहभागीका बीचमा पसेर आफ्ना पाँचवटी श्रीमती र सत्ताइस जना छोराछोरी भएको बखान छाँट्दै छक्क पार्थे । पहिले फ्रान्सेली उपनिवेश रहेको ओमारको देशमा फ्रेन्च भाषा र अफ्रिकाली मलावी दुवै भाषा समान रूपले बोलिने रहेछन् । यता युरोपेली देश माल्दोभाबाट सहभागी बनेकी युवती भेरोसिया पनि फ्रान्सेली आमाकी छोरी भएकीले फ्रेन्च भाषा बोल्दी रहिछन् । तालिम चल्दै जाँदा दुई÷चार दिनपछि भेरोसिया र मालीब्वाईका बीचमा फ्रेन्च भाषामा कुराकानी हुन थाले । त्यसपछि बल्ल मालीब्वाईले जथाभावी उटपट्याङ कुरा गरेको सुन्नेबित्तिकै भेरोसियाले फ्रेन्च भाषामा हप्काउन थालेकी थिइन् । पुरानो औपनिवेशिक सान देखाएर अलि सभ्य बन्न सिकाउँदै पनि थिइन् । यस प्रसङ्गले ओमारपीडित सहभागी महिलामा राहतको अनुभूति जगाइदिएको थियो ।
बिहानी कक्षा चल्दैरहे । दिवा भोजनपछिको समयमा दक्षिण कोरियाका ऐतिहासिक स्थल, प्रतिष्ठान, औद्योगिक क्षेत्र र बजार निरीक्षण अवलोकनमा बित्दै गयो । यसै क्रममा एक दिन हामीलाई पुरातन ऐतिहासिक महìवको हसङ फोर्टको अवलोकन गराउने कार्यक्रम रहेको जानकारी पाएथ्यौँ ।
प्रशासनिक प्रतिष्ठानबाट १ बजेतिर चलेको बस एक घण्टापछि सुओन सहरको प्राचीन ऐतिहासिक दरबारमुनिको कलात्मक ढोका अगाडि रोकियो । हसङ फोर्टको भ्रमण गराउने छुट्टै विषेशज्ञ गाइड रहेछन् । हामी बसबाट उत्रिएर नयाँ गाइडसँग भलाकुसारी गर्न लाग्यौँ । प्राचीन शिल्लावंशीय राजदरबारकै अगाडिबाट करिब दुई किलोमिटरको लामो सिँढी ठाडै उँभो लाग्दै गयौँ । हाम्रा साझा विदूषक मालीब्वाई भने सबैभन्दा पछाडि लागेर यताउति मुभी क्यामरा घुमाउँदै थिए । सिँंढीका खुड्किलाहरू औसतभन्दा ठाडै रहेछन् । पेनहिल जुत्ता र कसिला मिनीस्कर्ट लगाएका महिला सहयात्री निकै असजिलोसँग नागबेली गतिमा बल्लबल्ल उक्ँिलदै थिए ।
इन्डोनेसियाली रुहारा, फिलिपिनो क्रिस्टेटा, डान्सिल सबैजसोले छोटा कसिला स्कर्ट र सिन्के हिलजुत्ता लगाएर आएछन् । कजाक युवती गुलगुल भने होचो शरीरमाथि छोटो स्कर्ट लगाएर मोटो ज्यानलाई स्वाँफ्वाँ गरेर सिँढी उक्लँदै थिइन् । सबैको पछि लागेका मालीब्वाई चञ्चले पाराले सिँढीका वरपर तलमाथि गर्दै थिए । उनको हिँडाइको गति नै त्यस्तै होला भन्ने अन्दाजमा अरू हामी सहयात्रीले केही वास्ता गरेनौँ तर भालुको मन खनायोमाथि भन्ने नेपाली उखान चरितार्थ गर्दै मालीब्वाईले सिँढी चढ्दै गरेका महिलाको पछाडिबाट छोटा स्कर्टभित्र क्यामराको फोकस पु¥याएर दनादन फोटो खिच्दै गएछन् । कतिले उनको बठ्याइँ यादै गरेनछन्, कतिले चाल पाएर पनि वास्तै गरेनछन् । सिँढीको सिरानमा पुग्दा मात्र मालीब्वाईको हर्कत चाल पाएकी भेरोसियाले सिल्ली गुन्डा भनेर फ्रेन्च भाषामा हप्काएकी थिइन् र निगालोको सिमकिनो टिपेर लखेटेकी थिइन् ।
कालो अनुहारमा सेता दाँत चम्काएर मालीब्वाई भने भेरोसियाको कुटाइबाट बच्तै यताउति भाग्दै हाँसी मात्र रहे । लवस्तरो बनेर गाली पचाइरहे । भेरोसियाले उनको हातबाट थुत्त क्यामरा खोसेर ती सबै फोटा डिलिट गरिदिएकी थिइन् । लाओस, इरान, भियतनाम, उक्रेन आदि देशका सहभागीसँगै गफमा मस्त रहेको हाम्रो पुरुष टिम पनि यतिबेर भेरेसियाको आक्रामक स्वरूप देखेर त्यतै तानिएको थियो ।
सिँढी उक्लिसकेर एकछिन सुस्ताएपछि गाइडले सुओन सहर र शिल्लावंशीय राजाको दरबारलाई जापानी र चिनियाँ आक्रमणबाट बचाउन सातौँ शताब्दीमा निर्माण गरेको प्रतिरोधक पर्खाल याने हसङ फोर्टको छोटकरी परिचय गराए । हामी फोर्टको किनारैकिनार गोब्रे सल्लाघारीसँग लुकामारी खेल्दै तेर्सो लाग्यौँ । करिब १५–२० फिट अग्लो पर्खालको निश्चित दूरीमा ५०/६० जवान सैनिक अटाउने कलात्मक बुर्जा देखिए । परपरबाट धावा बोल्न आएका शत्रुमाथि बुर्जाका ससाना झ्यालबाट सजिलै तोप र बन्दुक ताक्न सकिने देखिन्थ्यो । बुर्जामाथि चढ्दै ओर्लंदै पल्लोपट्टि देखिने विशाल सहर र त्यसभन्दा परको नीलो समुद्र हेर्दै गयौँ । घाम चर्को भए पनि ठाउँ शिखर भएकाले त्यति सारो गाह्रो लागेको थिएन । झर्को झञ्झट महसुस भएको थिएन । एकाध घण्टाको अविरल यात्रापछि हामी हिँडेकै डाँडाको अर्को छेउपट्टि अनकन्टार भीरको डिलमा तुुदु्रङ्ग झुन्डिएको अनौठो रेस्टुराँ देखियो । मलाई भने पोखराको पूmलबारी होटल र बन्दीपुरका रिसोर्टको सम्झनाले ताजा बनायो । अस्ट्रिया, हङ्गेरी, सर्बियातिर पनि यस्ता धराप पाराका रेस्टुराँहरू थुप्रै छन् भन्थे उक्रेनका सहभागी मित्र सर्ली युरोभिचले । केही डराउँदै, केही रमाउँदै रेस्टुराँको झ्यालबाट देखिने सुओन सहरको दृश्यावलोकनसँगै भरपूर चियानास्ता पनि उदरस्थ बनायौँ ।
चियानास्तापछि तुरुन्तै बाटा लागिहाल्यौँ । अझै तीन÷चार बुर्जा अवलोकन गर्न बाँकी रहेछन् । तीनैतिर रमणीय सहर अनि सुदूरउत्तरका हरिया पहाड, दक्षिण पश्चिमका समुद्री शान्त लहर हेर्दै अन्तिम बुर्जामाथि चढेर निकै बेर रमायौँ । त्यसपछि पनि बाटो ठाडै ओरालो रहेछ । भिरालो पहाड चिरेर बनेको पर्खाल अनि रचेको सिँढी अघि उक्लिँदाभन्दा पनि ठाडैजस्तो लाग्यो । घण्टौँ पैदल हिँड्दा थाकेका सहयात्री एकअर्कोलाई समातेर गाह्रोसँग ओर्लने तरखरमा अल्छी पाइला अगाडि बढाउँदै थिए । यतिबेर चाहिँ सबैभन्दा अघि लागेका देखिन्थे मालीब्वाई । बिहान सिँढी उक्लिँदा पछाडिबाट स्कर्टभित्र क्यामरा सोझ्याएका ओमारले अहिले अगाडिबाट उही कर्तुत दोहो¥याएको देखेर महिला झन् रिसाउँदै थिए । धुर्सुलको हाँगो भाँचेर उज्याउँदै भेरोसिया लखेट्न पुगिन् । मालीब्वाईले तत्काल कान समाती हाले । तैपनि उनले छोडिनन् । ओमारको हातको क्यामरा थुत्त थुतेर उनलाई दरो चालले घचेडिदिइन् । भिरालो पाखामा मालीब्वाई तलसम्म खुर्मुरिएर हुत्तिए । जिउज्यानका दरा मान्छे रहेछन् र नै लडी हालेनन् । घुम्दै, बटारिँद खुिम्चँदै गरेर कसोकसो अडिए । अनि उल्टो उनै मरीमरी हाँस्न थाले । हाम्रो समूहमा त हाँसोको सीमा नै रहेन । घण्टौँ चर्को घाममा हिँडेर थाकेको जिउ हाँस्दाहाँस्दै फतक्कै गलियो । अनि सिढीँ किनारको गोब्रेसल्लाको सिँयालमा आराम गर्न ढलियो ।
१०–१५ मिनेटको थप विश्रामपछि समालिएर बाटो लाग्यौँ । करिब एक किलोमिटर ओरालोका ठाडा सिँढीमा घुँडा समाउँदै बामे सर्दै गरेर ओर्लंदै गयौँ । फेदीमा अत्यन्त सफा, सुग्घर, सुन्दर पार्क भेटियो । झर्ना, तलाउ, रङ्गिचङ्गी फूल, वनस्पति र चराचुरुङ्गीहरूले जीवन्तता प्रदान गरेको त्यस पार्कमा विभिन्न उमेर समूहका सयौँ नरनारी भिन्नाभिन्नै समूह बनेर खेल्दै, उफ्रँदै, जोडिँदै, घोरिँदै, बात मार्दै गरेका देखिन्थे । तलाउछेउकै फूलबारीमा परम्परागत वेशभूषामा सजिएका सुन्दर ठिटाठिटीको जोडीसँग २०÷२२ जनाको समूह क्यामरासँग खेल्दै रहेछ । चलचित्र सुटिङमा व्यस्त हो कि भन्ने लागेको थियोे तर विवाह गर्ने जोडी पो रहेछ । कोरियन मौलिक वेशभूषामा सुसज्जित बेहुलाबेहुली, अभिभावक, पुरेत गरी २०÷२२ जनाको समूह देखिन्थ्यो । हामी वरैबाट उत्सुकतापूर्वक त्यतै हेर्दै थियौँ । हाम्रा सहयात्री मालीब्वाई भने सिकार भेटेको चितुवाझैँ कुन सड्को बेहुलाबेहुलीको बीचमा पो पुगिसकेछन् । हेर्दाहेर्दै नवदम्पतीका हात समातेर हाँस्न थालेका देखिए । उनलाई त्यस्तो अवस्थामा देख्नेबित्तिकै पहिले त हामी सबै जना एक किसिमको लज्जाबोधले हडबडायौँ र गाइडलाई गुहार्न पुग्यौँ ।
विवाहटोलीबाट केही प्रतिवाद, प्रतिकार, झैझञ्झट आइलाग्ने डरले सताइरहेथ्यो तर हाम्रो सोचाइ उल्टो हुन गएछ । विवाहको रमझममा व्यस्त जोडीको बीचमा एकदमै अपरिचित धम्मरधूस कालो मान्छे एकाएक आइलाग्दा उनीहरू पनि पहिले त तर्सिएछन् । केके न विघ्न आइलागेझैँ भएछ । उनीहरूले नै हाम्रा गाइडसँग भलाकुसारी गरेर कुरा बुझ्न खोजे । अपरिचित मान्छेको त्यो व्यवहार उतिसारो अपाच्य र प्रतिकार पनि केही नहुँदा हामी छक्क परेका थियौँ । कोरियनहरू अचम्मै अतिथिप्रिय, शान्त र रौसिया हुँदा रहेछन् भन्ने धारणा बन्यो । बेहुलाबेहुलीको हात समातेर गालामा लगाउँदै पालैपालो दुवैलाई अँगालो मार्दै मालीब्वाईले निर्धक्क फोटाहरू खिचाए । भिडियो बन्यो । हामीले पनि बेहुलाबेहुलीको बीचमा बसेका मालीब्वाईका धेरैथरी फोटा मूभी क्यामरामा कैद ग¥यौँ । अनि गाइडको सहायताले कोरियन विवाहको तरिका र रीतिरिवाजको जानकारी लिएपछि सबैलाई बधाई र शुभकामना दिएर बिदा भयौँ । बाटोभरिलाई गफ गर्ने मसला भयो । बसयात्राभरि पेट मिचिमिची हाँसेको हाँस्यै भयौँ । पाँचवटी रानीका राजा मालीब्वाई हाम्रा सामु औँलो ठड्याउँदै छैटौँ रानीलाई भर्खरै वरण गरेको प्रचार गरेर फोटा देखाउँदै थिए । बस यात्राभरि हल्ला र हाँसो चम्किएर बाटो काटेको पत्तै भएन ।
बेलुकी सुओन सिटीका मेयरले नगरपालिकाको कार्यकक्षमा स्वागत सम्मानको आयोजना गरेका रहेछन् । परिचय आदानप्रदान भयो । सानोतिनो भाषण अनि उपहार लिनेदिने कार्यक्रमसहित भिडियोमार्फत नगरको प्रगति हेरियो । बेलुकी उनकै आतिथ्यमा ब्ल्युमुन होटलमा खानपिनमा सहभागी बन्न पुग्यौँ ।
साधारण टिटबिट र पेयपछि खाना सुरु भयो । पचासौँ परिकारले सजिएको बफे टेबिलअगाडि लाइन लागेर खाना पस्किने ताउरमाउर गर्दै थियौँ । सिफुड, बिफजस्ता पदार्थ नचल्ने भएकाले अगाडि लागेर मैले खैरो पाउरोटी, दूध, साग, सलाद र थोरै भात प्लेटमा पस्किएँ । लगत्तै पछाडि उभिएका मालीब्वाई भने प्रत्येक खाद्य परिकारका भाँडामा औँला डुबाएर दोहो¥याइ तेह¥याइ चाट्दै, चाख्तै गरेर प्लेटमा पस्किन लागेका रहेछन् । दसौँथरी त किम्ची (अचार)मात्रै थिए त्यहाँ । यसरी औँला चोबेर खाना चाट्दै र चाख्दै गरेको पछाडि लाइन लागेका अरू सहभागीलाई पनि मन परेको थिएन होला तर कसैले केही प्रतिवाद गरेन । उनले तीनवटा प्लेटमा नानाथरी खाने चिजबिज पस्किए र म बसेको डिनर टेबिलमै राख्न आए । होटलमा खानपिन गर्न आएका अरू पर्यटक र स्टाफ पनि छक्क पर्दै उनको चर्तिकला हेरिरहेका थिए ।
एउटै ग्राहकले तीन–तीनवटा प्लेटमा झुसीझुसी खाना लिएर बसेको देख्दा होटलका बेरा, मेनेजर, आगन्तुक सबै छक्क परेका थिए र अनौठो जन्तु देखेझैँ ठाडा कान लगाउँदै र मुखामुख गर्दै पनि थिए । अलि परको टेबिलमाथि खाना खान लागेकी भेरोेसियाले कमाराको चालमाल हेर्दै आँखा तर्दै पनि थिइन् । उनले हेर्दाहेर्दै ओमारले आफ्नो प्लेटका सबै परिकार अलिअलि चाखे अनि हुत्त लम्किँदै मेरो भागमा हात गाडेर एक गाँस साग झिके अनि चपाउन थाले । म झटपट खाना बन्द गरेर अचम्म मान्दै अकमक्क परिरहँे । बेला–कुबेला शरीरका ठाउँ कुठाउँ कन्याइरहने, नाक कोट्याइरहने, कानमा औँला घुसारेर घुमाइरहने ओमार कमारा मेरा लागि पहिलेदेखि नै अलिक घीनलाग्दो पात्र थिए । त्यसमा पनि झन् अहिले ग्वाम्म जूठो हात गाडेर आफ्नै भागको साग झिकेर खाइदिँदा दिगमिग लागेर बसिसक्नु भएन । केके भाइरसमा पो पोजिटिभ होलान् भन्ने मनमा अनेकन तर्क चले । ती फोहोरी पात्रले जूठो हालेको खाना खाउँ त कसरी खाउँ ! नखाउँ कोरियामा खाना खेर फाल्ने व्यक्तिलाई असभ्य सम्झिएर घृणा गर्ने र हेय दृष्टिले हेर्ने चलन रहेछ । म निकै बेर अलमल्ल परिरहँे ।
सीधै पारिको डिनरसिटबाट यो दृश्य हेरिरहेकी भेरोसिया त खाँदाखाँदै भाग चट्ट छोडेर मेरो सामु आइपुगिन् । अनि रिसले चूर भएको पाराले मालीब्वाईलाई हप्काउँदै मेरो अगाडिको जूठो भाग आफँैले पञ्छाइदिइन् । उनी मेरा लागि अर्को भाग ल्याइदिन खोज्दै थिइन, मैले उनलाई रोक्दै आफँै गएर खैरो पाउरोटी र जाम मात्र पस्किएँ । अनि सुरक्षित खानपानका लागि भेरोसियाकै टेबिल सजाउन पुगँे । त्यतिबेर कमारा भने बफेको सिस्टम वास्तै नगरी आपूmले पस्किएर ल्याएको तीन प्लेट भरीभरी खाना नबुत्याएर जिल्ल पर्दै यताउता हेरिरहेका थिए । भेरोसियाको गाली पाएर अलि लज्जित र निन्याउरो बनेका थिए ।