शनिवार |

बाफ

ऊ भोज खान बसेको छ । उनी अय्ला हाल्न उभिएकी छिन् उसकै सामुन्ने । ऊ उनको हिस्सी परेको अनुहार हेरिरहेछ एकतमासले । हाकुपटासी लगाएकी । सेतो पछ्यौरी ओढेकी । अनि खुट्टामा रातो अलः र कल्ली लगाएकी । निकै हिस्सी परेकी छिन् उनी ।
उनी उसको खाली सलिँचामा अय्ला हाल्दैछिन् । अन्तीबाट तुरुरुरु झरेको अय्लाले सलिँचाभरि फिँज उठेको छ । उसैगरी भावनाको तातो बाफ उठेको छ उसको मनभरि अटेसमटेस हुनेगरी ।
उसको आँखा उनको हिस्सी परेको अनुहारतिर छ । उनको आँखाचाहिँ कहिले उसको अनुहारतिर छ । कहिले अय्लाले भरिँदै गरेको सलिँचातिर छ । सलिँचा भरिदैंछ अय्लाले । सलिँचाजस्तै बैंशले भरिएकी छिन् उनी पनि । ऊ निकै लोभिएर हेर्छ उनलाई । लाजले उनका राता गाला झन् राता हुँदैछन् । लाजले उनका हात काम्दै छन् । यस्तो बेलामा सलिँचाबाट अय्ला पोखिनुपर्ने हो । तर प्रेमले ऊ पोखिन्छ सँगाल्नै नसक्ने गरी छताछुल्ल उनको आँखामा ।

भोज खानेहरू सुकुलमा लस्करै बसेका छन् । भलिँहरू लाइन लागेर आइरहेका छन् विभिन्नथरी परिकार बोकेर । खानेहरू अघाइसके पनि भलिँहरू अझै भन्छन्, ‘भतिचा जक (अलिकति मात्र) ।’ भतिचा–भतिचा भन्दाभन्दै खानेले धेरै खान्छन् । पिउनेले धेरै पिउँछन् । अझ ल्यासे भलिँले भतिचा–भतिचा भन्दै अय्ला थपिदिँदा ‘गातः...गातः’ (पुग्यो...पुग्यो) भन्ने आँट कसको ? ल्यासे भलिँको मुख हेर्दै थ्वँ र अय्ला घुटुक–घुटुक पार्दापार्दै उठ्नै नसक्ने हुन्छन् । बल्लबल्ल उठेर ढलपलाउँदै हिँड्छन् ‘जितः ला कालः रे पासा’ (मलाई त लाग्यो है साथी) भन्दै । ऊ भोज खान बसेको मान्छे । खानै बिर्सेर उनलाई हेरेर टोलाइरहन्छ । उनी मस्किँदै जान्छिन् । सँगै उसको मन पनि लिएर जान्छिन् । उसलाई आफू रित्तो भएजस्तो लाग्न थाल्छ ।

‘छु जुल पासाः (के भयो मित्र) ?’ सँगै भोज खान बसेको हरिभक्तले झक्झक्याएपछि ऊ झसङ्ग हुन्छ । कुनै मीठो सपना देख्दादेख्दै झल्याँस्स ब्यूँझेजस्तो । सबैले भोज खाइसकेका छन् । सबैका लप्ते खाली छन् । उसको चाहिँ जस्ताको तस्तै छ । उनलाई हेर्ने धुनमा उसले खानै बिर्सेछ । सबै जना उठ्छन् । ऊ पनि उठ्छ । अरू भोज खाएर अघाएका छन् । ऊ भने भोकै छ । अब भने उसमा दोहोरो भोक जाग्न थाल्छ । एउटा भोजको र अर्को उनको प्रेमको । ऊ भोजको स्वाद सम्झिँदै उभिइरहन्छ । भोज खाने अर्को समूह सुकुलमा लहरै बसिसकेका छन् । हरिभक्तले भन्छ, ‘विजय, अब हामी जाऔँ ।’
चुठ्नका लागि चुक (चोक) मै लहरै चार–पाँच वटा अस्थायी धारा जोडिएका छन् । हरिभक्तले हात धुन्छ । उसले पनि धुन्छ । हात धुँदाधुँदै यताउति हेर्छ । उनी कतै देखिन्नन् । उनीमात्रै होइन उनीसँगै आएका अरू ल्यासेहरू पनि देखिन्नन् । उनीहरूको ठाउँमा अब अर्कै समूह आएको छ थ्वँ र अय्लाको घैला र अन्ती बोकेर ।

उनी कता गइन् थाहा छैन । उसको मनमा भुइँचालो जान्छ । मुटु हल्लिरहन्छ धेरै बेरसम्म । उसले भोज राम्रोसँग खाएकै छैन । रक्सी पनि धेरै पिएको छैन । तर रक्सी धेरै नपिएर पनि उसलाई बेसरी लागिसकेको छ । तर रक्सी होइन । उनको रूपको नशाचाहिँ लागेको हो उसलाई । ऊ उनको रूपको नशामा लठ्ठिएको छ ।

रात गहिरिँदैछ । घर फर्किनुअघि ऊ दिदीलाई भेट्न जान्छ । दिदीलाई पाहुनासँगै कुरा गरिरहेको देख्छ । पाहुनाकै बीचमा देख्छ उनलाई पनि । उनीहरूका आँखा जुध्छन् । उनी स्त्री स्वभावअनुसार स्वाभाविक रूपमा मुस्कुराउँछिन् । उसलाई भने मुटुमा तीर लागेजस्तो हुन्छ । एक्कासि मुटुको धड्कन बढ्न थाल्छ । दिदीलाई ‘अब म जान्छु’ भन्नलाई गएको ऊ । बोल्नै बिर्सेर उनलाई हेरिरहन्छ । उनी पनि मुस्कुराउँदै उसलाई हेरिरहन्छिन् ।

‘मतिना... ।’ भ-याङबाट कसैले बोलाएको सुनिन्छ । उनको नाउँ मतिना रहेछ । उसले थाहा पाउँछ । उनको नाउँमात्रै थाहा पाउँदा पनि उसलाई धेरैथोक पाएजस्तो महसुस हुन्छ । ऊ मनमनै उनको नाउँ दोहो¥याउन थाल्छ, मतिना... मतिना ।‘हजुर, आसे आसे’ भन्दै उनी आफूलाई बोलाएतिर हतारहतार जान्छिन् । भ-याङमा उनको जुत्ताको आवाज आउँछ टक..टक.. । ऊ सुनिरहन्छ त्यो आवाज । अनि मनमनै सोचिरहन्छ ।
यो आवाज पहिले कतै सुने–सुनेजस्तो लाग्छ उसलाई । यो हिस्सी परेको अनुहार पहिले कतै देखे–देखेजस्तो लाग्छ । ‘कहाँ सुनेँ होला मैले यो मीठो आवाज ? कहाँ देखेँ होला मैले यति हिस्सी परेको अनुहार ?’ ऊ दिमागमा जोड लगाउँछ र सम्झिने प्रयास गर्छ ।

‘सिनाज्यामा त देखिनँ मैले उनलाई ? उनले छुपुछुपु धान रोप्दै सिनाज्या म्येँ गाएको कतै सुनेको हो कि मैले ? कि त बुराँज्यामा उनले छमछम नाचेको देखेँ मैले ? बिस्काः जात्रामा ल्यासेहरूको भीडमा पो उनलाई देखेँ कि मैले ? मोहनी र बिस्काः जात्रामा नखत्या जाँदा पो कतै देखेँ कि उनलाई ? डालामा खाजा बोकेर खेततिर जाँदै गरेको पो देखेँ कि मैले उनलाई ? कहाँ देखेँ मैले उनलाई ? कहाँ सुनेँ उनको मीठो स्वर मैले ?’ ऊ सम्झिन खोज्दैछ उनलाई देखेको र उनको मीठो स्वर सुनेको त्यो अविस्मरणीय पल । अचानक बिजुली चम्केजस्तो हुन्छ । उनलाई देखेको, उनलाई भेटेको र उनीसित बोलेको ठाउँ उसको आँखामा झुलुक्क आउँछ । अस्पताल । हो, उसले उनलाई अस्पतालमा देखेको हो । उनको स्वर अस्पतालमै सुनेको हो । उनले नै त हो उसलाई जाँचेको । त्यस दिन उसलाई अचानक रिङ्गटा लागेजस्तो भएको थियो । प्रेसर बढेको हो कि ! मुटुमा समस्या आएको हो कि भनेर ऊ अत्तालिएर अस्पताल पुगेको थियो । उसको मुटुको जाँच गर्दै उनले मुस्कुराउँदै भनेको सम्झिन्छ ऊ, ‘अय्ला धेरै खानु हुन्छ कि कसो ?’ साँचो बोलुँ कसरी बोलुँ ? झुटो बोलुँ भने पनि पछि आफैँलाई हानि गर्छ । मनमनै यस्तो सोच्दै उसले मुस्कुराउँदै भनेको थियो, ‘अलि अलि ।’
‘भतिचा... भतिचा होइन त ?’ उनले मुस्कुराउँदै भनेकी थिइन् । ऊ भने लाजले रातै भएको थियो ।

जाँच गरिएका सबै रिपोर्टहरू हेरिसकेर उनले भनेकी थिइन्, ‘ब्याड कोलेस्ट्रोल हल्का बढेको छ । त्यसले गर्दा प्रेसर पनि हल्का बढेको छ । रक्सी, नुन र चिल्लो पदार्थ अलि कम खानुपर्छ । पसिना आउनेगरी खेत खन्नुपर्छ । ठीक हुन्छ । आत्तिनु पर्दैन ।’
उनको बोली उसको कानमा मीठो धुन बनेर गुन्जेजस्तो हुन्छ । उसलाई रक्सी धेरै खानुहुन्छ कि भनेर सोध्ने त्यही डाक्टरले नै आज उसलाई रक्सी खान र रक्सी थप्न ‘भतिचा.. भतिचा’ भन्दै मीठो आग्रह गरिन् । उसले थप्दैथप्दै रक्सी पियो । के साँच्चै नै उसलाई थपीथपी रक्सी पिलाउने यो ल्यासे नै उसको मुटु जाँच्ने त्यही डाक्टर हो त ? अनुहार मिल्छ । स्वर मिल्छ । तर व्यवहार फरक छ । कहाँ त्यो शिक्षित र सभ्य डाक्टर । कहाँ यो खाँट्टी नेवार तरुनी । कहाँ त्यो रक्सी धेरै खानुहुन्न भनेर मीठोसँग सम्झाउने डाक्टर । कहाँ यो रक्सी पिउन कर गर्ने नेवार तरुनी । ऊ निकै दोधारमा पर्छ । सोचमा डुब्छ । सधैँ डालोमा खाजा बोकेर खेततिर जाने नेवार तरुनी डाक्टर हुनसक्छे ? अनि डाक्टरजस्तो मान्छे खाँट्टी नेवार पोसाकमा सजिएर भोजमा भलिँ हुन आउँछे ? सक्छ र सक्दैनको द्वन्द्वमा उसको मथिङ्गल घुम्न थाल्छ । ऊ आँखा चिम्म गरेर आफूलाई शान्त बनाउन खोज्छ । तर झन् अशान्त हुन्छ उसको मन । छिनमै कहाँकहाँ डुल्न थाल्छ उसको मन । गुराँसझैँ फुल्न थाल्छ उसको मन । आँखा चिम्म गर्नासाथ उनको हिस्सी परेको अनुहार आँखा वरिपरि घुम्न थाल्छन् । तर उनलाई नदेख्दा भने निराश हुन्छ उसको मन ।

पाहुनाहरू बिदा हुँदैछन् । ऊ अधीर हुँदै यताउता हेर्न थाल्छ । दिदी हाँस्दै ऊतिरै आउँछिन् । उसको अधीरतालाई हेरेर दिदी भन्छिन्, ‘विजय, के भयो तँलाई ?’ उसले नबोली दिदीलाई अलि एकान्ततिर तानेर लान्छ । दिदी अचम्म मान्दै भन्छिन्, ‘के भयो तँलाई ? के भन्नलाई मलाई यता ल्याएको ?’दिदीको प्रश्नको उत्तर दिनुको साटो उल्टै ऊ दिदीलाई प्रश्न गर्छ, ‘दिदी, अघि भोजमा अय्ला हाल्ने मतिना भन्ने केटी को हो ? कहाँकी हो ?’

उसको प्रश्न सुनेर दिदी एकछिन अवाक हुन्छिन् । अनि उसको मुखमा निकै उत्सुकतापूर्वक हेर्दै भन्छिन्, ‘तँलाई मन प-यो त्यो केटी ?’‘पहिला भन्नुस्न त्यो केटी कहाँकी हो ? अनि त्यो केटी के काम गर्छे ?’ उसको मनको अधीरता झनै बढ्न थाल्छ । ‘त्यो केटी तेरो भिनाजुको फुपूकी छोरी हो । पुरानो घर इनाचोमा थियो । अहिले सल्लाघारीमा बस्छन् । अरूजस्तो लर्तरी केटी होइन । डाक्टर हो त्यो केटी ।’ दिदी हाँस्दै भन्छिन् । ‘डाक्टर ? केको डाक्टर ?’ निकै हतारिएर सोध्छ उसले । ‘कार्डियोलोजिस्ट । मुटुको डाक्टर ।’ दिदी उसको मुख नियाल्दै भन्छिन् । सुनेर उसको मनमा जलतरङ्ग बज्न थाल्छ । उसको अनुमान सही निस्किन्छ । तर पत्याउनचाहिँ गाह्रो । एउटा भादगाउँले किसानकी छोरी डाक्टर बनेको कुरा पत्याउन गाह्रो लाग्छ उसलाई । तर पत्याउन कर पनि लागेको छ उसलाई किनभने उसलाई जाँच्ने डाक्टर त्यही किसानकी छोरी नै हो ।‘तँलाई मन प¥यो त्यो केटी ?’ दिदी मुस्कुराउँदै सोध्छिन् । ऊ केही बोल्दैन । खालि मुस्कुराइदिन्छ मात्रै । दिदीले उसको मनसाय बुझेर भन्छिन्, ‘तँ ढिलो भइस् विजय । अर्को हप्ता उसको बिहे छ ।’

सुनेर उसको मनमा पहिरो जान्छ । उसलाई आफू उभिएको जमिन भासिँदै गएजस्तो महसुस हुन्छ । छातीमा उकुसमुकुस हुन्छ । सास बढेर आउँछ । हातखुट्टा कमजोर हुन्छन् । उसलाई उभिइरहन गाह्रो हुन्छ । अनि थचक्क भुइँमा बस्छ ऊ ।
दिदी छक्क होइन तीनछक्क परेर उसलाई हेर्न थाल्छिन् । उसले जिन्दगीमा पहिलो पटक कसैलाई मन पराएको थियो । त्यही पनि अर्कैको जिन्दगीसँग जोडिइसकेकी रहिछन् । उसलाई आफ्नो भाग्यसँग रिस उठ्छ । ऊ रिसले मुर्मुरिन्छ । तर केही गर्न सक्दैन । भाग्यलाई दोष दिन्छ र शान्त हुन्छ । अकस्मात् उसको मनमा उठेको प्रेमको बाफ उसैगरी बिलाउँछ उसलाई रित्तो महसुस गराएर ।