मोरङको साहित्यिक इतिहास
महेश प्रसार्ईं
विसं २००३ साउन ४ गते साङराङ दिङला भोजपुरमा पिता शिवशङ्कर सुवेदी र माता खड्गदेवी सुवेदीका सन्तानका रूपमा जन्मनु भएका दधिराज सुवेदी नेपाली साहित्यमा एक सिद्धहस्त समालोचकका रूपमा स्थापित भइसक्नु भएको छ ।
विसं २०२५ मा ‘जनवार्ता’मा प्रकाशित ‘चम्की फूले कोपिला’ शीर्षकको कविताबाट साहित्यिक यात्रा प्रारम्भ गर्नुहुने दधिराज सुवेदीले ‘नेपाली वाङ्मयका विशिष्ट साधक र उनका साधनाको अभिलेखाङ्कन’ (२०४४), ‘प्रतिभा र प्रस्तुति’ (२०४५), ‘रचना र अवलोकन’ (२०४४), ‘विराटनगरको सङ्क्षिप्त इतिहास’ (२०५४), ‘अध्ययन र मूल्याङ्कन’ (२०६१) जस्ता उल्लेखनीय समालोचनात्मक कृतिहरू प्रकाशन गर्नुभएको छ । सम्पादन कलाका विज्ञ सुवेदीले बीपी कोइरालाका कृतिहरू माथि पनि अध्ययन विश्लेषण गर्नुभएको छ । राज्यले सम्बोधन गर्न नसकेका विषयमाथि विशेष खोजी गर्न रुचि राख्नुहुने सुवेदीले समालोचकीय कार्यका अतिरिक्त अन्वेषण, अनुसन्धान र साहित्यिक इतिहास लेखनमा पनि आफ्नो बलियो उपस्थिति देखाइसक्नुभएको छ ।
उहाँ एक विशिष्ट स्रष्टा हुनुहुन्छ । कुशल समालोचक हुनुहुन्छ । साहित्यको गहन अध्येता हुनुहुन्छ । अनेकौँ प्रतिष्ठित सङ्घ–संस्थाहरूद्वारा सम्मान पुरस्कारहरूले अलङ्कृत भइसक्नुभएको छ उहाँ । विराटनगर महानगरपालिकाद्वारा नागरिक अभिनन्दन समेत गरिनुभएका सुवेदी स्वयं एक साहित्यिक संस्थामा रूपान्तरित भइसक्नुभएको छ । जन्म र उद्गम क्षेत्र भोजपुर भए पनि मोरङ कर्मक्षेत्र बनाइसक्नुभएका सुवेदीले ‘मोरङमा नेपाली साहित्यको उत्पत्ति र विकास’ नामक कृति लेखनका माध्यमबाट नेपालको दोस्रो सहर विराटनगर र १ नं. प्रदेश मोरङको साहित्यिक इतिहासलाई सार्वजनिक गर्नुभएको छ । इतिहासले भविष्यलाई मार्गप्रशस्त गराउने आधारस्तम्भ तय गर्छ र वर्तमानले आफू गाँसिएको कालखण्डलाई अलङ्कृत तुल्याउने अवसर प्राप्त गर्छ । दधिराज सुवेदी इतिहास र वर्तमानको एक साक्षी पुरुष हुनुहुन्छ । उहाँले वर्तमानलाई सचेत गर्दै भविष्यका सन्ततिलाई उज्यालो देखाउन अथक प्रयास गर्नुभएको उदाहरण हो यो कृति । कुनै बेला नेपालको प्रमुख औद्योगिक नगरी भनेर चिनिने मोरङको विराटनगर साहित्य र राजनीतिमा पनि अग्रणी मानिन्छ । विराटनगरको एक सशक्त संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विसं २०७७ मा सार्वजनिक गरेको यो कृति ऐतिहासिक खण्ड र व्यक्ति विवरण खण्ड गरी दुई चरणमा विभाजन गरिएको छ । ऐतिहासिक खण्डको केन्द्रबिन्दु कोइराला परिवार (बीपी मातृका परिवार) रहेको छ । मोरङको विशेष विराटनगर क्षेत्रमा भाषा, साहित्य, शिक्षा, संस्कृति, सङ्गीत–कला र राजनीतिक चेतनाका विषयीकेन्द्रित घटनाक्रमहरू पिताजी कृष्णप्रसाद कोइराला (बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका पिताजी) कै वृत्तबाट अगाडि बढेको देखिन्छ । कृष्णप्रसाद कोइराला नेपालको गान्धीजी हुनुहुन्थ्यो । लोकतान्त्रिक चेतनाको नायक हुनुहुन्थ्यो । साहित्यिक इतिहासकार दधिराज सुवेदीले कोइराला परिवारदेखि हालसम्म जे–जतिले योगदान पु¥याउनु भएको छ ती सबैको फेहरिस्तसहित आफ्ना तथ्यपूर्ण बयानहरू पेस गर्नुभएको छ ।
सुवेदीले पिताजी कृष्णप्रसाद कोइरालाका परिवारहरू, बीपी मातृका, तारिणी, सुशीला, इन्दिरा आदिको इतिहासमाथि प्रवेश गरेर डा. पिनाकीप्रसाद आचार्य, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, हुँदै पछिल्लो पुस्ताका दिनेशकुमार श्रेष्ठसम्मको योगदानलाई अभिलेखीकरण गर्न चुक्नुभएको छैन । विसं १९७७ को कृष्णप्रसाद कोइरालाको ‘कृष्णविनोद’ कृतिबाट विराटनगरको आधुनिक कालखण्डको इतिहास प्रारम्भ भएको स्वीकारिन्छ । कृतिको प्राक्कथनमै भनिएको छ, “यस कृतिभित्र विसं १९३६ का कृष्णप्रसाद कोइरालादेखि आजसम्मका कृतिकारहरू, नेपाली साहित्यको समृद्धिमा सधैँ तत्पर रहने तर कार्यकारणले प्रकाशनमा ल्याउन नसकेका साहित्यकार र नवागन्तुक छचल्काहरू सबैको यथायोग्य चित्रण गरिएको छ ।”
यस कृतिको दोस्रो खण्डमा १७७ कृतिकार, कृति नछापिएका १२६ स्रष्टा, साहित्यिक अतिथि, तिनका योगदानसहित मोरङमा खोज अनुसन्धान गरिएका विषयी चेतहरू माथि पनि सुवेदीले क्रमैले उल्लेख गर्नुभएको छ ।
यस कृतिमा अग्रजहरूको इतिहास र समकालीन स्रष्टाहरूसम्मको अभिलेखन राख्ने कार्य सराहनीय छ । यसमा साहित्यिक पत्र–पत्रिका, सङ्घसंस्था र पुरस्कारहरूको चर्चा पनि छ तर साहित्यिक, सांस्कृतिक एवं भाषिक आन्दोलनहरूको खण्ड पनि भिन्न राखेर चर्चा गरिएको भए अझ परिकार पुग्ने थियो कि ! जे भए पनि पाठक अनुसन्धाताका लागि यो कृति सङ्ग्रहणीय छ । साहित्यका पारखीहरू र मोरङेलीहरूले यो कृति एक पटक पढ्नै पर्नेछ । सङ्घ–संस्था, पुरस्कार–प्रतिष्ठान, पुस्तकालय र ज्येष्ठ नागरिकहरूको संरक्षणमा दत्तचित्त रहनुभएका सुवेदी त्यसै पनि प्रशंसाका पात्र हुनुहुन्छ, उहाँको कृति पनि थप प्रशंसित हुन पुगेको छ ।