शनिवार |

लाग्दछ माया देशको (कविता)

विजय कट्टेल ‘छहरा’

लाग्दछ माया देशको, जन्मिएँ जहाँ हुर्किएँ
यहीँको माटो प्यारो भो नाचेर जहाँ फुर्किएँ
चुली र थुम्का, पखेरा, हिमाल, पहाड, तराईका
यहीँको जल प्युँदामा, आनन्द लाग्छ मलाई ता ।

सीप र आँट बोकेको, तन्नेरी छु म रसिलो
हिमाल जस्तै पवित्र मुहार मेरो हँसिलो
पोखेर यहीँ सिर्जना, धर्तीको रूप सिँगार्छु
कर्मको पूजा गरेर, भविष्य नयाँ निहाल्छु ।

नेपाली रस्ती बस्तीमा, समृद्धि शान्ति फैलाउँछु
युगको नयाँ कोसेली, बोकेर सधैँ म आउँछु
विश्वको अग्लो चुचुरो, हिमाल अझै उठाउँछु
अँध्यारो रात चिरेर, उज्यालो बिहान म ल्याउँछु ।

देशकै लागि जन्मिएँ, देशकै लागि मर्छु म
देशकै लागि पसिना, पोखेर केही गर्छु म
कर्मले अघि नबढे, एकता कहाँ आउँछ र ?
एकताभित्र नजुटे, उज्यालो कहाँ आउँछ र ?