शनिवार |

एउटा शब्दको अनावरण (कविता)

गोपाल पराजुली


कहिले गएँ संसारतिर
आफू छोडेर
कहिले गएँ आफूतिर
संसार छोडेर
म अलिकति पनि राजनीति लिएर आएको
मान्छे होइन
बसेँ जिन्दगीभर कुर्सी छोडेर
प्रतिनायक आयो मलाई हराउन बन्दुक लिएर
नायक आयो मलाई जिताउन
विश्वास लिएर
कहिले जितिनँ केही आफू छोडेर
कसैलाई मिस गरेँ
कसैलाई प्रेम गरेँ
हेर्दैछु मेरो व्यक्तिलाई
उसलाई देशको छायाँ दिएर मैले के गरेँ
प्रेममा हदबन्दी छ
मैले अरूलाई प्रेम गरेर
आफूलाई के गरेँ
सूर्य आयो उज्यालो ल्याउन
रात आयो सूर्य लुकाउन
कहिले पनि हेरिनँ लडेको मेरो मान्छेलाई
अरूलाई उठाएर मैले यो के गरेँ
अनुहार अर्को छ
अनुभव अर्को छ
हाँसो अर्को छ अहिले
देश नपाउने आँखाहरू हराएका छन् बुद्धभित्र
आफूलाई नपाउनेहरू सबै हराएका छन्
दुःख देखेँ र बसेँ त्यहीँ जिन्दगीभर
खुसी हुन
मेरै शब्दले आज मानेका छन्
एउटा अर्थ हुन ।