एक साहसी पर्वतारोहीको कथा
सुकृत नेपाल
नेपाली पर्वतारोही निर्मल पुर्जाको जीवनीमा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ले अहिले राम्रो चर्चा बटुलिरहेको छ । पुर्जाले सात महिनाभित्रै संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल कसरी चढ्नुभयो भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ । उहाँको महत्त्वाकाङ्क्षी सात महिने योजनालाई पछ्याउँदै अमेरिकी र बेलायती चलचित्र निर्माताद्वारा यो वृत्तचित्र बनाइएको हो ।
पुर्जा असम्भव भन्ने कुरा केही नभएको धारणा राख्नुहुन्छ तर यसका लागि सामूहिक कार्य, लगनशीलता, समर्पण हुनुपर्ने भन्दै राष्ट्रिय गौरवको भावनाले बाँधिएमा लक्ष्यमा पुग्न अझ सजिलो हुनेमा जोड दिनुहुन्छ । आरोहणका लागि रकम जुटाउने क्रममा पुर्जालाई असम्भव काम गर्न लागेको भन्दै सबैले खिल्ली उडाउँथे । यही चोटले गर्दा आफ्नो पर्वतारोहण अभियानलाई उहाँले ‘प्रोजेक्ट पोसिबल’ नाम दिनुभएको थियो । उहाँको ‘प्रोजेक्ट पोसिबल’ अभियान २०७६ कात्तिक १२ मा चीनको सिसापाङ्गमा हिमाल आरोहण गरेर टुङ्गिएको थियो । धेरै पटक झन्डै मृत्युको नजिक पुगेर उहाँले यो अभियान पूरा गर्नुभएको हो ।
विश्वका १९१ मुलुकमा यो वृत्तचित्र प्रदर्शन भइसकेको छ । वृत्तचित्रमार्फत निर्मलले वर्षौंदेखि नेपाली पर्वतारोहीमा गुम्सिएर रहेका पीडालाई पनि उठाउनुभएको छ । धौलागिरिको चुचुरोबाट फर्कंदा होस् या सगरमाथाबाट झर्दै गर्दा उहाँले आफैँलाई जोखिममा राखेर अलपत्र आरोहीको उद्धार गरेको दृश्य पनि वृत्तचित्रमा देखाइएको छ । म्याग्दी जिल्लामा जन्मेर ट्रेकिङ व्यवसायमा संलग्न हुँदै निर्मलले कसरी पर्वतारोहण यात्रा सुरु गर्नुभयो ? कसरी यति छोटो समयमा १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर विश्व रेकर्ड बनाउनु भयो भन्ने उत्तर पनि वृत्तचित्रले दिएको छ । निर्मलको यस प्रोजेक्टको यात्रा खासै ‘पोसिबल’ देखिँदैन । पर्वतारोहणका क्रममा अतिरिक्त अक्सिजन पनि बोक्नुहुन्न तर साधारणतया चार दिन लाग्ने शिखरको आरोहण उहाँ एक दिनमै पूरा गर्नुहुन्छ ।
वृत्तचित्रमा पुर्जाको नबोल्ने बानी र असम्भवलाई हासिल गर्ने दृढसङ्कल्पलाई पनि राम्रोसँग देखाइएको छ । अरूलाई मद्दत गर्ने उहाँको उदारता स्पष्ट झल्काइएको छ । उहाँको बाल्यकाल, सैन्य विद्यालयमा उहाँको प्रशिक्षण र आमाप्रतिको उहाँको अपार माया पनि समावेश गरिएको छ ।
यात्रा र साहसिक कथा बोल्ने यो वृत्तचित्र एक घण्टा ४१ मिनेटको छ । धेरैजसो दृश्य स्वयं पुर्जा र उहाँको आरोही समूहले खिचेका हुन् । शिखर उक्लिँदाको विभिन्न महìवपूर्ण क्षण अत्यन्त चुनौतीपूर्ण लाग्छ । टोर्किल जोन्सले निर्देशन गर्नुभएको वृत्तचित्रलाई जोन्ससहित गाब्रिएल क्लार्कले संयुक्त रूपमा लेख्नुभएको हो । निर्देशक जोन्सको निर्देशन तारिफयोग्य छ । निर्देशकले वृत्तचित्रलाई सुन्दर ढङ्गले एनिमेटेड दृश्यमा उतार्नुभएको छ ।
प्रत्येक चुचुरालाई न्याय दिनु एक कठिन कार्य हो भन्ने पूर्वनिर्धारित निष्कर्ष निर्देशक जोन्सले आफ्नो कथाको माध्यमबाट दिन खोज्नुभएको छ । १६ वर्षकै उमेरमा आठ हजार मिटर अग्ला १४ वटै चुचुरो आरोहण गर्ने पहिलो पर्वतारोही रेनहोल्ड मेसनरको कथा पनि यसमा समावेश हुनुले पुर्जाको कद बढाएको छ । पुर्जाले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना सँगी आरोहीहरूलाई दिनुभएको छ । उहाँले भन्नुभएको छ, “मेरा शेर्पाहरूले मलाई मद्दत गरे, जसलाई म कहिल्यै भुल्न सक्दिनँ ।” वृत्तचित्रमा उल्लेख गरिएको एउटा पाटो शेर्पा समुदायको कथा पनि हो ।
पुर्जाले नेपाली कथा र पात्रमाथि ओस्कारलगायतका चर्चित पुरस्कारसँग जोडिएका निर्देशक र निर्माता यसअघि नभएको दाबी गर्नुभएको छ । उहाँले एक कार्यक्रममा भन्नुभएको थियो, “यो वृत्तचित्र अब तपाईंको हो, मलाई आशा छ कि यसले तपाईंलाई प्रेरणा दिन्छ, तपाईंको नयाँ लक्ष्य फेला पार्छ र तपाईंलाई ती प्राप्त गर्न मद्दत गर्दछ । तपाईंलाई विश्वास गराउँछ कि तपाईं केही गर्न सक्नुहुन्छ । हामी सबैसँग जीवनमा आरोहण गर्न व्यक्तिगत पहाडहरू छन् । मलाई आशा छ कि यो वृत्तचित्रले तपाईंलाई हँसाउने छ, रुवाउने छ र खुसी तुल्याउने छ । तपाईंको समर्थनका लागि धन्यवाद ! यो मेरा लागि सम्पूर्ण संसार हो ।”
पुर्जाको जन्म वि.सं. २०४० मा भएको हो । उहाँको आमाको नाम पूर्णकुमारी पुर्जा र बाबुको नाम नन्दबहादुर पुर्जा हो । बाबु नन्दबहादुर भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना जन्मस्थान भएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गर्नुभएको थियो ।
पुर्जाले धौलागिरि हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो । उहाँले आरोहण गर्नुभएको हिमालहरूमा अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, नाङ्गा पर्वत, जी–१, जी–२, के–२, ब्रोड पिक, चोयु, मनास्लु, सिसापाङ्मा हुन् । आठ हजार मिटर अग्ला यी १४ वटा हिमालमध्ये आठवटा नेपालमै पर्छन् भने अन्य पाकिस्तान र चीनमा पर्छन् ।
यस्तै पुर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान पनि राख्नुभएको छ । पाँच दिनमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण गर्नुभएको छ । एउटै सिजनमा १७ दिनभित्र दुई पटक सगरमाथा चढेर रेकर्ड राख्नुभएको छ । जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको के–२ हिमाल चढेको विश्व कीर्तिमान पनि उहाँको नाममा छ । के–२ हिमाललाई ‘किलर माउन्टेन’समेत भनिन्छ । पुर्जाको नाममा यस्ता आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान छन् । बेलायती महारानीबाट प्रतिष्ठित एमबीई अवार्डसमेत उहाँले प्राप्त गर्नुभएको छ ।