शनिवार |

आशीर्वाद

जीवनाथ धमला


आशीर्वाद दिने र लिने चलन कहिलेदेखि चल्दै आयो भन्ने कुराको कुनै ठोस प्रमाण पाउन सकिँदैन । अन्य कैयौँ चालचलन र परम्पराजस्तै ‘आशीर्वाद’ पनि सनातन संस्कृतिको एउटा रूप हो भन्न सकिन्छ । अनादि वा अर्वाचीन कालदेखि नै मनुष्य समाजले अपनाउँदै आएका जीवन सापेक्ष व्यवहारहरूमध्येको एक ‘आशीर्वाद’ पनि हो । आशीर्वादको व्यवहारले निरन्तरता पाउँदै जाँदा यसले एउटा अभिन्न संस्कृतिको स्वरूप ग्रहण ग¥यो । देश, काल र परिस्थितिअनुसार आशीर्वादका भिन्नभिन्न तौरतरिका र शैलीहरू विकसित हुँदै आए ।

व्यवहारमा ल्याइएका ‘आशीर्वाद’सँग आशयगत सामीप्य राख्ने वा समानार्थी शब्दहरू वरदान, अनुकम्पा, आशीर्वचन, आशिष आदि हुन् । आशीर्वाद वा आशिष दिँदा दिइएका व्यक्तिप्रति हार्दिक रूपमा शुभ वा मङ्गलभावका साथ दिइन्छ । आशीर्वाद एउटा मनोवैज्ञानिक सन्तुष्टि प्राप्त गर्ने पारस्परिक आत्मीय भावको उद्बोधन हो । आशीर्वाद दिने र पाउने दुवैलाई सन्तुष्टिको अनुभूति हुन्छ । आशीर्वादले दिने र पाउनेबीचको अन्तरसम्बन्धलाई निर्धारण पनि गर्छ । यसबाट पारिवारिक सम्बन्धको सन्निकटता वा आत्मीयता बुझ्न र मापन गर्न सकिन्छ । दुई पक्षबीच रहेको आपसी सम्बन्धको स्तरीकृत पनि गर्न सकिन्छ, अर्थात् नाता सम्बन्धमा रहेको वरिष्ठता र कनिष्ठता, अभिभावकत्व, अग्रजत्व वा अनुजत्व आदि श्रेणीगत स्तर छुट्याउन सकिन्छ । आशीर्वादले पारिवारिक स्तरमा जिम्मेवारीको तहलाई पनि छुट्याउन मद्दत मिल्छ । आशीर्वाद दिनेहरू मूलतः पारिवारिक वा आत्मीय नातागत सम्बन्धका व्यक्तिहरू नै रहन्छन् । मूलतः उमेर अनि वरिष्ठताका हिसाबले ती माथिल्लो तहमै रहन्छन् र लिने वा पाउनेहरू तल्लो तहमै रहेका हुन्छन् । नेपाली समाजमा र अन्यत्र पनि यज्ञादि वा पूजनादि कार्यहरूमा संलग्न वा सम्बद्ध गुरुपुरोहितहरूबाट आशीर्वाद थाप्न भने उमेर बाधक बन्दैन । पारिवारिक सञ्जालमा उमेरको ज्येष्ठता बाधक बन्दैन ।

पारिवारिक वा नातागत सञ्जालभित्रको एक पात्र छँदो मैले पनि कैयाैँ व्यक्तिबाट आशीर्वाद पाउँदै आएको छु र कैयाँैलाई आशीर्वाद दिइसकेको छु । आशीर्वाद दिँदा अरूअरू वरिष्ठ, अग्रज आशीर्वादकहरूले भनेझैँ नै भन्ने गरेको छु । अरूकै देखासिकी गरेरै म पनि आशीर्वाद दिने हैसियतमा जुँगामा ताउ लाउँदै आएको हुँ । अरूले अरूअरूलाई दिएका आशीर्वाद वा अरूले अरूअरूबाट पाएका आशीर्वाद कति पूर्ण भए, सफल भए वा फलिफाप भए, त्यसको मूल्याङ्कन गर्न मैले सक्ने कुरै भएन । आफूले अरू कनिष्ठलाई दिएको आशीर्वाद भने लागेको अनुभव गर्न पाएको छैन । बर्सेनि आशीर्वाद दिँदै आएकाहरू उस्ताका उस्तै छन्, तिनमा खास केही परिवर्तन देखिएको छैन । अरूले मलाई दिएका आशीर्वाद ममा कति लागू भए, पूरा भए त्यो मलाई आशीर्वाद दिनेले नै मूल्याङ्कन गरून् ।
मैले ठ्याक्कै कहिलेदेखि आशीर्वाद पाउन थालेँ, त्यसको अभिलेख राखेको चाहिँ छैन तर पछि ‘जान्ने सुन्ने’ भएपछि अरूअरूले दिए–लिएको आशीर्वादको स्थिति बुझ्दा म जन्मनुभन्दा वर्षौं पहिलेदेखि नै आमाबाबुमार्फत भविष्यमा मेरो जन्म होस् भनेर घरपरिवारका वरिष्ठ ज्येष्ठ, अग्रज सदस्यहरूले आशीर्वाद दिइसकेका रहेछन् । त्यसकै परिणाम मैले जन्म लिएको रहेछु । जन्मनुअघि र जन्मिसकेपछि आमाबुवा र अन्य आफन्तजनबाट कति आशीर्वाद पाएँथेँ, त्यसको विवरण पनि सम्झिन सकेको छैन । जहाँसम्म मेरो जानकारीमा भएको कुरा छ, त्यो त्यस्तै झन्डै पाँच वर्ष हुँदादेखि यताका विवरण भने सम्झन सक्छु । त्यो पनि ठ्याक्कै कस्तो, कसरी र के भनेर आशीर्वाद दिएका हुन् त्यो भने अस्पष्ट नै छ । जे होस्, मैले उहिल्यैदेखि आशीर्वाद भने पाउन थालेँ ।

बडादशैँमा टीकाका दिन हजुरबाले दिनुभएको आशीर्वाद सम्झन्छु । दशैँका अवसरमा उमेरजन्य अनिवार्यताका कारण क्रमशः पारिवारिक माहोलमा आफूलाई आशीर्वाद दिनेको सङ्ख्या कम हुँदै गए पनि आमा र अरू केही पारिवारिक ज्येष्ठ सदस्यहरूद्वारा दिइने आशीर्वाद भने बर्सेनि थाप्दै छु । अहिले भने म अरूलाई आशीर्वाद दिने हैसियतमा पनि उक्लिएको छु ।
वास्तवमा नेपालमा आशीर्वादको परम्परा बडो सुन्दर छ, विशिष्ट छ र हार्दिक छ । बडादशैँमा घरपरिवारका ज्येष्ठ सदस्यहरूले अन्यलाई टीकाजमरा लाइदिएर आशीर्वाद दिन्छन् । नातागोतामा विशेषतः माइत–मावल गई मामा–माइजू आदि मान्यजनबाट टीकाजमरा र आशीर्वाद थाप्ने चलन अधिकांश नेपाली समाजमा प्रचलित छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र माला पहिराई दिएपछि निरोगिता र चिरञ्जीवी हुने आशीर्वाद दिन्छन् । दाजुभाइले दिदीबहिनीलाई पनि सप्तरङ्गी टीका लगाएर आशीर्वाद दिने चलन छ । घरमा हुने पूजाआजाका अवसरमा गुरुपुरोहितद्वारा आशीर्वाद दिइन्छ । पितृकार्य गर्दा दिवङ्गत पितृहरूबाट आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । समाजका मान्यजनहरूबाट पनि आशीर्वाद थाप्ने गरिन्छ । यस्तै विवाह, व्रतबन्ध आदि सांस्कृतिक सामाजिक कर्महरू सम्पन्न गर्ने क्रममा पनि गुरु, पण्डित आदिबाट आशीर्वाद थापिन्छ । अन्य कुनै पनि माङ्गलिक कार्य गर्दा वा कुनै नयाँ कामको आरम्भ गर्दा पनि त्यसको सफलता र विघ्नबाधारहितको कामना गर्दै आशीर्वचन दिनेलिने परम्परा छ । सनातन हिन्दु–सांस्कृतिक समाजमा हुने यस्तो विशिष्ट आशीर्वाद परम्परा अन्य धार्मिक सांस्कृतिक समाजमा कमै मात्र भएको अनुभव हुन्छ ।

अन्य धर्मावलम्बीहरूका पनि आ–आफ्नै विशेष चाडपर्व, उत्सवहरू छन् । इशाईहरूको क्रिसमस दिवस, इस्लामहरूको इद आदि प्रमुख पर्व हुन् । ती पर्वका अवसरमा शुभकामना आदानप्रदान र ईश्वरसँग विशेष प्रार्थना गरिन्छ । आशीर्वाद दिने लिने चलन र परम्पराहरू फरक छन् ।
नेपालमा अनेकौँ जातीय समुदायहरूका भिन्नभिन्न सांस्कृतिक चाडपर्वहरू पनि छन् । ती पर्वका अवसरमा ठूलाले सानालाई आशीर्वाद दिने चलन छ । आशीर्वाद दिँदा भनिने शब्द वा वचन फरक होलान् तर भावार्थ सामान्यतः एउटै खालको हुन्छ, शुभ होस्, कल्याण होस्, उन्नति प्रगति होस्, सुख शान्ति समृद्धि होस् आदि ।

मोक्ष प्राप्तिका लागि सनातनदेखि नै अधिकाधिक हिन्दु समाजद्वारा परमात्मासँगको याचना वा प्रार्थना गरिँदै आएको छ । परमेश्वर वा परमात्मासँग गरिने मोक्ष प्राप्तिको याचना हिन्दु धर्मको एउटा अनुकम्पीय विश्वास पनि हो । अर्कातिर अनेकाँै देवदेवीको अस्तित्वप्रतिको सनातन विश्वासले मानिसलाई डो¥याइरहेको छ । वैयक्तिक इच्छाप्राप्ति हेतु देवदेवीका मन्दिरमा पूजा, प्रार्थना गर्नु हिन्दु सांस्कृतिक–धार्मिक परम्परा र विश्वासको एउटा महìवपूर्ण आयाम हो । ईश्वर–अनुकम्पा होस् नहोस्, शान्ति, ऐश्वर्य वा धनधान्य वा अन्य कुनै आकाङ्क्षा, उद्देश्य परिपूर्तिका लागि गरिने सविनय प्रार्थनामा हिन्दु समाज वेष्टित छँदै छ । यसै विश्वासले हिन्दुबहुल भूक्षेत्रको जीवन पद्धतिलाई डो¥याइरहेको छ । मानिसमा अदृश्य शक्तिद्वारा आशीर्वाद प्राप्त गर्न सकिन्छ भन्ने सनातन विश्वास अझै डग्मगाएको छैन ।

अन्य धर्मावलम्बीमा पनि अदृश्य पारलौकिक शक्तिमाथिको विश्वास उत्तिकै छ भन्न सकिन्छ । प्रार्थना वा याचनाका शैलीहरू पृथक् छन् । बुद्ध धर्म पारलौकिकताभन्दा इहलौकिक जीवनका आचरणगत व्यवहारहरूमा बढी केन्द्रित रहेको प्रतीत हुन्छ । यद्यपि आशीर्वाद संस्कृति त्यसमा पनि छँदै छ, बुद्धं शरणं गच्छामि । मूलतः ईश्वरप्रतिको विश्वास शक्ति वा सामथ्र्य प्राप्तिको कामनाका साथ भएको पाइन्छ । सनातन हिन्दु धर्मअन्तर्गतका तमाम साहित्यमा तपस्या, ध्यान, साधनाका माध्यमबाट वरदान वा आशीर्वाद प्राप्त भएका र त्यसबाट शक्ति, सामथ्र्य प्राप्त भई अनेक उद्देश्यहरू पूरा भएका काव्यकथाहरू अनगिन्ति छन् । अनादिकालीन यही विश्वास नै मानिस र ईश्वरबीचको सम्बन्धको आधार भएको छ । आफूद्वारा सम्पन्न गरिँदै आएका कार्यहरूमा ईश्वरीय दृष्टि वा स्पर्श रहन्छ भन्ने विश्वास भएकै कारण नै मानिस पतनशील हुनबाट जोगिँदै आएको छ । मानवीय नैतिक शक्तिलाई खण्डहर हुनबाट यसैले बचाएर राखेको विश्वास गरिन्छ । दैवी आशीर्वादको कामना त्यही विश्वासको एउटा प्रकटीकरण हो । मानिस हुनुको परिचय नै विश्वासहरूको बन्धनमा रहेर जीवनलाई खोज्नु पनि हो र जीवनको भोग गर्नु हो ।

हिन्दु जगत्मा पराभौतिक शक्ति अर्थात् पराशक्तिप्रति मनुष्यको विश्वास रहनुका कारणका पछाडि मूलतः दुइटा बलिया तत्त्वहरू छन्, एउटा– पराशक्ति अर्थात् ईश्वर सर्वशक्तिमान् छन् भन्ने विश्वास र अर्को मनुष्य स्वयं ईश्वरीय रचना हो र उसमा ईश्वरको अंश रहेको हुन्छ भन्ने विश्वास । पहिलो विश्वासअनुसार यस चराचर जगत्को रचना ईश्वरीय अनुकम्पाबाटै भएको हो । दोस्रो, मानिसमा ईश्वरीय अंश हुने भएकाले मनुष्य स्वयं पूजनीय छ । मानिसमा ईश्वरीय शक्ति सन्निहित भएको विश्वास सघन रूपमा रहेको पाइन्छ । राम, कृष्ण तथा अन्य अनेकौँ ऋषिमुनिहरूमा ईश्वरीय शक्ति रहेको विश्वास छँदै छ । यसअनुसारका साहित्यहरू अनगिन्ति छन् । आधुनिक मानवतावादी दृष्टिकोणको यो एउटा बलियो आधारशीला पनि हो । मानिसलाई पुज्नु, मानिसलाई नै ईश्वरको प्रतिविम्ब मानेर उसको सम्मान गर्नुभन्दा ठूलो मानववादी धारणा अर्को हुन सक्दैन । त्यसैले मन, वचन र कर्ममा श्रेष्ठ मानिएका मानिसबाट आशीर्वाद थाप्ने पूर्वीय संस्कारलाई सामाजिक जीवनको व्यावहारिक आदर्श मान्न सकिन्छ । त्यसैले त मातृदेवो भव, पितृ देवो भव, गुरुदेवो भव, अतिथि देवो भव जस्ता नैतिक विश्वासहरू र यसअनुसारका हाम्रा पारम्परिक मूल्य मान्यताहरू विकसित हुँदै आए । अनि हाम्रो संस्कार र जीवन पद्धतिभित्र ती अविभाज्य भएर रहे । जुन समाज यी मूल्य, मान्यता र आदर्शहरूबाट टाढिएको छ, त्यो जीवनहीन, चरं भौतिकवादी र आडम्बरीय तृष्णाको रापले मानव हुनुको अर्थमा सुस्केरा मात्र बाँचिरहेको अनुभव गर्न सकिन्छ ।

पौराणिक वा प्रागऐतिहासिक कालदेखि नै आशीर्वाद संस्कृतिका अनेक प्रसङ्गहरू पढ्न, सुन्न पाइन्छ । महाभारतमा आशीर्वाद दिने र लिने प्रसङ्गहरू अनेक छन् । इच्छित आशीर्वाद नपाउँदा मनमा गुनासो राख्ने पात्रहरू पनि छन् । वाण शøयामा मृत्युको अन्तिम क्षण पर्खिरहेका गङ्गापुत्र भीष्मले तिमीलाई विजयश्रीको आशीर्वाद दिन नसक्ने भनेपछि दुर्योधनले गुनासो गर्दै भनेका छन्, “मलाई कसैले पनि विजयश्रीको आशीर्वाद दिएन ।” दुर्योधनलाई युद्धमा विजयश्रीको आशीर्वाद उनकै माता गान्धारीले पनि दिन इन्कार गरेको वृत्तान्त छ । आशीर्वाद मात्रैले केही हुँदैन । मूल कुरो कर्म नै हो । कर्मअनुसारको फल सबैले पाउँछन् । श्रीकृष्ण महाभारतका सर्वाधिक महìवपूर्ण पात्र हुन् । उनको उद्देश्य धर्मको स्थापना गर्नु रहेको देखिन्छ । उनी आशीर्वादभन्दा कर्ममा विश्वास राख्छन् । आशीर्वाद शुभ परिणामका खातिर मागिन्छ तर कृष्ण भन्छन्, “परिणाम तिम्रो वशमा छैन, तिम्रो वशमा कर्म छ र कर्म गर्दै गर, प्रतिफलतर्फ दृष्टि नदेऊ ।” श्रीकृष्ण अर्थात् गीताका अनुसार सबभन्दा सार्थक आशीर्वाद भन्नु मनुष्य स्वयंले गर्ने कर्म नै हो ।
राजा पृथ्वीनारायण शाहलाई सिद्ध गोरखनाथले आशीर्वाद दिएका थिए भन्ने किंवदन्ती छ । योगविद्यामा पारङ्गत सिद्धात्माहरूमा वाक्–सिद्धिको शक्ति हुने कुरालाई असत्य मान्न सकिन्न ।
स्रष्टाहरूद्वारा पिता, माताको आशीर्वादलाई उच्च महìव दिँदै कैयौँ सिर्जना गरिएका छन्;
“छोरीलाई आशिष हाल्न पाइनँ अन्तिम कालैमा
भन्थे नि बाबाले आँसु झारी टीकाको थालीमा..........।”
(शब्द : भूपि, स्वर : नारायण गोपाल)
पिता, माताद्वारा विशेष परिस्थितिमा सन्तानलाई दिइएका आशीर्वाद आजीवन मार्गदर्शनका रूपमा पनि लिइन्छ । जस्तै, विवाहपछि अन्मिएर घर जान लागेकी छोरीलाई दिइने आशीर्वाद र अर्तिलाई छोरीले सधैँ सम्झिरहन्छिन् । परदेश जान लागेको छोराले आफू हिँड्ने बेलामा बाबुआमाबाट पाएको आशीर्वाद हत्पति बिर्संदैन । आमाबाबुले छोराछोरीलाई दिने आशीर्वादमा मातृत्व र पितृत्वको नओइलाउने माया र प्रेम घोलिएको हुन्छ । आशीर्वाद भन्नु इतिहासको सांस्कृतिक प्रतिविम्ब हो । आशीर्वादक र आशीर्वादीहरू पारिवारिक आत्मीयताका रक्षक पनि हुन् । आशीर्वादबाट प्रेरणा पाएर कतिले आफ्नो व्यक्तित्व निर्माणको नयाँ बाटो पहिल्याएका पनि छन् । तिनले समाज र देशकै लागि ठूला, ऐतिहासिक कार्य सम्पन्न गरेका उदाहरणहरू पाइन्छन् । आशीर्वाद पाउनु एउटा प्रेरणा हो । यसले मानिसको हृदयलाई सुक्खा खडेरीग्रस्त बन्नबाट जोगाउँछ ।

अहिलेसम्म मैले कतिपय आफन्त र वरिष्ठ नातागोताबाट कैयाैँ आशीर्वाद पाइसकेको छु, पाउँदै आएको छु । आशीर्वाद पाएर नै मैले साउँ अक्षर छुट्याउन सिकेको हुँ । गुरुले सिकाएका अक्षरहरू मेरा लागि आशीर्वाद मन्त्रझैँ थिए । तिनै अक्षरहरूको अभ्यास गर्दै गएपछि त्यसकै माध्यमबाट मैले आफूलाई आफ्नै पैतालामा उभ्याउन प्रयास गर्दै आएको पनि हुँ । अक्षर सिक्नुभन्दा पनि पहिले अक्षरलाई देख्नका लागि पहिलो पाइला टेकाएर आँगनबाट अक्षरसम्म पु¥याउने मेरा श्रद्धेय एवं पूजनीय आशीर्वादक र पथ प्रदर्शक मेरा बाबुआमा हुन् । त्यसपछि मात्र जीवन र जिजीविषाका लागि म हिँड्न सक्ने भएको रहेछु । तिनै अभ्यासका खुड्किलाहरूमा क्रमशः टेक्दै, घस्रिँदै, उक्लिँदै जाँदा आजको ‘म’ बनेको रहेछु । मैले हिँडेको गोरेटोमा अन्य कैयौँ शुभचिन्तक र अग्रजहरूका आशीर्वादका ध्वनिहरूले पनि मेरो जीवनयात्रामा मलाई शीतलता प्रदान गर्दै आएका छन् । यद्यपि मनुष्य जीवनका लागि सबभन्दा ठूलो आशीर्वाद उसकै सुकर्म भएको कुरामा भने द्विविधा छैन ।