शनिवार |

प्रेमी पर्यटक (कविता)

महेश रेग्मी

कार्बनडाइअक्साइडको ब्रेकफास्ट खाएर
हाम्रा पश्र्ववर्ती हिमालहरू कालाम्य छन्
हिमनदीहरू निचोरिएका छन्
हिमताल आँधी आउनुअघिको मौनतामा छ
हामीहरू प्रकृतिप्रति निरङ्कुश हुने
जलवायु स्थिर हुनुपर्ने ?
चार्ज–रिचार्ज हुनुपर्ने प्रकृतिहरू विघटन छन्
आफैँ ग्लोबल वार्मिङको कारक भएर
एलन मस्क र ग्रेटा थनवर्ग पढिरहेछु
प्रेमी पर्यटक भएर हिँड्दा
जीवनको नयाँ व्याख्या सुरु हुन्छ
तातो चेतनाले डढाइरहेछ
पृथ्वीको कोख
अब नदी आगो बग्ने छ
समुद्र आगो बल्ने छ
बन्द गर कार्बन अर्थतन्त्र !
बन्द गर कार्बन पुँजीवाद !
बन्द गर प्रेमी पुँजीवाद !
कमिलाले बाटो खोजेजस्तो अलमल
कचौराभित्र वैश्विक उकुसमुकुस ।