शनिवार |

सहरी सौन्दर्य

देवराज पोखरेल

काठमाडौँ महानगरपालिकामा ‘हराभरा काठमाडौँ’अन्तर्गत पर्ती जग्गा, घर–करेसा, नदी–पोखरीका किनार, सडकका बीच भाग तथा पेटीमा वृक्षरोपण हुँदै आएको छ । यस कार्यमा वनसँग सम्बन्धित निकाय, वातावरण संरक्षणसँग आबद्ध सरकारी तथा गैरसरकारी संस्था, महानगर तथा वडा कार्यालयका साथै सडक विभागसमेत संलग्न हुँदै आएको छ तर अत्यधिक सवारीसाधनको चाप तथा सडकको दुरवस्थाका कारण उत्पन्न धुवाँधुलोबाट भएको प्रदूषणले बिरुवा रोगाउने, वृद्धि नहुने र मर्ने गरेका छन् । त्यसैले यो अभियन सुरु गरिएको धेरै वर्ष हुँदा पनि काठमाडौँ हराभरा हुन सकेको छैन । निराश नैै भइहाल्नुपर्ने अवस्था पनि छैन ।

हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३० र ५ को रुद्रमती नदी किनारको दुवैतर्पm करिब ३.५ कि.मि. क्षेत्रमा कहीँ गेबियन तारजालीमा सुक्खा ढुङ्गा भरी पर्खाल लगाइएको छ भने कतै ढुङ्गाको गाह्रो लगाई नदी नियन्त्रण गरिएको छ । यस्ता गाह्रोमाथि (सडक सतह) ४० से.मि. भित्री गोलाइ र १.२० मि. उचाइका पाइप एक–एक मिटरको दूरीमा कतै करिब ३० से.मि. गाह्रोभित्र गाडेर ठड्याइएका छन् भने कतै पर्खालमाथि सिमेन्टका छ फिट लामा, दुई फिट चौडा र तीन फिट उचाइका गमला (क्यारी)हरू बनाइएका छन् । हालसम्म करिब ४५ प्रतिशत पाइप तथा क्यारीहरूमा माटो भरेर विभिन्न प्रकारका बोटबिरुवा लगाइएका छन् भने अरू पाइपहरू खाली नै छन् ।

यस स्थानमा लगाइएका बोट–बिरुवाहरू वर, पीपल, काभ्रो, समी, कपुर, चाँप, रबरप्लान्ट, बैंस, पारिजात, करवीर, बेगनबेली तथा आरू, अम्बा तथा फूलका जातहरू पनि छन् । बिरुवा हुर्कंदै गएपछि हरियालीमा वृद्धि भएको छ, नदीको दुर्गन्धमा केही कमी आएको छ र वातावरण शुद्धीकरणमा सामान्य सहयोग अवश्य पुगेको छ । हुर्कंदै गरेका धेरैजसो बिरुवा अलिक ठूला पोथ्रा मात्र हुने, रातो फूल फुलेर वातावरण नै शोभायमान बनाउने खालका छन् तर वर, पीपल, काभ्रो, समी, चाँप, रबरप्लान्ट आदि केही वर्षपछि विशाल वृक्ष हुने खालका बिरुवा पनि छन् । विशाल वृक्षहरू हुरी–बतासले ढल्न गएमा सडकमा गुड्ने सवारीसाधनका साथै बटुवासमेत दुर्घटनामा पर्छन् । नदीतर्फ ढल्न गए नदीको बहाव रोकिन गई अर्को भयावह अवस्था सिर्जना हुन पुग्छ । त्यस्तै पाइपको लाइनमा बिरुवा मास्ने जङ्गलीझार, वनमाराका साथै अन्य भुइँझारहरू तथा पाइपमा लगाएका बोटबिरुवा झाङ्गिएर सडकतर्फ आई बटुवा तथा सवारीसाधनलाई अवरोध पुगेको अहिले देख्न सकिन्छ । यसको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान पु¥याउन नसकेकै हो । यस प्रसङ्गमा यहाँ प्रस्तुत तस्बिरले पनि केही सङ्केत गरेको छ । (हेर्नुहोस् तस्बिर १)

यी तस्बिर बन्दाबन्दीपहिले (करिब १८ महिनाअघि) लिइएका हुन् । हाल आएर सोही ठाउँमा लिइएका तस्बिरले आकलन गरिएको र भविष्यमा हुनसक्ने दुर्घटनाको सङ्केत गरेको छ । (हेर्नुहोस् तस्बिर २/३)


यदि समय छँदै समस्याको पहिचान र समाधानको उपाय सुझाउन नसकेको खण्डमा यस्ता दृश्यहरू भविष्यका लागि घातक बन्न सक्छन् । यस्ता अपरिपक्व कार्यको जबाफदेहिता कसले लिने भनेर नै यो टिप्पणी गर्नुपरेको हो ।
प्राकृतिक रूपमा आफैँ उम्रिएका वा खुला ठाउँमा रोपिएका ठूला जातका वृक्ष असामान्य परिस्थितिबाहेक ढलेर दुर्घटना हुने सम्भावना अत्यन्तै न्यून हुन्छ तर सहरबजार हरियाली बनाउन सडक र नदीछेउमा वृक्षरोपण गरेर हुर्कने यस्ता वृक्ष हावाहुरीले पनि ढल्न सक्छ । रुखका जराहरू अहिले नै पर्खालमा जेलिएर नदीमा पुग्ने क्रममा छन् । भोलिका दिनमा आउन सक्ने समस्याको निराकरणतर्फ सम्बन्धित निकायले अविलम्ब सोच्ने र दुर्घटना न्यूनीकरणतर्फ लागिहाल्नुपर्ने देखिन्छ । जानी नजानी सकारात्मक सोचले गरेको कामबाट उत्पन्न समस्या दिनानुदिन बढ्दो छ । त्यसैले समाधानका उपाय पनि पहिल्याउनु आवश्यक छ । समाधानका प्रभावकारी उपाय निम्न हुन सक्छन्– स्थानान्तरण गर्ने, काँटछाँट गर्ने र बाँकी रहेका पाइपमा रङ्गीचङ्गी पोथ्रे खालका बिरुवा लगाई नियमित स्याहारसुसार गर्ने ।

स्थानान्तरण भन्नाले ठूला हुने खालका यस्ता बोट पाइपसहित क्रेनको सहयोगले अन्यत्र लगी रोप्नुपर्छ । यो काम अविलम्ब गरिहाल्नुपर्ने देखिन्छ । काँटछाँट गर्ने सम्बन्धमा कृषि विज्ञानमा गरिने ‘ट्रिमिङ’ तथा ‘पुनिङ’ प्रक्रियाबाट वृक्षको आकार सीमित गर्न त सकिन्छ तर वर, पीपल, काभ्रो तथा रबरप्लान्ट जस्ता डाले रुखमा यस्तो प्रक्रिया वाञ्छनीय होला नहोला, यसको निक्र्योल रुखबिरुवाका विज्ञहरूबाट जानकारी लिएर गर्न सकिन्छ ।



हिन्दु धर्मशास्त्रअनुसार वरपीपल, तुलसीजस्ता वनस्पति साक्षात विष्णु भगवान्का रूप हुन् । यस्ता वनस्पति मानवकल्याण र स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छन् । यिनलाई काटनु, छाँटनु र नास्नु महापाप मानिन्छ । अतः यस्ता वृक्षलाई समयमै स्थानान्तरण गर्नु सही कदम होला ।
बाँकी रहेका पाइपमा हरियालीको व्यवस्थापन गर्ने सम्बन्धमा बैंस, बेगनबेली, करवीर, पारिजात, साना खालका रङ्गीचङ्गी फूल, धूपी, नीलकाँडा, लालुपाते, गुलाब तथा अन्य साना पोथ्रे खालका बोट जसलाई राम्रो आकारमा ‘ट्रिमिङ’ तथा ‘पुनिङ’ गरी चाहेको आकारमा राख्न सकियोस् । यस्ता वनस्पतिबाट महानगरपालिकाको उद्देश्य परिपूर्ति हुन जाने र प्रदूषण नियन्त्रण, पर्यावरण सन्तुलित हुन गई दुर्घटनाबाट पनि बच्न सकिन्छ ।