शनिवार |

वक्रभाव

दिनेश बस्नेत

दशैँताकाको कुरा हो । त्यसदिन हाम्रो पहिलो बास थियो । हामी पहिराको थाप्लामा सानीकान्छीको होटलमा बसेका थियौँ । बिहान चारै बजे जोमसोमबाट च्याङ्ग्रा, भेडाको बगाल लिएर हिँडेका थियौँ । हामी जति सायदै च्याङग्रा व्यापारी बगाल लिएर पहिलो दिन पहिराको थाप्लामा आइपुग्थे । मैले च्याङ्ग्रा, भेडा ल्याउन, खेद्न थालेको चार वर्ष भइसकेको थियो । कम्तीमा १७–१८ पटक जोमसोम–पोखरा गरेँ होला । च्याङ्ग्रा, भेडाको बगाल लिएर । त्यति छिटो बेगमा च्याङ्ग्रा भेडा कहिल्यै खेदेनौँ ।

बगालमा १५० जति च्याङ्ग्रा थिए । २०० जति भेडा । असाध्यै मोटाघाटा र हृष्टपुष्ट । जोमसोमभरिका रोजा बगाल । त्यो बगाल लिन धेरैले हानथाप गरेका थिए तर भीमप्रसाद शेरचनले तेन्जिङसँग कुरा मिलाई हाले । पट्टा खाइहाल्यौँ । लेनदेन पक्का भइहाल्यो । ३२ सयको दरमा च्याङग्रा । २४ सयको दरमा भेडा । हामीलाई च्याङग्रा र भेडाको पछि लाग्न मुस्किल भएको थियो । केको खेद्नु ! सर्सर्ती हिँडिरहेका हुन्थे । च्याङ्ग्रा अगाडि, भेडा पछाडि । न त ‘सेउ ः सेउ’ भन्नुपर्ने । न त सिठ्ठी लाउनु पर्ने । खच्चडको बगाललाई पनि छलेर, धकेलेर अगाडि बढ्ने । मैले त्यस्ता च्याङ्ग्रा, भेडा त्यसभन्दा पहिले कहिल्यै किनिनँ, कहिल्यै खेदिनँ ।

सायद चर्काे हिँडाइ भएर होला शरीर तातो हुँदै आयो कता–कता जाडो भएजस्तो अनुभूत भयो । ‘‘भित्र चुलामा आएर आगो तापेर बस्नोस् न दाइ ।’’ सानीकान्छीले भनिन् ।
म एउटा ढुङ्गाको छपनीमा थ्याच्च बसेको थिएँ । मलाई भित्र पुग्न पनि मुस्किल जस्तो भयो । ‘‘हाम्रो साहुलाई बेस्किनी थकाई लाग्यो कि क्या हो ।’’ खेदुवा केटो छिरिङले भन्यो । म केही बोलिनँ । ‘‘पिउने बानी छ कि छैन
दाइको ? तातो रक्सी खायो भने खुट्टाको कैँडा पनि मेटिन्छ । थकाइ पनि बिर्सिन्छ । जाउँ हो दाइ, भित्र ।’’ अर्काेले अर्ती दिँदै भन्यो ।

मैले बल्लतल्ल मुख फोरेँ, ‘‘मलाई सञ्चो नहोला जस्तो छ, तिमोरु रक्सी छ्याङ के खान्छौ खाओ । अनि खाना खाएर पालोपालो बगाल हेर ।’’
तिनीहरू अलि खिन्न भए । मुखामुख गरे । ‘‘होइन दाइ, केही न केही त खानुपर्छ । मालको फिक्री नलिनु हामी कुर्छौं, चारतिर घेरा हालेर सुत्छौँ । दाइले खाना खाएर भित्र आराम गर्नुस् । आनन्दले बिछ्यौनामा सुत्नोस् ।’’ तेन्जिङले पठाएको खेदुवाले भने । कालीगण्डकी साङ्गीतिक धुनमा सुसाएको थियो । अँध्यारोले घुम्लुङ्ग घुम्टो ओढिसकेको थियो । च्याङ्ग्रा, भेडा पनि बसेर थकाइ मेटिरहेका थिए । मलाई आफ्नो शरीर भारी भयो । त्यति मात्र होइन, चिसोले शरीर कक्रक्क पारेको थियो, गँगटाको खुट्टाले औँला समाए जसरी । भित्रसम्म जाने जाँगर पनि आएन । शरीर अब अगाडि बढ्दैन, भोलिको बाटो हिँड्ने टाढाको कुरा, आजको रात कसरी काटुँला, कतै बिलखबन्धनमा परिने त होइन ? त्यस्तो भावले बारम्बार चिमोटिरह्यो । आफूमाथि भइपरि आएको जिम्मेवारी अलि पृथक, अलि बोझिलो र अलि झञ्झटिलो लागिरह्यो । जब कि ती खाले जिम्मेवारी अघिल्ला दिनमा सामान्य थिए र सामान्य हिसाबले गुजे्रका थिए । पोखरादेखि जोमसोमसम्म म नामुद च्याङ्ग्रा, भेडा व्यापारी कहलिएको थिएँ, त्यतिबेला ।

मेरा खेदुवा भित्र होटलमा हाँसो–ठट्टा गर्दै पिइरहेका, खाइरहेका थिए । तिनको बेवास्ता गर्दै सानीकान्छी म नजिक आइन् । ‘‘होइन, यो दाइ त किन बाहिर बसेको छ । जाडो अचाक्ली छ, भित्र अँगेना छेउ नबसेर’’, वडो पे्रमपूर्वक भनिन्, ‘‘भित्र खेदुवाले त साहुजी बढी थाकेजस्तो छ भन्दै थिए । सधैँ च्याङ्ग्राको खेलो गर्ने मान्छे भित्रै आउन नसक्ने गरी थाक्नु त नपर्ने हो, के भा’छ भन्ठानेर आएकी ।’’
प्रायः बाटो हिँड्दा उनीसँग मेरो निरन्तर भेट हुन्थ्यो । बास बस्न नपरेको बेला पनि बोलाउँथिन् । या त भित्र पसेर नुनिलो चिया खान्थेँ । एक प्रकारको सम्बन्ध बसिसकेको थियो । बटुवा र होटलवाला बिच हुने सम्बन्ध भन्दा पृथक । एकदिन बास बस्दा हाँसो–ठट्टामा उनले भनिन्, ‘‘हिम्मत भए बिहे गरेर लैजाऊ न, किन जिस्काउँछौँ मात्र । म अरू जस्ती केटी होइन ।’’

मैले सानीकान्छीको मुहारमा हेरेँ । गालामा मार्फाका स्याउ देखँे । त्यस्तै रसिलो जवानी जताततै लटरम्म झुलेको देखेँ । उनलाई देख्दा र उनको कुरा सुनेर मन उम्लेर आयो । कतै पोखिन्छु कि जसरी भनँे, ‘‘साँच्चै हो कि जिस्केको मात्र ।’’ उनले भनिन्, ‘‘साँच्चै ठाने साँच्चै हो । जिस्केको ठाने, जिस्केको हो ।’’ तब म सोच्न बाध्य भएँ । अबेलासम्म हामी कुराकानी ग¥यौँ, विभिन्न सन्दर्भका । माया र यौनका कुरा पनि बाँकी रहेनन् । उनले भनिन्, ‘‘हामी थकालीकी छोरी ख्यालख्यालको माया गर्न जान्दैनौँ र ख्यालख्यालको मायामा विश्वास पनि राख्दैनौँ ।’’ यसपछि उनलाई मैले हेर्ने दृष्टिकोण सर्लक्क बदलिएको थियो किनभने म विवाहित थिएँ । उनलाई बिहे गर्न सक्दैन थिएँ । यस मानेमा म गलत थिएँ । उनी बिल्कुल सही थिइन् ।

त्यस दिन मैले थाहा पाएँ, उ कठोर होइन कोमल रहिछिन्, करुणाकी धनी पनि । उनले मेरो निधार छाम्दै भनिन्, ‘‘तपाईंलाई त ज्वरो आएछ । काम्नु पनि भएछ, जाऊँ भित्र ।’’ म उठ्न खोजँे तर खुट्टा लागेन । असाध्यै कमजोर महसुस भयो । उनले अलि बल गरिन् । अनि उनको काँधमा धानिएर म होटलभित्र पुगेँ । अँगेना छेउ एउटा पिर्कामा बसेँ । अलिकता राहत भयो । ज्यान मनतातो भयो तर पनि जीउ फत्रक्क गल्यो । धेरैबेर बस्न सकिनँ । ‘‘बैनी म त सुत्छु ।’’ मैले सुस्तरी भनेँ । ‘‘केही त खान प¥यो नि । कहाँ भोकै सुत्ने ?’’ उनले भनिन् ।
मलाई केही खानै मन छैन भनेँ । मैले अस्वीकार गर्दागर्दै पनि उनले सिमीको दाल दिइन् । कचौराको दाल अलि कति खाएँ, मलाई बढी खान मन लागेन । सुत्दा नै आराम हुन्छु जस्तो लाग्यो । छिरिङलाई बगालको ख्याल गर्न भनेर मैले सुत्ने मनसाय बनाएँ ।

‘‘म अब सुत्छु,’’ मैले भनेँ, ‘‘कुन कोठामा सुतौँ ।’’ ‘‘यहीँ भान्सा कोठामा सुत्नोस्, म पनि यहीँ सुत्छु । तपाईंलाई कहाँ एक्लै सुताउनु । राति के होला, कसो होला ।’’ उनले अँगेनाको अलि पर ओछ्यान लगाउँदै भनिन् । आडमा तातो पानी राखी दिँदै भनिन्, ‘‘राति तिर्खा लाग्यो भने खानु होला । केही अप्ठेरो प¥यो भने बोलाउन गाह्रो मान्नु पर्र्दैन ।’’
म सुतेको कोठाको भित्रपट्टि उनको खाट थियो । आगो निभे पनि कोठामा तातोपन जीवितै थियो तर किन हो कुन्नी मेरो ज्यान सेलाउँदै गयो । वातावरण पनि चिसो, कहीँ कतैबाट कालीगण्डकीदेखिको सिरेटो पसेजस्तो भयो । म अनौठो तरिकाले काम्न थाले । अर्थात् मलाई काम–ज्वरो आयो । उनले चाल पाइछन् । सन्चो भएन क्या हो, तपाईंलाई भन्दै बत्ती बालिन् ।

मलाई बोल्नसमेत असहज भएको थियो । उनी ज¥याकजुरुक उठेर आइन् । एउटा कम्मल ल्याएर खापिदिइन् । अनि चुलो आडको ¥याक, यता उति के हराए जसरी खोज्न थलिन् । भन्दै थिइन्, ‘‘कता गएछ, खोजेको बेला त कहाँ भेटिन्थ्यो ।’’
‘‘यहाँ रहेछ’’, भनी एउटा सानो टुक्रा मलाई दिइन्, ‘‘यो जडीबुटी हो चपाएर पानीसँग निल्नोस् । चट हुन्छ ।’’ उनले भनेको पत्याइ नपत्याइ मुखमा हालेँ । चपाउँदा साह्रै तितो भयो । ‘‘तितो भए पनि चपाएर निल्नोस् । औषधि कहाँ गुलियो हुन्छ त नि ।’’ उनले मेरो मनको भेउ पाए जसरी सम्झाइन् ।
मलाई जडीबुटी औषधि खुवाएर उनी सुतिन् । मलाई भने त्यो जडीबुटी खाएको केही क्षणपछि नै गर्मी भयो । ओढेको सिरक र कम्मल फालेँ । पसिनाले शरीर भिजेको थियो । अचम्म लाग्यो ज्वरोको अनुभव कहीँ कतै थिएन । शरीरभरि एक प्रकारको चिस्यान छाएको थियो । एक प्रकारको फुर्ती आयो । कता कता भोक लागेको अनुभव भयो । ‘‘अलि सन्चो भयो ।’’ उनले भनिन् । सायद मेरै चिन्ताका कारण निदाएकी रहिनछिन् ‘‘सन्चो त भयो । तर अर्काे समस्या आइलाग्यो ।’’ मैले ठट्यौलो पारामा भनेँ ।
‘‘फेरि के समस्या आइलाग्यो ?’’

“भोक लाग्यो ।”
उनी हाँसिन् । हाँस्दै उठिन् र आगो फुक्दै भनिन्, ‘‘के खानु हुन्छ ?’’ ‘‘फापरको ढिँडो खान्छु ।’’ मैले सङ्कोच नमानी भनेँ ।
उनले फापरको ढिँडो ओढालिन् । चट्नी पिँधिन् । अघि बाँकी रहेको सिमिको दाल मिलाएर मलाई खान दिइन् । मैले ढिँडो खाँदै उनलाई हेरेँ । अर्थात् उनलाई हेर्दै खाएँ । उनी होटेलवाली मात्र लागेन । मानवीय संवेदना ओतप्रोत भएकी संस्कारी युवती लाग्यो । त्यसरी म बिरामी भएकोले एउटै कोठामा सुत्नेसम्मको विश्वसनीयता पनि दुर्लभ आचरण लाग्यो ।

उनले द्रवित मुद्रामा भनिन्, ‘‘भोक जोडले लाग्यो होला है ! तपाईंलाई सन्चो भएको देखेर मलाई साहै्र खुसी लाग्यो । नत्र भोलि कसरी बथानसँग हिँड्न सक्नु हुन्थ्यो । धन्य छ भगवान्लाई ।’’
मैले खाइसकेँ । उनी सुत्ने तरखरमा देखिइन् ।
‘‘बस्नोस् न एकछिन गफ गरौँ ।’’
‘‘रातको १ बजिसक्यो, थाहा छ !’’
‘‘के भयो त नि । भोलि म गइहाल्छु ।’’

सानीकान्छी चुपचाप लागिन् । म उनलाई हेरिरहेँ । हेर्दाहेर्दै भावुक भए जसरी भने, ‘‘तिमी असाध्यै असल मान्छे रहिछौ कान्छी । चार वर्ष पहिला भेट भएको भए, म तिमीसँग बिहे गर्थें । साँच्चै तिमीलाई पाउने लाग्नेमान्छे संसारको सबभन्दा भाग्यमानी मान्छे हुनेछ ।’’
‘‘पहिले त बिहे भएको छैन भन्नुहुन्थ्यो त ।’’
‘‘त्यति बेलाको कुरा भिन्न हो, यति नजिक भएर हामीबीच यसरी कुरा पनि त भएका थिएनन् नि त ।’’
‘‘जे भए पनि तपाईं पनि सबै लोग्ने मान्छे जस्तो हुनुहुँदो रहेछ ।’’ ‘‘सबै मान्छे जस्तो भएको भए मसँग एउटै कोठामा सुत्ने थियौ र ?’’
‘‘त्यो त तपाईंको बिरामी अवस्थाले गर्दा हो । अन्यथा अर्थ लगाउन मिल्दैन ।’’

सानीकान्छीको कुराले मलाई लज्जावती झार बनायो । म सङ्कोचले यसरी खुम्चिए कि केही क्षणसम्म मुन्टो उठाउन सकिन । केही क्षणपछि शिर उठाएर भनेँ, ‘‘तिमीले आज मलाई ठूलो गुन लगायौ ।”
‘‘आफ्नो पाहुनाको सेवा गर्नु त हाम्रो कर्तव्य हो । हाम्रो धर्म हो ।’’ उनले बोली खस्न नपाउँदै भनिन् । सानी कान्छीको सो वाक्यांशले मलाई बहकायो । मैले सोच्न थालेँ, ‘‘यदि सबैले आफ्नो कर्तव्यलाई धर्म ठान्ने हो भने यो देश यतिविधि पिछडिने थिएन होला– व्यापारीले व्यापारको धर्म, डाक्टरले डाक्टरको धर्म, शिक्षकले शिक्षाको धर्म, विद्यार्थीले विद्यार्थीको धर्म, नेताले नेताको धर्म । जसले आफ्नो धर्म निर्वाह गर्छ, वास्तवमा तिनै धर्मात्मी हुन् । तिनै मान्छे हुन् ।’’

‘‘म एकोहोरो टोलाएको देखेर उनले भनिन् गफ गरौँ भनेको मान्छे कता हराउनु भएको । सुत्छु भो म ।’’ मैले उनलाई राकिनँ । म पनि सुतेँ । बिहानीपख उनले धकेलेर भनिन्, ‘‘उठ्नोस दाइ खच्चडको बाटो च्याङ्ग्रा, भेडाले छेकेछन् । चुल्ठे–भोटे रिसाएको छ ।’’
म उठेर बाहिर निस्कँदा खेदुवाहरूले यसरी हेरे कि कसैको आँखा पनि शङ्काबाट अछूतो थिएन । सबैले म र सानीकान्छी एउटै कोठाभित्र सुतेको देखेर बक्र हिसाबले सोचेका होलान् । सानीकान्छीले पनि यो कुरा सहजै अनुमान गर्न सक्थिन् ।