त्रिधाम हलेसी
दीपेन्द्र राई
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले हलेसीमा साझा रूपमा पूजा–अर्चना र श्रद्धा गर्छन् । जहाँ, एउटै ठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृपुर्खाको आशीर्वाद पाइने, विद्या, धन, आयु बढ्नुका साथै आध्यात्मिक शान्ति पाइन्छ ।
हलेसी धार्मिक सहिष्णुताको खुला विश्वविद्यालय हो । हलेसी प्राकृतिक रूपमा जति सुन्दर र अद्भुत छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय मानिन्छ । पितृ र देवताहरू मिलेर बसेको संसारकै नमुना ठाउँ हलेसीमा तीन धर्मावलम्बीले एकले अर्कोलाई सम्मान गर्दै पितृको आशीर्वाद लिइन्छ । पूजापाठ गरिन्छ । आध्यात्मिक शान्ति पाइन्छ ।
किरातीहरूले हलेसीलाई खुवालुङ भन्छन् । पुर्खा बसोवास गरेको पवित्र स्थल भएकाले उनीहरू हलेसी गुफालाई माङ्खिम (माङ = पितृ/मातृ, खिम = घर/निवास) मान्छन् । हलेसी गुफालाई हिन्दु धर्मावलम्बीले अलौकिक प्राकृतिक मन्दिर ठान्छन् । हलेसीलाई बौद्ध धर्मावलम्बीले पवित्र धार्मिक तथा आध्यात्मिक तीर्थधामका रूपमा श्रद्धा गर्छन् । प्रस्तुत आलेखमा तीन धर्मावलम्बीले उत्तिकै महत्त्व ठान्ने हलेसीलाई किराती, हिन्दु र बौद्धमार्गीको हलेसीका रूपमा छुट्टाछुट्टै प्रस्तुत गरिएको छ ।
किरातीको हलेसी
हलेसी संसारकै दुर्लभमध्ये एक तीर्थधाम हो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले एक–अर्कालाई उत्तिकै सम्मान गर्दै प्राकृतिक हलेसी गुफालाई श्रद्धा गर्छन् । किरातीले हलेसी गुफालाई पितृघरका रूपमा श्रद्धा गर्दै आएको धेरै भयो ।
मुन्दुमी मिथकअनुसार हलेसी गुफामा किरातीहरूका पुर्खा खारू र उनका छोरा पातेसुङ बसोवास गर्थे । किराती सभ्यताका आदिम पुर्खा अर्थात् पातेसुङका सन्तान तोंयामा, खियामा र खोक्चिलिपाको वासस्थान पनि हलेसी गुफा नै हो । प्राग्ऐतिहासिककालमा मानिस गुफामै आश्रय लिन्थे ।
प्रचलित मुन्दुमी मिथकअनुसार आदिम किराती कोक्पा (हजुरबुवा) खोक्चिलिपा हलेसीका दुईमध्ये खोक्चिलिपा बुक्टोमा बस्थे । चाम्लिङ राई समुदायले गुफालाई बुक्टो भन्ने गर्छन् । पुराताŒिवक, भाषिक र सांस्कृतिक (मुन्दुम) तथ्यअनुसार, हलेसी क्षेत्रमा चाम्लिङ राई समुदायको बसोवास चार हजार वर्ष पहिलेदेखिको हो । उनीहरूले किराती आदिम कोक्पा बसेको खोक्चिलिपा बुक्टोलाई सम्मानित ठाउँका रूपमा श्रद्धा गर्छन् ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको रोसुङ्तो (तल्लो चिचिङ्गा)मा घर बनाएर बसेका खोक्चिलिपाले सायँकुमा खेती गर्थे । सायँकु हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । घर र खेती गर्ने ठाउँ नजिक थिएन । खेतीबाट घर फर्कन ढिला हुँदा उनी खोक्चिलिपा बुक्टोमै रात बिताउँथे । खोक्चिलिपा बुक्टोमा रात बिताउँदा तिर्खा लाग्नु स्वाभाविकै थियो । उनले मुन्दुमी शक्ति प्रयोग गरेर पानी निकालेका थिए । जुन पानी खोक्चिलिपा बुक्टो (बसाहाथान) मुनि छ । त्यही पानी पिएर तिर्खा मेट्थे । त्यो ठाउँलाई अहिले खोक्चिलिपा वालाखा (रानीपोखरी) भनेर किरात राई समुदायले सम्मानपूर्वक नाम लिने गरेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका गजुरमान राईले जानकारी दिनुभयो ।
खोक्चिलिपा बुक्टोबारे अर्को भनाइ त्यत्तिकै प्रचलित छ । रोसुङ्तोमा रहेको खोक्चिलिपाको घर पहिरोमा प¥यो । ‘घर पहिरोमा परेपछि उनी खोक्चिलिपा बुक्टोमै बस्न थाले,’ हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईको भनाइ छ, ‘घर पुनः बनाउनुभन्दा खोक्चिलिपा बुक्टोमै आश्रय लिनु उपयुक्त ठाने होलान् किनकि उनले खेती गर्ने ठाउँ सायँकुछेउमै हलेसी गुफा थियो ।’
किरात राई समुदायले पितृ र पुर्खालाई शक्तिका स्रोत मान्छन् । ‘पितृ र पुर्खाले नै परिवार, समाज र चराचर जगत्को रेखदेख गर्छन् भन्ने उनीहरू विश्वास गर्छन्,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको बुझाइ छ, ‘‘उनीहरूले रोगव्याधि हटाइदिन्छन् । सङ्कटमोचन गरिदिन्छन् । आयु र समृद्धि दिन्छन् । उहिलेको विकसित ज्ञान र सीपकै जगमा अहिलेको उन्नति सम्भव भएकाले पितृलाई ज्ञानको स्रोतका रूपमा सम्मानपूर्वक स्मरण र श्रद्धा गर्छन् ।’’ खोक्चिलिपा बुक्टोलाई पितृघर मानेर उनीहरूले सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) र मङ्सिरे पूर्णिमा (उँधौली)मा दुई पटक विशेष पितृकार्य गर्छन् । साकेला सिली (नृत्य) गर्छन् ।
नेपालको संक्षिप्त इतिहासमा प्रेमबहादुर सुब्बा माबोहाङ र भूपेन्द्रनाथ तिम्सिनाले लेख्नुभएको छ, ‘सहोदर भाइ साम्सोहाङले षड्यन्त्र गरेकाले किरात राजा लेलिमहाङले कलिगत २२९५ मा काभ्रेको बनेपाबाट हलेसी आई पूजा गरेका थिए ।’ उनी पल्लो किरातका प्रथम राजा हुन् । माझकिरातका प्रथम किरात राजा साम्सोहाङले कलिगत वर्ष २३०१ मा हलेसी पुगेको नेपालको संक्षिप्त इतिहासमा उल्लेख छ । लेलिमहाङ र साम्सोहाङभन्दा पहिल्यै कलिगत २२४७ मा किरात राजा शङ्खोहाङ हलेसी पुगिसकेका थिए ।
किरात र हलेसी गुफाबीचको सम्बन्ध प्रस्ट्याउने अन्य आधार पनि छन् । बाघवंशी राईले हलेसी गुफा पत्ता लगाएका थिए । राई सिकार खेल्थे । उनी कुकुर लिएर सिकार खेल्न निस्के । सिकार खेल्नेक्रममा अनौठो मृग देखियो । बाघवंशी राईलगायत सिकारी मृगको पछि लागे । कुकुरले समेत मृग लखेट्न थाल्यो । लखेट्दै जाँदा मृग अहिलेको हलेसी गुफामा हाम्फाल्यो । कुकुरले पछ्याउन छाडेन । सिकारी भने हे¥याहे¥यै भए । हलेसी गुफाभित्र कुकुर भुकिरहे । सिकारी भने घर फर्के ।
कम्मरमा डोरी बाँधेर भोलिपल्ट बाघवंशी राई कुकुर र मृग हाम्फालेको ठाउँ झरे । गुफाभित्र उज्यालो देखिन्थ्यो । गुफा उज्यालो भएकाले कुकुर र मृग खोज्न समस्या भएन तर कुकुर र मृग फेला परेनन् । उनी अचम्म मान्दै त्यहाँबाट बाहिरिए ।
‘यो पवित्र तीर्थधाम क्षेत्रमा किरात राई समुदाय लगभग चार हजार वर्षदेखि बसोवास गर्दै आइरहेका छन् । यस क्षेत्र आसपासका किरात राईका घर–घरमा हिजोआज पनि बैथर (वज्रढुुङ्गा) पाइन्छन् । वज्रढुङ्गालाई चट्याङ ढुुङ्गा पनि भनिन्छ । त्यो चट्याङ ढुुङ्गा नभएर उहिले किरात पुर्खाले प्रयोग गरेको ढुुङ्गेहतियार हो,’ हलेसी महादेवस्थान विकास समितिले प्रकाशन गरेको हलेसी–२ मा भोगीराज चाम्लिङले उल्लेख गर्नुभएको छ, ‘त्यो हतियारलाई मुन्दुममा बैथर भनिन्छ । धामी (नछुङ)ले आफ्नो सांस्कृतिक सामग्रीका रूपमा प्रयोग गर्छन् । प्रत्येक किरात राईले पुर्खाको चिनो र ओखतीका लागि बैथर जोगाएको पाइन्छ । पुरातात्विक अध्ययनअनुसार भारतको आसामको तीन/चार हजार वर्ष पुरानो बैथरसँग हलेसी क्षेत्रका किरात राईहरूको घर–घरमा पाइने बैथरको बनावट मिल्ने भएकाले यस क्षेत्रका बैथरलाई समेत तीनदेखि चार हजार वर्ष प्राचीन मान्ने गरिएको छ । सम्भवतः खोक्चिलिपाको समय त्यही थियो ।’
हलेसी क्षेत्रका प्रथम कविला होलेसुङका सन्तानको यहाँ सघन बसोवास रहेको छ । उनका होमदिमहोंछा, मायाराजाहोंछा, जिताराजाहोंछा, पुरिमहोंछा, बिराजाहोंछा, फ्लोमोहोंछा, मुङ्लोहोंछा, नाम्राहोंछा, सैंदाहोंछा, पातेसुङहोंछा गरी १० भाइ छोरा थिए । त्यसमध्ये नौ भाइका सन्तान हलेसी क्षेत्रमा बसोवास गर्छन् ।
स्मरणीय कुरा के भने उनै प्रतापी राजा होलेसुङले शासन–प्रशासन गरेको क्षेत्र भएकाले अपभ्रंश भएर हलेसी नाम रहन गएको हो । हलेसीलाई साँच्चिकै त्रिधार्मिक धाम बनाउन खोक्चिलिपा बुक्टोअघि पितृघर (माङ्खिम) निर्माण थालिएको छ । हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र श्री हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिले मुन्दुममा वर्णन गरिएअनुसारको पितृघर (माङ्खिम) बनाउन थालेको हो । ‘खोक्चिलिपा हाम्रा पितृ र पुर्खा हुन्,’ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईको भनाइ छ, ‘उनीहरूले आश्रय लिएको ठाउँलाई सम्मानित बनाउँदै पितृ–पुर्खा बस्ने घरलाई ‘पवित्र घर’ बनाउने अवधारणासहित माङ्खिम बनाउन लागिएको हो ।’
माङ्खिमको भौतिकबाहेक सामाजिक तथा सांस्कृतिक पाटो पनि छँदै छन् । ‘हामी पितृ–पुर्खालाई मान्छौँ तर आ–आफ्नो घरमा सीमित राखेका छौँ । आ–आफ्नो घरभित्र सीमित पितृ–पुर्खालाई सार्वजनिक थलोमा निकाल्नुपर्छ,’ मुन्दुम अध्येता चाम्लिङ सुझाउनु हुन्छ, ‘पितृ–पुर्खालाई सार्वजनिक श्रद्धा, मानमनितो गर्ने शक्तिका रूपमा विकास गरिनुपर्छ भन्ने हिसाबले माङ्खिम बनाउन लागिएको हो ।’ किरातीले पितृघर भनेर श्रद्धा गरेकै ठाउँमा माङ्खिम निर्माण सम्पन्न भएपछि खोक्चिलिपा बुक्टोको महŒव बढ्नेछ ।
हिन्दुको हलेसी
पूर्व फर्केको अर्धचन्द्राकार गुफा । पहिलो प्रवेशद्वारबाट एक सयभन्दा बढी सिँढी ओर्लेपछि अर्को प्रवेशद्वार पुगिन्छ । दोस्रो प्रवेशद्वार नपुग्दै देब्रेपट्टि पार्वतीथान रहेको छ । दोस्रो प्रवेशद्वारबाट भित्र पसेपछि समतल भू–भाग पुगिन्छ । समतल भू–भागको पश्चिम कुनामा प्राकृतिक शिला ठडिएको प्रस्टै देखिन्छ । खिइँदै गएकाले शिलामा चाँदीको जलहरि लगाइएको छ । जलहरि लगाइएको प्राकृतिक शिलालाई शिवलिङ्गका रूपमा हिन्दु धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन् ।
गुफाका थुप्रै आकर्षणमध्ये शिवलिङ्ग मुख्य मानिन्छ । शिवलिङ्ग आसपासका भित्तामा लक्ष्मी, सरस्वती, सन्तानेश्वर माता, ब्रह्मा, विष्णु, गणेश, कुमारलगायत विभिन्न देवगणका प्राकृतिक शिला रहेको स्वयंसेवक पथप्रदर्शक राकेश परियार बताउनुहुन्छ । गुफाका भित्तामा जताबाट हेरे पनि कलात्मक देवगण नै देवगणजस्तै देखिन्छन् । त्यतिमात्रै होइन, गुफाभित्रै धर्मद्वार, पापद्वार, स्वर्गद्वार, जन्मद्वार र घोप्टेद्वार रहेका छन् । पाँचवटै द्वार छिर्नेलाई धर्मात्माको संज्ञा दिइन्छ ।
हलेसी गुफाको आकर्षण यही हो । हलेसी प्राकृतिक गुफा हो । प्राकृतिक गुफा भएकाले यहाँ मठमन्दिर छैनन् तर हिन्दु धर्मावलम्बीले हलेसी गुफालाई नै प्राकृतिक मन्दिरका रूपमा मान्दै आएका छन् । हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टङ्क राई भन्नुहुन्छ, ‘‘धार्मिक आस्था राख्नेका लागि हलेसी गुफा अलौकिक प्राकृतिक मन्दिर हो ।’’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईको भनाइ छ, ‘‘हलेसी हिन्दु धर्मावलम्बीका लागि वृकासुरबाट बच्न महादेव लुकेको अद्भुत थलो हो ।’’
हलेसीसँग जोडिएर आउने प्रचलितमध्ये एक किंवदन्ती यस्तो छ– शकुनी दैत्यका छोरा वृकासुर हुन् । वृकासुरलाई नै भष्मासुर पनि भनिन्छ । वृकासुर राक्षसले गरेको कठोर तपस्याबाट प्रसन्न भई महादेवले वरदान माग्न भनेछन् । उनले ‘म जसको शिरमा हात राखूँ, त्यसको भष्म होस्’ भनी वरदान मागे । महादेवले वरदान दिए । आफूले पाएको वरदान परीक्षण गर्न वृकासुर हतारिए । नभन्दै महादेवको शिरमा हात राखी भष्म पारेर पार्वतीलाई आफ्नो बनाउने कुभलो चिताए । वृकासुरले कुभलो चिताएपछि महादेव भाग्दै हलेसी गुफामा लुक्न पुगे तर राक्षसले लखेट्न छाडेनन् ।
महादेव अप्ठ्यारोमा परेको विष्णुले चाल पाए । ऋषिरूप धारण गरेर विष्णुले महादेवलाई जोगाउने उपाय निकाले । महादेव लखेट्दै गरेका वृकासुरलाई विष्णुले भने, ‘तिमी पनि कस्ता नि ! महादेवले दिएको वरदान पनि साँचो हुन्छ त ? होइन भने एक पटक जाँचिहेर त ।’ विष्णुको भनाइ सुनेर झस्केका उनले आफ्नै शिरमा हात राख्न पुगे । शिरमा हात राख्नासाथ वृकासुर भष्म भए ।
‘अद्भुत मात्रै होइन,’ हलेसीमै भेटिएका गोरखापत्र दैनिकका पूर्वनिमित्त प्रधानसम्पादक निर्मलकुमार आचार्यको बुझाइ छ, ‘‘तीर्थयात्रामा रमाउन चाहनेका लागि हलेसी नगई नहुने तीर्थस्थल हो ।’’
हलेसी गुफैगुफाको गन्तव्य हो तर हलेसी पुगेकाहरू दुई गुफासँग मात्रै जानकार छन् । हलेसी गुफा पुग्ने जोकोही किरात राई समुदायले श्रद्धा गर्दै आएको खोक्चिलिपा बुक्टोसमेत पुग्छन् । खोक्चिलिपा बुक्टोलाई हिन्दु धर्मावलम्बीले बसाहा गुफा भन्ने गर्छन् । ६७ मिटर लामो गुफाको मुखैमा बेढङ्गको ढुङ्गा रहेको छ । सोही ढुङ्गालाई महादेवको वाहन भन्ने गरिन्छ । राक्षसबाट बच्न आफ्नो वाहन बसाहालाई सुरक्षाका रूपमा राखेर महादेव बसाहा गुफामा लुकेको किंवदन्ती छ ।
बसाहा रहेको दायाँपट्टि भित्तामा प्राकृतिक प्वाल छन् । प्वालमा फुक्दा शङ्खजस्तै ध्वनि निस्कन्छ । त्यहाँबाट अगाडि बढेपछि गुफा पुगिन्छ । जहाँ गाईका थुनजस्तै आकृतिबाट पानी रसाइरहेको प्रस्टै देखिन्छ । त्यहाँ ‘दूध देऊ माई’ भन्दै दर्शनार्थी हात थापिरहेका देखिन्छन् । नभन्दै कतिपयको हातमा चौलानीजस्तै पानी खस्छ । जसको हातमा दूध खस्छ, उसलाई सौभाग्यशाली ठानिन्छ । गुफाको पूर्वपट्टि मानिसका पाइलाजस्तै आकृति देखिन्छ । उक्त आकृतिलाई गुफाबाहिर निस्कँदा महादेवले टेकेको पाइला भनेर विश्वास गरिन्छ । हलेसी दर्शन गरे चिताएको पूरा हुने धार्मिक विश्वास छ । तसर्थ, जीवनमा एक पटक हलेसी पुग्न मन पराउनेको कमी छैन । हलेसी पुगेर भाकल गर्नेले चिताएको पूरा भएपछि भाकल बुझाउनेसमेत भेटिन्छन् ।
२६ रोपनी क्षेत्रफलमा विस्तारित हलेसीमा नित्यपूजा र चाडपूजा गरिन्छन् । बिहान, बेलुका गरिने नित्यपूजाका लागि १४ वर्षभन्दा कम उमेरका गिरी परिवारका कुमार चाहिन्छ । चाडविशेषमा चाडपूजा गरिन्छ । यस अवसरमा शङ्ख, घन्ट, पञ्चेबाजा र डमरु बजाउँदै पुजारी समूह हलेसी गुफा प्रवेश गर्छन् । चाडपूजामा महादेवलाई गहना पहि¥याउने चलन छ ।
हलेसीमा सालिन्दा रामनवमी, शिवरात्रि, बालाचतुदर्शी र तीजमा भव्य मेला लाग्छ । बालाचतुर्दशीमा पितृको सम्झनामा सतबीज छर्नेको भीडभाड त्यत्तिकै देखिन्छ । यहाँ रुद्री, लघुरुद्री, अतिरुद्री, चूडाकर्म र व्रतबन्ध गरिन्छ । प्रत्येक पूर्णिमामा ११ आवृत्ति रुद्री र शिवरात्रिमा १४ बाह्मणद्वारा लघुरुद्री पाठ गरिन्छ । त्यतिबेला तीनसुते एक लाख बत्ती बाल्ने र एक लाख बेलपत्र चढाउने गरिन्छ । त्यति मात्रै होइन, हलेसीमा परेवा उडाउने, घन्ट, त्रिशूल र दूधसमेत चढाउने गरिन्छ । वैशाखे पूर्णिमामा भण्डारा लगाउने प्रचलन छँदै छ भने हलेसीमा २०७५ भदौ ६ गतेदेखि सन्ध्याकालीन आरती थालिएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । यसैगरी, नगर्चीले दैनिकजसो नगरा बजाउने गर्छन् ।
बौद्धमार्गीको हलेसी
बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान–तपस्या गरेको सम्मानित ठाउँ हो– हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । ‘मारातिका भनेको मृत्युबाट मुक्ति हो,’ मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा प्रमुख खेन्पो कर्म वाङ्चुक शेर्पा प्रस्ट्याउनु हुन्छ, ‘गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो ।’
सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती)ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति अर्थात् कहिल्यै जन्मनु र मर्न नपर्ने भयो । पहिल्यै अस्तित्वमा रहे पनि पद्मसम्भवले मृत्युबाट मुक्ति पाएको सन्देश प्रवाह हुँदै गएपछि बौद्ध धर्मावलम्बी हलेसी बाक्लै आउन थाले । यो क्रम जारी छ । उनीहरूले हलेसी गुफामा रहेको शिवलिङ्गलाई ‘धर्मपाल’ र पार्वतीथानलाई ‘आयुकलश’ मान्दै आएका छन् ।
विश्वमै बौद्ध धर्मसम्बन्धी प्रमुख छवटा तीर्थ छन् । त्यसमध्ये मातारिका (हलेसी गुफा)लाई पनि एक मानिएको छ । त्यस अर्थमा बौद्ध धर्मावलम्बीका लागि हलेसी अत्यन्तै सम्मानित ठाउँ हो । हलेसी गुफाको प्रवेशद्वारमै दायाँपट्टि मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा निर्माण गरिएको छ । संवत् २०३७ मा लामा ङवाङ छोफेल ग्याछोले गुम्बा निर्माण गर्नुभएको हो । संवत् २०७३ मा पुनःनिर्माण गर्ने भन्दै पुरानो भत्काएर भव्य गुम्बा निर्माण गरिएको छ । बौद्ध शिक्षा पढाइने गुम्बामा शाक्यमुनि गौतम बुद्ध, पद्मसम्भव र अवलोकितेश्वरलगायतका मूर्ति रहेका छन् ।
बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोस्रो बुद्धका रूपमा सम्मान गर्छन् । उनै सम्मानित धर्मगुरुको नाममा हलेसीमा पद्मसम्भवको प्रतिमासहितको पार्क बन्दै छ । प्रतिमासहितको पार्क निर्माणपछि विश्वकै बौद्ध धर्मावलम्बी हलेसी पुग्न आकर्षित हुनुका साथै सालिन्दा दसौँ लाख बौद्ध धर्मावलम्बीमात्रै हलेसी पु¥याउन सकिने नेपाल बौद्ध महासङ्घले जनाएको छ ।