बोधिवृक्ष होइनन् सबै पीपल
वसन्त महर्जन
वनस्पति शास्त्रमा अनेक नाउँका वृक्षको उल्लेख पाइन्छन् तर वृक्ष नै भनिए पनि ‘बोधिवृक्ष’ वनस्पति शास्त्रअन्तर्गत नभएर बौद्ध अध्ययनभित्र पर्दछ । दर्शनका कुरा हुन्छन् । ठोस रूपमा भन्नुपर्दा ‘बोधिवृक्ष’ वनस्पति शास्त्रकै पीपलवृक्ष हो तर सबै पीपलवृक्ष बोधिवृक्ष हुनसक्दैन अर्थात् यो भावना पक्षको कुरा हो । पीपल नै भए पनि कसलाई बोधिवृक्ष भनिने वा कसलाई नभनिने भन्ने कुरामा स्पष्ट हुन नसक्दा स्वयं बौद्ध समाज पनि कतिपय सन्दर्भमा अलमल पर्ने गरेको पाइन्छ । वास्तवमा यो पनि बौद्ध अध्ययनको एउटा महत्त्वपूर्ण पाटो हो ।
बुद्ध र बौद्ध धर्म–दर्शनबारे सामान्य जानकारी मात्रै हुनेलाई पनि थाहा हुन्छ, गौतम बुद्धले रुखमुनि बसेर ध्यान साधना गर्दै बुद्धत्व लाभ गरेका थिए । त्यही रुख बोधिवृक्ष हो । विशुद्ध ज्ञान नै बोधि हो अर्थात् बोधि (ज्ञान) प्राप्त गर्नु नै बुद्धत्व प्राप्त गर्नु हो । बुद्धत्व प्राप्त गरेकालाई बुद्ध भनिन्छ । बुद्धत्व प्राप्तिपछि बुद्धले एक हप्ता सोही वृक्षलाई मात्र हेरेर बिताए अर्थात् बुद्धत्व जस्तो ठूलो प्राप्ति यस रुखमुनि बसेर प्राप्त गरेको भनी कृतज्ञता व्यक्त गरेका थिए । बौद्धहरू बोधिवृक्षलाई पनि उत्तिकै श्रद्धा व्यक्त गर्दछन् । कलाको इतिहासमा एक समय बुद्ध दर्साउनु पर्दा बोधिवृक्षको चित्रण गर्ने गरेबाट सजिलै बुझ्न सकिन्छ, बोधिवृक्ष स्वयं बुद्धको प्रतीक पनि हो । त्यो बेला कलामा बुद्धको आकृति कुँद्नुभन्दा अनेक प्रतीकको प्रयोगबाट बुद्धको जीवनका अनेक घटना दर्साउने गरिन्थ्यो । उदाहरणका लागि बुद्धको जन्म दर्साउन कमलको फूल, घरछाडी सन्न्यासी लिएको घटनाका लागि घोडा, धर्म उपदेशका लागि चक्र र मृग आदि ।
गौतम बुद्धले बोधि लाभ गरेको ठाउँ वर्तमान भारतको गया जिल्लामा पर्छ । उक्त ठाउँ अहिले विश्वभरका बौद्धका लागि पवित्र तीर्थस्थल बनेको छ । विश्व यसलाई बोधगया नामबाट चिन्दछ । यहाँ विभिन्न समयमा बनेका संरचनाहरूका साथै मुख्य स्थलमा पीपलको ठूलो रुख ठडिएको छ । बोधगयाको यही पीपल नै बोधिवृक्ष हो । बोधिवृक्षको इतिहास केलाउँदा भने अलि गहिरिनुपर्छ । बोधगयाको बोेधिवृक्ष गौतम बुद्ध जीवित छँदै श्रद्धाको विषय बनिसकेको थाहा पाइन्छ तर पछि कतिपयलाई बुद्ध र उहाँको धर्म–दर्शनप्रति विद्वेष उत्पन्न भएको पाइन्छ । तिनै द्वेषीहरूले बोधिवृक्षको विनाश गर्न पटकपटक प्रयास गरेको पाइन्छ तर रुख काटेर जलाए पनि त्यसबाट पालुवाहरू उम्रेर कालान्तरमा रुख पुनः झाँगिन्थ्यो । रुख पूर्णतः निमिट्यान्न हुनुअघि नै इसापूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोककी छोरी भिक्षुणी सङ्घमित्राले त्यसको कलमी गरी लगेर श्रीलङ्काको अनुराधापुर महाविहारमा हुर्काउनुभएको थियो । भारतमा बौद्ध धर्मको विनाशपछि एक समय बोधगया कहाँ पर्दछ भनेर पनि बिर्सन थालेका थिए । पुराताìिवक अध्ययनबाट अठारौँ शताब्दीमा मात्रै बोधगया पत्ता लागेको थियो । बोधगयालाई पुनस्र्थापित गर्ने क्रममा श्रीलङ्काको अनुराधापुर महाविहारबाटै पुनः कलमी गरेर सार्ने काम भएको थियो । बोधिवृक्ष श्रीलङ्का र भारतमा मात्रै छ त ? बोधिवृक्ष अहिले संसारभर पुगेको छ । आआफ्नो क्षेत्रमा पनि बोधिवृक्ष होस् भन्ने चाहनेहरूले कलमी गर्दै आआफ्नो ठाउँमा सार्ने गरेका हुन् । यस क्रममा बोधिवृक्षहरू नेपालमै पनि विभिन्न ठाउँमा हुर्किरहेको पाइन्छ । बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा पनि बोधिवृक्ष सारिएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा बोधिवृक्षको सन्दर्भ प्रायः भ्रमपूर्ण हुने गरेको पाइन्छ । जन्मस्थल (हाल मायादेवी मन्दिर)को पुराताìिवक उत्खननअघि त्यहाँ एउटा पीपलको ठूलो रुख थियो । आमा मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा रुखमुनि जन्माएकी र उक्त ऐतिहासिक रुख यही पीपल हो भन्ने भ्रमले काम गरेको बुझिन्छ । उत्खननका क्रममा यो पीपलको रुख काटिँदा कतिपय व्यक्ति क्षुब्ध भए र यसविरुद्ध अदातलमा मुद्दा हाल्ने काम पनि भयो । वास्तवमा काटिएको त्यो रुख सन् १९३३ अघिसम्म उम्रिएकै थिएन । अनि गौतम बुद्धको जन्म पीपलको रुखमुनि नभएर शालवृक्षमुनि भएको थियो । उक्त शालवृक्ष इसाको चौथो शताब्दीअघि नै सुकिसकेको थियो । बुद्धले पीपलको रुखमुनि बुद्धत्व प्राप्त गरेको र लुम्बिनीमा उम्रिरहेको पनि पीपल नै भएकाले यसको महìव छ भन्नु न बौद्ध भावना अनुकूल छ, न तर्कसङ्गत नै ।
लुम्बिनीस्थित मायादेवी मन्दिरको दक्षिणतर्फ पोखरी छ । गौतम बुद्धलाई जन्माउनुअघि मायादेवीले यही पोखरीमा नुहाएकी थिइन् । तसर्थ यस पोखरीको ऐतिहासिक महìव छ । पोखरीको आडैमा दक्षिण–पश्चिमतर्फ एउटा पीपलको ठूलो रुख छ । रुख झाँगिएको र छायाँ दिने भएका कारण यहाँ आउने आगन्तुकका लागि लामो समयदेखि विश्रामस्थल पनि हुँदै आएको छ । पीपलवृक्ष भएकै कारण कतिपयले यसलाई बोधिवृक्ष भनेर बुझ्ने गरेको मात्र होइन, सूचना सामग्रीमा यही उल्लेख हुनपुग्दा भ्रम सिर्जना भएको छ । यी रुखबिरुवाहरू बोधिवृक्ष होइनन् । कलमी गरेर ल्याइएका बोधिवृक्षहरू लुम्बिनी क्षेत्रको मुख्यस्थलमा नभएर अलि पर अन्यत्र नै सारिएका छन् भन्ने कुरा हेक्का राख्नुपर्दछ । अर्को कुरा, बोधिवृक्षको प्रतीकले लुम्बिनीको नभएर बोधि (ज्ञान) लाभस्थल अर्थात् बोधगयाको सङ्केत गर्छ । बौद्ध परम्परामा लुम्बिनीको सङ्केत कमलको फूलले गर्छ ।
नाङ्गो आँखाले हेर्दा बोधिवृक्ष अरूजस्तै पीपलको रुख हो तर जुनसुकै पीपलको रुखलाई बोधिवृक्ष भनिँदैन । बोधिवृक्षमा एउटा ऐतिहासिक परम्पराका साथै आस्था र भावना निहित हुन्छ । जुन वृक्षमुनि बुद्धले बुद्धत्व प्राप्त गरेका थिए र त्यसको कलमी गरेर विस्तार गरिएका पीपलका बोटहरू मात्रै बोधिवृक्ष हुन् । असन बोधिवृक्षका रूपमा पीपल गौतम बुद्धको मात्रै हो, उहाँभन्दा अघिका पुराना अन्य बुद्धको बोधिवृक्ष पीपल थिएन, अन्य रुख थिए ।