‘चुरीफुरी’ देखाउनेहरू
राजन घिमिरे
व्यावसायिक रूपमा चलचित्र ‘चुरीफुरी’ले कस्तो फड्को मार्ला वा कत्तिको सफलता हात पार्ला ? त्यो त समयले बताउला तर चलचित्र प्रदर्शन गर्न सबै डराइरहेको बेला जोखिम उठाउँदै निर्देशक ऋषिराज आचार्यले भने यस चलचित्रलाई सिनेमा हलमा ल्याएर सबैको वाहवाही पाइरहेका छन् ।
गत हप्तादेखि नेपालभरका हलबाट प्रदर्शनमा आएको यो चलचित्रले विस्तारै दर्शकको साथ पनि पाइरहेको छ । चलचित्र मूलतः दुई विषयमा केन्द्रित छ । एउटा वैदेशिक अध्ययन र अर्को जग्गा कारोबारीको चरित्र । यी विषयलाई निकै सहज तरिकाले पर्दामा प्रस्तुत गर्न खोजिएको छ । यी विषय उठाएर नेपालको वर्तमान अवस्थाको चित्रण गरिएको दाबी पनि निर्देशकले गर्नुभएको छ । उहाँको यो दाबी केही हदसम्म मिलेको पनि छ । पछिल्लो समय विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको समस्या चलचित्रमा देखाउन खोजिएको छ ।
विद्यार्थीमा देखिएको वैदेशिक शिक्षाको आकर्षणले उनीहरू ठगिन पुगेको यथार्थ पनि चलचित्रले पस्केको छ । यस सन्दर्भमा सबै शैक्षिक परामर्श दाता खराब हुँदैनन् भन्ने पाटोलाई पनि मजबुत तरिकाले देखाइएको छ । विदेशमा गएर पढ्नु खराब होइन, त्यहाँको सीप, ज्ञान र शिक्षालाई नेपालमा ल्याएर उपयोग गर्न सक्नु चाहिँ ठूलो कुरा हो भन्ने चलचित्रको बलियो पाटो हो ।
चलचित्रमा जग्गा कारोबारीले दिने दुःख मात्र देखइएको छैन, जग्गा कारोबारीहरूको समस्या र दुःखका बारेमा पनि केलाउन खोजिएको छ । हास्य विधालाई अङ्गीकार गर्दै शिक्षा र चेतना जगाउनुपर्ने विषय चलचित्रमा उठान गरिएको छ ।
जग्गा कोरोबारी र वैदेशिक शिक्षाका बारेमा यसअघि पनि चलचित्रहरू नबनेका भने होइनन् तर मूल रूपमा यही विषयलाई उठान गरिएको चलचित्र भने ‘चुरीफुरी’ नै हो । नभएको धाक, रवाफ, गफ र हल्ला गर्दा जीवनमा आइपर्ने दुःखलाई पनि यसमा उतरिएको छ । यसले चलचित्रको नाम ‘चुरीफुरी’ पनि सार्थक बन्न गएको छ । चलचित्रमा नभएको चुरीफुरी देखाउँदा जीवनयात्रा कतिसम्म अप्ठेरोमा पर्छ भनेर एकातिर देखाइएको छ भने अर्कातिर बेमतलब र बेतुकका गफ दिँदा समस्यामा परिन्छ भन्ने विषयको पनि उठान गरिएको छ ।
पहिलो बन्दाबन्दीपछि छायाङ्कन सुरु गरिएको यो चलचित्रको दोस्रो बन्दाबन्दीपछि छायाङ्कन रोकिन पुगेको थियो । रोकिएको छायाङ्कन दोस्रो बन्दाबन्दी खुलेपछि गरिएको थियो । आफूले नेपाली चलचित्र विधालाई चलायमान बनाउनु पर्छ भनेर यस्तो प्रतिकूल अवस्थामा पनि हलमा चलचित्र पु¥याएको दाबी गर्दै निर्देशक आचार्यले भन्नुभयो, “यतिबेला दाम कमाइभन्दा पनि नाम कमाइको कुरा छ । मैले चलचित्रको प्रदर्शन सुरु गरेपछि अरू चलचित्र पनि प्रदर्शनको तयारीमा छन् । यो मेरो सफलता हो ।” चलचित्रले सामाजिक विषय उठान गरेका कारण गीत, सङ्गीत र द्वन्द्वलाई त्यति महìव दिइएको छैन । तथापि दीपक शर्माको सङ्गीतले पनि चलचित्रको मर्म र व्यथालाई भने बोकेको छ । कथाको मागअनुरूप गीत, सङ्गीत अनि द्वन्द्व पनि समावेश गरिएको छ । जनमानसमा चिनिएका, हास्य कलाकारबाट भरपुर काम लिएको देखिन्छ । कलाकारले पनि आफूलाई सुम्पिएको भूमिकामा न्याय गरेका छन् । यस हिसाबले भन्नुपर्दा व्यावसायिकभन्दा पनि समाज र देशलाई केही सन्देश, सुझाव र शिक्षा दिन यो चलचित्र डगमगाएको देखिँदैन ।
काठमाडौँ र नुवाकोट वरिपरि छायाङ्कन गरिएको यो चलचित्रमा दुईवटा गीत समावेश गरिएका छन् । तेत्तीस दिनमा छायाङ्कन सकिएको यो चलचित्रलाई निर्देशक ऋषिराज आचार्यले नै निर्माण गर्नुभएको हो । चलचित्रमा राहुल राईको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको छ । सानो पर्दादेखि ठूलो पर्दासम्म आफ्नो विशिष्ट पहिचान बनाउनुभएका र चलेका कलाकारलाई एउटै चलचित्रमा समेट्न निर्देशक सफल हुनुभएको देखिन्छ । चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, राजीवजङ्ग बस्नेत, पूजा पन्त, ऋतु आचार्य, सोना वज्राचार्य, अभिषेक श्रेष्ठ, दीपक आचार्य र पवन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ ।