शनिवार |

रूपगाडमा भेरी गर्जन !

युवराज नयाँघरे


“सर खोइ त ?” मेरो नाउँ लिनु र म ब्युँझनु सँगसँगै भयो । खलबल थियो चार बजे नै । उठेर म पनि तलै झरेँ । भान्सामा पस्दा तातोपानी, कफी र चिया घुट्क्याउन पाइन्छ । त्यै लोभले ओछ्यान छाडेँ । भ¥याङ झरेर भान्सामा पस्दा असिनपसिन थिए सबै ।
“यो एक डल्लोले काम पु¥याउनुहोला !” शान्तले तातोपानीसँग अर्को हातमा थमाए कमलो कागजको एक पोको । “खुवाउने काम मेरो । अरू थान्कोमान्को गर्नुहोला आफैँले,” मैले पानी खाँदै त्यो टिस्यु पेपर हेरेँ । छेवैका निमाले भने, “आजैदेखि पानी छोड्ने । यसैले दिसा पुछ्ने ।”
आजदेखि हिँडाइ सुरु हुँदै थियो । अब सबैबाट बेखबर हुँदै थिएँ । सम्पर्क कम हुन्थ्यो । चिसोमा थप चिसिने ठाउँतिर जाँदै थिएँ । सबै कुराले मन बलियो पारेँ । ज्यानमा आँट भरेँ । खुट्टामा ऊर्जा उमारेँ । आँखामा साहस थपेँ । “गए देखिन्छ । नगए अरूका कुरामा रमाउनुपर्छ । आफैँ पुगेर रमाएको पो रमाइलो !” छातीभित्र यसरी जोस्याएँ ।

आठ बजेतिर घामले जुफालमा पाइला हाल्दा छिरिङ आइपुगे । उनीसँग सिल्भियो अलिस स्पेसा, पाउल जोसेड, इमिल लोरेज, फ्रान्ज लोरेज, जोभिटा लोरेज, मार्कुस विन्करे, भेरेना विन्करे र डेविट बेथर थिए । छ जना नर र दुई जना नारीको समूहमा मिसिएर म लामो घुमघाममा जाँदै थिएँ । मन अर्कैअर्कै भइरहेको थियो । भेटेकै क्षणदेखि डेविट नजिक भइहाले । उनको उज्यालो अनुहारले हाँसो र आत्मीयता पोखिहाल्थ्यो ।
“तपाईंलाई यो लट्ठी ! पानी खाने बोतल नि यी !” छिरिङले सजिलो खालको लट्ठी थमाए । धेरै घण्टा पानी तातो भइरहने बोतल पनि दिए । “हिउँले आँखा खान्छ । यो नछोड्नु,” उनले कालो चस्मा पनि दिए ।

“पानी पेलेको पेलेकै गर्नुहोला !” छिरिङले झोला ढाडमा कस्दै भने । मैले पनि त्यतिञ्जेलमा खाजा खाएर जुत्ताको तुना कसिसकेको थिएँ । झोला बाँधिसकेको थिएँ । तल–तल भेरीको गर्जन डरलाग्दो थियो । पाराङ नाघेर धुलो र ओरालो झन् चम्केका भेटिए । तीन–चार खैरे उकालो लाग्दै थिए । तिनको पछिपछि पाँच–छ नेपाली भरिया थिए । नाकबाट तरतरी पसिना छुटेको देखेँ मैले भरियाका । अक्करे पहाड वरिपरि घुमिरहेकै देखिथ्यो रन्केको घाम ।

“अण्डा म्यान आए !” डालप्रसाद देखा पर्दा छिरिङले भने । अण्डा बोकेथे डालप्रसादले । कालागौँडा पुग्यौँ । १०–१२ वटा घर थिए कालागौँडामा । खैरेले पनि पानी खान बिसाएका रहेछन् झोला र लट्ठी । उनीहरू ज्यान छाडेर बाटोछेउमा बसेथे । दुनैबाट आएको फराकिलो बाटो यहाँ भेटिएथ्यो ।
“खैरेले यस्तो बाटो देख्यो कि मुख खुम्च्याउँछन् ! घोडा, खच्चड मात्र हिँड्ने बाटो मन पराउँछन् । गाडी कुद्ने बाटो देख्यो कि मनमनै रिसाउँछन् यिनीहरू,” छिरिङले खैरे हृदय पढेर भने । “हामी चैँ गाडी कुद्ने बाटो नदेख्दा कन्चट चड्किने गरी रिसाउँछौँ,” मैले भनेँ । कालागौँडामा तरकारी, अन्नपात फलेको देखियो । खोला छेउछाउका गरामा धान लहलहाएको पनि देखियो । घरको वरिपरि लहलहाएको तरकारी र चरिरहेका कुखुरा देख्दा खैरे पनि रमाए । अक्करे ढुङ्गा, अनौठा पत्रे चट्टान र भीरैभीर गएको छ बाटो । बाटो मास्तिर कालो पहाड छ । पूर्वपट्टि भेरी गर्जेर बगिरहेको छ ।

ओहो, कस्ता पहाड हुन् यी ? कति साह्रा न साह्रा ? कति अरिमट्ठे ढुङ्गा होलान् ? हावाले ताछेका ढुङ्गा यी । घामले पगाल्नुसम्म पगालेका चट्टान यी । पानीले पखाल्नुसम्म पखालिएका पत्थर यी । अनि ढुङ्यानको रासले चुच्चिएका यी जब्बर पहाडहरू । आँखामा अनौठो र छातीमा छालको चुली ठडिइरहेथ्यो पटकपटक । पूर्वतिर आँखाले ठम्याउन नसक्ने पाटन छन् । एकपछि अर्को मनै भरङ्ग पार्ने पाखा देखिन्छन् । अनौठा विस्मित पार्ने, उदेकलाग्दा फाँट देखेर आँखा चकित बनेका बनेकै हुन्छन् ।

छक्क परेर हेरिरहेको छु म । काला, चुच्चा, थेप्चा, तीखा र गोला ढुङ्गाले पहाड अग्लाएको लाग्छ । संसारका सबै अनौठा रूप र रङ यतै चम्केका लाग्छन् । आँखा गल्ने अग्ला चुली छन् । ओहो, कति अग्लो, कति तन्किएका पहाड, कति फैलिएका पाटन, कति लम्बिन सकेका यी चुचुरा ! मनमा एकपछि अर्को खसखस उठिरहन्छ । पहाडको चेपमा गिद्ध उडेका छन् ।
“याक, भेडा मरे कि ?” छिरिङ अनुमान गर्छन् । “नाउर, हिउँ चितुवा मरे कि ?” मैले पनि थपेँ । भेरीपारि चौँरीका बथान छन् । हामी वारिवारि दक्षिणतिर लम्केका छौँ । पहाडका घुम्तीहरू कतै पहिरेर खसेका देखिन्छन् । कतै चट्टानहरू ध्यान गर्न बसेजस्तो बाटामा भेटिन्छन् ।
पाउल पानी खाँदै गरेका भेटिए ।

“त्यति धेरै खोर्सानी सबै गाउँलेले खान्छन् ?”
“खान्छन् नि । अझ नपुगेर किन्न पनि पुग्छन् यी ।”
मैले उत्तर दिएँ । तिनले गाला तन्काएर अचम्म माने ।
पाउललाई थाहा छैन, गरिबको भान्सा भनेकै खोर्सानीको सिँगारपटार हो । दुःख र बिजोग सप्लाएको यो अनकन्टारमा खोर्सानीको मान छ ठूलो ।

दक्षिणी तेर्सोतिर लागिरहेका छौँ लगातार । टन्टलापुर घामले भित्री लुगा भिजिसकेका छन् ल्याफल्याफी । बाटाको धुलोले डोल्पाको चिनो गालाका पाटा, ओठ, नाके डाँडी र कञ्चटतिर छाड्न खोज्दै छ । घाम, धुलो र हावासँग भेट भइरहेकै छ । अब हिउँसँग भेटेपछि शरीर बन्छ मेरो पूरै डोल्पाली । दुई बजेको पनि थिएन होला, हामी रूपगाड पुग्यौँ । जम्मा तीन घर थिए रूपगाडमा । “देवे, सिंहे, गोकर्णेका घर यी !” जयबहादुरले चिनाए ।

भेरीको किनारमा घर थिए काठे चिर्पट, माटो र ढुङ्गाले छापेका । थारोभरि महिला खोर्सानी सुकाइरहेथे । सिमीका चाङ तह लाइरहेथे ती । बारीभरि खच्चड र घोडा थुप्रै चरिरहेका देखिन्थे । खोलाछेउमा लस्करै छवटा त्रिपाल गाडिएका थिए । पहेँला त्रिपाल कति बेला हो गाड्न पुगेछन् धनबहादुरले । दुवैतिर अत्यासलाग्दो फलामजस्तो कठोर पहाडको खोँच थियो । त्यही खोँचको एउटा कुनामा हाम्रा पहेँला त्रिपाल गाडिएका थिए ।

तीन घरको माझमा एउटा सानो देउता थान थियो । त्यहाँ ठूलो पीपलको रुख थियो । त्यसैको आडैमा हाम्रो पनि टेन्ट गाडिएको थियो । सबै स–साना त्रिपाल थिए । एउटा ठूलो चारकुने त्रिपाल थियो । अरू बस्न र सुत्न मिल्ने खालका थिए । एउटा चाहिँ उभिएर नाच्न, गाउनै मिल्ने खालको थियो । “यो चैँ डाइनिङ,” चारै कुना देखाएर छिरिङले चिनाए । घरकै चुलोलाई हामीले आफ्नो पकाउने भान्सा घर बनाएका छौँ ।
अघिल्लो दिन नरभूमको आँगनमा बजारै लागेथ्यो ।

शान्तले २२ दिनलाई पुग्ने सरसामान गजबले ठूलो त्रिपालमा भेला पारेथे । छेवैको पसलबाट सामान, नुन, चिनी, घिउ, तेल, मासु, अण्डा आयो । पाउरोटी, माछा, पास्ता, ओलिभ तेल, चिज, स्यापागेटी यी खैरेलाई । “हाम्रा मेम्बरलाई चैँ यी !”
चिया, दाल, आलु, चामल, चिउरा थिए एकातिर । खच्चडवाला, किचेन ब्वाइ, पोर्टर शेर्पाका लागि यी खाना । त्रिपालमा हालिएको सामान २२ बोरामा हालियो । साबुन, सलाईदेखि मट्टितेलसम्म । चाउचाउदेखि सुकेको च्याउसम्म । पहिले प्लास्टिकमा हालेर फेरि अर्को बोरामा हालियो । २५÷२५ किलोको भारी बनाइएको थियो । अघिल्लो साँझ धनबहादुरलाई फेरि सोधेथे शान्तले, “२२ खच्चड भए हैन त ?”

खैरे फटाफट हिँडिहाले । तिनलाई पछ्याएर म नि हिँडेँ । तुलबहादुर, पृथ्वी डाँगी, जयबहादुर डोको बोकेर अगाडि लागे । निमा, वाङ्गेल र तेन्जीले पनि गतिलै झोला भिरेका थिए । जुफाल छाडेर उनीहरू दुनैतिर हुइँकेका थिए बेस्सरी । पहिलो दिन भएर हो कि एकोहोरो लम्के उनीहरू । तेर्पे र ओरालीमा ती गुडुडु कुदिरहे.. कुदिरहे...। हामी पनि निकै दगु¥यौँ । छिरिङ, शान्त र म सँगसँगै जस्तै थियौँ । ओरालो, तेर्सो र फाँट भएर डाँगीबाडा पुग्यौँ । आज अलिक बेग्लै गोरेटोतिर लगेछन् । डाँगीबाडासम्म म आएकाले मेरा आँखाले सहजै माने । यी अनौठा र छाँगाछुर भीरमा पनि त्यति धेरै बिरानो ठानेनन् । डाँगीबाडा छाडेर घुम्ती लागेपछि मेरा लागि सबथोक नौलो, सबथोक अनौठो, सबथोक छक्कलाग्दो ।

निकै तेर्सो हिँडेपछि घुमाउरो आयो । पारिपट्टि पाटन देखिन्थ्यो । पाटनमा गाई, भेडा, च्याङ्ग्रा र बाख्राका बथानै थिए । दक्षिणपट्टिको ठूली भेरीको हरियो पानीसँग आँखा हुन्छन् नजिकनजिक । अक्करे चेपमा ठोक्किएर खोलो गर्जिएको माथिसम्मैै सुनिन्थ्यो ।
धान फलेका पहेँलपुर गरामा मन जान्छ, आउँछ । बाटो तल रातै खोर्सानी नै खोर्सानी देखियो । बोट सुकेका, झुप्पा खोर्सानी फलेका । यै खोर्सानीका बोट, हाँगा, झुप्पा र पातलाई नजिकै खिचिरहेथे क्यामेराले पाउल । उनलाई निकै अनौठो लागेछ ।

तीन–चार घर थिए । पाराङ गाउँ रै’छ यो । मास्तिर बारीमा पाँच/छ जना महिला सिमीका झाङ बटुल्दै थिए । पाटनको चेपैचेपको ओरालो झरेका छौँ । हामी झरेको भागमा केही हरियोपरियो थियो । पारितिर एक थोपो हरियो थिएन । खैरो पहाड थियो । ढुङ्गा, माटो सबै रातो थियो ।
“राति आएर खच्चडमा सामान हाल्नु । बाटोमा सामान झार्ला नि ! भीरका ढुङ्गामा धसारेर भारी च्याप्दै पुग्ला । तरकारी किचिएला । भारीको सामान टुटेफुटे म पैसा कटाउँछु नि,” शान्त खैखबरी गरिरहेथे । रूपगाडमा हामी बसिरहँदा खच्चड आइपुगे, दिउँसोतिर । आएका सामान धमाधम कोही त्रिपालवरिपरि झारिए । कोही भान्सातिर, कोही बाटोछेउमा राखिए ।

कात्तिकको चिसो साँझ । म त्रिपालभित्र छु । रूपगाडको यो चकमन्न रात । हावा बेस्सरी चलेको छ । यी भीर र खोँचमा लुकेकोे चिसो अहिले वरिपरि आइरहेको छ । भेरीको चिसो बटारिएर आइरहेको छ । लडाइहाल्ने, शरीरै लाछलुछिने, हावाको फुइँकी चलेकोचलेकै छ ।
“२२ दिनलाई हुने गरी लुगा लाउनोस् !” राति छिरिङले भने । हुन पनि जाडो यति थियो, भनिसाध्य नै छैन । किनभने उच्च लेकको हिमाली नदीको हावा घोलिँदा कस्तो हुन्छ होला ? हिउँमा थिग्रिएर आएको सिरेटो कस्तो हुन्छ होला ? यी सबै कुरा मेरो शरीरले केही दिन भोगिरहेकै थिए । अहिले झन् बेहोरिरहेको थिएँ ।


हाम्रो त्रिपालछेवैमा आठ खच्चड र दुई घोडा बाँधिएथे । तिनका टाङटाङ–टुङटुङ घण्टी मध्यरातको चिसोमा बजिरहेकै थिए । “यति लामो हिँडाइमा जुत्ता ठूलो कुरो हो । लट्ठी त रुखको हाँगो टेक्दै भए नि हिँडुँला ।” अनि जुत्ता भित्रै राखेँ, लट्ठी बस्यो बाहिरै ।
भेरीको गर्जन चर्को न चर्को थियो । कानमा सङ्गीत भयो त्यो । मैले साथी बनाएर सुत्न खोजेँ । आँखामा निद्रा बसाइ सरिसकेको लाग्छ । हावाले प्याट्टप्याट्ट हिर्काइरहेको छ त्रिपाललाई । रातभरिमा उडिसक्ने पो हो कि यो पहेँलो घर ? अर्को उकुसमुकुस फेरि थपियो । भेरीको चर्को स्वर र हावाको माझ मेरो निद्रा आउन खोज्दै छ ।