शनिवार |

विज्ञानमा रुचि जगाइदिने प्रश्नोत्तर

पुष्पराज जोशी

विराटनगर निवासी मेघनाथ रिजालले विज्ञान विषयको अध्यापन र प्रशिक्षणमा ४२ वर्ष बिताउनु भयो । आफ्नो पेसामा जोकोही समर्पित हुन्छन्, यसमा मेघनाथ रिजाल पनि अपवाद हुनुहुन्न तर उहाँले जीवनभर सँगाल्नुभएको विज्ञानका ज्ञान र अनुभवलाई आफूमा मात्र सीमित नराखी ‘व्यावहारिक प्रश्न वैज्ञानिक उत्तर’ पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । विज्ञान विषय अध्यापन तथा प्रशिक्षणका क्रममा विद्यार्थी तथा जिज्ञासुका धेरै प्रश्न उहाँले सामना गर्नुभयो । प्रश्नहरूका वैज्ञानिक उत्तर पनि खोज्नु भयो । ती प्रश्न र उत्तरलाई जतनले स्याहार र सुसार गरेर उहाँले यो पुस्तक तयार पार्नुभएको हो ।

पुस्तक प्रश्नोत्तर शैलीमा छ । चार खण्डमा विभाजित गरेर ३२३ वटा प्रश्न र उत्तरहरू यसमा समावेश गरिएको छ । पहिलो खण्ड ‘मानव शरीरसम्बन्धी सामान्य जिज्ञासाहरू’मा आधारित छन् । यसमा १२८ वटा प्रश्न र तिनका उत्तर छन् । प्रश्नहरू सामान्यतः हाम्रो दैनिक जीवनमा सुनिरहने खालका छन् । जस्तो कि मानिसको सुरुको बिन्दु कुन होला ? आमाको गर्भमा छोरा वा छोरी कसरी बन्छ ? नवजात शिशु जन्मनासाथ किन रुन्छ ? टेस्टट्युब बेबी भनेको के हो ? निद्रामा ऐठन हुनु भनेको के हो ? सुगर रोग के हो र कसरी सुरु हुन्छ ? लगायत मानव शरीर तथा स्वास्थ्यसँग सम्बन्धित प्रश्नहरू र तिनका वैज्ञानिक उत्तर यस खण्डमा समावेश गरिएको छ ।

दोस्रो खण्डमा ‘वातावरणसम्बन्धी जिज्ञासा’ रहेको छ । १०७ वटा प्रश्न र तिनका उत्तर यस खण्डमा छ । यी प्रश्नहरू पनि सामान्य खालका छन् तर तिनको वैज्ञानिक उत्तर धेरैलाई थाहा नहुन सक्छ । जस्तो सूर्य नहुँदा के हुन्छ होला ? यो ब्रह्माण्डमा कहाँ कहाँ जीव होलान् ? रूखको फल किन पृथ्वीतिर झर्छ होला ? रातमा तारा खसेको जस्तो देखिने के हो ? हामीलाई कति हावाले किचेको छ होला ? आदि प्रश्न र तिनका उत्तर यस खण्डमा समावेश गरिएका छन् ।

यसैगरी तेस्रो खण्ड ‘बोटबिरुवा तथा जनावरसम्बन्धी जिज्ञासाहरू’ छन् । यसमा ४७ वटा प्रश्न–उत्तर छन् भने चौथो खण्डमा ‘विविध व्यावहारिक जानकारीहरू’ भनेर ४१ वटा प्रश्न समावेश गरिएका छन् । चौथो खण्डका प्रश्नहरू अघिल्ला खण्डका भन्दा केही भिन्न छन् । जस्तो कि गायत्री मन्त्र जप्ने बानीका केही फाइदाहरू, हाम्रा पूर्वीय मान्यतामा रहेका असल कुराहरू, समाजमा बोक्सी हुन्छन् कि यो मनोरोग हो, मानिसका लागि सुख र दुःख कहाँ छ ? जस्ता हाम्रा धार्मिक र आध्यात्मिक पक्षसँग गाँसिएका विश्वास र परम्परालाई वैज्ञानिक दृष्टिकोणबाट केलाउने प्रयास गरिएको छ । यसरी केलाउँदा उत्तर केही लामो हुन पुगेको छ ।

जीवनभर विज्ञान शिक्षकका रूपमा बिताउनुभएकाले लेखकलाई विद्यार्थीहरूमा केकस्तो जिज्ञासा हुन्छ ? उनीहरूले कुन कुरा बढी रुचाउँछन् ? उनीहरूलाई कसरी सिकाउने भन्ने अनुभव हुने नै भयो । यही अनुभवका आधारमा प्रश्नहरू चयन भएको ठम्याउन सकिन्छ । हामीले सामान्य जीवनमा देखिरहेका र भोगिरहेका कुरालाई लिएर के, किन, कसरी, कति, कहाँ, अब के हुन्छ, कति समयमा हुन्छ जस्ता मनमा उठेका जिज्ञासाहरूलाई शान्त पार्ने उद्देश्य पुस्तकको रहेको लेखकले भूमिकामा पनि बताउनुभएको छ ।

अध्ययन–अध्यापनमा विज्ञान विषयको महŒव धेरै छ । विद्यार्थीहरूले पनि विज्ञानलाई विशेष विषयका रूपमा लिन्छन् । उनीहरूको यही रुचिलाई सधैँ जगाउन त्यही अनुरूपको पाठ्यसामग्री, सन्दर्भ सामग्री र शिक्षक उपलब्ध हुनुपर्छ । पाठ्यसामग्रीमा मात्र भर परेर ज्ञान–विज्ञानका सबै क्षेत्रसँग परिचित हुन पनि सकिँदैन । फेरि विद्यालय तहका विद्यार्थीमा सिकाइका क्रममा अनेकौँ जिज्ञासा हुन्छन् । ती जिज्ञासा मेटाइदिने शिक्षक वा अभिभावक सबै ठाउँमा उपलब्ध नहुन सक्छ । त्यसैले यस्तो अवस्थामा यो पुस्तक सहजकर्ताको रूपमा उभिएको छ । विद्यार्थीहरूका लागि मात्र होइन, लोकसेवा आयोग, शिक्षक सेवा आयोगजस्ता परीक्षाहरू दिने परीक्षार्थीका लागि पनि पुस्तक महŒवपूर्ण सन्दर्भ सामग्रीको रूपमा रहेको छ ।

पुस्तकको खण्ड ‘घ’ मा रहेको विविध व्यावहारिक जानकारीमा हाम्रो धर्म, परम्परा र विश्वास खराब मात्र हुँदैनन्, उपयोगी पनि हुन्छन् भनिएको छ । विज्ञानको युग भन्दैमा हाम्रा धार्मिक मान्यता, संस्कार र विश्वासलाई त्यागी हाल्नु हुँदैन । तिनमा असल र खराब दुवै हुन्छन् । छुट्याउन मात्र सक्नुपर्छ भनेर व्यावहारिक रूपमै व्याख्या गरिएको छ । समाजलाई सत्मार्गमा डो¥याउनका लागि हाम्रा ऋषिमुनिहरूले धार्मिक ग्रन्थहरू रचेका हुन् । यी ग्रन्थहरूले मानिसलाई असल काम गर्न सधैँ प्रेरित गरिरहेका हुन्छन् । असल काम गर्नाले समाज सभ्य, सुन्दर र नैतिकवान् हुन्छ । पूर्वीय दर्शनको यो कुरो पश्चिमी विद्वान्हरूले पनि प्रशंसा गरिरहेका छन् । यस्ता कतिपय सन्दर्भ पनि पुस्तकले आफ्नो विषय बनाएको छ ।

सरल नेपाली भाषामा यति धेरै प्रश्न समेटेर लेखिएको यो पुस्तक सम्भवतः पहिलो हुन सक्छ । अङ्गे्रजी भाषामा त यस्ता पुस्तकहरू प्रशस्तै पाइन्छन् । नेपाली भाषामा भने कम छन् । नेपाली भाषामै विज्ञान तथा प्रविधिका विषय जान्न उत्सुक पाठकका लागि यो अमूल्य कृति भएको छ । भगवत प्रिन्टर्स, विराटनगर प्रकाशक तथा वितरक रहेको पुस्तकको मूल्य चार सय रुपियाँ तोकिएको छ । भाषागत शुद्धतामा भने त्यति ध्यान दिइएको पाइँदैन । पुस्तकको नाममा नै गल्ती छ । ‘व्यावहारिक’ हुनुपर्नेमा ‘व्यवहारिक’ भएको छ । फेरि विषय सूचीमा उल्लेख गरिएका कतिपय शीर्षक भित्र मिलेका छैनन् । यस्ता गल्तीहरू पुस्तकमा धेरै छन् । जसले दाँतमा ढुङ्गा लागेझैँ अनुभव हुन्छ । मुख्य गरी विद्यार्थीवर्ग नै यस पुस्तकका लक्षित पाठक भएकाले भाषामा अझ बढी ध्यान दिनुपर्ने थियो । आशा गरौँ, यो कमजोरी आउँदा संस्करणमा सुधार हुने छ । विज्ञानलाई व्यावहारिक रूपमा बुभ्mन भने पुस्तक सहयोगी हुनेमा कुनै संशय छैन ।