शनिवार |

म बीज हुँ (कविता)

राममणि सिटौला

जसलाई तिमीले
बेकार सम्झिएर
उपेक्षापूर्वक फ्याँकेका छौ
रछ्यानमा, घु¥यानमा
म त्यो बीज हुँ
जो जल, वायु, तापको सम्पर्कमा
आउने बित्तिकै
कुनै पनि बेला उम्रिन सक्छु
तिमीलाई के थाहा
मभित्र लुकेका छन्
कैयौँ नजन्मिएका
विशाल वृक्षहरू
फलहरू
शीतल छायाँहरू
तिमीलाई के थाहा
मभित्र छन्
कैयौँ परिवर्तनका
भ्रुणहरू
धर्तीमा जरा गाडेर
ठिङ्ग उभिन चाहेका
वृक्षहरू
जो आतुर छन्
शीघ्राती शीघ्र जन्मिएर
जङ्गलमा कोलाहल मच्चाउन
जसका हाँगामा बसेर
सुनौलो बिहानीको गीत गाउन
आतुर छन्
चराहरू !
म बीज हुँ
म वर्तमान हुँ
भविष्य हुँ
म बीज हुँ ।