नेपाली कलाको समाजवादी यात्रा
तेजविलास अधिकारी
नेपाली कलाकारले चित्रमा सामूहिक अभियान सुरु गरेका छन् । समाजका विविध आयाम खोतल्ने कलाकारले समाजवादको यात्रामा कलाकारको दृष्टिकोणलाई कलामा पस्किएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन प्रचारप्रसार समितिको आयोजना र अखिल नेपाल ललितकला सङ्घको संयोजनमा २१ जना कलाकारको चित्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रदर्शित भयो । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनका सन्दर्भमा आयोजित ‘समाजवादको यात्रा’ कला प्रदर्शनीमा ३२ वटा कलाकृति थिए ।
कलाकारले जुनसुकै माध्यम र धारमा कला सिर्जना गर्ने गरेको भए पनि यो प्रदर्शनीमा समाजवादको विषयलाई नै प्रधानता दिएका थिए । शैलीगत रूपमा हेर्दा प्रदर्शनीमा अमूर्त, समसामयिक, थाङ्का, पौभा, मुगेली र मिथिला कलाशैलीको रसास्वादन गर्न सकिन्थ्यो ।
प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, लालमान लामा, देवेन्द्र थुम्केली, केशवराज खनाल, प्रदीप अधिकारी, जिग्मे तामाङ (मुगुम), पाल्साङ्मो लामा, कमानसिंह लामा, रवीन्द्र श्रेष्ठ, राजकुमार राना, एस.सी. सुमन, अमिर शाक्य, राजकुमार बिक, लीलाधर केसी, निरीमाया लामा, खेम बिके, शिव शेर्पाली, पूर्णिमा पौडेल, अमर परियार तथा रञ्जु पुलामीका कलाकृति समावेश थिए ।
राजकुमार राना मगर, केशवराज खनाल, देवेन्द्र थुम्केली र नारदमणि हार्तम्छालीको एकभन्दा बढी कला प्रदर्शनीमा थिए । प्रदीप अधिकारीको प्रतीकात्मक अर्धमूर्त कला, जुलुमलाल चित्रकारको समाजवादी यथार्थवादी कला, राजकुमार राना मगरको ‘ज्याला’ शीर्षकको दैनिक ज्याला दस हजार रुपियाँ भए मात्र सम्पन्न देशको सम्मानित नागरिक हुनसक्ने आशयको कला, पूर्णिमा पौडेलको मजदुरको यथार्थ झल्काउने श्रमको सौन्दर्यात्मक कला, निरीमाया लामाको घर–घरमा माओवाद र समाजवादले ल्याउने उन्नतिको कथा प्रदर्शनीमा थिए । यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्याक्टर चलाइरहेको चित्रकला पनि प्रस्तुत गरिएको थियो । यो चित्र कलाकार केशवराज खनालले बनाउनुभएको हो । नेतृत्वले थप जिम्मेवारीबोध गर्दै अगाडि बढे मात्र राजनीतिको गुणात्मक विकास हुने दृष्टि यस चित्रमा प्रस्तुत भएको छ । शिव शेर्पालीको झुटको खेती गर्नेहरूलाई हटाउँदै देश बनाउन सही प्रतिनिधित्व गर्नेहरूको कार्यक्रम ल्याउनुपर्ने आशयको कलात्मक प्रस्तुति रहेको थियो ।
लीलाधर केसीको नवयुग आह्वान गरिएको कलात्मक चित्र रहेको थियो । खेम बिकेको कलाले सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादलाई राष्ट्रिय एकतामार्फत जित्नुपर्ने भाव प्रस्तुत गरेको थियो । वित्तीय पुँजीवादप्रति कटाक्ष गर्दै आफ्नो स्वार्थपूर्ति गर्न अरूको अधिकार हनन गर्नेप्रति परिवर्तनकामी योद्धा अघि बढ्न पनि बिकेको चित्रले प्रेरित गरेको छ । प्राज्ञ एस.सी. सुमनको मिथिला शैलीको कलाले शान्ति र समाजवाद उन्मुख समाज निर्माणका लागि आह्वान गरिरहेको थियो । पाल्साङ्मो लामाको चित्रले सांस्कृतिक परिवर्तनले मात्र देशमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने भाव बोकेको थियो । कलाकार अमिर शाक्यले क्रान्ति, पवित्रता र शान्ति एकअर्काको परिपूरक विषय हुन् भन्ने तथ्य प्रस्तुत गर्न खोज्नुभएको छ । समाजवादको यात्रा मौलिक संस्कृतिको संरक्षणबाट सम्भव भएको तथ्यलाई झिग्मे तामाङ (मुगुम)ले कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । लालमान लामाको चित्रले देश उज्यालो बनाउन ग्रामीण बस्तीदेखि नै परिवर्तन जरुरी छ भन्दै महिला नेतृत्वको चेतना र विद्रोहलाई सम्बोधन गरेको छ । उहाँको कलामा समाजको आजको स्थिति फेर्न नारीचेत अपरिहार्य रहेको भाव पनि झल्कन्छ । नारदमणि हार्तम्छालीले आफ्ना कलामार्फत गहन विषयमा प्रस्तुति दिनुभयो । केही प्रतीकात्मक लाग्ने जस्ता तर जनजीविका र सांस्कृतिक पक्षलाई जोड्ने कला उहाँले प्रस्तुत गर्नुभयो । हार्तम्छालीको पाँचवटा चित्रकला प्रदर्शनीमा राखिएका थिए ।
बुटवलका कलाकार अमर परियारको ‘क्रान्ति’ शीर्षकको चित्रले श्रमको मूल्य भएको राज्यको स्थापना हुनु आवश्यक छ भन्ने सन्देश सम्प्रषेण गरेको थियो । कलाकार राजकुमार बिकले श्रमले सिर्जना गरेको हाम्रो मौलिक औजार निर्माणको सीप र सौन्दर्यलाई कलात्मक रूपमा देखाउनुभयो । जहाँ घरेलु अर्थतन्त्रको खोजी गरिएको छ । कलाकार रञ्जु पुलामी मगरका कलाले नारी समानताको यात्रा वर्गीय मुक्तिको यात्राबाट मात्र सम्भव भएको निष्कर्ष प्रस्तुत गरेको छ । आज फरक बाटोमा हिँड्न खोजे पनि अझै चुनौतीको सामना गरेर देशलाई शान्ति र क्रान्तिको समन्वित रूपमा घाउहरू निको गरेर समायोजित हुन जरुरी रहेको कलात्मक प्रस्तुति रवीन्द्र श्रेष्ठको रहेको थियो । कलाकार कमानसिंह लामाले देश भनेको राष्ट्रिय झन्डा र विचारको झन्डाको एकताबद्ध वैचारिक यात्रा हो भनेर प्रस्तुत गर्नुभयो । भाषिक र सांस्कृतिक चेतनाबाट मात्र देशमा गणतन्त्र संस्थागत गर्न सकिन्छ भन्ने भाव पनि उहाँको कलामा रहेको छ । कलाकार देवेन्द्र थुम्केलीले आफ्नो कलामा उत्पादनको समान वितरण चाहनुभएको छ । पुस ११ गतेबाट सुरु भई सात दिनसम्म प्रदर्शनी चलेको थियो ।