शनिवार |

पछुतो मात्र बाँकी

रमेशानन्द वैद्य

रेडियोमा गाउनेहरूको नाम केही सम्झन्थेँ, केही बिर्सन्थेँ । बिर्सेका नामहरू उहाँहरूको गीत सुनेपछि यही त हो नि बाबै भनेर झल्याँस्स हुन्थेँ । सम्झिरहने नामहरू पनि मान्छे अगाडि पर्दा खासमा चिन्दिनथेँ । अलि प्रस्ट चिनेका अनुहारहरू भनेका नरराज ढकाल र प्रेमध्वज प्रधान हुन् । नरराजलाई नारायणहिटी मन्दिरको गोलो भजन–घरमा प्रायः एकादशीको साँझ र बिहान निमग्न गाइरहने देखेर हो । साथै काइँला काका चक्रानन्दको निकट मित्र हुनाले पनि । प्रेमध्वजलाई माइला बा ब्रह्मानन्दको घर नःघलमा गइरहने हुनाले चिनेको हुँ । अरू देखिचिनेका अनुहारहरू आफ्नै छायाजस्तो कहिले अगाडि, कहिले पछाडि अनि कहिले दायाँ, बायाँ त कहिले शिरमाथि घाम हुँदाजस्तो हुन्थे । ठ्याक्कै नचिनेका अनुहार धेरै छन् । चिन्न पाए हुन्थ्यो र चिनुँ चिनुँ भइरहन्थ्यो ती गायकलाई सदा । उमेर बढ्दै गएसरह हुटहुटी पनि बढ्दै गइरहेको थियो ।

राणाकाल बितिसकेकाले महाराजगञ्जमा चहलपहल घटिसकेको मान्नैपर्छ । राणाको चाकडी गर्न जानु आवश्यक रहेन । जान्थे त मानिस त्यहाँ फोक्सो जँचाउन । अहिलेको कान्ति बाल अस्पताल भवनमा तत्कालीन समयमा उर चिकित्सालय थियो । उर चिकित्सालय पनि वीर अस्पताल परिसरमा सरेपछि चहलपहल अझ घट्न पुगेको थियो तर पानीपोखरीको उकालोदेखि नै महाराजगञ्ज सेरोफेरो भद्र परिवारको बसाइ हुँदा चहलपहल घटे पनि उज्यालो भने थियो । मैले खोजिरहेको हाम्रो नेपाली रेडियोमा गाउने मवीवि शाहको ‘भन लौ तिमी नढाँटी’का प्रथम सङ्गीतकार र गायक जगतमर्दन थापा त्यही इलाकामा बस्नुहुन्थ्यो पानीपोखरीको नाकैमा रे । सुनेको कुरा यो, देखेको भने थिइनँ ।

जगतमर्दनलाई देखिचिनेको भने बीसको दशकको उत्तराद्र्धतिर हो । उहाँ महाराजगञ्ज बजारमा रहेको त्यस भेगकै पहिलो औषधि पसलमा बेलाबेला आइरहनुहुन्थ्यो । अन्तरे काका ईश्वरानन्दले खोल्नुभएको त्यस औषधि पसल चिरस्मरणीय रूपबहादुर खड्काको चिकित्सकीय सुलभ सेवाले गर्दा लाजिम्पाटदेखि उँभो तीनवटै दिशाका सानाठूला सबैखाले जनताको केन्द्र बन्न पुगेथ्यो । जनकलाल शर्मालाई फेरि त्यहीँ देख्न पाएथेँ । पुस्तक पढी चिनेको राजेश्वर देवकोटालाई पनि त्यहीँ देखिचिन्ने अवसर मिल्यो । प्रिय गायक जगतमर्दनसँग साक्षात्कार गर्ने सुनौलो मौका पनि जु¥यो । शङ्करराज पाठकलगायत थुप्रै गन्यमान्य व्यक्तित्वलाई पनि देखिचिन्ने सौभाग्य पनि मिल्यो । गीत, सङ्गीत, चलचित्रका आजका स्वनामधन्य शम्भुजीत बाँस्कोटा र चलचित्र सम्पादक नरेन्द्र खड्कालाई पनि देखिचिनेँ त्यतिबेलै । नरेन्द्रजीसँग औषधीय सेवामा सहकार्य गर्न पाएकोमा अहिले सम्झँदा पनि गद्गद् हुन्छु ।
ती देखिचिनेका सबै मान्यवरसँग ०३१ सालबाट बिस्तार बिस्तार टाढा हुँदै गएँ । शिक्षण पेसातिर भौँतारिएपछि महाराजगञ्ज जाने क्रम पातलो हुँदै गयो । बेलाबखत जान्थँे, जाँदा भेट्ने वा देख्ने भन्ने कुरो दुर्लभ हुँदै गयो । यसरी जगतमर्दनसँग पनि बिछोडिन पुगेँ ।

समय चालिस वर्ष बित्यो । एकदिन राष्ट्रिय नाचघरमा साङ्गीतिक कार्यक्रमपछि निस्कँदै गर्दा जगतमर्दनलाई देखेँ । कुन कार्यक्रम थियो, त्यो भने बिर्सें । जे होस्, उहाँलाई देखेँ र मूलढोकामा पर्खेर बसेँ भेट्न । हुल पातलिँदै गर्दा मलाई उहाँसामु पुग्न सहज भयो । एक्लो उहाँका अगाडि ठिङ्ग उभिन पुगेँ । दुई कर जोडेर “हजुर, जुगौँपछि दर्शन पाएँ, चिन्नु भएन” भनेँ । तत्काल उहाँले नमस्कार त फर्काउनु भयो तर घोत्लिनुभयो केही पल । मैले थपेँ, “हजुर, महाराजगञ्जको औषधि पसलमा.... ।” वाक्य पूरा नहुँदै नमस्कार मुद्रामा जोडिएका मेरा दुवै हात उहाँका दुवै हातले च्याप्पै समातेर उहाँले भन्नुभयो, “ओहो रामेश्वरजी । दशकौँ भयो नदेखेको । यसैले चिन्न गाह्रो प¥यो । नरिसाउनुस् है !” म लाजले भुतुक्क भएँ, पानीपानी भएँ । मेरो काका उमेरका उहाँ, त्यत्रो ख्यातनामाका पनि । अनि म भुसुनालाई त्यस्तो सम्बोधन ।

त्यो दिन उहाँ सँगसँगै हिँडियो लैनचौरसम्म । म छुट्टिएर सोह्रखुट्टे लागेँ । उहाँ लाजिम्पाट । बेलाबखत भेट भइरह्यो । धेरै भेटमा उहाँ मलाई रामेश्वर भनेर सम्बोधन गर्नुहुन्थ्यो । महाराजगञ्जको औषधि पसल मेरा भाइहरू परमेश्वर र महेश्वरले चलाइरेको र उनीहरूसँग उहाँको निकटताले मलाई रामेश्वर भन्नुभएको अनुमान लगाएँ । अनुमान ठीक निस्क्यो । त्यसपछि मेरो चलिआएको नाममा उहाँ अलमलिनु भएन । फोन नम्बर हामीले साटासाट नगरुञ्जेल हाम्रा खैखबर ती भाइहरूमार्फत भइरहन्थे ।
२०७३ साल असार १७ गते राष्ट्रिय नाचघरमा जगतमर्दनको तेस्रो गीति एल्बमको विमोचन थियो । खबर पाएको थिएँ । हुस्सु भइगएथेँ, भुसुक्कै बिर्सें । पछि भतिजीको बिहे भोजमा भेट्दा धेरै नमिठो लाग्यो । उहाँले चित्त दुखाइको भङ्गीमा अलिअलि गालीजस्तो लवजमा “किन नआएको ?” भन्नुहुँदा शिर मुन्टो गर्नुसिवाय मसँग कुनै स्पष्ट जवाफ भएन । माफी मागेँ । “ल ल भैगो, अबदेखि नबिर्सनू” भन्नुभयो ।

त्यसपछि हामी दुवैले एउटा एउटा ह्विस्की गिलास उठायौँ, चियर्स ग¥यौँ । उहाँले त ह्विस्की जिभ्रोमा छुवाउने मात्र रहेछ । मेरो गिलास रित्तियो, उहाँको भने जत्तिको त्यति नै । गीत सङ्गीतको क्षेत्रमा प्रसिद्ध व्यक्तिको सरल र स्नेही व्यवहारले को नतमस्तक हुँदैन ? घामलाई चिनाउन कुनै विशेषण जोड्न पर्दैन । यस्तै घामजतिको उज्यालो व्यक्तिलाई कुनै थप विशेषणको खाँचो पर्दैन चिनाउन ।

सम्झन्छु प्रेमध्वज प्रधानको रथयात्रा । २०७५ साल वैशाख ५ गते बुधबार अक्षय तृतीयाको दिन । प्रेमध्वजको बागबजार निवासमा १ बजे भेट्ने समय दिनुभएको थियो मलाई उहाँले । म आधा घण्टाअघि पुगेथेँ । उहाँ एक घण्टापछि आइपुग्नुभयो । रथयात्रा सुरु हुने तरखर मात्र भइरहेको थियो । सुरु भइहाल्ने लक्षण भने देखिएको थिएन तर मलाई देख्नेबित्तिकै नमस्कार गरेका मेरा हात पहिलाजस्तै समाउँदै उहाँले भनी हाल्नुभयो, “नजिकको नातेदारको छोराको बिहेमा अलमलिएँ ढिलो हुन गयो, जाऔँ प्रेमध्वजजीलाई बधाई दिन ।” उहाँसँगै पुनः प्रवेश गरेँ म लबी बैठकमा । भद्रतामा उत्तिकै अब्बल दुई हस्तीको आदर विनिमय अलौकिक थियो ।

देशको सङ्गीतकार सङ्घले प्रेमध्वजको सम्मानार्थ गरेको त्यो यात्रोत्सव सम्भवतः गीत/सङ्गीतको इतिहासमा राष्ट्रमा पहिलोपल्ट हुनुपर्दछ । सङ्गीतकार, गीतकार, गायक, सङ्गीतप्रेमी तथा अन्य शुभेच्छुकको उपस्थिति हौसलायुक्त थियो । त्यसमाथि भर्खरका युवकको जस्तो हौसला भएका ८२ वर्षका हस्तीको जाज्वल्यमान मुहार सबैको आकर्षणको केन्द्रबिन्दु थियो नै । अनि उहाँका समवयी जगतमर्दन यात्राको पङ्क्तिमा सामेल हुनु कम गर्वको कुरा होइन ।

रथयात्रा बाजागाजासहित अगाडि बढ्यो । बायाँ मोड्यो र कमलादी चोकमा रोकियो । फक्र्याे, यात्रा पुतलीसडक भएर अगाडि बढ्यो । गीत, सङ्गीत र स्वरका सारथिहरूको लस्करमा थुप्रै भावकहरूको उपस्थितिले टन्टलापुर घाममा पनि यात्रा हर्षोल्लासपूर्ण रहिरह्यो । एकाध व्यक्तिले जगतमर्दनलाई अभिवादन गरे । तिनमा सङ्गीतकार राजु सिंहलाई प्रस्टै ठम्याउन भ्याएँ । क्यामरा भने उहाँतिर फर्केन कसैको पनि, आधापल्ट पनि । हुलमा को राजा, को रङ्क ? लामो सास छोडेँ । उहाँ अर्थात् जगतमर्दनको अनुहार भने हँसिलो रसिलो नै थियो ।

हिँड्दाहिँड्दै मेरो मनमा एउटा कुराले हलचल ल्याइदियो । मन प्रफुल्ल भयो । जगतमर्दनलाई त्यो प्रफुल्लता पोखेँ । हजुरको पनि यस्तै शोभायात्रा गर्न पाए म धेरै आनन्दित हुने थिएँ । तुरुन्त उहाँले भन्नुभयो, “रमेशानन्दजी, यस्तो नसोच्नुस्, मलाई यसमा कुनै रस लाग्दैन । साधारण हुनुमा जति सन्तोष अरूमा पाइँदैन । म मेरो कर्म गरिरहन्छु ।”

उल्लासपूर्ण जुलुस शहीदगेट कटेपछि एक जना प्रौढ भलाद्मी कारबाट ओर्लेर जगतमर्दनलाई अभिवादन गरेर कारमा बस्न आग्रह गरे । घाम चर्को थियो, ढुङ्गाले पनि पसिना काढिरहेको थियो । यी सहृदयीलाई साधु साधु भनिरहेँ मनमनै । गन्तव्य सेनाको सभा हल थियो । नजिक त छ नि पुग्न भनेर आलटाल गरिरहेका युवा जत्तिकै फूर्तिला उहाँलाई कारमा बसाउन जिद्दी नै गर्नु परेको थियो । सैनिक प्रेक्षालयमा सपत्नी प्रेमध्वज प्रधानलाई नवबेहुला–बेहुलीसमान भिœयाइयो । खुसीले सब गद्गद् भए, तालीले वातावरण गुञ्जायमान भयो । हामी पनि पछिपछि लाग्यौँ । अति आदरपूर्वक उहाँहरूलाई आसन गराइए । गीत–सङ्गीतका अन्य हस्ती पनि प्रथम लहरमा विराजित गराइए । अति लोभलाग्दो दृश्य, हर्षिलो परिवेश ।

जगतमर्दन सँगसँगै म पनि खाली कुर्सी खोज्दै जाँदै झन्डै झन्डै बायाँ अन्तिम लहरमा नओगटिएका केही कुर्सीमध्ये दुइटा हामीले ओगट्यौँ । यस्तैमा गायक महेन्द्रप्रेम श्रेष्ठ आएर जगतमर्दनलाई अगाडि आउन आग्रह गर्नुभयो । जगतमर्दनका कारण म पनि पाँचाँै लहरमा बस्न पाएँ । जगतमर्दनलाई अगाडि पछाडिको कुनै मतलब नभएको मलाई अनुभव भयो । कार्यक्रम सञ्चालनमा सबका सब ज्येष्ठ एवम् वरिष्ठ गायक आदिलाई सादर सम्बोधन भयो । जगतमर्दनलाई छुटाइयो । मेरो मन खल्लो भयो तर जगतमर्दनमा कुनै असर देखिएन । तीन छक्क परेँ ।
समय निकै बितिसकेकाले झन्डैझन्डै कार्यक्रमको अन्त्यतिर दुवै निस्क्यौँ । फटाफट बस बिसौनीतिर लाग्यौँ । उहाँको स्फूर्तिअगाडि म निम्छरो साबित भएँ । छ–सात घण्टासम्म बिनापानी पनि उहाँको त्यस्तो ऊर्जा तारिफयोग्य नै थियो ।

यस्तो उमेरमा पनि नयाँ एल्बममा व्यस्त जगतमर्दनलाई कसैगरी एउटा अभिनन्दन समारोह आयोजना गर्ने इच्छा जागृत भइरह्यो । छोरी पुष्पाञ्जलि थापालाई मनको कुरा राखेँ । साल २०७५ बित्यो, २०७६ पनि बित्यो । भेट कैयन्पल्ट भयो । उहाँको दुईवटा एल्बम पनि विमोचन भए । आत्मकथा ‘कर्मशील जीवन–यात्रा’ पनि प्रकाशित भयो उहाँको । योजनाको खाका कोर्न भ्याइएन । समयले नेटो काट्दै गएको पत्तो पाइनँ ।२०७७ सालको मङ्सिर दोस्रो सातासम्म टेलिफोनमा भलाकुसारी चलिरह्यो । कल्पनै नभएको, सम्भवै नभएको हुन गयो । आज चुकचुक मात्र बाँकी छ, पछुतो रहिरह्यो कहिल्यै नसङ्लिने गरी मनमा ।