शनिवार |

विज्ञानमा तिलस्मी कल्पनाको लेपन

तुलसीहरि कोइराला

कविता, जीवन दर्शन र आध्यात्मिक क्षेत्रमा कलम चलाएर आधा दर्जन कृति नेपाली वाङ्मयका क्षेत्रमा दिइसक्नुभएका साहित्यकार डा. प्रेमराज न्यौपाने पेसाले इन्जिनियर हुनुहुन्छ । बेलायतबाट इन्जिनियरिङमा उच्चशिक्षा हासिल गर्नुभएका न्यौपानेले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘मनोवृत्ति र सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो । लेखन साधनामा निरन्तर लागिरहनुभएका न्यौपानेको पछिल्लो पटक पाँच खण्डमा विभाजित औपन्यासिक कृति ‘अलकापुरी सभा’ प्रकाशित भएको छ र उपन्यासकारले यसलाई दार्शनिक उपन्यास भन्नुभएको छ । पाँचै खण्डको आमुख पृष्ठ एउटै रहेको छ भने लगभग एकै आयाममा फैलिएका यी पाँचै खण्डको पृष्ठसङ्ख्या पनि क्रमशः नै दिइएको छ । यसरी हेर्दा एउटै कथावस्तुमा आधारित भएर अघि बढेको जम्मा १२ सय ४८ पृष्ठको उपन्यास पाठकीय सहजताकै लागि खण्ड–खण्डमा विभाजन गरिएको स्पष्ट हुन्छ ।

‘अलकापुरी सभा’ वास्तवमा पौराणिक नामअनुसारकै अलकापुरीलाई लेखकले आफ्नो उपन्यासको कथावस्तुसँग जोड्नुभएको छ । मानव मात्रको नभई सम्पूर्ण जीवात्म, देवदेवी, कीटपतङ्गलगायत सौर्यमण्डल, वातावरणीय सन्तुलनका यावत वस्तुलाई पात्रका रूपमा एकाकार गरिएको भीमकाय उपन्यासमा धर्म, संस्कृति, जीवन–दर्शन र विज्ञानको घुलन पाइन्छ । अलकापुरी सभा आयोजनाका लागि पवित्र स्थलको छनोट गर्नका लागि स्वर्गका राजा इन्द्रले आफ्ना अप्सराहरूलाई जिम्मा दिएअनुसार उनीहरूले पृथ्वीका अनेक देश–ठाउँको पवित्रता र शुद्धताको परख गर्दा पाशुपतक्षेत्र नेपालभूमिलाई नै रोजेपछि यसैबाट उपन्यासको कथावस्तु अघि बढेको छ । सभामा खासगरी पापकर्मलाई घटाइ पुण्य कार्यको बढोत्तरी कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सम्पूर्ण धरावासी तथा देवलोकवासीको ध्यान केन्द्रित भएको छ । प्रकृति नै जगत्जननी माता र पिताको भूमिकामा रहेर सृष्टिको कार्य भएकोले संसार चलाउने उनै हुन् भन्ने भावमा केन्द्रित उपन्यास रोचकशैलीमा अघि बढेको छ ।

उपन्यास जति भीमकाय छ, कथावस्तु पनि उसरी नै एकपछि अर्को खप्टिएका छन् । उपन्यासकारको सम्पूर्ण अध्ययन र ज्ञानको थैलो उपन्यासमा टकटक्याएझैँ अनुभव हुन्छ । पौराणिक कथाप्रसङ्ग, प्राकृतिक नियमका कुरा, सौर्यमण्डलका कुरा, पर्यावरणका कुरा, जीवन–दर्शन, धर्म–संकृति, विज्ञान प्रविधि, विकास निर्माण, सौर्य कल्पना, स्वास्थ्य सुरक्षा अनेक–अनेक सन्दर्भहरू उपन्यासमा समाविष्ट छन् । मानिस नै पृथ्वीको सबैभन्दा चेतनशील र उत्तम प्राणी हो र यसैले नै पृथ्वीको अनेक तरहले दोहन गरेर पर्यावरणीय असन्तुलन उत्पन्न गरेको कारण प्रकृतिले सन्तुलन कायम राख्नकै लागि आफैँ उपाय निकाल्छिन् भन्ने उपन्यासकारको भनाइ आएको छ । यसैलाई पुष्टि गर्दै उपन्यासकारले अहिले महामारीको रूपमा विश्वमा फैलिएको कोरोना भाइरस पनि प्रकृतिले नै सिर्जना गरेकी हुन् र मानिसले बाध्य भएर बन्दाबन्दी गरेर घरभित्रै बसेको अवस्थामा प्रदूषण कम भएको मौका छोपेर प्रकृति स्वयंले ओजोन तहको मर्मत सम्भार गरिरहेकी छिन् भनिएको छ । अलकापुरी सभा आफैँमा तिलस्मी सभा हो र सभामा प्रकृतिद्वारा सिर्जित सम्पूर्ण जीव–चराचरको प्रतिनिधित्व छ । सबैका आ–आफ्ना पिरव्यथा पोखेका छन् । उपन्यासको पहिलो र दोस्रो खण्डलाई सभाको तयारी खण्ड, तेस्रो र चौथो खण्ड छलफल तथा सभा खण्ड र पाँचौँ निष्कर्ष खण्डका रूपमा रहेको देखिन्छ ।

उपन्यासमा मूल रूपमा पर्यावरणीय सन्तुलन र सदाचारमा जोड दिइएको छ । वातावरण संरक्षण, सौर्य ऊर्जाको उपयोग र मानव कल्याण नै उपन्यासकारले उठाएको मूल सन्दर्भ हो । मानवीय दोहनले पृथ्वीका खानी–स्रोत सकिने, ध्वनि, वायु, जल प्रदूषणले जीवको अस्तित्व नै सङ्कटमा पर्ने भएकोले अलकापुरी सभाले अनेक नियम पारित गरेर सबैलाई आ–आफ्नो नियम र परिधिमा बस्न जगत्जननी माता र जगत्पिताले आदेश दिनुभएको छ र मातापिताको आदेशलाई सभामा उपस्थित सम्पूर्णले सहर्ष स्वीकार गरेका छन् ।

यो दुनियाँमा राम्रा कुरा पनि छन् र नराम्रा कुरा पनि उत्तिकै छन् । नराम्रा कुरालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर चिन्तन गर्नु नै महìवपूर्ण कुरा हो । अकल्याणबाट कल्याणतिर उन्मुख हुन मानवमा भएको अतुल वैभव, अनन्त क्षमता र ज्ञानलाई मानव कल्याणका सिर्जनामा मात्र केन्द्रित गर्नु उपन्यासको ध्येय हो । अहिलेसम्म जे भयो, भयो तर अबका दिनदेखि सबैले आ–आफ्नो नियममा बस्न र अहिलेसम्मका गल्ती कमजोरीलाई क्षमादान दिन अनुरोध गर्दै अलकापुरी सभा विसर्जन भएको छ । सभा विसर्जनपछि उपस्थित सबै देवदेवी, ग्रह–नक्षत्र, सहभागी पात्र–प्रतिनिधिले इच्छित भोजन गरेका छन् । नाचगानमा रमेका छन् । सबैको खुसीमा भगवान् जगत्पिता र जगत्जननीसमेत आल्हादित बनेका छन् । उपन्यासको अन्त्यमा कल्याणको वर्षास्वरूप कवितांश रहेको छ ।

यसरी डा. प्रेमराज न्यौपानेले प्रस्तुत उपन्यासमा धर्तीमा सुख–शान्ति कायम गर्न सदाचार, सत्चरित्र र अहिंसामा जोड दिनुभएको छ । उहाँले प्रस्तुत कृति कोरोना सङ्क्रमणकालमा घरमै बन्दाबन्दी अवस्था बसेको बेला लेख्नुभएको हो भन्ने कथावस्तुले बुझाउँछ । उपन्यासमा कोरोना सङ्क्रमणलाई प्रकृतिमाताकै उपजको रूपमा अथ्र्याइएको छ । कथावस्तुमा यथार्थ र कल्पनालाई एकसाथ घुलन गरिएको भए पनि ज्यादा मात्रा सौर्य कल्पनाकै रहेको छ । उपन्यासका सबै भाग पढ्नका लागि पाठकमा ठूलै धैर्य आवश्यक पर्दछ । प्रत्येक खण्डको पाँच सय रुपियाँ मूल्य राखिएको कृतिको प्रकाशन डिल्ली प्रविधि विकास प्रतिष्ठान, तनहुँले २०७८ साल वैशाखमा गरेको हो ।