शनिवार |

आर्यनघाटमा सुस्ताउँदा

हेमराज पाण्डे

चतुर अङ्ग्रेज शासकले २०औँ शताब्दीको आधाआधीसम्म संसारभर साम्राज्य विस्तारको क्रममा झन्डै अढाइ सय वर्ष भारतमा पनि शासन गरे । अङ्ग्रेज शासकद्वारा भारतमा सम्पन्न कार्यमध्ये हावडा पुलको निर्माण पनि एउटा चमत्कार मानिन्छ । सन् १९२१ मा सुरु गरी १९४३ मा उद्घाटित हावडा पुल दरबार महलको सहर कोलकाताको गौरवमय पहिचान हो । हल्दिया बन्दरगाह हुँदै पैँतालीस माइल दक्षिण गङ्गा सागरतर्फ हाम्फाल्ने पवित्र हुग्ली नदीमाथि निर्मित हावडा पुल अद्वितीय पुलको रूपमा चिनिन्छ ।

पर्यटक बसको यात्री बनेर मेची नदी पारी न्यू जल्पायुगढीबाट बेलुकी ७ बजेको रात्रिकालीन हाम्रो यात्रा बिहान ९ बजे कोलकातास्थित डायमन्ड हार्वल रोडमा पुगेर टुङ्गिन्छ । यहाँ साँघुरो बाटोमा अव्यवस्थित फलफूलको डङ्गुर, अनियन्त्रित यातायातको चाप तथा सरकारी कार्यालय समयको ट्राफिक जाममा चुर्लुम्म डबेर घन्टौँ टङ्चिनुपर्ने बाध्यता रह्यो । विशाल दमदम विमानस्थल, साल्टलेक रङ्गशाला र मदरटेरेशा गिर्जाघर सहज अवलोकनमा समेटिए । प्रचण्ड गर्मीको रापले जमिनमा ओर्लिएका तातो घामका पाइलाहरूलाई लपेट्दै थियो । झ्याम्म रूखका डालीबाट गर्मी पचाउन नसकेर फुत्तफुत्त जमिनमा बजारिँदै प्राणपखेरु त्याग्ने पक्षी चराचरको छटपटी करुणामय देखिन्थ्यो । सन् २०१७ अप्रिल १० को ४१ डिग्री प्रचण्ड गर्मीको हपहपिँदो रापले कलकत्तामा हामीलाई अचाक्ली सेक्यो ।

शहीदको सम्मानमा निर्मित अग्लो मीनार धरहराबाट ट्याक्सीको सहारामा गन्तव्यस्थल हावडा पुलतर्फ हुर्रियौँ । हुग्ली नदी किनार पच्छ्याउँदा सुखदुःखका प्रतीक बनेर उर्लिएको छालले प्रेमपूर्वक स्वागत दर्शायो । हावडा पुलको पूर्वीद्वार विद्यासागर रोड किनारमा ओर्लिएर पुल हेर्न सोझियौँ । रेल, बस र पैदल सुविधा सम्पन्न तीन तलाको हावडा पुलको किस्सा भने एकै तलाको साक्षात्कारबाट मिथक साबित भयो ।

उत्तरबाट दक्षिण गङ्गासागर उन्मुख हुग्ली नदीमाथि पूर्व–पश्चिम दिशामा निर्मित पुल अनुमानभन्दा अद्वितीय थियो । नदीमा पिलर नधसाइकन विना टेकोमा निर्मित पाँच सय मिटर लम्बाइ र आठ मिटर चौडाइको उक्त पुलले झन्डै शताब्दी थेग्न लागिसकेछ । पुलको पूर्वी पिलरमा तिथिमिति उल्लेख नभएको तर रविन्द्र सेतु ब्रिज नामको साइनबोर्ड टाँगिएको थियो । भारतकै ठूलो सहर कोलकाताको मुटुबाट बग्ने हुग्ली नदीमा पुल निर्माण गरिएको थियो । अति साँघुरो, जीर्ण, पुरानो पुललाई नयाँ हावडा पुलद्वारा विस्थापित गरिएको पनि रहेछ ।

यातायातका साधन र मानिसको पुलमाथि आवतजावत दर्शनीय थियो । पुलको पूर्वी किनारमा निर्मित आर्यनघाटमा दाहसंस्कार कर्म र पञ्चायती आश्रममा भजनकीर्तन एवं धार्मिक संवाद सुचारु थियो । सयौँ सिँढी ओर्लिएर आर्यनघाटको हुग्ली जलप्रवाहमा मोक्ष प्राप्तिको कामनासहित सामेल भयौँ । पितापुर्खाको नाममा नदीको जल सूर्यलाई चढाएर दुवै हात छातीमा थाम्दै तत्काल सुस्ताउँदाको आनन्द जीवनकै लागि कर्मसिद्धिको ऐश्वर्य क्षण साबित भयो । हुग्ली पुलको पश्चिमद्वारमा हावरा स्टेसन र कोतवाली सुरक्षा चौकी रहेछ । चौबिसै घन्टा पुलको हेरचाह तथा चोरी नियन्त्रण गर्न सुरक्षा गस्तीको बाक्लो उपस्थिति थियो ।

पुलको दुवैतर्फ उठाइएका दर्जनाैँ आकर्षक पिलर अर्को चमत्कार थियो । भीमकाय सयौँ छालसँगै कुर्लीकुर्ली हावाको लयमा जलको दृश्य बडो आकर्षक देखिन्थ्यो । वल्लो किनार र पल्लो किनारको पत्रे चट्टानलाई छालले बेतोडले हिर्काइरहेको देखिन्थ्यो । हुग्लीको चञ्चलता नव आगन्तुक पर्यटकको आँखामा अचानक बाढीको रहस्यमय किस्सा बन्दथ्यो । ज्वारको रूपमा सतह विपरीत माथि उठ्दै हुग्ली नदीको प्रवाह भित्रिने र निश्चित बिन्दुमा ठोकिएर भाटाको रूपमा सतह खुम्चिँदै पुन गङ्गा सागरतर्फ फर्किने सनातन मञ्चन नै रहेछ ।

हावडा पुल आर्यनघाटको व्यस्त दाहसंस्कार पद्धति दृश्यावलोकन पनि गरिरहेको थियो । दाहसंस्कार दिनचर्या, नदीको प्रवाहमय गति, जहाजको लर्कोको तमासा र आश्रमहरूको भजनकीर्तनको आवाज पुलमा सवार पर्यटक भूलभूलैयाका सौजन्य बनेका थिए । नेपाल र भारतका समग्र हिमनदीहरू गङ्गा नदीमा डोलिएर फरक्कामा आउने सनातन परम्परा नै हो । फरक्काबाट फाटेको एउटा हाँगो मेघना बुढी गङ्गाको रूपमा पूर्वतर्फ ब्रह्मपुत्रसँग मिलेर बङ्गालको खाडी शान्तिवनतर्फ लाग्ने रहेछ । अर्को हाँगो पश्चिम दायाँतर्फ हुग्लीको रूपमा कलकत्ता हुँदै गङ्गासागरतर्फ लाग्ने रहेछ । दुवै देशका हिमनदीहरूमा शिलालाई छालले कुँदेर शालिकराममा रूपान्तरण गर्ने एउटा मात्र पवित्र नदी कृष्णगण्डकीको नाम स्थापित रहेछ ।

सबैभन्दा पवित्र भागीरथी गङ्गामा यसरी कृष्णगण्डकीलाई सहायक नदीको मान्यता प्राप्त रहेछ । त्यही कृष्णगण्डकीको जल फरक्का वाँधबाट दुई धारमा गङ्गानदी फाट्दा दायाँ धारमा मिसिएको हुग्लीको पवित्रतालाई मान्यता प्राप्त रहेछ । कृष्णगण्डकीको जल पनि हुग्लीमा सामेल भई एकैसाथ गङ्गा सागरमा ओर्लिने भएकाले उक्त सागरको धार्मिक महìव रहेको हो । अन्यथा गङ्गा सागरको महिमा बढोत्तरी हुने थिएन । हुग्ली किनारका भजनकीर्तन आश्रमका विद्वान्हरूको संवादमा फुत्किएको यो रहस्यमय यथार्थ चाल पाउँदा अझ गर्वबोधसँगै मेरो शान बढ्यो । आफ्नै देश नेपालमा उत्पत्ति भई श्रद्धाकी प्रतीक भएर बग्ने कृष्णगण्डकीको महìव सम्झेर भावविभोर बनेँ ।

जम्मा एक घन्टाको हावडा पुलको बसाइ पनि टुङ्गिँदै गयो । हावडा पुलबारे छर्लङ्ग पढेँ । हावडाबाट पलायन हुने तरखरमा पूर्वीद्वारमाथिको हावाखोरी चाउकी दुम्कोले मन खिच्यो । उत्तर दक्षिण भएर बग्ने हुग्ली नदीको तीव्र प्रहावमय गति नियाल्दै र सिरसिरे बतास पिउँदै अमनचयन गर्ने अङ्ग्रेजकालीन आलिशान हावाखोरी महलहरू त्यही हुग्ली नदी पूर्वको चाउकी दुम्कोमा निर्मित रहेछन् । कुनै दिन कलकत्ताको नाभीस्थल कहलिएका पुरानो राजधानीका अवशेष महलहरू संरक्षण, संवद्र्धन, जीर्णोद्वार, अभावमा तत्काल सार्वजनिक शौचालयको दुरदशामा परिणत देखिन्थे । ती ऐतिहासिक धरोहरका प्रतीक महलहरू आज यसरी चर्पीमा परिणत भएको देख्दा पौराणिक संस्कारमा खारिएको भारतीय सभ्यता र दर्शनले मलाई तत्काल गिज्याएको भान भयो । बेवारिसे बनेर ती महलहरूबाट बहेको हावाको दुर्गन्ध छल्न नाकमा रुमालको बुजो कोचेर परपर भाग्यौँ । अनि प्रसिद्ध चिडियाखानालगायत दृश्यहरू अवलोकनमा सोझियौँ ।

लन्डनपछिको संसारकै दोस्रो ठूलो व्यवस्थित कोलकाताको चिडियाखाना ५३ एकड क्षेत्रफलमा विस्तारित भएको रहेछ । बाघ, बाँदर, हात्ती, भालुलगायत प्राणी स्वतन्त्रपूर्वक रमाएका थिए । यसपछि हामीले प्रसिद्ध काली मन्दिर दर्शन ग¥यौँ । पाकेटमारा, ठगी र पण्डाको चुरीफुरीबाट फुत्किन भने हम्मेहम्मे प¥यो काली मन्दिरमा । अनि कोलकाताको जीवन्त इतिहास मानिने विशाल जमिनमा फैलिएको बोधिवृक्षको अध्ययन अवलोकन ग¥यौँ । नेताजी शुभाषचन्द्र बोस स्टेडियम, राममनोहर लोहिया कम्पाउण्ड, बोटानिकल गार्डेन, मोहन चिया बगानको अवलोकनपछि अन्त्यमा रिपु सुल्तान विशाल शाही मस्जिद अवलोकन गरेर कलकत्ताको भ्रमण तु¥यौँ । दरबार शैलीको एकरूपतामा निर्मित महलहरूको आधारमा कोलकातालाई दरबार महलको सहर पनि भनिँदो रहेछ । चारैतिर व्यवस्थित हरियालीले घेरिएको कोलकाता हरियो तन्ना ओढेकी लज्जावती रूपमतीजस्तै लाग्यो ।

कोलकाताको विविधता तुरेर अन्त्यमा हरियो दुबोको काइना ओढेको खुला टुँडिखेल चउरको विश्राममा केहीबेर सुस्तायौँ । रूखैरूखको छहारी भित्रको खुला टुँडिखेल चउरको विश्राम क्षणमा यात्रु छक्याउने, जादू देखाउने, चटपटे चर्तिकलाले रनभुल्ल पा¥यो । बढ्दो यात्रु भीडले हेर्दाहेर्दै खुला चउर नै खचाखच भरियो । घरघरमा निसासिँदै खैँचिएका आम कोलकाताजनहरू दिनभरको गर्मीबाट छलिन यसरी अपराह्नतिर शीतल बहार पिउँदै खुला चउरमा झुल्किनु पनि स्वाभाविकै लाग्यो ।

पुरानो राजधानी कोलकाताका दुर्बल पक्षहरूमा भननन भन्किने हरिया माखाको टोकाइ, फोहोर पानी, दुर्गन्धित खाना, बाटो मिचेर गाडी पार्क गर्ने ज्यादती अब्बल अवगुण थिए । यसैगरी अरूको बेवास्ता गर्दै होहल्लामा कुर्लिने रूखो आवाजको आडम्बर संस्कारलाई साथ दिने हपहपिँदो प्रचण्ड गर्मी थियो । उकुसमुकुस मानिसको भीड थियो । कोलकाताको समग्रता तुरेपछि मिर्मिरे भोरमा पश्चिमी हावा पिउँदै हुग्ली नदीको पुल नाघेर सुदूर दक्षिणतर्फको तीर्थाटन सयरमा सोझियौँ । त्यो रातपछि अर्कोदिन जगन्नाथ पुरी बाबा र अर्को रात पछि झन् अर्को दिन तिरुपति बाबाको दर्शन गर्ने हाम्रो योजना नै थियो । यसरी हावडा पुलको चमत्कार दृश्यावलोकनपछि अन्य दृश्य पनि हामीलाई सन्तुष्ट दिलाउने कोलकाता भ्रमणका पूरक कोसेली साबित भए ।