शनिवार |

आफ्नो ठानी मन खोल्दा (कविता )

श्रीराम राई

आफ्नो ठानी मन खोल्दा उही मान्छे टाढा हुन्छ,
भन्न त भन्छन् अरू, दुःख पोख्दा आधा हुन्छ ।

हाँस्नुपर्ने रै’छ यहाँ मुटु जलाई–जलाई,
बाँच्नुपर्ने रै’छ यहाँ पीडा लुकाई–लुकाई ।
जानीजानी रुवाउने त आफ्नै नाता हुन्छ,
भन्न त भन्छन् अरू, दुःख पोख्दा आधा हुन्छ ।

आफ्नो प्रेम चोखो हुन्छ जसलाई पनि यहाँ,
आफ्नो पीडा ठूलो हुन्छ जसलाई पनि यहाँ ।
गुलाफको फूलसँगै विषतुल्य काँडा हुन्छ,
भन्न त भन्छन् अरू दुःख पोख्दा आधा हुन्छ ।