पोखरीको रङ (कविता)
देवराज खरेल
खुत्रुक्क खस्छ
मेरो मुटु
सुतिरहेको पोखरीमा
र भिजाउँछ निथ्रुक्क
फर्कने गर्छ चन्द्रमा
नुहाएर रातमा
टेकेर पोखरीमा
घामले आनन्द लिन्छ
प्रत्येक दिन
र, साँझ घर फर्कन्छ
देखेर आफ्नै प्रतिविम्ब
रमाउँछन् चराहरू
चुसेर पोखरी
एक हुल बादल
दौडन्छन् क्षितिजतिर
यो एउटा कोलाजभित्र
हुर्कने गर्छ
पे्रमिल जोडीहरूका
प्रेमका वाचा बन्धन
र, हरिया वृक्षहरू
मानौँ यो पोखरी होइन
लभ गुरु हो
मत्स्य न्यायालय छ
यहाँ न्याय गर्छन्
चुच्चोले फैसला लेख्छन्
सेतासेता न्यायाधीशहरू
आँखाले टपक्क टिपेर
पोखरीलाई
बायाँ छातीमा राख्दै हिँड्छन्
पदयात्रीहरू ।