आदिवासी ज्ञानको दस्तावेजीकरण
यमबहादुर दुरा
आधुनिकतासँगै भित्रिएको पश्चिमी विज्ञान र त्यसबाट निस्रित ज्ञानले हाम्रो जीवनशैलीलाई बहुधा सुखमय बनाएको छ । यसबाट मानव जातिको भौतिक उन्नतिको ग्राफ उकालो लागेको लाग्यै छ तर कतिपय प्राकृतिक विपत्तिका सामु आधुनिक समाज घुँडा टेक्न विवश छ ।
बाढीपहिरो, जल–वायु–भूमि प्रदूषण, जैविक विविधतामा ह्रास आदि आधुनिक समाजले भोगिरहेका जल्दाबल्दा जब्बर समस्या हुन् । यस्ता वातावरणीय समस्याहरूले आधुनिक युगको चमकधमकपूर्ण माहोललाई बिथोल्दै गएका छन् । समस्त पृथ्वीवासीसँग सीधै नाता गाँस्ने यस्ता समस्याले प्रतिपल बिरानो बन्दै गइरहेकोे परम्परागत ज्ञानलाई नवीकरण गरी व्यवहारमा उतार्नुपर्ने खाँचो अनुभूत गराएको छ ।
प्राकृतिक स्रोत–साधानको अधिक दोहन तथा असन्तुलित विकासको लहरले वातावरणीय गडबडीका घटनाहरू बढ्दै गएका छन् । यसबाट आधुनिक समाजको आँखैसामु वातावरणीय समस्याको पहाड खडा हुन पुगेको छ । यसले पनि परम्परागत ज्ञानको महìवबोध गराएको छ ।
परम्परागत ज्ञान मानव समुदायले हजारौँ वर्षदेखि व्यवहारमा उतार्दै ल्याएको र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको अनुभवसिद्ध ज्ञान हो, जुन प्रकृतिमैत्री हुन्छ भन्ने आमविश्वास छ । परम्परागत ज्ञानले प्रकृति र स्थानीय संस्कृतिसँग आत्मीय सम्बन्ध कायम गरेको हुन्छ । यसो हुँदा मानव र प्रकृतिबीच अस्वाभाविक द्वन्द्व हुँदैन भन्ने विश्वास गरिन्छ ।
परम्परागत ज्ञानको यिनै गुणग्राही पक्षहरूलाई हृदयङ्गम गरी पत्रकार कुमार यात्रुले ‘परम्परागत आदिवासी ज्ञान’ पुस्तक सार्वजनिक गर्नुभएको छ । नेपालका आदिवासी जनजाति समुदायले परम्परागत ज्ञानलाई कसरी व्यवहारमा उतार्दै आएका छन् ? वर्तमानमा तीव्र विलोपीकरणको नियति भोगिरहेको परम्परागत ज्ञानको संरक्षण र संवद्र्धनमा के गर्नुपर्छ ? यी प्रश्नहरूलाई केन्द्रबिन्दुमा राखेर कृतिकारले अनेकन पठनीय विवरण पेस गर्नुभएको छ ।
यसक्रममा कृतिकारले चेपाङ, तामाङ, शेर्पा, लिम्बू, नेवार, मगर, राई, राउटे, गुरुङ, थारू, छन्त्याल, डोल्पो, शेर्पा, माझी, ह्योल्मो, पहरी आदि समुदायमा प्रचलित परम्परागत ज्ञानसँग जोडिएका प्रथा, चालचलन र गतिविधिलाई सान्दर्भिक दृष्टान्तसहित पाठकसमक्ष पस्कने प्रयत्न गर्नुभएको छ ।
पुस्तकमा नेपालका आदिवासी जनजाति समुदायले अभ्यासमा ल्याएका खर्क तथा चरिचरण प्रणाली एवं पानी, कुलो तथा जलाधारको व्यवस्थापनबारे चर्चा गरिएको छ । यसैगरी, कृषि प्रणाली, मेलापर्म, शिकार खेल्ने सीप, परम्परागत ग्रामीण अर्थतन्त्र, हस्तकला, झाँक्री प्रथा, जडीबुटी तथा परम्परागत उपचार–पद्धतिबारे रोचक जानकारी अघि सारेर व्याख्या–विश्लेषण गरिएको छ ।
उदाहरणका लागि आदिवासी ज्ञानले प्राकृतिक स्रोत–साधनलाई मासिने गरी उपयोग गर्न अनुमति दिँंदैन । प्राकृतिक स्रोतलाई नयाँ पुस्तकका लागि पनि साँच्न सिकाउँछ । आदिवासी समुदायले सिकार गर्दा पोथी वा माउलाई मार्दैनन् । फुल पार्ने समयमा पनि माछा मारिँदैन । यस प्रकारको प्रकृतिमैत्री अभ्यास खोलामा विषादी प्रयोग गर्ने तथा विस्फोटक पदार्थ पड्काएर जलीय पारिस्थितिक प्रणाली ध्वस्त पार्ने घातक र स्वार्थी प्रवृत्तिका लागि घुमाउरो तरिकाको युगीन पाठ हो ।
पुस्तकमा आदिवासी ज्ञानसम्बन्धी सैद्धान्तिक तथा नीतिगत अवधारणालाई केलाउने प्रयत्न गरिएको छ । जलवायु परिवर्तनले आदिवासी समुदायलाई पारेको प्रभावबारे पनि चर्चा गरिएको छ । यसका अतिरिक्त परिशिष्ट खण्डमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिसँग जोडिएका दस्तावेजहरूलाई समावेश गरिएको छ । यसबाट आदिवासी ज्ञानसम्बन्धी कानुनी प्रावधानहरूबारे जान्ने र मनन गर्ने अवसर मिल्छ ।
पुस्तकमा वर्णित आदिवासी समुदायमा प्रचलित परम्परागत कृषि प्रणालीबारे अध्ययन गरिरहँदा विकासे बालीनाली भित्रिनाले रैथाने बीउ मासिँदै गएको, यसबाट किसान वर्ग नजानिँदो किसिमले परनिर्भर हुँदै कङ्गाल बन्ने बाटोतिर लागेको, बढी नाफा कमाउने लालसाले आदिवासी ज्ञानलाई अपहेलना गर्दै रासायनिक मल प्रयोग गर्दा माटो र मानिसको स्वास्थ्य चौपट हुन थालेका जस्ता वर्तमान युगले भोगिरहेका समस्यातर्पm पनि मन दौडिन थाल्छ ।
पुस्तकको सुरुदेखि अन्त्यसम्म नजर दौडाउँदा नेपालमा आदिवासी ज्ञानको अवस्थाबारे पाठकको मस्तिष्कमा एउटा नयाँ चित्र कोरिन पुग्छ । अनि, मौखिक वृत्तान्तमा मात्र बाँचेका परम्परागत ज्ञानलाई अभिलेखीकरण गरी नयाँ पुस्तालाई रैथाने ज्ञान हस्तान्तरण गर्ने कृतिकारको सत्प्रयासलाई सलाम गर्न मन लाग्छ ।
आदिवासी ज्ञान विलोपीकरणको दिशातर्पm उन्मुख हुनुको कारण खोतल्दै कृतिकार टिप्पणी गर्नुहुन्छ, ‘‘आदिवासी जनजातिप्रति सरकारको असहिष्णु नीति, विश्वव्यापीकरण, बजारमुखी अर्थतन्त्र तथा सामाजिक सांस्कृतिक औपनिवेशक प्रभावका कारण यसप्रकारका ज्ञानहरू लोप हुँदै गएका छन्’’ (पृ.५९) ।
आदिवासी ज्ञानको गङ्गा प्रत्यक्ष वा परोक्ष रूपमा आध्यात्मिकता, सांस्कृतिक इतिहास र राजनीतिसँग जोडिएको हुन्छ । यस्ता एकअर्कामा अन्तरसम्बन्धित विषयमा कृतिकारले धेरथोर चर्चा गरे पनि धित् मर्ने गरी विषयवस्तुलाई उधिन्न भने नभ्याएका हुन् कि भन्ने प्रतीत हुन्छ । देशको कुल जनसङ्ख्याको लगभग ३६ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजाति समुदायमा प्रचलित परम्परागत ज्ञानलाई केन्द्रीय विषय बनाएर कृति तयार पारिएको हो । आफ्नो अध्ययन क्षेत्रको दायरा निर्धारण गर्दा आदिवासी ज्ञानलाई अन्य ज्ञानसँग झिनो रूपमा तुलनात्मक अध्ययन गरिएको भए पनि व्यापकस्तरमा ज्ञान भिडाउने काम भएको देखिन्न, जुन यस कृतिको कमजोरी मान्न सकिन्छ । आदिवासी ज्ञानलाई एकतिर परम्परागत ज्ञान, परम्परागत इकोलोजिकल ज्ञान, मौलिक विज्ञान (नेटिभ साइन्स), सामुदायिक ज्ञान, स्थानीय ज्ञान, लोक ज्ञान (फोक नलेज), किसानको ज्ञान, निःशब्द ज्ञान (ट्यासिट नलेज) जस्ता फरक–परक नामबाट चिन्ने गरिएको पाइन्छ भने अर्कोतिर कतिपय अवस्थामा यिनीहरूलाई बेग्लाबेग्लै ज्ञानका रूपमा बुझ्ने र सोहीअनुसार व्याख्या गर्ने चलन पनि छ । यस द्विविधापूर्ण अवस्थालाई चिर्न कृतिकारको आफ्नो मौलिक विश्लेषणात्मक दृष्टिकोण पनि आउनुपथ्र्यो ।
यहाँनेर, पुस्तकको प्राविधिक पक्षबारे पनि केही चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । पुस्तकको हरेक अध्याय सन्दर्भ–सूची दिएको छ, जसबाट प्राज्ञिक पुट मिलेको छ तर सन्दर्भ–सूची त्रुटिविहीन भने छैन । सन्दर्भ–सूचीले निश्चित शैली र व्याकरण अनुसरण नगरेकाले कताकता खल्लो अनुभव हुन्छ ।
पुस्तकमा अर्को पनि टिप्पणी गर्नलायक विषय छ । धेरै मिहिनेत गरेर पुस्तक तयार पारिएको छ । सन्दर्भ–सूची दिइसकेपछि अनुक्रमणिका (इन्डेक्स) राख्न कञ्जुस्याइँ नगरेको भए यसको ओज अझ बढ्ने थियो भन्ने सचेत पाठकलाई लाग्नसक्छ । पुस्तकमा बाक्लै भेटिने भाषिक अशुद्धिले पटक पटक आँखा बिझाउँछ ।
यति हुँदाहुँदै पनि पुस्तकले आधुनिकताले रजगज गरेको युगमा पनि परम्परागत ज्ञान, सीप र अनुभव उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण हुनसक्छ भन्ने अनुभूत गराएको छ । परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्ने, नीति निर्मातालाई झक्झक्याउने र नयाँ पुस्तालाई परम्परागत ज्ञानतिर अभिमुखीकरण गर्ने लेखकको प्रयत्न स्तुत्य छ । इन्डिजिनियस मिडिया फाउन्डेसनले प्रकाशन गरेको यस पुस्तकको मूल्य ३९८/– रुपियाँ रहेको छ ।