सद्भावना दूत बन्ने मोह
राजन घिमिरे
कलाकारले नाम कमाइसकेपछि दाम कमाउन अभिनयमा मात्र भर पर्नु पर्दैन । अन्य क्षेत्रमा पनि संलग्न हुन सक्छन् । आफ्नो चर्चा र ख्यातिलाई कमाइको आधार बनाउन सक्छन् । यसको पछिल्लो र गतिलो उदाहरण बनेको छ– सद्भावना दूत (ब्रान्ड एम्बेस्डर) । कुनै पनि संस्था वा वस्तुको सद्भावना दूत भएर यतिबेला केही कलाकारले राम्रो कमाइ गरिरहेका छन् ।
कलाकारलाई सद्भावना दूत बनाउँदा संस्था वा वस्तुको प्रवद्र्धनमा सहयोग पुग्ने भएर कलाकारलाई यसमा नियुक्त गरिएको हो । खानेकुरा, पहिरन, निर्माण सामग्री उत्पादन गर्ने कम्पनी तथा शैक्षिक तथा विभिन्न संस्थाले कलाकारलाई यसमा नियुक्त गर्ने होडबाजी नै चलेको छ ।
मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी, राजेश हमाल, मनीषा कोइरालाजस्ता पुराना मात्र होइनन्, अनमोल केसी र उपासनासिंह ठकुरीलगायत नयाँ पुस्ताका कलाकार पनि अहिले सद्भावना दूतका रूपमा विभिन्न सङ्घसंस्थासँग आबद्ध हुनुहुन्छ । कलाकारलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने इतिहास नेपालमा त्यति लामो छैन । पछिल्लो समय मानिस सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि यही वर्गलाई ध्यानमा राखेर कलाकारलाई सद्भावना दूत बनाउँदै वस्तु तथा सेवा उपलब्ध गराउने संस्थाले आफ्ना कुरा राख्न थालेका हुन् ।
अभिनेता राजेश हमाल साथी मार्टको, अर्का अभिनेता अनमोल केसी एम्पाएर ऐजुकेसन एन्ड भिसा सर्भिसेसको, अभिनेत्री उपासनासिंह ठकुरी ऐजुकेसन एन्ड माइग्रेसन कर्नरको र प्रदीप खड्का प्रभु बैङ्कको सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको छ । उहाँहरूबाहेक अन्य कलाकार र सङ्गीतकर्मी पनि विभिन्न सङ्घसंस्था र उत्पादनसँग जोडिएर बजारमा छाइरहनुभएको छ ।
विशिष्ट पहिचान बनाइसक्नुभएका कलाकारलाई सद्भावना दूत बनाउँदा बजारमा आफ्नो संस्था र उत्पादनले चर्चा पाउने अनुभव सम्बन्धित संस्थाको छ । सद्भावना दूतको भूमिका निर्वाह गर्नुहुने कलाकार पनि आर्थिक रूपमा मात्र फाइदा नभएर दर्शकमाझ सजिलो तरिकाले पुग्न सकिने माध्यमका रूपमा यसलाई लिनुहुन्छ ।
अभिनेता राजेश हमाल आफू सद्भावना दूत बन्ने संस्थाको विगत र ख्याति हेरेर मात्र दूत बन्ने कुरा बताउनुहुन्छ । अभिनेता अनमोल केसीसँग भने सद्भावना दूत बनेको अनुभव धेरै छ । पछिल्लो समय उहाँ एम्पाएर ऐजुकेसन एन्ड भिसा सर्भिसेसको सद्भावना दूत बन्नुभएको छ । केसीले भन्नुभयो, “यो संस्थालाई मैले पहिलोदेखि चिनेको हुँ । अस्ट्रेलियादेखि नेपालसम्म यसले नेपाली विद्यार्थीमा पारेको सकारात्मक प्रभावकै कारण म यो संस्थाको दूत बन्न तयार भएको हुँ ।”
अभिनेत्री उपासनासिंह ठकुरी पनि शैक्षिक क्षेत्रकै सद्भावना दूत बन्नुभएको छ । एजुकेसन एन्ड माइग्रेसन कर्नरले उपासनालाई दोहो¥याएर सद्भावना दूतका रूपमा नियुक्त गरेको हो । “हाम्रो संस्थामा उपासनाको आबद्धतालाई विद्यार्थीले सकारात्मक रूपमा लिनुभएकाले उहाँलाई हामीले पुनः नियुक्त गरेका हौँ,” संस्थाका प्रमुख सुनिल उप्रेतीले भन्नुभयो । प्रभु बैङ्कको उद्देश्यसँग सहमत भएर नै आफू यो बैङ्कसँग जोडिएको अभिनेता प्रदीप खड्काले बताउनुभयो । खड्काको आबद्धताले बैङ्कप्रति युवा पुस्ताको आकर्षण बढेको बैङ्कको ठम्याइ छ ।
सद्भावना दूत बनेर कुनै वस्तु तथा सेवाको सार्वजनिक वकालत गर्नु साधारण कुरा होइन । भोलि आफू दूत भएको संस्थाले कुनै खराब काम ग¥यो भने कलाकारको ख्यातिमा पनि नराम्रो दाग लाग्न सक्छ । त्यसकारण कलाकारले आफू दूत बनेको र बन्न लागेको संस्था वा उत्पादनका बारेमा गहिरो अध्ययन गर्नुपर्ने अवस्था भने छ । यसतर्फ कलाकार सजग हुनुपर्ने देखिन्छ । “मलाई दूतका लागि धेरै प्रस्ताव आउँछन् तर आएका सबै प्रस्ताव स्वीकार्दिनँ । सबै बुझेर मात्र म अगाडि बढ्छु,” अभिनेता राजेश हमालले भन्नुभयो । उहाँ अरू कलाकारलाई पनि यस्तै सुझाव दिनुहुन्छ ।
विशेष गरेर मदिराजन्य उत्पादनको दूत बन्ने कलाकारलाई भने दर्शकले मन पराएको पाइएको छैन । मदिरा वा यस्तै प्रकारका उत्पादनको दूतका रूपमा देख्दा प्रशंसकको मन खिन्न हुनु स्वाभाविक नै हो । कलाकारको बोली र उपस्थितिलाई आफ्नो वस्तु तथा सेवासँग जोडेर प्रचारप्रसार गर्ने कार्यलाई खराब भन्न मिल्दैन । नेपालमा मात्र होइन, बलिउड र हलिउडका कलाकारले पनि सद्भावना दूतका रूपमा आबद्धता जनाउँदै आएका छन् ।
कोरोना महामारीका कारण चलचित्रको काम नहुँदा कलाकार हात खाली बस्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा विभिन्न संस्थाले दूतका रूपमा आबद्ध हुने अवसर दिँदा कलाकारले राहत महसुस गरेका छन् । कोरोना महामारीकै बीचमा अनमोल केसी छवटाभन्दा बढी ब्रान्डको दूत बन्नुभयो । चलचित्रमा काम गर्दा छायाङ्कन, स्वराङ्कन अनि चलचित्रको प्रचारप्रसारमा दौडधूप गर्दा समय धेरै लाग्ने र सक्रियता बढाउनु पर्छ तर दूत बन्दा धेरै समय दिनु पर्दैन । एक पटक कार्यक्रमको उदघाटन, एउटा फोटो सुट अनि एक वा दुईवटा ३० सेकेन्डदेखि एक मिनेटसम्मको टेली विज्ञापनमा काम गरे पुग्छ । सिनेमामा काम गरेको पारिश्रमिक लिन वर्षौं कुर्नुपर्छ तर सद्भावना दूत भएर काम गर्दा पारिश्रमिक तुरुन्तै हात पर्छ । त्यसमाथि मिडियामा विज्ञापनमार्फत छाइरहन पनि पाइन्छ । त्यसैले सद्भावना दूत बन्न कलाकारमा मोह बढेको देखिन्छ । सद्भावना दूत भएर काम गर्दा पाँच लाखदेखि २० लाख रुपियाँसम्म कलाकारले पारिश्रमिक पाउँछन् । रकम कति लिने भन्ने कुरा ब्रान्ड र संस्था हेरेर तय हुन्छ ।