तन्मयतासाथ चिया पिउँदा
देवेन्द्र गौतम
दुःस्वप्नसँग लड्दालड्दै रात छर्लङ्ग बित्यो । संयोग नै भनुँ, त्यो योग दिवसभन्दा एक दिनअघिको रात थियो । कहिलेकाहीँ सोच्छु, दुःस्वप्नले किन यति धेरै विचलित पार्छन्, मजस्ता नश्वर चोलालाई ?
यो दुःख–सुखको चक्र अनवरत छ, आफ्नो भागमा शायद अलि धेरै दुःख पो छ कि त ? तर जीवन दुरुह छ भन्दैमा विचलित हुने उमेर गएन र भन्या ? कति व्यथित भइरहने ? निको नहुने गरी कति पुरानै घाउ कोट्याइरहने ? आफँैलाई सोध्छु ।
सम्झाउन खोज्छु– जीवन भ्रम हो, यो अनित्य छ, मैले बाँचेको जीवन कुमालेको चक्रजस्तो घुमिरहने अनवरत जीवन–मृत्यु चक्रको एक फन्को मात्रै त हो । मथिङ्गल रिँगाउने गरी अझ कति फन्को लगाउनुपर्ने हो । अझै फेरिस ह्विल (रोटेपिङजस्तै) चढ्दा नै कति डर लाग्छ आफूलाई । सोच्दाखेरि नौनाडी गल्लान्जस्तो हुन्छ । पूर्वीय दर्शनलाई आधार मान्ने हो भने त मानिस भएर जन्मनुअघि ८४ लाख जुनी पार गर्नुपर्छ रे ! चौरासी लाख जीवन ? कति वर्ष लाग्दो हो ८४ लाख जीवन बाँच्न ? हाँडीमा मकै भुट्दा फूल उठेझैँ जीवन र जगत्सम्बन्धी अनेकानेक प्रश्न उठेर तपाईंको मस्तिष्कलाई क्षणभरमै तताउन सक्छन् ।
हुन त पङ्क्तिकारको पूर्वीय र पश्चिमा दर्शनबारेको ज्ञान ज्यादै छिपछिपे छ, त्यो प्रज्ञाको तहमा पुग्न त कति प्रकाश वर्ष लाग्छ होला ? हिसाब गरी साध्य छैन कि ? यो प्रश्न विज्ञजनलाई छोडिदिऊँ । यस लोकमा सहज बुद्धि ज्यादै दुर्लभ छ – कमनसेन्स इज सो अन्कमन ।
त्यही सहज बुद्धिको सहारा लिएर पनि केही कुरा भन्न सकिन्छ । केही पूर्वजन्मको ज्ञान शेष होला, केही आनुवांशिक चेत होला । प्रकृतिलाई नियाल्दा देखिन्छ, कति जीवको आयु ज्यादै छोटो हुन्छ । लामखुट्टे कति दिन बाँच्छ होला ? गुगल गर्दा थाहा लाग्यो, छ÷सात दिन । पुतलीको एक प्रजाति, मोनार्क बटरफ्लाइ, सातदेखि नौ महिनासम्म बाँच्छ भनिन्छ । झिँगा १५ देखि ३० दिनसम्म बाँच्छ । चिडियाखानामा पालिएका अफ्रिकी ढोईहरू औसत १७ वर्ष बाँच्ने अध्ययनले देखाएका छन् तर ढोईहरू चिडियाखानामा भन्दा निकुञ्जमा धेरै वर्ष बाँच्ने गरेको अध्ययनको निष्कर्ष छ । स्पष्ट छ, वातावरणीय परिस्थिति, जीवनको गुणस्तरले पनि जीवको आयुमा असर गर्छ । दुई दिनको जिन्दगी भन्दै सय वर्ष नाघ्न खोज्ने हामीलाई पनि यो चौरासी लाख जुनीको अवधारणा यथार्थभन्दा त्यति पर छैन जस्तो लाग्छ, कि लाग्दैन होला ? गाह्रो भो ? हजम भएन ? मलाई पनि त्यस्तै भइरहेको छ । गणेशजस्तो वक्ता र वेदव्यासजस्तो लेखक भइदिएको भए त यस सम्बन्धमा ससानो ग्रन्थ नै लेख्नुहुन्थ्यो ।
रुघाखोकीले ग्रस्त पारेको छ । यस्तो अवस्थामा यो मस्तिष्क–ब्रह्माण्ड निमेषभरका लागि नै भए पनि शिथिल भइदिए कति आराम हुँदो हो ? महाव्याधिग्रस्त यस समयमा आफ्ना समस्या, आकाङ्क्षाका पोका–पुन्तुर यतै कतै छोडेर, आफू चाहिँ उच्च चेतना भएर, त्रितापमुक्त भएर त्यस्तै कुनै उच्च स्थानबाट यो जीवन र जगत्लाई निरपेक्षभावले हेर्न पाए कति जाति हुँदो हो ?
आहा, हिलोमाथि कमल फुल्न पाए कति राम्रो हुँदो हो ? यस्तै सोच्दै थिएँ, कालो चिया ल्याइदिए । चिया तातो थियो, प्यालाभित्रबाट बाफको ससानो मुस्लो उडिरहेको थियो । सोचेँ, आज एकमनले चिया पिउँछु । अर्थात् चिया पिउञ्जेल मोबाइल फोन चलाउँदिनँ । आधा मनले कम्प्युटर चलाउँदिनँ । मस्तिष्कमा भूकम्प ल्याउने किसिमका कुनै च्यानलका कुरा सुन्दिनँ । आज चिया पिउञ्जेल कसैसँग पनि देशका, विश्वका, वैश्विक महामारीका, गिर्दो राष्ट्रिय अर्थतन्त्रका, बढ्दो बेरोजगारीका, भ्रष्टाचारका, अशान्तिलगायतका यावत् जल्दाबल्दा विषयमा कुरा गर्दिनँ । आज चिया पिउञ्जेल चिया मात्रै पिउँछु, अन्य कुनै गोरखधन्दा गर्दिनँ ।
माइन्डफुलनेस यसैलाई भन्छन् शायद । आफ्नो चेतना स्तरको तन्मयतासाथ चिया पिउन थालेँ सुरुप्प सुरुप्पको आवाज सुन्दै । चियाको तातोपना जिब्रोले अनि आँतले अनुभव गर्दै । यस्तो कर्म गर्दै गर्दा प्रज्ञाचेतको मधुरो झिल्को हुँदो रहेछ कि जस्तो पो लाग्न थाल्यो । चियाका चुस्कीसँगै शून्यले कानेखुसी गरेजस्तो लाग्यो, किन व्यर्थ चिन्ता गर्छौ ? भोलि कसले देखेको छ र ? जसरी सुखका दिन बितेर गए, त्यसरी नै बितेर जानेछन् दु:खका दिन पनि । किन बोक्न नसक्ने बोझ बोकेर हिँडिरहेछौ ? ट्रावल लाइट । जति गफ लगाए पनि एउटा ठगी भने नगरी धरै पाइन । आज किन किन कपबाट उठिरहेको बाफलाई पछ्याउन मन लाग्यो । बाफसँग उड्दै गएँ । अनि थोरै ज्ञान प्राप्त भएजस्तो लाग्यो । जीवनरस पिउँदापिउँदै कुनै दिन ‘म’ पनि एक दिन चियाको बाफजस्तै धुवाँ हुनेछु, जलेर खरानी हुनेछु । प्यालाको पिँधमा रहेको चियापत्तीको अवशेषजस्तै । म पनि कुनै दिन पञ्चतत्त्वमा विलिन हुनेछु । यो तेरो–मेरोलगायतका तमाम पोकापुन्तुरा सब छोडेर । प्याला रित्याइसकेको धेरै समयसम्म पनि जीवन र जगत्सम्बन्धी नानाथरी सोचले रन्थन्याइरह्यो त्यो दिन । अझ तन्मयतासाथ चिया पिउने मेरो प्रयास जारी छ । खै कहाँसम्म पुगिन्छ, हेरूँ । अकिञ्चनको निःशुल्क सुझाव छ, चिया पिउने गर्नुभएको छ भने तन्मयतासाथ पिउनुस् है !