मस्कोका ती दिन
विनोद दीक्षित
सन् १९६९ सेप्टेम्बरको अन्त्यतिर म र प्रदीप आचार्य (लामो समयसम्म सिहंदरबार पुनर्निर्माण आयोजनाका प्रमुख, हालः दिवङ्गत) मस्कोको पढाइ सिध्याइ तासकन्द, कराँची, ढाका हुँदै हवाईजहाजबाट काठमाडौँ फक्र्यौं । मस्कोबाट घण्टौँ लगाएर तासकन्द पुगेपछि त्यहाँ दुई घण्टाको विश्रामपछि राति कराँची आयौँ । कराँचीमा राति होटलमा बसी दिउँसो २ बजेको उडानबाट ढाका जानु थियो । तसर्थ हामीले आफ्ना सामान सबै झिक्यौँ । एउटा सुरक्षा अधिकारी आएर यी सामान तपाईंले सहरभित्र लैजान पाउनुहुन्न भन्दै डिपोजिट गर्ने ठाउँ देखाइ दियो । हामीसित अतिरिक्त सामान भनेको १६ बोरको बन्दुक र भक्सवैगन गाडीको पार्टपुर्जा थियो । त्यो ठाउँमा सामान डिपोजिट ग¥यौँ । त्यहाँका मानिसले बन्दुक आफैँसित लैजान पाइँदैन, हामी काठमाडौँ पठाइदिन्छौँ भनेपछि हामीले डिपोजिट गरेको रसिद लियौँ ।
एयरलाइन्सलाई कहाँ बस्ने भनेर सोधेपछि होटलको कार्ड र एउटा चिठी हामीलाई दिइयो । त्यसपछि सलवार कुर्था लगाएर दारी पालेका र पगडी लगाएका पठानीहरूले हामीलाई घेर्दै ‘एक डलरमा सात देगे’ अनि अर्कोले ‘हम आठ देगे’ तेस्रोले ‘आठ देगे और हमारा ट्याक्सीमे मुफतमे होटलतक छोड देगे’ भन्न थाले । एउटाले दस दिने र होटलसम्म छाडिदिने भनेपछि हामी त्यही पठानीसँग लाग्यौँ । चालक र अर्को ती दुवै डरलाग्दा देखिन्थे । होटल नपुग्दै अन्धकार भएको ठाउँमा ट्याक्सी रोकेर ‘निकालो डलर’ भनी चालक छेवैमा बस्नेले भन्यो । हत्तपत्त प्रदीप आचार्यले पाकेटबाट २० डलर झिकेर दिनुभयो । तिनीहरूले एक सय रुपियाँ मात्र दिए । मैले ‘आप तो १० देंगे बोले थे तो हमको २०० मिलना चाहिए’ भनी के भनेथँे प्रदीपले मलाई बेस्सरी चिमोट्नुभयो । ‘इतना ही मिलेगा’ भनेपछि हामीले प्रतिवाद गरेनौँ । हामी दुवै ती भूसतिघ्रे पठानीहरूसित डराएका थियौँ ।
होटल आयौँ । चारवटा भोड्काको बोतल भएको प्लास्टिकको झोला प्रदीपसित थियो । ट्याक्सीबाट बाहिर निस्कदा प्रदीपको हातबाट झोला झ¥यो । चारवटै बोतल फुटे । होटलमा काम गर्नेहरूले हत्तपत्त एउटा बाटाजस्तो भाँडो लिएर आए र दुवै हातले बगेको भोड्कालाई त्यसमा हाल्न थाले । प्रदीप अत्यन्त डराउनुभएको थियो ।
भोलिपल्ट साँझ हामी ढाका पुग्यौँ । हामीलाई २४ घण्टाका लागि पूर्वानी भन्ने होटलमा राखियो । बिहान मात्र काठमाडौँ उडान भएकोले अर्को तीन दिनपछि मात्र उडान थियो । एयरलाइन्सले २४ घण्टाभन्दा बढी नराख्ने भएकोले हामी राघव धिताललाई खोज्न निस्क्यौँ । उहाँ मेडिकल इन्स्टिच्युटको छात्र तथा रामप्रसाद श्रेष्ठको अभिन्न मित्र हुनुहुन्थ्यो । रामप्रसाद श्रेष्ठ (वरिष्ठ चिकित्सक, हाल ः दिवङ्गत) ले राघव धितालको नाममा चिठ्ठी पनि लेखिदिनु भएको थियो । दुई रात हामी ढाकामा नेपाली छात्रहरूमाझ रह्यौँ । उहाँहरूले हामीलाई सौहार्दपूर्ण स्वागत गर्नुभयो ।
हामी प्याट्रिस लुमुम्बा विश्वविद्यालयमा पढ्थ्यौँ । हामी त्यहाँ पढ्न जाँदा सुवर्ण विक्रम थापा र उमेश झा विमानस्थलमा लिन आउनुभएको थियो । पछि उहाँलगायत अन्य अग्रज छात्रहरूले हाम्रा सबै काम दोभाषे भएर गरिदिनु भयो । तीन दिनसम्म शरीरका अङ्गप्रत्यङ्गको स्वास्थ्य परीक्षण, रगत इत्यादिको लेबोरेटोरी परीक्षणदेखि स्टाइपेन्स दिलाउने र लुगाफाटो मिलाउनेसम्मका लागि उहाँहरूमध्ये कोही न कोही हामीसित रहने गर्नुहुन्थ्यो कक्षा छाडेर भए पनि । मेरो स्वास्थ्य परीक्षण गरिँदा सुवर्णविक्रम थापा हुनुहुन्थ्यो । उहाँसम्बन्धी ‘स्व. सुवर्ण विक्रम थापा स्मृति विशेषाङ्क’मा मेरो लेख छ ।
हाम्रो विश्वविद्यालयमा रेक्टरलगायत डिनहरूले २४ देशका छात्रछात्रामध्ये सुवर्णविक्रम थापालाई सबभन्दा मानसम्मान र आदर गर्थे । त्यसैले त पटक पटक छात्रहरूको प्रतिनिधिमण्डल समाजवादी देशहरू वा अन्य कतै जाँदा नेतृत्व सुवर्णविक्रम थापा गर्नुहुन्थ्यो । शङ्करराज अर्याल (पहिले हिमाल सिमेन्ट उद्योगको का.मु. महाप्रबन्धक) लाई चाहिँ प्रशासकहरू र विशेषगरी लुमुम्बा हस्पिटल (क्लिनिक) का डाक्टर र नर्सहरूले सबैभन्दा बढी माया गर्थे । अलिकति रुघाखोकी लाग्नेबित्तिकै डाक्टरहरू उहाँलाई अस्पतालमै राख्थे पूर्ण रूपमा ठीक नहुन्जेलसम्म । उहाँ वर्षमा चार पाँच महिना क्लिनिकमै बस्नुहुन्थ्यो । त्यहीँको खाना र फलफूल खानुहुन्थ्यो । उहाँका लागि पढ्न टेबुलकुर्सीको बन्दोवस्त हुन्थ्यो । उहाँसित पैसा जोगिन्थ्यो अनि हामीहरूसित पहिल्यै पैसा सिद्धिएको हुन्थ्यो । उहाँलाई फकाइफुलाइ सापटी भनेर माग्थ्यौँ, जो हामीले कहिल्यै तिरेनौँ ।
सोभियत नागरिकहरूलाई महिनाको ४० रुबल दिइन्थ्यो भने विदेशी छात्रहरूलाई ९० रुबल । आधाभन्दा पनि कम रकम अर्थात् ४० रुबलमा रुसीहरूले राम्रैसित गुजारा गरेकै थिए भने विदेशीहरूका निम्ति ९० रुवल खानपान र लुगाफाटो आदि सबै निम्ति पुग्थ्यो तर हामी नेपालीमध्ये अधिकांशलाई भने अपुग हुन्थ्यो ।
मस्को पुग्नेबित्तिकै एउटै कोठामा म, धरानका कृष्णगोपाल शाक्य र रुसी इभान बस्यौँ । एक पटक कृष्णगोपाल शाक्यले कुनै छात्रसित मागेर गुन्द्रुक ल्याउनुभयो । उहाँले पकाउँदा मैले साथ दिएँ र अरू खानेकुरा पकाउनका लागि काट्कुट गर्नेलगायत यताउताका काममा म लागेँ । त्यो गुन्द्रुकको खार यति भयङ्कर रूपमा आयो कि ५०/६० जना छात्रहरू र होस्टल वार्डेन कराउँदै कोठानेर आइपुगे र त्यो पकाउन बन्द नै गराए । पकाउन लागेको गुन्द्रुक हामीले ती सबैको उपस्थितिमा फाल्यौँ ।
त्यसैगरी एक पटक हामी केही नेपालीहरूबीच नेपाली खाना बनाएर खाने विचार आयो । प्रमोद बारानिना (भेडाको मासु) शब्द बारम्बार घोकेर किन्न जानुभयो । बारानिना भन्नुको साटो उहाँले गभ्याजिना (गाईको मासु) भन्नु भएछ । हेर्दा भेडाको मासुजस्तो नलागेपछि के ल्याएको भनेर सोध्दा उहाँले ‘गभ्याजिना’ भन्नुभयो । उहाँ पनि भन्न झुक्किनु भएछ किनभने हामी मस्को गएको एक महिना पनि भएको थिएन र भाषा हामीलाई आउँदैनथ्यो । जनवरी २ तारिखमा हाम्रो एक सेमेस्टरको जाँच सुरु भएर १० तारिखमा सिद्धियो । हाम्रो कोठाको रुसी साथी इभानले १५ दिनको जाँचपछि छुट्टीमा आफ्नो घर रिगा जान हामीलाई बारम्बार भनिरहेका थिए । हामीले हुन्छ भनेका थिएनौँ । त्यसैले उहाँ जाँच सिद्धिनेबित्तिकै जानुभयो । बिदामा विश्वविद्यालयले नै सहुलियत दिएर विभिन्न सहर १०÷१५ दिनका लागि घुमाउने गर्दो रहेछ । आफूले जम्मा १० रुबल तिरे हुने तर हामीले भने तोकिएको म्यादमै नाम नलेखाएकाले आफूले रोजेको सहरमा जान पाएनौँ । अनि मैले र कृष्णगोपाल शाक्य (त्रिविका प्राध्यापक) ले इभानकै सहर रिगा (हाल स्वतन्त्र देश लात्भियाको राजधानी) जाने विचार ग¥यौँ र गयौँ पनि । ठेगाना हामीसित भएकोले घर पत्ता लगाउन कठिन भएन ।
इभानको घरमा बाबु, आमा र एउटी बहिनी थिइन् । पुगेकै रात हो, हाम्रो सम्मानमा विभिन्न रुसी परिकारसहितको भोज आयोजना गरियो । सबै परिकार एकै ठाउँमा राखिएको हुन्थ्यो । अनि आफूलाई मन लागेको कुरा आफैँले झिकेर खाने । इभानका बाबुले सबैको गिलासमा भोड्का हाल्नु भयो । हामी छ जनाले नै गिलास एकअर्कासित जोड्दै चियर्स ग¥यौँ । इभानका बाबुले पिउनुअघि सबैले एक सासमै सिध्याउनुपर्ने भन्ने निर्देशन दिनुभयो । सकिनसकी मैले सिध्याएँ । सबैले थपडी बजाए किनभने सिध्याउनेमा म सबभन्दा पछि परेको थिएँ । सोभियत सङ्घलगायत पूर्वी युरोपमा रक्सीमा पानी वा सोडा केही पनि नमिसाएर खाने चलन छ । खानपिन सुरु भएको केहीबेरपछि इभानका बाबुले आफ्नी छोरी गाल्यालाई पाहुनासित नाच भन्नुभयो । गाल्या मनेर आउनुभयो र नाच्न भन्नुभयो । म उठेँ, म्युजिकको तालमा विस्तारै नाच्न थालेँ ।
एकछिनपछि गाल्या कृष्णगोपाल शाक्यसित नाच्न थाल्नुभयो । हामी फेरि खानपिनमा जुट्यौँ । इभानका बाबुले भोड्का थप्दै जानुभयो । उहाँले अरू रुसीसरह नेपाललाई नेपल्स भन्नु हुन्थ्यो । ‘नजिकै छ नेपल्स, दुईचार दिन बस्ने गरी आउँछु, सरकारले मन्जुरी दियो भने’ पनि भन्नुभयो । मैले, इभानले र शाक्यले ‘नेपल्स होइन नेपाल हो, यो चीन र भारतको बीचमा पर्छ’ भन्यौँ । अनि संसारको सबैभन्दा अग्लो शिखर ‘माउण्ट एभरेस्ट’ नेपालमा पर्छ भन्दा सुरुमा उहाँले बुझ्नु भएन । अनि इभानले ‘माउण्ट एभरेस्ट’को ठाउँमा झोमोलोङमा भन्दा बल्ल बुझ्नुभयो ।
इभानका आमाले फेरि गाल्यालाई नाच्न भन्नु भयो । हामी दुवै नाचिरहँदा इभानका बाबुले गाल्यालाई मसित गाला जोडेर नाच्न भन्नुभयो । गाल्याले त्यसै गर्नुभयो । अनि केहीबेरमा इभानका बाबुले मलाई ‘जवान केटो, म्वाइँ खाऊ उसलाई’ भन्नुभयो । मैले लाज मानेँ । बारम्बार भनेपछि गाल्याको गालामा म्वाइँ खाइदिएँ ।
केहीबेरपछि ढोकामा कसैले घण्टी बजाएको सुनियो । इभानका बाबु उठ्नुभयो ढोका खोल्न । अनि त्यसैबेला गाल्याले भन्नुभयो, ‘पापा ! मिसा, सासाहरूमध्ये कोही आएको छ भने म घरमा छैन भन्नू, अनि तपाईंले नचिनेको कोही रहेछ भने त्यसलाई भित्र ल्याउनू ।’ इभानका बाबु फर्किएर भन्नुभयो, ‘‘सासा रहेछ तिमी घरमा छैनौ भनेँ ।’’ हामी रुस गएको पाँच महिना मात्र भएको थियो । इभानको घरमा भएका कुराले मलाई त्यसबेला अति ठूलो आश्चर्यमा पारेको थियो ।
अब अर्को कुरा, सन् १९६६ को अगस्टको सुरुमा ‘ब्ल्याक सी’ छेउ विश्वविद्यालयका छात्रहरूले घुम्ने ठाउँ मकाप्से हामी गएका थियौँ एक महिनाका लागि । साथमा जम्मा २० रुबल लिएर । जाने आउने, खाने बस्ने र घुम्ने सबै २० रुबल मात्र तिरेपछि पाइन्थ्यो । जबकी फस्र्टक्लासको कुपेमा यात्रा गर्दा दुई दिन पूरै लाग्थ्यो ।
हाम्रो समूहमा २५ जनाजति भारतीयहरू पनि थिए । सबैसित मेरो चिनजान थियो । ती २५ जनामध्ये १७/१८ जना हिन्दी बुझ्थे तर तीमध्ये १०/१२ जना मात्र शुद्ध हिन्दी बोल्थे । तिनीहरूसित मेरो कुराकानी हिन्दीमै हुन्थ्यो र तिनीहरूलाई म हिन्दी गीत राम्रैसित गाउँछु भन्ने थाहा थियो । बिहान सनबाथ ‘ब्ल्याक सी’मा गरिरहँदा एकजना भारतीय आई ‘सामको लन्चके बाद दारु और सङ्गीतका प्रोग्राम है सबके सब नेपाली आना, और तुमको तो गाना भी पडेगा’ भन्दा मैले हुन्छ भनेँ ।
मलाई गाना गाउन बोलाइयो । रमझम मज्जैसित सुरु भइसकेको थियो र चार पाँच जनाले नाच्ने, गीत गाउने काम गरिसकेका थिए । स्टेजमा माइकमा मैले फ्याट्ट भनी हालेँ, ‘तपाईंहरू आज १५ अगस्त भारत स्वतन्त्र भएको समारोह मनाउँदै हुनुहुन्छ । संयोग, हेर्नोस् मेरो बर्थडे पनि आजै हो, १५ अगस्तको दिन ।’ अनि त्यसपछि मलाई एकछिन गाउन रोक्न लगाएर भारतको रङ्गीचङ्गी कागजले बनाइएको झण्डा मनेर ल्याएर ओढाएपछि गिलास दिएर चियर्स गर्न थाले । झन्डै २० मिनेट त्यसो भयो र म पूरै भारतीय भएको जस्तो माहौल सिर्जना भयो । तिनको मप्रतिको त्यस बेलाको व्यवहार देखेर १५ अगस्तमा मेरो जन्मदिन हो किन भन्न परेको थियो भनी मेरो मनले धिक्कारी रह्यो । एकाएक मलाई विचार आयो मैले ‘एक मिनेट’ भनेर मुस्कुराउँदै भनेँ, ‘कस्तो संयोग, १५ अगस्त १९४५ मा मेरो जन्म भयो त्यसको दुई वर्षपछि मेरो जन्मदिवसमा भारतले स्वतन्त्रता पायो ।’ यति भनेर गीत गाउन थालेँ ।