शनिवार |

भेट कहिले होला ? (कविता)

चूडामणि नेपाल ‘अकिञ्चन’


पिपिरिको पातमुनि सुनटिकीको बास
मनभित्र लागि रह्यो मात्र तिम्रो आस ।

हिउँजस्ती गोरी तिमी हेरिरहुँझैँ लाग्थ्यो
मन मुटुमा कति कति प्रेमभाव जाग्थ्यो ।

फड्केढुङ्गा माथि बस्थ्यौँ दुवै टोलाएर
आलिङ्गनमा मुक दर्शक हामी लोलाएर ।

प्रेमरसमा पौडी खेल्दा धमिलिन्थ्यो खोला
मनोहर त्यो मुहार देख्ने भेट कहिले होला ।

सपनाको संसारमा हाँसी हाँसी आउँछ्यौ
स्नेह धारमा रेटिएका विरह गीत गाउँछ्यौ ।

छोडी जाने त्यो निष्ठुरीको अझै किन माया
झल्याकझुलुक अघि पछि अझै डुल्छ छायाँ ।