शनिवार |

नकुँदिएको हीरा

रामप्रसाद पन्त

हाम्रो देशको पूर्वदेखि पश्चिमसम्म तल्लो भूभाग समतल छ । मध्यभाग पहाड छ र उत्तरी भाग हिमच्छादित छ । हामीकहाँ अनन्त नदीनाला छन् । अनन्त छहरा र झरना छन् । अनन्त बेँसी र टाकुरा छन् । अनन्त गल्छी र फाँट छन् ।
विश्वमै दुर्लभ हिमचितुवा, रेडपाण्डा, झारल, घोरल र कस्तुरी मृग हाम्रै हिमाली क्षेत्रमा पाइन्छन् । अनन्त पशुपन्छी र कीटपतङ्गको वासस्थान यहीँ छ । दुर्लभ वृक्ष लप्सी नेपालमै पाइन्छ । दुर्लभ काँडेभ्याकुर नेपालमा मात्र पाइन्छ । दुर्लभ एकसिङ्गे गैँडा पाइने ठाउँ पनि नेपाल नै हो । विश्वमा कहीँ नभएको हिममानव यती नेपालमै छ भन्ने विश्वास गरिन्छ । योगी नरहरिनाथले त आफ्नो ‘शिखरिणी यात्रा’ ग्रन्थमा हिममानव देखेको कुरा उल्लेख गर्नुभएको छ ।

पर्यटनका लागि प्राथमिकतामा परेको देश हो नेपाल । विश्वमै ख्याति कमाएको कास्कीको नयाँपुलदेखि सुरु हुने अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण आधार शिविर यहीँ छ । म्याग्दीको दरवाङदेखि रोल्पाको सुलिचौरसम्मको गुरिल्ला टे«क यहीँ छ । पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको पैदलमार्ग अर्थात् ग्रेट हिमालय टे«ल यहीँ छ । रामेछापको शिवालयदेखि सुरु हुने चौधदिने कुमारी पदमार्ग यहीँ छ । सोलुको लुक्लादेखि सुरु हुने सगरमाथा बेसक्याम्प र कालापत्थर पदमार्ग यहीँ छ । लमजुङको बेँसीसहरबाट मनाङको चामे हुँदै थोराङ्ला नाघेर मुक्तिनाथ निस्कने पदमार्ग यहीँ छ । अरुण भ्यालीबाट सुरु हुने अरुण तटीय पदमार्ग यहीँ छ । गोरखाको आरुघाटबाट लार्के हुँदै लमजुङको बेँसीसहर निस्कने मनास्लु पदमार्ग यहीँ छ ।

डोटी वा बझाङबाट सुरु हुने रोमाञ्चक खप्तड पदमार्गको मजा यहीँ लिन सकिन्छ । २२ पाटन र २२ थुम्का भएको धर्तीको स्वर्ग त्यहीँ देख्न पाइन्छ । लुम्बिनीबाट सुरु गरेर तिलौराकोट, सैनामैना, पाल्पा, देवदह र रामग्रामसम्मको बुद्धसर्किट यहीँ छ । गुरुङ, थारू र थकालीका होमस्टे हाम्रै गाउँघरमा छन् । विभिन्न जाति र समुदायका संस्कृतिसँग समन्वय गर्न सकिने ठाउँ पनि यहीँ छन् । यहाँ बन्जिजम्पिङ हुन्छन्, प्याराग्लाइडिङ हुन्छन्, स्काइग्लाइडिङ हुन्छन्, क्यानोनिङ हुन्छन्, ¥याफ्टिङ हुन्छन्, जिपलाइन हुन्छन् र हिउँमा खेल्ने ‘स्की’ खेल पनि खेलिन्छन् । यस्ता कैयौँ रोमाञ्चक र विस्मयकारी पदयात्राको पहिचान गर्न अझ बाँकी छ, तथापि पहिचान गरिएका पदमार्गमा पाइला चाल्नका लागि हाम्रा पाइला प्रमुदित हुँदै गए भने अन्य पदमार्गको पहिचान स्वतः हुँदै जानेछ ।

पुग्नैपर्ने नेपालका रमणीय स्थान कति छन् कति ! जहाँ नपुगेसम्म नेपाल नै चिनिन्न । नेपाल भनेको तराई र हिमालभन्दा बढी पहाड हो भन्ने कुरा हामीले भुल्नुहुन्न । मुगुको राराताल, डोल्पाको फोक्सुन्डोताल, मनाङको तिलिचो ताल, डोटीको खप्तड, म्याग्दीको पुनहिल, मुस्ताङका गुफा र ओडार, बाग्लुङको ढोरपाटन, रसुवाको गोसाइँकुण्ड, चितवनको राष्ट्रिय निकुञ्ज, बर्दियाको ठाकुरद्वारा र चिसापानी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चदेवल, सिन्धुपाल्चोकको च्छोरोल्पा र पाँचपोखरी, अछामको रामारोशन, मुस्ताङको लोमान्थाङ र मुक्तिनाथ, ताप्लेजुङको पाथिभरा, इलामको कन्याम र सन्दकपुर, जनकपुरको जानकीधाम, धनकुटाको भेँडेटार, सुनसरीको कोसीटप्पु, नुवाकोटको ककनी, गोरखाको बारपाक र चुम उपत्यका, धादिङको रुबीभ्याली, भोजपुरको अरुण उपत्यका, दोलखाको कालिञ्चोक, काभ्रेको नमोबुद्धलगायत लुम्बिनी, तिलौराकोट, पोखरा र काठमाडौँ उपत्यका पुगिएन भने नेपाल देखिएन, नेपाल चिनिएन र नेपाली हुनुको औचित्य पुष्टि भएन ।

‘द्रवतिं च हिमरश्मि उद्गते चन्द्रकान्ता’ : अर्थात् सृष्टिको मुहान नै हिमालको काख हो र त्यो आजको नेपाल हो । मानव मात्र नभएर बिजुली, पानी, जडीबुटी, गुराँस, चराचुरुङ्गी, जलचर र थलचर सबैको उद्गमस्थल यही हिमालको काख हिमवत्खण्ड हो । जगद्गुरु मोहनशरण देवाचार्यले त चारै धाम र बाह्र ज्योतिर्लिङ्ग नेपालमै छन् भनी पौराणिक आधार लिएर पुष्टि गर्नुभएको छ । यति मात्र होइन, यहाँ सुनैसुनको खानी छ, युरेनियम र बहुमूल्य पत्थरको खानी छ । मुस्ताङ युरेनियमको ढिक्का हो । गणेश हिमाल सुन र रुवीको डल्लो हो । हामीले रत्नगर्भा पृथ्वी पाएका छौँ, तथापि हामीले सुनको थालीमा भीख मागिरहेका छौँ । हाम्रा हात रित्तारित्ता छन् । हामीले पश्चिमाको मुख ताकिरहेका छौँ । यसो भन्नु उचित होला, हामीले विश्वकै अग्लो सगरमाथालाई झुकाउने काम गरेका छौँ ।

विश्वमा कतै अनुभव गर्न नसकिने छवटै ऋतुको अनुभव नेपालमा गर्न सकिन्छ । ऋतुका आ–आफ्नै विशेष्य गुण छन्– वसन्तको गुण रसरूप हो, ग्रीष्मको शुष्करूप । वर्षाको गुण जीवनरूप हो, शरदको अन्नरूप । यसैगरी हेमन्तको गुण पोषण रूप हो, शिशिरको उत्साहरूप ।
अन्यत्र कतै नपाइने सयौँ प्रजातिका फूल ऋतुअनुसार नेपालमा फुल्छन् । वसन्त ऋतुमा कमल, आरू, आडुबखडा फुल्छन् भने ग्रीष्ममा चमेली, असारे फूल र गुराँस फुल्छन् । वर्षामा घडीफूल, मालतीफूल फुल्छन् भने शरदमा सयपत्री, मखमली र गुर्दाैली फुल्छन् । यसैगरी हेमन्तमा गोदावरी र कटुस फुल्छन् भने शिशिरमा लालुपाते फूल ढकमक्क फुल्छन् ।

सिमसार, निकुञ्ज, ताल, कुण्ड, पोखरी र टाकुरीको देश पनि हो नेपाल । सात तालको जिल्ला कास्की हो भने सात कुण्डको जिल्ला रसुवा । ५२ पोखरी ५३ टाकुरीको जिल्ला रुकुम हो भने ५२ कुटी ७२ कुण्डको जिल्ला धनुषा हो । काठमाडौँलाई सात पोखरीको जिल्ला पनि भन्ने गर्छन् स्थानीय नेवार समुदाय ।
नेपालका ताल र पोखरी रामसार सन्धिमा परेका छन् । कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडी ताल, सोलुको गोक्यो ताल, रसुवाको गोसाइँकुण्ड ताल, डोल्पाको फोक्सुण्डो ताल, मुगुको राराताल, चितवनको बीसहजारी ताल, इलामको माईपोखरी, सुनसरीको कोसीटप्पु र पोखराका फेवाताललगायत नौतालले पर्यटन प्रवद्र्धनमा महìवपूर्ण भूमिका राख्छन् ।

जमिन नसुक्ने र जमिन नलुक्ने दलदले जमिनको नाम हो– सिमसार । यो क्षेत्र खासगरी चराचुरुङ्गी र सरीसृप (घस्रने) प्राणीका लागि उपयुक्त थलो हो । शरीरको विकार हटाई शरीर स्वस्थ राख्नका लागि मिर्गाैलाले काम गरेजस्तै वातावरणीय प्रदूषण सफा गर्न सिमसारको आवश्यकता पर्छ । कृत्रिम तालका पोखरी बनाएर पर्यटनलाई प्रोत्साहन गर्न त सकिएला तर जलचर र नभचरलाई जोगाउन प्राकृतिक सिमसार पाउन दुर्लभ छ । यस्ता प्राकृतिक सम्पदालाई जोगाउन सकिएन भने न त हामीले जीवजन्तुको संरक्षण गर्न सक्छौँ न त पर्यटन व्यवसायको आयाम बढाउन नै सक्छौँ ।

नदी र सिमसारमा देवताको बास हुन्छ भनिन्छ । त्यो स्थान सरिसृप र वन्यजन्तुको प्राण हो । कपिलवस्तुको जगदीशपुर ताल चराको राजधानी हो । जहाँ साइबेरिया, मङ्गोलिया, तुर्कमिनिस्तान र किर्गिस्तानसम्मबाट हप्तादस दिन उडेर चरा आउँछन् । बर्दिया राष्ट्रिय निकुञ्ज बाघको राजधानी हो भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको । कोसीटप्पु अर्नाको राजधानी हो भने गैँडा र हात्तीको राजधानी सौराहा हो । विश्वमा कतै नभएको हात्तीपोलो खेल प्रतियोगिता सौराहामा हुन्छ ।

विश्वसम्पदा सूचीमा परेका उपत्यकाभित्रका सात (हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, चाँगुनारायण, बौद्ध) र उपत्यकाबाहिरका तीन (चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र लुम्बिनी) सम्पदाले एकातिर संसार चिनाउने काम गरेका छन् भने नेपालको पर्यटन व्यवसायलाई संवद्र्धन गर्ने काम पनि गरेका छन् ।

नेपाल बुझ्न र नेपालको प्रकृति तथा संस्कृतिमा भिज्न हामीले केही स्वदेशी र केही विदेशी लेखकका कृति पढ्न सक्छौँ । जसमध्ये पठनीय कृति हुनसक्छन्– हर्ष गुरुङको मैले देखेको नेपाल, डोरबहादुर विष्टको सबै जातको फूलबारी, टोनी हेगनको नेपालको चिनारी, तीर्थबहादुर श्रेष्ठको नखुलेका पानाहरू, रत्नाकार देवकोटाको कर्णालीको अथ इति, जेडी हुकारको द हिमालयन जर्नल, इकाइ कावागुचीको कावागुचीको नेपाल बसाइँ र जनकलाल शर्माको कौतुकमय डोल्पो ।

नेपालमा केही छैन भन्नेहरू मूर्ख हुन् । हामीसँग हीरा छ, कुँदेर गहना बनाउन मात्र नसकिएको हो । पन्ध्र करोड जनतालाई खान पुग्ने उर्वर जमिन छ नेपालमा, उपयोग गर्न मात्र नसकिएको हो । जडीबुटीको त भण्डार नै हो नेपाल, पहिचान गर्न मात्र नसकिएको हो । ‘चन्द्रनिघण्टु’ हेरे थाहा हुन्छ, सात सय प्रकारका जडीबुटी छन् नेपालमा । नरबाट नारायण बनाउने र जीवबाट शिव बनाउने दर्शन छ नेपालमा । त्यसै भनेका होइनन् भारतीय महाज्ञानी महेश योगीले, ‘नेपाल टु लिड द वल्र्ड’ अर्थात् नेपालले विश्वको नेतृत्व गर्नेछ । उनको आशय राजनीतिसम्बद्ध होइन, अध्यात्मसम्बद्ध हो तर अहिले भने धर्मलाई ध्वंस गर्ने काम हुँदै छ । त्यसैले हामीलाई एउटा कुशल कालिगढ चाहिएको छ– हीरा कुँदेर आभूषण बनाउने । जसरी लि क्वान युले सिङ्गापुर बनाए । महाथीर मोहम्मदले मलेसिया बनाए । गोल्डा मायरले इजरायल बनाइन् । डेङ सियाओ पिङले आजको चीन बनाउन पूर्वाधार तयार गरे । अब हामीले पनि यस्तो नेपाल बनाउनुप¥यो, युरोपेली र अमेरिकी नेपाल आउँदा भिसा लिन अप्ठ्यारो परोस् । यसका लािग हामीले शिशिर योगीले खोजेजस्तो एउटा यस्तो मानिस खोज्नुप¥यो, जसले नेपाल बनाओस् ।